भर्खरै :

जाँडरक्सी र अक्टोबर क्रान्ति

सुरेश परियार
रूस, यसै पनि जाडो ठाउँ । शरीर न्यानो राख्नैप¥यो । खानपान र भेषभूषा भूगोलले निर्धारित गर्छ । प्रसिद्ध रूसी उपन्यासकार तुर्गनेभले लेखेका थिए, “सामान्यतया रूसी नागरिकहरू नशामा हुन्छन् । तर चाडबाडमा भने उनीहरू घाँटीघाँटी नआउँदासम्म पिउन छोड्दैनन् ।” त्यसमाथि रूसको पुरानो पात्रोमा चाडबाडै धेरै थिए । त्यसैले जाँडरक्सी रूसी जीवनको अफिम बनेको थियो । जाँडरक्सी नै सामन्ती रूसमा वेश्यावृत्ति, व्यभिचार, रोगव्याधी र अन्य सामाजिक समस्याको कारक र सहायक पनि थियो ।
१८१९ तिर रूसमा जाँडरक्सी सेवनलाई नियन्त्रण गर्ने पहिलो कोसिस थालियो । जार सरकारले जाँडरक्सी बेचबिखनको एकाधिकार आफ्नो हातमा लियो । यसले जार सरकारको आम्दानी त बढ्यो तर मदिरा सेवनमा कुनै कमी आएन । ८ वर्षपछि सरकारले जाँडरक्सी बेचबिखनको सारा बन्दोबस्त निजी संस्थाको हातमा सुम्पियो र हरेक किसिमका मदिरामा कर लगायो तर रक्सी पार्न र बेचबिखन गर्नमा भने रोक लगाएन । यसबाट जारको आम्दानी अलि बढ्यो । जाँडरक्सी अलिकति महँगिए पनि अम्मलीहरूले खान्कीको खर्च घटाए तर मद्यपान भने छोडेनन् । करिब ३० वर्षभित्र मदिरा सेवन यति अनियन्त्रित भयो कि पादरीहरूको सल्लाहमा जार सरकारले जाँडरक्सी तयार गरिने सबै अड्डाहरू बन्द गरायो । केही पियक्कडले हल्का खालको बियर छोडेर कडा भोद्का पिउन सुरु गरे । सरकारी प्रयासपछि पनि अम्मलीहरूको मन परिवर्तन भएन ।
रूसको इतिहासमा १९ औँ शताब्दीको ६० को दशक राजनीतिक सुधारको निम्ति चलाइएका आन्दोलनको दशक मानिन्छ । त्यसै दशकमा त्यहाँ भूदासप्रथा उन्मूलन गरिएको थियो । त्यसबेला नशासेवन बन्द गर्नुपर्ने आन्दोलन पनि उठ्दै थियो । त्यसैले सरकारले जाँडरक्सीका ससाना भट्टी बन्द गरिदियो र रक्सी बेच्ने अनुमतिपत्र अर्थात् लाइसेन्स चल्तीमा ल्यायो । (नेपालमा हाल यस्तै ससाना कदम चालिएका हुन् ।) रक्सी दोकानको सङ्ख्या अढाई लाखबाट झरेर सवा लाख भयो । तैपनि अझै ३० वर्षसम्म भोद्काको बिक्रीमा बढोत्तरी भइरह्यो । उद्योग कलकारखानाका मालिकले मजदुरलाई अलिअलि ज्याला र भोद्का दिने चलन चलिरह्यो ।
१९ औँ शताब्दीका अन्तिम दुई दशकमा रूसमा आधुनिक शैलीको औद्योगीकरण तीव्र भयो । जाँडरक्सी पिउने गरिब किसानले जमिनदारको खेतमा काम गर्न सक्छ । तर नयाँ प्रविधि प्रयोग गर्ने औद्योगिक मजदुर होसियार हुनुपर्ने आवश्यकता थियो । त्यसैले मजदुरहरूले ज्याला लिएर सिधै भट्टी पसेको विदेशी र नयाँ पँुजीपति वर्गलाई चित्त बुझेन । मजदुरहरूको यस्तो बानीले केही समय उदयीमान नयाँ रूसी पँुजीपति वर्गको आम्दानी खासै उकासिएन । अब नशाविरोधी गतिविधिलाई टेवा दिन पुराना पादरी र सरकारभन्दा पनि यो नयाँ पँुजीपति वर्ग अघि स¥यो ।
रूसका केही संवेदनशील बुद्धिजीवीले मद्यपानका हानिकारक पक्षबारे जनतालाई शिक्षित गर्नुपर्छ भन्ने कर्तव्यबोधले पुस्तक पर्चा लेखेर बाँड्न सुरु गरे । उनीहरूले मदिराविरोधी आन्दोलन अघि बढाए । विख्यातरूसी उपन्यासकार टोल्सटोयका एक साथी थिए डा. निकोलाइ ग्रिगोरियफ । उनी यस नयाँ आन्दोलनका नेता थिए । उनले १८९४ मा नशाविरोधी पत्रिका निकाल्न सुरु गरेका थिए । जाँडरक्सीको व्यवसायमा सरकारको परोक्ष सरसहयोगको उनी विरोध गर्थे । रक्सीमा कर बढाउनु आफैमा रक्सी व्यापारीहरूलाई सघाउने अनैतिक कदम हो भनी उनी सरकारी नियन्त्रणको दोहोलो काढ्थे । नयाँ पँुजीपति वर्ग यसमा सहायक रह्यो । डाक्टरलाई पैसाको कमी कहिल्यै भएन । उक्तआन्दोलनका कारण सरकारले मजदुरलाई भोद्का दिने पुरानो कार्यलाई अपराधको कोटीमा राख्यो । छिटफुट सुधार गरिरह्यो । तैपनि मदिरा सेवनमा कमी आउने लक्षण देखिएन ।
नशाविरोधी आन्दोलनको पक्षमा जारका सल्लाहकारमध्येका एक प्रिन्स अलेक्जेन्डर देखापरे । उनी जारका काकाका छोरा थिए र थिए ठूलो जागिरका मालिक । उनले नशा सेवनले उद्योगधन्दाको उत्पादनमा मात्र कमी नल्याई जागिरको अर्थात् खेतीपातीको उब्जनीमा पनि कमी ल्याउने चाल पाए । उनले अन्य देशका नशाविरोधी आन्दोलनको गहिरो अध्ययन गरे । उनले मदिराविरोधी सबै समूहलाई एकजुट बनाए र नयाँ सङ्गठन गठन गरे ‘नशानिरोधी सङ्गठन’ । आफ्नो र आफ्ना कुलीन साथीहरूको सम्पत्ति यसमा लगाए । उनले नशाविरोधी जागरण आन्दोलनलाई बलियो बनाउन कुनै कसर छोडेनन् । (आज हाम्रो देशमा यस क्षेत्रमा गरिने गतिविधिभन्दा यो निकै व्यवस्थित आन्दोलन थियो ।)
प्रिन्सको आन्दोलनको केन्द्र थियो मस्कोस्थित एलेक्सिस नशानिरोधी भवन । मदिराबाट बचाउको शिक्षा दिने संसारकै पहिलो वैज्ञानिक केन्द्र थियो यो । यसमा प्रशिक्षित कार्यकर्ताहरूको डफ्फा रहन्थ्यो । उनीहरू नशाविरोधी कार्यक्रम बनाएर कार्यान्वयन गर्थे । सो केन्द्रमा पुस्तकालय, विशेषज्ञहरू सहितको रसायनिक र भौतिक विज्ञानका प्रयोगशाला थिए । प्रिन्सले जवान र पाका व्यक्तिहरूको आरामको निम्ति पार्क, बगैँचा अनि मनोरञ्जन केन्द्र, भव्य रेस्टुराँ र नाटकघरजस्ता आरामगृह बनाए । ती सबै सुविधा निःशुल्क थिए । त्यहाँ नियमितरूपमा पैसा दिएर प्रवचनका लागि लेखक, प्राध्यापक, अनुसन्धानकर्ताहरूलाई बोलाइन्थ्यो । उनीहरू नशाबारे वैज्ञानिक तथ्यहरू बढाइचढाई बताउँथे । यी सबै ठाउँमा रक्सीको थोपा पाइन्नथ्यो ।
१९०३ सम्ममा नशाविरोधी आन्दोलन चरम चुलीमा थियो भने रूसभरि यसका ३७० वटा शाखाहरू थिए । तैपनि यी सबै गतिविधिको प्रतिफल शून्य थियो । रक्सी नपिउनेहरूले यो आन्दोलनमा भाग लिए, पिउनेहरूले भने मजाले प्रिन्सले खुवाउने सित्तैको खाना खान्थे, नाटक हेर्थे, बचेको पैसाले रक्सी पिउँथे, संस्थाको पर्चा लिन्थे र कच्याककुचुक पारेर कुनै कुनामा फाल्थे । त्यसमाथि १९०५ को रूसी क्रान्तिलाई दबाउँदै गर्दा जार सरकारले नशाविरोधी आन्दोलनलाई पनि दबायो । तैपनि १९१० मा नशाबाजीको विरोधमा डाकिएको सम्मेलनले रूसी संसद ड्युमालाई मदिरा बेच्ने समय घटाउने कानुन बनाउनुपर्ने दबाब दियो । पछि भोद्कामा अल्कोहलको मात्रा ५० प्रतिशतबाट घटाएर ३० प्रतिशत बनाउनुपर्ने प्रस्ताव पनि आयो । तर कुनै पनि मस्यौदा पास भएन ।
वास्तवमा नशाविरोधी आन्दोलन असफल हुनुमा जार सरकारको प्रत्यक्ष स्वार्थ जोडिएको थियो । १८९४ पछि जार सरकारले मदिरा बेचबिखनको एकाधिकार फेरि आफ्नो हातमा लिएको थियो । यसको १५ वर्षमा भोेद्काको खपत १६६५.६ लाख लिटरबाट बढेर ९४६३.५ लाख लिटर पुग्यो । रक्सीको फुटकर पसलबाट सरकारलाई १९०४ देखि १९१३ सम्म ५ अरब रुबल नाफा भयो । त्यसबेला रूसको कुल बजेट २० अरब रुबल आसपास हुन्थ्यो । नशाविरोधी आन्दोलन र मदिरामाथि राज्यको नियन्त्रण भएदेखि १९१४ सम्म भोद्काको बिक्रीमा ५०० प्रतिशत वृद्धि भयो । रक्सीमा लाग्ने करको रूपमा जार सरकारले जनताको बगली मार्दा अम्मलीहरू झन् हायलकायल थिए ।
पहिलो विश्वयुद्धको संघारमा रूसमा जति जँड्याहा र रक्स्याहाहरू थिए त्यति संसारको कुनैपनि देशमा थिएनन् । विद्यालयमा पढ्नेहरूमध्ये ८० प्रतिशतभन्दा बढी केटाकेटीले भोद्का पिउँथे । यसमा ६० प्रतिशतभन्दा बढी छात्रा थिए । मस्को शहरमा गरिएको सरकारी अध्ययनले ९० प्रतिशत वयस्कले नशा सेवन गर्ने देखायो । युद्धका लागि हतियार र सेनाको सुगठन गर्न खर्च आवश्यक थियो । त्यसैले १९१४ को जनवरीमा जार सरकारले पँुजीपतिहरूलाई खुसी तुल्याउन भोद्काको बिक्रीमा कमी ल्याउने घोषणा ग¥यो । युद्धको बेला रक्सी पिउनु घातक हुन्थ्यो । मजदुर र किसानले रक्सी पिउँदा मोर्चामा पु¥याउने उत्पादन वा रसदपानीको कमी हुन्थ्यो । त्यसैले १९१६ मा रक्सी पार्ने र त्यसको बेचबिखन गर्ने दुवैजना अपराधी मानिने सरकारी घोषणा गरियो । जिल्ला अधिकारीहरूलाई मात्र हल्का किसिमको रक्सीको बिक्री खुला गर्ने छुट दिइयो । गुप्त प्रहरीको इशारामा सेनाले रक्सी बनाउने र बेच्ने भट्टीहरू जर्बजस्ती बन्द गरिदिए । रक्सी राखेका ठूल्ठूला ढोलहरू नदीमा खनाइए । धनीमानीहरू समेतले रक्सी पिउने हिम्मत गरेनन् । १९१६ को आरम्भमा कसैले पनि खुलारुपमा जाँडरक्सी छोएनन् । मानिसहरूको स्वास्थ्यमा सुधार भयो । लगभग ९ महिनासम्म यो स्थिति कायम रह्यो ।
युद्ध चर्किँदै जाँदा मानिसहरू गरिबी, भोकमरी र अनेक रोगले ग्रस्त भए । चारैतिर मानिसहरू आकुल व्याकुल थिए । जर्मन सेना रूसी भूमिसम्म आइपुगेका थियो । किसानहरूले घरघरमा आलु र अन्न कुहाएर रक्सी पार्न थाले । निकै फोहर तरिकाले बनाइने यस्तो रक्सी निकै विषालु हुन्थ्यो र यसले सजिलै स्वास्थ्य बिगाथ्र्यो । तैपनि मानिसहरू आफ्नो दुःख बिर्सन यस्तो घरेलु रक्सी पिउन थाले । त्यसबेलाको स्थितिबारे एकजना रूसी पादरीले भनेका थिए, “नशाको बन्देजअघि हरेक घरमा एउटा जँड्याहा थियो भने अहिले हरेक घर रक्सी पार्ने र पिउनेहरूको अड्डा बनेको छ । कानुनको धज्जी उडाउँदै हरेक ठाउँमा आइमाई लोग्नेमान्छे भोद्का बनाउन तल्लीन छन् । मानिसहरू सुत्नुअघि, बिहान नास्ताको समयमा र कामको समयमा समेत नशामा लठ्ठ रहन्छन् । केटाकेटीलाई पस्केको खानासंगै भोद्का पनि हुन्छ ।” त्यसबेला मदिराको बिक्री सहर र सैनिक इलाकामा बढी हुन्थ्यो । रक्सीको उत्पादन र बिक्री गर्नेलाई अति कडा र भयानक सजायको बन्दोबस्त हुँदाहुँदै पनि चिया पसल र गुप्त स्थानहरूयसको बिक्री हुन्थ्यो । यसरी संगीनको बलमा रूसमा गरिएको पहिलो र अन्तिम नशाको बन्देज असफल भयो ।
यत्तिकैमा १९१७ को अक्टोबरमा रूसमा संसारको पहिलो समाजवादी क्रान्ति भयो । क्रान्तिपछि गैरकानुनी तरिकाले गाउँगाउँमा तयार गरिने भोद्काले अर्को खतरा आइलाग्ने देखियो । किसानहरूले अन्नलाई सडाएर रक्सी पार्दा अन्नको हाहाकार भई भोकमरी हुनसक्थ्यो । त्यसैले सोभियत अधिकारीहरूले आलुबाट रक्सी बनाउनुलाई कानुनी घोषणा गरे र रक्सीका ठूल्ठूला कारखानालाई पुनर्निर्माण गर्न अनुमति दिए । बजारमा विषालु रक्सीको बिक्री घटाएर जनताको स्वास्थ्य सुधार्ने र अन्नको कमीले हुने भोकमरी रोक्ने यस घोषणाको लक्ष्य थियो । लेनिन र स्टालिन स्वयम्ले यससम्बन्धी सारा तथ्यहरू र अपनाइएका कानुनी कदमको राम्रो जाँचबुझ गर्नुभएको थियो ।
जाँडरक्सीसम्बन्धी सारा तथ्य र रिपोर्टहरू जनस्वास्थ्य मन्त्रालयका वैज्ञानिक र राजनीतिज्ञको समितिलाई सुम्पियो । सो समितिले यस विषयका पुराना सबै विचारलाई निम्न ५ बुँदामा छोट्यायो ः
१. नशाको बन्देज ः जारले केही समयलाई नशामा बन्देज लगाए पनि यो तरिका असफल भयो । जारले अपनाएजस्तो सोभियत सरकारले हतियारको बलमा नशासेवनमा रोक लगाउन सक्दैनथ्यो ।
२. जनशिक्षा ः प्रिन्स अलेक्जेन्डरको आन्दोलनले व्यक्तिलाई महत्व दिन्थ्यो । व्यक्तिले आफ्नो निजी सन्तोषको लागि मद्यपान गर्छ भन्ने यो आन्दोलन केही स्वार्थले चलेको थियो । समितिले यसको गम्भीरतापूर्वक अध्ययन ग¥यो र फगत जनशिक्षाले नशासेवन रोक्न नसकिने टु·ोमा पुग्यो ।
३. धर्म ः जाँडरक्सीको अम्मल छुटाउन धार्मिक प्रवचन दिने गाउँगाउँका शक्तिशाली चर्चका पादरीहरू त्यसबेला आफै पियक्कड थिए । त्यसैले सोभियत सरकार यस्ता धार्मिक सङ्गठनको बाटोमा हिँड्न सक्दैनथ्यो ।
४. मनोचिकित्सक ः संसारभरका मनोचिकित्सकहरू जम्मा भएपनि रूसका सबै रक्स्याहाहरूको उपचार गर्न अपुग हुन्थे । मनोचिकित्सकले जाँडरक्सीका अम्मलीलाई मानसिक रोगीको रूपमा हेर्ने भएकाले सोभियत अधिकारीले यस तरिकालाई धर्मगुरुहरूको तरिकाजस्तै माने ।
५. सरकारी नियन्त्रण ः रूसको इतिहासमा गरिएका सबै सरकारी नियन्त्रणको अध्ययन गर्दा के देखियो भने यस्ता नियन्त्रणले रक्सीको खपत झन् बढाइदिएका थिए । त्यसैले विशेषज्ञहरू यो तरिका काम नलाग्ने निधोमा पुगे ।
सोभियत विज्ञहरूले त्यपछि आफैले यस समस्याको छानबिन गरे । उनीहरूको छानबिनको निष्कर्ष नशाविरोधी सङ्गठक फ्रान्सिस विलार्डको भनाइसँग मिल्यो । उनले भनेकी थिइन, “धेरैजसो मानिसहरू गरिब हुनाले रक्सी पिउँछन् । उनीहरू जाँडरक्सी पिएकाले गरिब भएका हुन् भन्नु गलत हो ।” सत्य यहीँ हो । फ्रान्सिस विलार्डले मनोविश्लेषणका रहस्य, धर्म, शिक्षा र सरकारी नियन्त्रणजस्ता लम्बेतान कुराकानीलाई पन्छाइन् र नशासेवनलाई एउटा सामाजिक र आर्थिक समस्याको रूपमा पहिचान गरिन् । मान्छे चारैतिरबाट दुःख, गरिबी र समस्याहरूले घेरिएपछि सन्तोषको सास फेर्न जाँडरक्सीतिर लाग्छ । सदाचारका लामा लामा प्रवचन दिनुको कुनै अर्थ छैन । मान्छेलाई जाँडरक्सीको अम्मली बन्न प्रेरित गर्ने परिस्थिति फेरेर जीवनको चौतर्फी उन्नतिको अवसर दिनाले मात्र नशासेवनको समस्यालाई किनार लगाउन सकिन्थ्यो । रक्सीमा लगाइने करबाट मोटो मुनाफा कमाउने लोभमा सरकारले मदिरा सेवनलाई प्रोत्साहन गर्छ भनी विलार्डले नाफामुखी व्यवस्थाको समेत पोल खोलेकी थिइन् ।
अब कामको पालो थियो । सोभियत सरकारले मदिरा सेवन सम्बन्धमा एउटा अनौठो घोषणा ग¥यो । सरकारले रक्सीमा लगाइँदै आएको कर हटाइदियो । सरकारले रक्सी व्यवसायबाट जार सरकारले असुल्दै आएको करको हिसाबकिताब पत्रिकामा छाप्यो । जनताले बुझे नयाँ सरकार रक्सीबाट नाफा बटुल्न चाहन्न । यसबाट अलिकति उठाइने कर जनताको स्वास्थ्य, शिक्षामा खर्च गरियो । अब रक्सीको मूल्य स्वात्तै घटेर बोतलको ९ आना भयो । अर्थात् संसारको सबैभन्दा सस्तो रक्सी । सारा दुनियाँ द·दास थियो । कम्युनिष्ट सरकारको यो कस्तो कदम ¤
उक्त घोषणाको दिन रूसमा राष्ट्रिय पर्वजस्तै थियो । मानिसहरूले मनपेट भरिनेगरी नयाँ, सस्तो र राम्रो भोद्का पिए । त्यसपछि लुकीछिपी रक्सी पार्नेहरूका दिन सकिए । सरकारले अरू पनि कडा नियम लागू ग¥यो । उद्योग कलकारखानाको वरपर रक्सी बेच्न नपाइने, नौजवान र रक्सीले मात्तिएका मानिसलाई रक्सी बेच्नेलाई कडा कारबाही गरिने आदि ।
सम्पूर्ण रूसभरि मद्यपानको विरोधमा वैज्ञानिक आन्दोलन चलाइयो । एउटा नयाँ प्रचार सुरु गरियो । यसमा मदिरालाई व्यक्तिगत स्वाभावसँग जोडिएको थिएन । सोभियत वैज्ञानिकहरूले बताए अल्कोहलले हल्का नारकोटिकले जस्तो असर गर्छ । यसले थकावट हटाउँछ । मान्छेलाई बेहोस बनाउन यो उपयोगी हुन्छ । कहिलेकाहीँ यो लाभदायी पनि हुन्छ । यसले शारीरिक काम गर्ने मान्छेलाई फुर्तिलो बनाउँछ । तर यसको लगातार सेवनले रगतमा हावाको आवागमनलाई हानी गर्छ । यसले दिमागका नसाहरूमा क्षति पुग्न सक्छ । कतिपय मस्तिष्क रोग अल्कोहलकै प्रयोगले फस्टाउँछन् । बढी रक्सी पिउनाले थकान महसुस हुन्छ, दुर्घटना हुने र बारम्बार बिरामी हुने सम्भावना हुन्छ । सारमा रक्सी पिउन आवश्यक छैन, शरीर वा मस्तिष्कलाई यसले फाइदा गर्दैन र व्यक्तिपिच्छे यसले फरक असर गर्छ भनी रूसी जनतालाई साफसाफ बताइयो ।
यी सबै सत्यतथ्य बताउने तरिका पनि नौला थिए । नाटकघर र चलचित्रहरूको यसमा प्रयोग गरियो । कतिसम्म भनेरूसमा त्यसबेला मानसिक विकारहरूको उपचार गर्ने विशेष फिल्महरू बनाइए । जनतालाई रूसको उद्योगधन्दा र कृषिमा अल्कोहलका कारण कति हानी पुगेको छ देखाइन्थ्यो । बालबालिका र युवायुवतीलाई उनीहरूको भविष्य कसरी अल्कोहलले अँध्यारो तुल्याउँछ रोचक पाराले बताइन्थ्यो । विश्वविद्यालयका विद्यार्थीदेखि लिएर इन्जिनियर, ड्रात्र, मिस्त्री, कोइला खानीका मजदुर सबैलाई यस्तो ज्ञान अनेक शैलीमा दिइन्थ्यो । पियक्कडहरूलाई गाली गरिन्नथ्यो, पापी भनिन्नथ्यो । तर मजदुर वर्गको नयाँ देशको निर्माणमा अड्को थापेकोमा पियक्कडहरूलाई हाँसोमजाकको पात्रको रूपमा उडाइन्थ्यो ।
कतिपय अम्मलीलाई देशको निर्माणमा भन्दा ९ आनाको भोद्काले लठ्ठायो । यसको लागि सरकारले धेरै पियक्कडहरू पाइने उद्योगनजिकै रक्सीविरोधी केन्द्र स्थापना ग¥यो । कुनै नशाले लर्खराएको व्यक्ति देख्दाघरि यी केन्द्रका कार्यकर्ताले उसलाई समातेर उक्त केन्द्रमा पु¥याउँथे । त्यहाँ उसलाई पहिले राम्ररी नुहाइधुवाई गरिन्थ्यो । त्यसपछि डाक्टरले उसको जाँच गर्थे । अनि उसलाई मजाले बिस्तरामा सुताइन्थ्यो । होसमा आएपछि उसको नाम ठेगाना सोधेर घर पठाइन्थ्यो । केन्द्र उसले काम गर्ने कारखानाको मजदुर सभाको विशेष समितिसँग बैठक बस्थ्यो । भोलिपल्ट जब मजदुर काममा जान्थ्यो विशेष समितिले लामो र फराकिलो पोष्टरसंँगै अनौठो ढ·ले उसको स्वागत सत्कार गथ्र्यो । त्यो पोष्टरमा उसले बोतल आदि समातेको बडो नाटकीय र मनोरञ्जक कार्टुन हुन्थ्यो । उसले फेरि पनि यस्तो हर्कत दोहो¥याएमा ऊ आफ्ना साथीहरूबाट तिरस्कृत हुन्थ्यो । यस्तो चर्तिकला दोहो¥याउने व्यक्तिलाई मजदुर सभाले अनुशासनको कारबाही चलाउँथ्यो । यो नयाँ तरिकाले पियक्कडहरूलाई ठूलो फसादमा पा¥यो । घरपरिवारका सदस्य चिढिकोमा भन्दा आफ्ना साथीसङ्गी अगाडि बेइज्जती हुँदा आपत हुन्थ्यो । यो तरिकाले हजारौँ मानिसहरूले जाँडरक्सीको अम्मल त्यागे । भोद्काका भक्तमध्ये १ प्रतिशतभन्दा कम व्यक्तिहरू मानसिक रोगले ग्रस्त थिए । उनीहरूलाई अस्पतालमा राखेर विशेष उपचार गरियो ।
केही वर्षमै मदिराविरोधी आन्दोलन सफल हुँदै गयो । यो आन्दोलनमा सोभियत मनोवैज्ञानिकहरूको अर्को एक उपायले मदिरातिर तानिने कारकलाई नष्ट गरिदियो । यो तरिका अद्भूत थियो । सोभियत सरकारले चमेना गृह र भोजन गरिने स्थानमा रक्सीको बढी प्रयोग गर्न व्यापक प्रचार ग¥यो । जारकालीन अनुभवअनुसार पैसाको अभावमा गरिबहरू भोजनसँगै रक्सी पिउन सक्दैनथे । त्यसैले उनीहरू भोजन छोडेर रक्सीमै सीमित हुन विवश थिए । यसप्रकार उनीहरू अम्मली हुन पुग्थे । सोभियत सरकारको नयाँ कदमले रक्सीमात्र पाइने पसल निरुत्साहित हुँदै गए । दोस्रो विश्वयुद्धपछि यी स्थानहरू सुनसान बन्न पुगे । खासमा भोजनसँगै रक्सी पिउनाले यो कम हानिकारक बन्न पुग्छ । साथै धेरै परिवारहरूले भोजन गर्ने घरेलु वातावरणमा रक्सी पिउँदा व्यक्तिको आनीबानीमा ठूलो सुधार आयो । श्रीमती र बालबच्चासँगै बसेर रक्सी पिउँदा उनीहरूले आत्मसंयम पनि बढाउँदै लगे । खानासँगै रक्सी पिउँदा रक्सीको मात्रा समेत घट्दै गयो ।
यसरी बाहिरबाट हेर्दा सोभियत सरकारले जाँडरक्सीलाई बढावा दिएजस्तो देखिएपनि नतिजा उल्टो आयो ।
स्टालिनको जीवनका अन्तिम वर्षसम्म आइपुग्दा रूसी समाज निकै उँचो स्तरमा पुगिसकेको थियो । रक्सीले मात्तिएर लर्बराउँदै हिँड्ने पियक्कडहरूको दृश्य एकादेशको कथा बनिसकेको थियो । रक्सीका कारण हुने सामाजिक समस्या र अपराधमा गिरावट आइसकेको थियो । रक्सी एउटा सामाजिक शिष्टाचारमा सीमित बन्न पुगेको थियो । अधिकांश व्यक्तिहरूअरू हल्का खालका शक्तिवर्धक पेय पदार्थ सेवन गरेपनि रक्सी छुँदैनथे । अल्कोहलविरोधी सरकारी प्रचारप्रसार जारी थियो । खासगरी नयाँ पुस्ताबीच यस्तो प्रचार गरिन्थ्यो । अन्य पँुजीवादी देशमा जस्तो नाफाको निम्ति रक्सी, चुरोट र अन्य भड्किला अम्मलहरूको विज्ञापन सोभियत सङ्घमा हुँदैनथ्यो ।
(यो निबन्ध क्यानेडाली विज्ञान लेखक डाइसन कार्टरको प्रसिद्ध पुस्तक ‘पाप र विज्ञान’ मा आधारित छ । निबन्धमा व्यक्त उदाहरण र विचारलाई नेपाली समाजसँग तुलना गर्दै घोत्लियौँ भने हाम्रो स्थिति के हो छर्ल· हुनेछ, गन्तव्य प्रस्ट देखिनेछ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *