गोपाल नगरकोटी

समाज वर्गमा विभाजित छ । वर्गीय समाजमा प्रत्येक सदस्य प्रत्यक्ष या अप्रत्यक्षरूपमा कुनै न कुनै वर्गको सदस्य हुन्छ । दलको सिद्धान्त, विचार र दर्शनबाट प्रभावित भएरै राजनीतिक कार्यकर्ताहरू पार्टीमा लागेका हुन्छन् । कुनै सदस्य सक्रिय हुन्छन्, कुनै निष्क्रिय हुन्छन् भने कुनै समर्थक, शुभचिन्तक र सहयोगी हुन्छन् । यसरी दर्शन, विचार र सिद्धान्तबाट प्रेरित भएरै दल खोलेका हुन्छन् । नेपालमा खोलेका कम्युनिस्ट पार्टीहरूमध्ये नेपाल मजदुर किसान पार्टी पनि एक हो । नेमकिपाको मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ्ग विचारधारा हो । नेमकिपाले माक्र्सवाद, लेनिनवाद र माओ विचारधारालाई पथ प्रदर्शक मानेरै राजनीति गरिरहेको हो ।
नेमकिपा देश र जनताप्रति समर्पित पार्टी हो । देश र जनताको सेवा गर्न नेमकिपा समर्पित छ । नेमकिपाले अघि सारेका माग देश र जनताकै पक्षमा छन् । दलगत र व्यक्तिगत स्वार्थमा नेमकिपा लागेको छैन । इमानदारीपूर्वक र निःस्वार्थपूर्वक राजनीति गर्नु नै नेमकिपाको ध्येय हो । नेमकिपा देश जोगाउने अभियानमा दृढतापूर्वक सङ्घर्षरत छ । यसकारण नेमकिपा देशभक्तहरूको पार्टी हो । नेमकिपा कुनै पनि देशले गरिरहेको थिचोमिचो, अतिक्रमण, दबाब र हस्तक्षेपको विरोध गर्छ । देशका बहुमत शोषितपीडित जनताको पक्षमा लड्न नै नेमकिपा खोलिएको हो । बहुमत जनतालाई सचेत र सङ्गठित गरेर आमूल परिवर्तन गर्ने लक्ष्य नेमकिपाको हो ।
कानुनी र गैरकानुनी सङ्घर्ष गर्दै अघि बढिरहेको नेमकिपा लेनिनवादी नीतिअनुसार निर्वाचनमा भाग लिन्छ । प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ संस्थाभित्र पसेर देश र जनताको सेवा गर्नु नेमकिपाको लक्ष्य हो । नेमकिपा सिद्धान्त, दर्शन र विचारलाई जोड दिन्छ । हाल मंसिर १४ गते उपनिर्वाचन हुन गइरहेको छ । अहिले प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ सहित ५२ स्थानमा उपनिर्वाचन हुँदै छ । यस निर्वाचनमा नेमकिपाले पनि उम्मेदवारी दिने छ र निर्वाचनलाई उपयोग गर्नेछ ।
अन्य जिल्ला र स्थानमा झैं भक्तपुरमा पनि उपनिर्वाचन हुन्छ । निर्वाचन आयोगले सार्वजनिक गरेको सूचनाअनुसार कार्तिक २१ गते उम्मेदवारको नाम दर्ता हुनेछ । उम्मेदवारी दर्ताका लागि दलहरू गृहकार्यमा जुटेका छन् । निर्वाचनमा जनताले इमानदार, निःस्वार्थी, देश र जनताको सेवा गर्ने दल र दलका उम्मेदवारलाई जिताउनुपर्छ । देशमा अतिक्रमण गरे पनि, सीमा मिचे पति आर्थिक सहयोगको प्रलोभनमा कुनै शक्तिशाली देशको समर्थन या विरोध गर्ने दलका उम्मेदवारलाई मतदान गर्नुहुँदैन । निर्वाचनमा जित्न लोभलालच देखाउने, पैसा बाँड्ने, भोज खुवाउने, डर धम्की दिने उम्मेदवारलाई मतदान गरेर पछि पछुताउनु पर्ने काम अब दोहो¥याउनु हुँदैन ।
नेपाली जनताले नेकाको नेतृत्वमा बनेको सरकारको पटक–पटक अनुभव गरिसके । एमाले, माओवादी र नेकपाको नेतृत्वमा पनि सरकार बनिसकेको छ । तर, जनताले अनुभूति हुने गरी राहत पाएनन् । अतिक्रमित भूमि फिर्ता लिन, अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत बनाइएका बाँध तथा तटबन्ध भत्काउनेतर्फ सरकारले कुनै पहल गरेन या कूटनीतिक भूमिका खेलेन । नेपाल–भारत सीमा नियन्त्रण गरेर दुई देशबीच भइरहेको आपराधिक गतिविधि रोक्नेतर्फ सरकारको ध्यान पुगेको छैन । देश र जनताको हित या पक्षमा सङ्घर्षरत दलका उम्मेदवारलाई जिताउनु प्रत्येक मतदाताको कर्तव्य हो । भक्तपुरको प्रदेशसभा १ लगायत अन्य क्षेत्रमा हुने उपनिर्वाचनमा देशभक्त, इमानदार, योग्य, सक्षम व्यक्ति चयन गर्नुपर्छ । दलगत र व्यक्तिगत स्वार्थको निम्ति राजनीति गर्ने, पद र पैसाको निम्ति राजनीति गर्ने दल र दलका उम्मेदवारलाई निर्वाचित गर्नुहुँदैन । देशको स्वाधीनता, सार्वभौमिकता जोगाउन र बहुमत जनताको मुक्तिको निम्ति सङ्घर्षरत उम्मेदवारहरूको चयन गर्नु समयको माग हो । समयको त्यो माग पूरा गर्न अब मतदाताहरू चुक्नु हुँदैन ।
मतदाताहरू सचेत हुनुपर्छ । निर्वाचनमा पैसा बाँड्यो भनेर, पैसा दिएको भरमा आफ्नो आत्मा बेच्नुहुँदैन । पशुपन्छीको मूल्त्mैँ आफू पैसामा बिक्नु हुँदैन । गएको निर्वाचनमा भक्तपुरलगायत देशका विभिन्न स्थानमा नेकपा (एमाले र माओवादी) का नेता र कार्यकर्ताहरूले पैसा बाँडेका थिए, भोज खुवाएका थिए, अन्य लोभ देखाएर मत लिएका थिए । यसरी साम, दाम र दण्ड भेदको नीति अपनाएर नेकपाले बहुमत ल्याएको थियो । ती ठूला दलका नेता, कार्यकर्ताहरू अहिले पनि लोभलाग्दा आश्वासन बाँड्न पछि पर्ने छैनन्, पैसा बाँड्ने छन् । यसतर्फ आम मतदाता सचेत हुनुपर्छ । पैसा बाँडेर, लोभ देखाएर निर्वाचन जित्ने दल र दलका नेताहरूले देश र जनताको सेवा गर्दैनन् । जित्नकै निम्ति उनीहरू यसरी नै लोभ देखाउँछन् । जनताले छान्ने उम्मेदवार, निर्वाचित गर्ने उम्मेदवार दिलैदेखि देश र जनताको सेवा गर्ने हुनुपर्छ ।
प्रजातन्त्रवादी र जनवादी भन्ने तर साम्राज्यवादी, विस्तारवादी नीतिको कहिल्यै विरोध नगर्ने दललाई जनताले छान्नु ठीक होइन । बहुमत जनताको पक्षमा नलाग्ने दलका उम्मेदवारलाई छान्नुहुँदैन । आश्वासन बाँड्ने तर काम नगर्ने नेता र कार्यकर्तालाई हामीले समयमै चिनेर निर्वाचनमा हराउनुपर्छ ।
निर्वाचन पनि एक वर्गसङ्घर्षको थलो हो । विचारको यो सङ्घर्षमा कुन दल ठूलो र सानोभन्दा पनि कुन दलले कसको प्रतिनिधित्व गरिरहेको छ भन्ने कुरा जनताले थाहा पाउनुपर्छ । कसैको लहैलहैमा लागेर या कुनै सङ्कीर्ण स्वार्थमा फसेर हाम्रो अमूल्य मत बेच्नु हुँदैन । अहिलेसम्म नेपाल किन विकासोन्मुख पनि हुनसकेन ? नेपाल आत्मनिर्भर किन भएन ? किन देशमा सुशासन भएन, विधिको शासन भएन ? ‘नयाँ नेपाल’ बनाउने भनी अघि सरेका दलहरूले पटक–पटक सरकारको नेतृत्व गरे पनि त्यो इच्छा किन पूरा गर्न सकेनन् ? के राजतन्त्र अन्त्य हुनु नै नयाँ नेपाल बन्नु हो ? के पुँजीवादी गणतन्त्र स्थापना नै कम्युनिस्टहरूको उद्देश्य हो ? के अब देशमा आमूल परिवर्तनको जरुरत छैन ? पुँजीवादी व्यवस्थाबाटै देशमा समाजवाद स्थापना हुन्छ ? समाजवाद स्थापना गर्न अब नेपालमा कुनै सङ्घर्ष गर्नुपर्दैन ? यदि आवश्यक छ भने सही दल खोजौँ, सही दलका उम्मेदवारलाई चयन गरौँ । यो नै समयको माग हो, यसैमा हाम्रो कल्याण हुन्छ । आ–आफ्नो बृद्धि र विवेकको सहमति प्रयोग गरौँ ।