भर्खरै :

लकडाउन र स्वास्थ्यमा प्रभाव

– डा. रत्नसुन्दर लासिवा
            नोवेल कोरोना भाइरस सङ्‍क्रमण कोभिड–१९ बाट अहिले विश्व आक्रान्त छ । जङ्गलको डढेलोसरि फैलिरहेको कोभिड–१९ ले संसारभरि २३ लाखभन्दा बढी मानिसहरू सङ्‍क्रमित भइसकेका छन् । सङ्‍क्रमणको कारण १ लाख ५० हजारभन्दा बढी मानिसहरूको ज्यान गइसकेको छ । यसले धनी–गरिब, जात, महिला, पुरुष, अनि कुनै पनि उमेर समूहलाई छुट्याएको देखिँदैन । यसले कुनै धर्म, पेशा, भूगोल, रीतिथिति, संस्कृतिलाई पनि छोडेको देखिँदैन । कोरोनाको कहर अत्यन्त भयावह छ ।
            स्वास्थ्य क्षेत्र त झनै रोगसँग अत्यन्त नजिकको सम्बन्ध भएको विषय हो भन्‍ने कुरामा कसैको दुईमत नहोला । स्वास्थ्य रोग लागेपछि उपचार गर्ने विषयमात्रै होइन यसको गहन भूमिका रोग लाग्नै नदिनु र रोगलाई यथा सम्भव चाँडो पत्ता लगाउनु हो ।
            कोरोना सङ्‍क्रमणले विश्वभरि मच्चाएको ताण्डवले धेरैजसो राष्ट्रले राष्ट्रिय लकडाउन वा क्षेत्रीय लकडाउन गरेका छन् । यसले कोरोना सङ्‍क्रमण रोक्नमा धेरै ठूलो राहत मिलेको तथ्याङ्कले देखाउँछ । कोरोनाबारे जनस्तरमा व्यापक प्रचारप्रसार भएको छ । लकडाउनलाई कति राष्ट्रले बढाउँदै लगेका छन् ।
            हप्तादिन, पन्ध्र दिन, महिना दिन भन्दै बढाउँदै लगेको लकडाउनले स्वास्थ्यका अरु विषयलाई पनि यथासमयमै सम्बोधन गर्नुपर्छ । अहिले मानिसहरूले साना–तिना स्वास्थ्यका समस्या लिएर स्वास्थ्य केन्द्रहरूमा उपचार गराउन सकिने स्थिति छैन । रोग समयमै निदान नहुँदा त्यसले समस्या निम्त्याउन सक्छ । खोप कार्यक्रम, पोषण कार्यक्रम, भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम हाललाई स्थगित गरिएको अवस्था छ । विगतको अनुभवले ती कार्यक्रमहरूले झाडापखाला, रतन्धो, न्युमोनियाजस्ता रोगको साथै पोलियो, क्षयरोगबाट जोगाई बाल मृत्युदरलाई घटाइदिएको छ । अन्धाअपाङ्ग हुनबाट बचाएको र कुपोषण हुनबाट रोकेको छ । यस विषयमा विज्ञहरूले पक्‍कै पनि मनन गरेकै छन् ।
            कोरोनाले स्वास्थ्य क्षेत्रलाई गोलघरको बन्दी बनाएको छ । ‘सर्प पनि मर्ने लट्ठी पनि नभाँचिने’ भनेजस्तै कोरोना सङ्कट पनि समाधान गर्ने र स्वास्थ्यका अन्य कार्यक्रमहरू पनि सुचारु हुने नीति हामीले अवलम्बन गर्नुपर्छ । लकडाउनमा भीडभाड गर्नुहुँदैन । लामो क्षेत्र वारपार गर्नुहुँदैन र सामाजिक दूरी कायम गर्नुपर्छ । यी कुराहरू सम्बोधन हुने गरी हामीले स्वास्थ्य संस्थाहरू प्रत्येक दिन लामो समयसम्म (१२ घण्टा) खोल्नुपर्छ र बिरामीको भीडभाड नियन्त्रणको लागि स्वास्थ्य संरचनाभित्र रहेका ५० हजार स्वयम्सेविकाहरूलाई परिचालन गर्नुपर्छ । भीडबाट मुक्त स्वास्थ्य संस्थाले आफ्नो सम्पूर्ण सेवा सुचारु गर्नुपर्छ ।
            कोरोनाको मृत्यु रोक्नुको साथै हामीले अन्य रोगले हुने मृत्यु तथा महामारीलाई पनि रोकथाम गर्नैपर्छ । समयमै सबैको ध्यान जानु जरुरी देखिन्छ ।
            (डा. लासिवा भक्तपुर नगरपालिकाले सञ्चालन गरेको जनस्वास्थ्य केन्द्रका प्रमुख हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *