भर्खरै :

बागी उम्मेदवार

प्रेम के निडर
ठूलो पार्टीले उम्मेदवारी दिने अन्तिम घडीसम्म उम्मेदवारहरूको नामावली घोषणा गर्न नसकेकोमा सबै पक्ष के कति कारणले भनी उत्सुकता र टीकाटिप्पणी व्यक्त गर्दै थिए । लामो प्रतिक्षापछि प्रत्येक चुनाव क्षेत्रको सांसद सदस्यको लागि पार्टीको आधिकारिक उम्मेदवार घोषणा हुने भनिएको थियो ।
रामप्रसाद पनि आफ्नो समर्थकहरूको दलबलसहित पार्टी कार्यालयको परिसरमा उपस्थित भए । किनकि उनी पनि जिल्लाबाट सिफारिस गरेर पठाएका सिनियर जिल्ला नेता थिए । उनी सिफारिस भएका मध्ये त्यागी र पुुरानो दुःख पाएका नेता पनि थिए । उनी ढुक्क थिए टिकट पाउनेमा ।
पार्टी कार्यालय परिसरको चौरमा कार्यकर्ताहरूको मेलाजस्तै भीड थियो । आफ्ना नेताले सांसदको टिकट पाउने आसामा जिल्ला जिल्लाबाट आएका थिए । सबैमा उत्साह र उत्सुकतासाथ आ–आफ्ना समूहमा गफ गर्दै थिए । त्यहाँको वातावरणले कुन मान्छे कुन गुटको हो स्पस्ट थियो । नयाँ जोगीले बढी खरानी घस्छ भनेझँै नवप्रवेशीहरूको जोश जाँगर हेर्नलायक थियो । मोटै रकम दिएर प्रवेश पाएका धनाढ्यहरूको पनि आफ्नै किसिमको रवाफ देखिन्थ्यो । त्यहाँको माहोल हेर्दा पार्टी कार्यकर्ताहरूको भीड होइन ठेक्कापट्टा पाउनको लागि ठेकेदारसँग जम्मा भएका गुण्डा, लफङ्गाहरूको वा जालीफटाहा राजनीतिमा पसेका थिए । मोटै माछो फेला पार्न सकिने लोभले पसेका व्यापारीहरूको भीडजस्तो देखिन्थ्यो । त्यहाँ रामप्रसादजस्तो इमानदार कार्यकर्ताहरूको मूल्य कमै देखिन्थ्यो ।
घोषणा हुने समय नजिकिँदै थियो । त्यहाँ उपस्थित सबैको मन आतुर हुँदै थियो आफ्नो नेताको उम्मेदवारी घोषणा हुने हो कि होइन भनेर । आफू उम्मेदवार हुने पक्का भएकाहरू खुसी नै देखिन्थे । उनीहरू दावाका साथ भन्दै थिए उम्मेदवार बन्नेमा ।
उम्मेदवारको नाम घोषणा भयो  । रामप्रसादले आफ्नो नाम घोषणा भएको सुनेनन् । आफूले शङ्का गरेकै व्यक्तिको नाम घोषित भयो । कार्यकर्ता भन्न नसुहाउने डन थियो ऊ । गएको चुनावमा ऊ आफूलाई उम्मेदवार नबनाएको झोकमा पार्टी कार्यालय तोडफोड गर्दै चाबी लगाउनुका साथै बागी उम्मेदवार बनेको थियो । तर, यसपालि रामप्रसादले टिकट नपाए पनि चुपै लागे । किनकि ऊसँग न त तोडफोड गर्ने क्षमता नै छ न त बागी उम्मेदवार बन्ने क्षमता नै छ । उसले सोच्यो ”इमानदार कार्यकर्ता अब टिक्न नसकिने भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *