भर्खरै :

परिस्थिति अनुकूल भएपछि देवाली पूजा, मातातीर्थ औँसी घरमै

            भक्तपुर, ७ वैशाख । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सम्भावित सङ्‍क्रमणको जोखिमलाई मध्यनजर गरी देवाली पूजा पछि सार्ने र हाललाई क्षमा पूजा मात्र गरी परिस्थिति अनुकूल भएपछि मनाउन सर्वसाधारण सबैमा भक्तपुर नगरपालिकाले अनुरोध गरेको छ ।
            नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, महानगरीय प्रहरी परिसर, नेपाली सेनाका प्रतिनिधि, जनप्रतिनिधि एवं स्थानीय प्रतिनिधिहरूको आइतबार सम्पन्‍न बैठकले नेपाल सरकारले बन्दाबन्दी लागू गरेको समयावधिमा देवाली पूजा परेको हुँदा रोग सङ्‍क्रमणको जोखिमप्रति संवेदनशील हुन सबैमा आग्रह गरेको छ ।
            बैठक निर्णयमा उल्लेख गरिएको छ, “विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगको सम्भावित सङ्‍क्रमणको जोखिमप्रति संवेदनशील भई यस वर्ष बन्दाबन्दीकै समयमा वैशाख १४ गते अक्षय तृतीयाका दिन, वैशाख १८ गते तःदिनलगायत त्यसपछिका दिनमा हुने देवाली पूजा परेकोले हाललाई क्षमा पूजा गरी परिस्थिति अनुकूल समयमा देवाली पूजा गर्न सम्पूर्ण नगरवासीहरूलाई अनुरोध गर्ने ।”
            त्यस्तै बैठकले वैशाख ११ गते मातातीर्थ औँसीको दिन पनि आ–आफ्नो स्वास्थ्य र कोरोना सङ्‍क्रमणको जोखिमलाई ध्यानमा राखेर घरबाट ननिस्की सामान्यरूपमै आमाको मुख हेर्ने पर्व सम्पन्‍न गर्न नगरवासीहरूमा आग्रह गर्ने निर्णय गरेको छ ।
            बैठकको अध्यक्षता ग्रहण गर्दै प्रमुख प्रजापतिले नगरवासीहरूको स्वास्थ्यलाई प्राथमिकतामा राखेर नगरपालिकाले कार्य गर्दै आएको बताउनुभयो । स्वस्थ रहे चाडपर्व फेरि पनि मनाउन सकिने उहाँको भनाइ छ ।
            कोरोना भाइरस रोगको रोकथामको लागि नेपाल सरकारले २०७६ चैत ११ गतेदेखि लागू गरेको बन्दाबन्दीको बेला विस्काजात्रा पर्व परेकोमा नगरपालिका, जिल्ला प्रशासन, महानगरीय प्रहरी परिसर, नेपाली सेना, सशस्त्र प्रहरी, टोल टोलका गुठी नाइके, जात्रा सहयोग समिति, टीम–क्लव, स्वयंसेवक एवं स्थानीय जनताको सहयोगमा नगरवासीहरूले सामान्य पूजामा सीमित गरी जात्रा सम्पन्‍न गरेकोमा सबैलाई धन्यवाद ज्ञापन गर्ने निर्णय भएको प्रमुख प्रजापतिले बताउनुभयो ।
            उहाँले सङ्कटको बेला केही व्यवसायीहरूले विभिन्‍न बहाना बनाई कृत्रिम अभाव सृजना गरी आर्थिक लाभ उठाउनसक्ने सम्भावनालाई ध्यानमा राखेर प्रहरी प्रशासनसँग समन्वय गरी नगरपालिकाले बजार अनुगमन कार्यलाई तीव्रता दिने निर्णय भएको जानकारी दिनुभयो ।
            त्यस्तै भक्तपुर नगरपालिकाले जनप्रतिनिधिहरूको अगुवाइमा वडा–वडामा खटाइएका स्वयंसेवकहरू, जिल्ला प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीबीच समन्वय गरी सरकारले लागू गरेको बन्दाबन्दीलाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाउने निर्णय गरिएको प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।
फाईल फोटो, फोटो श्रोत  : pahilopost.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *