भर्खरै :

दाङमा नेमकिपाद्वारा कोण सभा र प्रचार कार्यक्रम

तुल्सीपुर, ६ मंसिर । नेपाल मजदुर किसान पार्टी ५ नं. प्रदेश समितिले दाङ क्षेत्र नं ३ (ख) का विभिन्न चोकहरूमा कोणसभाहरू आयोजना गरेको छ । पश्चिम दाङको बबई गाउँपालिकाको हापुरे चोक र हापुरे बस स्टेसनमा बुधबार र बिहीबार दंगीशरण गाउँपालिका तथा तुल्सीपुर उपमहानगरपालिकाको बालापुर चोक, शान्तिनगर गाउँपालिकाको पातेटाकुरा, मालेचौपारी, जुम्लेकुलो, बाघमारे र रगैजालगायतका चोकहरूमा कोणसभाहरू सम्पन्न भएका छन् ।
कोण सभामा नेपाल मजदुर किसान पार्टी ५ नं. प्रदेश समितिका संयोजक हरिसुन्दर वासीले कालापानीबाट भारतीय सेना हटाउन र भारतीय विस्तारवादबाट अतिक्रमित लिम्पियाधुरासम्मकै नेपाली भूमि फिर्ता लिन नेपाल सरकारले भारत सरकारसँग औपचारिकरूपमा संवाद थाल्नुपर्नेमा जोड दिनुभयो । अनौपचारिकरूपमा भारतसँग सीमा मिचेको बारे मुद्दा उठाए पनि औपचारिकरूपमा बोल्न आँट नगरेका शासक दलका नेता तथा पूर्वप्रधानमन्त्रीहरूले नै स्वीकारेको चर्चा गर्दै संयोजक वासीले भारतीय समकक्षीसँग औपचारिक वार्ता गर्न साहस नगर्नु निन्दनीय छ भन्नुभयो ।
भारतीय फासीवादी मोदी सरकारले नयाँ नक्सा जारी गरेपछि आक्रोसित नेपाली जनताको आवाजलाई मत्थर पार्न सरकार पुनःगठनको खिचलो झिकेको चर्चा गर्दै संयोजक वासीले जनतालाई ठग्ने शासक दलहरूविरुद्ध देशको सार्वभौमसत्ता र भूअखण्डता जोगाउन मादल चिह्नमा मतदान गर्न अनुरोध गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीबाट दाङ क्षेत्र नं ३ (ख) प्रदेशसभा सदस्य उम्मेदवार सुरेश परियारले भारतीय शासकहरूको आर्थिक र सैन्य सहयोगमा नेपालमा द्वन्द्व चर्काउने माओवादीहरू देशद्रोही हुन् भन्नुभयो ।
महाकाली सन्धि गर्ने एमाले र भारतीय ट्रोजन हर्स माओवादीको एकतापछि बनेको नेकपा भारतीय दलाल पार्टी हो भन्ने पुष्टि भएको चर्चा गर्दै उम्मेदवार परियारले भारतीय दलालविरुद्ध नेमकिपालाई मत दिनुहुन आह्वान गर्नुभयो । अकर्मण्य प्रतिपक्ष काङ्ग्रेसको कारण प्रजातन्त्र नै कमजोर भएको जिकिर गर्दै उम्मेदवार परियारले प्रदेशसभामा सशक्त र प्रखर प्रतिपक्षको लागि नेमकिपालाई जिताउनुपर्छ भन्नुभयो ।
नेमकिपाले संविधानसभाको पहिलो निर्वाचनकै क्रममा देशकै राजधानी दाङमा सार्ने प्रस्ताव अगाडि सारेको उल्लेख गर्दै उम्मेदवार परियारले प्रदेशको राजधानी दाङ उपत्यकामै राख्नुपर्नेमा जोड दिनुभयो ।
नेमकिपा ५ नं. प्रदेश समिति सदस्य बखत थापाले कामदार वर्गलाई शासक वर्गको रूपमा उठाउन नेमकिपा सङ्घर्षरत छ भन्नुभयो । शासक दलहरूले प्रजातन्त्रको नाममा पुँजीपति वर्ग र विदेशी पुँजीको हितमा कानुन बनाइरहेको चर्चा गर्दै सदस्य थापाले मजदुर किसानको नेतृत्वमा राष्ट्रिय पुँजीपति वर्ग तथा प्रगतिशील देशभक्तहरूको सरकार हुने जनताको प्रजातन्त्रमा शिक्षा, स्वास्थ्य निःशुल्क र रोजगारी सुनिश्चिताहुन्छ भन्नुभयो ।
नेमकिपाका उम्मेदवार सुरेश परियारले दाङका विभिन्न टीभी, रेडियो तथा पत्रिकाहरूमा अन्तर्वार्ताहरू दिई मादल चिह्नमा मतदान गरेर नेमकिपालाई समर्थन गर्न अपिल गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *