रुपेश श्रेष्ठ

मध्यरातमा उड्यो
विशाल गर्जनसहित
एउटा हवाईजहाज ।

जब उड्यो जहाज
उडे केही थान सपना
उडे केही थान भविष्य ।

भेट्ला जहाजले त कतै न कतै
चिल्लो एअरपोर्ट
जहाजसँगै उडेका सपना
जहाजसँगै उडेका भविष्यहरूले कहाँ पुगेर भेट्लान्
उस्तै सुन्दर बिसाउनी ?

जहाजको हेडलाइट हेर्दै
कतिञ्जेल हल्लिरहेन्छन् होला
कहिल्यै नदेखिएको उज्यालोतिर फर्केर रित्ता हातहरू ?
जहाज फर्किने आकाशको बाटो हेर्दै
कतिञ्जले सुँकसुँकाइरहन्छन् होला
रोक्दारोक्दा आँसु नथामिएका आँखाहरू?

होहल्ला गर्दै उड्यो जहाज
‘बा’सँगका घच्चीमच्ची बिलाए
आमासँगका घुर्कीमुर्की हराए
सन्नाटा पस्यो मायालुको मुटुमा ।

जसै टाढा–टाढा हुँदै गयो जहाज
फुस्किँदै गयो औंलामा कस्सिएको प्रेमको औंठी
फैलिँदै गयो शङ्काको घेरा ।

जहाज त एक दिन फर्केर आउला
जहाजको गर्जनले उडेको आमाहरूको सातो
जहाजसँगै उडेको छोरासँग फर्केला कि नफर्केला ।

जहाजले जमिन छोड्दा भरोसा छोड्दा बाहरूको भरोसा
जहाजसँगै उडेका छोरीहरूसँगै आउला कि नआउला ?

अँध्यारोमा उडेको जहाजले
फर्किँदा उज्यालो ल्याउँछ कि
ल्याउँछ त्यही अँध्यारो ?
जहाजसँगै उडेका भविष्यहरू
सुटकेससँगै हाँस्दै आउलान्
वा बन्द बाकसमा निदाएर आउलान् ?

साभारः घिन्ताङ घिसी ट्वाक

Leave a Reply

Your email address will not be published. Required fields are marked *