भर्खरै :

विश्व स्वास्थ्य सङ्गठन र महानिर्देशक टेड्रोसको पक्षमा चीन

फाईल फोटो     
       काठमाडौँ, ७  वैशाख । संरा अमेरिकी ट्रम्प सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) लाई दिंदै आएको सहायता रकम खारेज गर्ने निर्णय गर्दै गर्दा चीनले डब्ल्युएचओ र त्यसका महानिर्देशकप्रति बलियो समर्थन जनाएको छ ।
            विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानम घिब्रिएससँग आइतबार भएको टेलिफोन वार्तामा चीनका विदेशमन्त्री वाङ यीले कोभिड–१९ को महामारीविरुद्ध संसार लडिरहेको अहिलेको गम्भीर परिस्थितिमा विश्व स्वास्थ्य सङ्गठन र त्यसका महानिर्देशकलाई सहयोग गर्नु बहुपक्षताको दर्शन र सिद्धान्तको रक्षा भएको बताउनुभएको हो ।
            विदेशमन्त्री वाङले महामारीको समयमा संयुक्त राष्ट्र सङ्‍घको भूमिका र अन्तर्राष्ट्रिय ऐक्यबद्धता कायम राख्न अहिलेको अवस्थामा विश्व स्वास्थ्य सङ्गठनलाई मद्दत गर्नुपर्ने बताउनुभयो ।
            संरा अमेरिकी सरकारको कदमप्रति सङ्केत गर्दै वाङले दूरदर्शी जनताले सत्य के हो र गलत के हो भन्‍ने कुरा पहिल्याउनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले आज संसारभरका जनता विश्व स्वास्थ्य सङ्गठनको भूमिकालाई नै बलियो बनाउने पक्षमा रहेको बताउनुभयो ।
            महानिर्देशक टेड्रोसप्रति अमेरिकी राष्ट्रपति ट्रम्पले लगातार गरेको हमलाको प्रतिरोध गर्दै चिनियाँ विदेशमन्त्रीले टेड्रोस भारी मतका साथ डब्ल्युएचओका महानिर्देशक पदमा निर्वाचित भएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “तपाईँ अफ्रिकी महादेशको एउटा विकासशील देशबाट निर्वाचित हुनुहुने पहिलो महानिर्देशक हुनुहुन्छ । तपाईँले सो पदभार ग्रहण गर्नुले मानव सभ्यताको अग्रगति र विकासको सङ्केत गर्छ ।”
            वाङले विश्व स्वास्थ्य सङ्गठनविरुद्धको गलत प्रचारबाजी र आक्रमण तथ्यपरक नभएको र त्यस्ता दबाबले व्यापक जनताको भावना प्रतिनिधित्व नगर्ने प्रस्ट पार्नुभयो । “कुनै पनि विवेकशील देशले यस्ता त्यस्ता हमला र दोषारोपणप्रति समर्थन गर्नसक्दैन”, वाङले भन्नुभयो ।
            उहाँले महानिर्देशक टेड्रोसले महामारी नियन्त्रण र रोकथामको लागि आगामी दिनमा पनि अन्तर्राष्ट्रिय समुदायबीच समन्वयकारी भूमिकालाई अझै चालू राख्नुहुनेमा विश्वास व्यक्त गर्नुभयो ।
            उहाँले विश्व स्वास्थ्य सङ्गठनको भूमिकालाई चीनले उँचो स्थान दिएको र विभिन्‍न माध्यमबाट अहिले चालु सहकार्यलाई बढाउने चाहना व्यक्त गर्नुभयो ।
            फोन वार्तामा महानिर्देशक टेड्रोसले डब्ल्युएचओप्रति चीनको लगातार र दृढ सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।
            उहाँले डब्ल्युएचओले बहुपक्षताको लगातार रक्षा गर्दै आएको कोभिड–१९ को विश्वव्यापी महामारी र भाइरसले कुनै सिमाना नमान्‍ने भएकोले अन्तर्राष्ट्रिय समुदायबीच सहकार्य अपरिहार्य आवश्यक भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *