भर्खरै :

सिंहध्वाका दरबार (लाल बैठक) निर्माण र चुनौती

– डा. गणेशराम न्हेम्हाफुकी/विनिता श्रेष्ठ
भक्तपुर दरबार क्षेत्रको लायकुचोकको उत्तर खण्डमा अवस्थित हालको राष्ट्रिय कला सङ्ग्रहालय वा सिंहध्वाका दरवार अथवा मालती चोक प्रवेशद्वार दरबारको वेग्लै महत्व रहेको छ । जोडा सिंहबाट पश्चिमतर्फ मल्ल शैली र सिंहदेखि पूर्व अर्थात् स्वर्णद्वारतर्फ चुनले पोतेको राणाकालीन अथवा Neo-Classical शैली दरवार दुई खण्डमा विभाजित गरेर दुई स्वरुपमा देखिएर पनि चर्चाको विषय बनेको छ ।
यो विशाल दरवार मल्ल राजा भुपतेन्द्र मल्लले वि.सं १७५५ (सन् १६९८,नेपा.सं.८१८) मा योग्य कालिगढहरूद्वारा निर्माण गर्न लगाएका थिए । (लीलाभक्त मुनंकर्मी, नेपालको ऐतिहासिक परिचय,पे.न. ३१) त्यस्तै ‘भक्तपुर दरबारको प्रवेशद्वार’ नाम दिएर हरजोग र हिग्गिन्स (Herzog and Higgins) ले भने यो दरवारलाई १२ औं शताब्दीमा निर्माण गरिएको र प्रवेशद्वारका सिंहहहरू १७ औं शताब्दीको हो भनी लेखेका छन् । (‘सिंहध्वाका दरबार कहिले भत्क्यो ?’,भक्तपुर मासिक, सङ्ख्या २३६/२०७३)

यो दरबारको महत्व दरवार क्षेत्रको केन्द्रीय भागमा रहेको र ९९ चोकमध्ये बाँकी रहेका पाँचमध्ये एक चोक मालती चोकको प्रवेशद्वारसमेत भएको र वि.सं. १६५६ सालमा यक्ष मल्लले उक्त दरवारको चोकमा उत्कृष्ट कलाको ढुङ्गे धारामा देवीदेवता स्थापना गरी पानी निरन्तर आई रहने बन्दोबस्त गराइदिएका थिए । (लीलाभक्त मुनंकर्मी, नेपालको सांस्कृतिक तथा ऐतिहासिक दिग्दर्शन) र यस दरबारसँगै मालती चोकको पनि आफ्नै छुट्टै इतिहास र महत्व रहेको छ । यस दरवारको मूलद्वारमा देवताको मूर्तिमा अभिलेखसहित ढुङ्गाको एक जोडी विशाल सिंह विराजमान छन् । बाहिरीद्वारको दुवैपट्टि ढुङ्गाको हनुमानको मूर्ती र नरसिंहा देखिन्छ र यी मूर्तिहरू संसारकै दुर्लभ र उत्कृष्ट मूर्तिकलाको रुपमा लिइन्छ । (डा. पुरुषोत्तमलोचन श्रेष्ठ,’ भक्तपुर दरवार स्क्वायर, भक्तपुर मासिक, सङ्ख्या २२१/२०७२)
यस दरवारको आफ्नो पुरानो शैली सन् १८५६ (वि.सं. १९१३) पछि हराएको थाहा हुन आउँछ । राणा कालमा यस दरवारको सिंहदेखि पूर्व अर्थात् स्वर्णद्वारतर्फको भाग नयाँ शैलीमात्र नभएर भित्रको Interior पनि परिवर्तन गरियो । तल्काल भक्तपुरका मजिस्टे«ट धीरशमशेर जबराले उक्त दरबार भत्काउन लगाए । धीरशमशेर जबरा जङ्गबहादुरको कान्छो भाइ थिए र त्यसबेला जङ्गबहादुर राणाजस्तै शक्तिशाली थिए । जङ्गबहादुर राणाको बेलायत यात्रापछि बेलायती ढाँचामा लाल बैठक बनाउन लगाए र त्यसलाई बैठक कोठाकोरुपमा प्रयोग गरियो । (गौरीबहादुर कार्की, कस्तो बन्ला लाल बैठक भवन ?‘कान्तिपुर’ दैनिक ,फागुन २९,२०७२)
विभिन्न समयमा गएका भूकम्पमा यो दरबार पनि क्षति भएको थाहा हुन्छ । वि.सं. १८९१ र वि.सं. वि.सं. १९९० मा गएको भूकम्पमा यो दरबार क्षति भएको थियो र विभिन्न समयमा धेरथोर परिवर्तन पनि गरेको देखिन्छ । सन् २०१५ अप्रिल २५, (वि.सं.२०७२ वैशाख १२) को गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले यस सिंहध्वाका दरबार (लाल बैठक) लाई फेरि नराम्ररी क्षति पु¥याएको छ । अब कुन शैलीमा पुनःनिर्माण गर्ने भन्ने कुरा चुनौती र जिज्ञासाको विषय बनेको छ ।

राणाकालमा बनाएको सेतो चुनले पोतेको दरवारको पनि मानचित्रमा छुट्टै इतिहास र महत्व नबोकेको होइन, यसले पनि दरबार क्षेत्रमा आफ्नो अस्तित्व बनाइसकेको छ र प्राचिन सम्पदा संरक्षण ऐन २०१३ अनुसार यो १०० वर्ष बढी भइसकेको हुनाले आफैपनि छुट्टै सम्पदा भएको अवस्था छ । साथै भूकम्पबाट क्षति पुगिसकेको लाल बैठकलाई पुरानै मल्लकालीन शैलीमा नै पुनःनिर्माण गर्न पर्ने जनमत पनि आइरहेका छन् ।
विभिन्न समयमा बनाइएका लालबैठकको पुरानो मल्लकालीन शैली बाहिरीस्वरुप भएका चित्रहरू पनि बाहिर आइसकेका छन् । नेपाली कलाकार राजमान सिंह (सन् १७९७–१८६५) ले सिसाकलमले सन् १८४४ (वि.सं. १९०१) मा चित्र बनाइएको थियो जुन चित्रमा अहिलेसम्म भेटिएको चित्रमा सबभन्दा पुरानो चित्र हो । यो चित्रमा अहिलेभन्दा फरक शैलीको मल्लकालीन दरबार देख्न सकिन्छ । भुई तल्लामा काठको कलात्मक ढोका र विभिन्न आकारको टिकी झ्या (आँखिझ्याल) देख्न सकिन्छ । प्हिलो तल्लामा पनि विभिन्न आकारको टिकी झ्या (आँखिझ्याल) र प्रवेशद्धारको ठीकमाथि ऐनाको झ्याल (न्हाय्कं झ्या) देखिन्छ । माथिल्लो तल्लामा भने सँःझ्या र टिकी झ्या देख्न सकिन्छ र यो एउटा सुन्दर दरबारको रुपमा रहेको देखिन्छ ।
‘न्हाय्कं झ्या’को इतिहास
भूपतीन्द्र मल्ल राजा भएपछि एक अनौठो ऐनासहितको झ्याल भएको दरबार बनाए जो दिल्लीका मुगल बादशाहले कोसेलीको रुपमा ऐनाहरू भेट गरी पठाएका थिए । उस बेला नयाँ वस्तु राखेको झ्याल भएकोले  । नाम नै ‘न्हाय्कं झ्या’ भन्ने खुब प्रसिद्ध थियो । ‘न्हाय्कं झ्या’मा प्रयोग भएको ऐना सम्भवतः नेपालमा भित्रिएको पहिलो ऐना हो । (लीलाभक्त मुनंकर्मी, नेपालको सांस्कृतिक तथा ऐतिहासिक दिग्दर्शन,)
यस्तैगरी सन् १८४५ मा पानी रङ्गमा पेन्सिल र मसीले कोरेको ‘स्वर्णद्वार’ नामको चित्रमा पनि सिंहध्वाका दरबारको केही भाग देख्न सकिन्छ र यो चित्रमा पनि मल्लकालीन स्वरुपमा नै सिंहध्वाका दरबारलाई चित्रण गरिएको छ । (‘सिंहध्वाका दरबार कहिले भत्क्यो ?’,भक्तपुर मासिक, सङ्ख्या २३६/२०७३)
त्यस्तैगरी श्री ३ जङ्गबहादुर राणा प्रधानमन्त्री भएको बेलामा डा. हेनरी एम्ब्रोस ओल्डफिल्डले (Dr. Henry Ambrose Oldfield) सन् १८५० ( वि.सं. १९०७) देखि सन् १८६३ ( वि.सं.१९२०) करिब ते¥ह वर्षको नेपाल बसाईमा उनले सयांै पानी रङ्गका चित्रहरू बनाए । यस्तैगरि उनले सिंहध्वाका दरवार को पनि विभिन्न कोणबाट चित्रहरू कोरेको पाइन्छ र ती चित्रहरूमा पनि पुरानो मल्लकालीन स्वरुप नै देख्न पाइन्छ ।

विभिन्न समयमा कोरिएको चित्रले सिंहध्वाका दरवार वा मालती प्रवेशद्वार वा लालबैठकको मल्लकालीन स्वरुपलाई देखाउँछ ।
सम्पदाविद्हरूका अनुसार अहिलेको स्वरुपलाई सम्मान गरेर ९९ चोकको इतिहासलाई बचाउने हो भने पुरानो मल्लकालिन स्वरुपमा फर्कन राम्रो हुन्छ र यसो गर्दा Harmonious Integration समेत हुने र Homogeneous Built Environment बनाउन सकिने कुरा बताइएको छ ।
मल्लकालीन स्वरुपमा फर्कने विचारले मात्र लाल बैठकको पुरानो शैलीमा लान सजिलो छैन, बाहिरीस्वरुप भने विभिन्न चित्रमा देखिएको छ तर भित्री स्वरुपलाई मिलाउने चित्र र प्रमाणको कमी रहेको छ । अहिले भएको थामहरू पनि ओल्डफिल्डले कोरेको सन् १८५८(विस.सं. १९१५) चित्रमा देखिएको छ तर कसरी मल्लकालीन थामहरू आए जुन कि पहिलेको चित्रहरूमा देखिएको छैन र किन र कुनबेलादेखि रहे भन्ने प्रमाण पाइन्न । विभिन्न समयमा हेरफेर भएको लाल बैठकलाई पुरानो शैलीमा लान सक्नु मल्ल शैलीलाई संरक्षण गर्नुमात्र नभएर पुरै वातावरण र ९९ चोकको उत्खनन्लाई मद्दत पु¥याउने कार्य हुनेछ ।
सिंहध्वाका दरबार अथवा लाल बैठकको पुनः निर्माण गर्ने सन्दर्भमा सबभन्दा पहिले हाम्रो मौलिक निर्माण शैलीको असल र खराब पक्ष बुझेर सुधार गर्दै निर्माण गरिनुपर्छ । प्राचिन सम्पदा संरक्षण ऐन २०१३ तथा UNESCO को प्रावधानअनुरुप कुनैपनि संरचना सय वर्षभन्दा बढी भयो भने यसलाई पुरातत्विक सम्पदा मान्न सकिन्छ र कुनै पनि कालको सम्पदालाई हामीले सम्मान पनि गर्नुपर्छ । त्यस्तो सम्पदाले त्यो कालको इतिहासलाई प्रतिनिधित्व गरेको हुन्छ । तर कुनै पनि पुरानो प्रमाणहरू बलियो भयो र पहिलेकै सम्पदामा फर्किन राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्व र जिज्ञासा भएमा पुरानो शैलीमा फर्कन सक्ने प्रावधान पनि Venice Charter 1964, article 7 ले भनेकोे हुनाले सिंहध्वाका दरबारलाई मल्लकालीन शैलीमा फर्काउन कठिन नहोला । यतिमात्र नभएर हाम्रा अहिलेको बनेको बातावरणलाई मिल्दोस्वरुप र हाम्रो मौलिकस्वरुप पनि मल्लकालीनस्वरुप नै हो र हामीले जानी आएको प्रविधि पनि त्यही नै हो ।

अब बनाउने सामग्रीको कुरा गर्नुपर्दा कुनै पनि सम्पदालाई बलियो बनाउन मौलिक सामग्री पर्याप्त नभएमा आधुनिक सामग्रीको प्रयोगमा ल्याउन सकिने प्रावधान UNESCO, Venice Charter 1964, article 10/Nara Document या Authenticity, 1994 ले आधुनिक निर्माण सामग्री प्रयोग गर्नदिन्छ र प्रयोग गरौं भन्नुभन्दा पनि हामीले हाम्रो सम्पदामा आधुनिक निर्माण साम्रगी प्रयोग गर्ने कि नगर्ने भनेर व्यख्या हुनुपर्दछ । यदि यहाँका हाम्रा सम्पदाहरू सम्भावित भूकम्प थेग्न नसक्ने खालका रहेछन् भने त्यसलाई हाम्रै मौलिक शैली तथा प्रविधिबाट कसरी अझै बलियो बनाउने भनेर सोच्ने जिम्मेवारी हामी नेपाली भएको नाताले नेपाली इञ्जिनियरहरू र प्राविधिकहरूको पनि हो ।
बाहिरीस्वरुपमात्र जस्ताको जस्तै बनाउने होइन भित्री स्वरुपलाई पनि पहिलेको जस्तै गरी डिजाइन गर्न सकियो भने साचिक्कै सम्पदाप्रति न्याय हुनेछ । यसो गर्दा पुरानो प्रविधिलाईमात्र नभएर हामीलाई यो सम्पदा र प्रविधि छोडेर जाने हाम्रा पुर्खाप्रति सम्मान हुनेछ । आधुनिक सामग्री र प्रविधिको प्रयोग गर्नुपर्छ र ठूलोभन्दा ठूलो भूइँचालोमा पनि क्षति नहुने भवन निर्माण गर्नुपर्छ भन्ने मत पनि रहेको छ । तर आधुनिक प्रविधिलाई असल मान्ने प्राविधिक विज्ञले बुझ्नुपर्ने कुरा के हो भने आधुनिक प्रविधि पनि हिजो र आजको विचमा विकसित भएका होइनन् । विभिन्न समयमा, विभिन्न कालखण्डहरू, विभिन्न खोजहरू भएर आजको युगसम्म आएको हो । यदि हामी सच्चा सम्पदाप्रेमी हांै भने हाम्रो प्रविधिलाई विकास गर्नेतर्फ लाग्नु वेश हुन्छ । हाम्रो हिजोको निर्माण प्रविधिलाई सुधार गर्दै लानुपर्छ । कुनै पनि निर्माण समग्री र प्रविधि एकैपटक उच्च गुणस्तरको हुने गर्दैन । प्रयोग गर्दै सिक्दै जाने कुरा हो । विश्व विद्यालयहरूमा पनि हाम्रो मौलिक निर्माण साम्रगी र शैलीको अध्ययन÷अध्यापन तथा अनुसन्धान गर्न÷गराउनुपर्छ अनिमात्र नेपाली मौलिक निर्माण शैली र सामग्रीले बनेका भवनहरू सम्भावित भूकम्पबाट कसरी बचाउन सकिन्छ भन्ने कुराहरू अझ बढी प्रस्ट हुनेछ र हाम्रो भावी पुस्तालाई हामीले दिशानिर्देश गर्न सक्छौं ।
स्रोतहरूः
१. लीलाभक्त मुनंकर्मी, नेपालको ऐतिहासिक परिचय, पे.नं. ३१
२. ‘सिंहध्वाका दरबार कहिले भत्क्यो ?’, भक्तपुर मासिक, सङ्ख्या २३६/२०७३
३. लीलाभक्त मुनंकर्मी, नेपालको सांस्कृतिक तथा ऐतिहासिक दिग्दर्शन
४.डा. पुरुषोत्तमलोचन श्रेष्ठ, ‘भक्तपुर दरवार स्क्वायर’, भक्तपुर मासिक,सङ्ख्या २२१/२०७२
५. डा. विना धौबञ्जार, मूर्तिकलाको इतिहास
६. डा. पेशकल दाहाल, नेपालको इतिहास
७. Thapa Consultant, Detail Damage Assessment and Concept for Reconstruction, (National Art Gallery, Vidyarthi Niketan Higher Secondary School, Final Report, August 2016)
८. Venice Charter, 1964
९. Nara Document of Authenticity, 1994

Leave a Reply

Your email address will not be published. Required fields are marked *