भर्खरै :

सक्वको म राजदास – २९

ई. राजदास श्रेष्ठ
अन्ना पेट्रोभ्ना मायाले भरेका आँखाले मतिर हेर्दै भनिन्, “राज पेराश्की मीठो छ ?”
मैले भनेँ, “पेराश्कीभन्दा तपाईँसँग यसरी बसेर मेरा निकटका तीता मीठा सम्झनाहरूको बारेमा कुरा गर्न पाउँदा धेरै खुसी छु अन्ना । म मस्कोदेखि लन्डनसम्म गएर केही पैसा कमाउन टेन्सनको दिमाग बोकेर हिँडेको मान्छे । यसरी तपाईँसँग बसेर सुख दुःखका कुरा गर्न पाउला भन्ने मैले सोचेको पनि थिइनँ । यसरी तपाईँको अपरिचित पाहुना भएर घण्टौँ सँगै बसेर मीठा–मीठा कुरा र मीठा–मीठा खानेकुरा खान पाउँदा ज्यादै प्रशन्न छु । तपाईँलाई धेरै धन्यवाद ।”
“धन्यवाद त म तपाईँलाई बढी दिन्छु राज । मेरो यस्तो दुःखित अवस्थामा मकहाँ तपाईँ एउटा देवदूतजस्तो भएर आउनुभयो । हिजो अस्तिदेखि रोइरहेको यो मेरो मन ढुङ्गाजस्तो साह्रो भइराखेको थियो । अहिले धेरै हलुको भएको छ । यति हलुको भएको छ कि म तपार्इँसँगै उडेर जाउँजस्तो भइरहेछ राज ¤”
“मैले बुझिन्न अन्ना के भन्दै हुनुहुन्छ तपाईँ ।”
राज, मेरा दुःखका कुराहरू अहिले बिस्तारै बुझ्नुहुन्छ । भोलिदेखि म एक्लो हुँदै छु राज यस दुनियाँमा यी मेरी छोरी मारियासँग । भिक्टरसँग हिजो हामी डिभोर्स गरेर आएको राज । कोही छैन मलाई अब माया गर्ने, मलाई अँगाल्ने अनि सम्हाल्ने, म एक्लो भएँ राज ।”
अन्नाले भिजेका आँसु बिस्तारै पुछ्दै, आफूसँगै रहेको मैले दिएको हेड स्काफ आफ्नो हातमा लिइन् । ब्यागभित्र हात छिराएर एउटा सानो लिप्स्टिक निकालिन् ।
विश्व प्रसिद्ध फ्रान्सको आइफेल टावर अङ्कित सिल्क(रेशम) को स्काफ आधा
पल्टाएर आफ्नो टाउकोमा बेरिन् र चिउँदोमुनि दुई गाँठो पारिन् । ऐनासामु आफ्नो अनुहार ल्याई अलि गाढा रातो लिप्स्टिक दलिन् र मन्द मुस्कानका साथ छड्के नजरले मतिर हेरेर भनिन्, “राम्री छु म राज ?”

छाङ्गाबाट खसेको जस्तो भएँ म र सोधेँ, “के हो यो अन्ना पेट्रोभ्ना ? तपाईँ त त्यतिकै सुन्दरी हुनुहुन्छ, अनि यो रेलको डिब्बाभित्र यो श्रृङ्गारपतार ।”
“राज म तपाईँको दुलही आज ।”, “मलाई तपाईँको यो स्काफले यति खुसी दिएको छ, सबै हिजो अस्तिको दुःख वेदना भुलेँ । मेरो आज तपाईँसँग यसरी भेट हुँदा अनि तपाईँबाट यी सुन्दर उपहार पाउँदा ।” भिक्टर, यहाँ नजिक न हुँदो हो त म तपाईँसँग दिनभरि रातभरि कुरा गर्दै मस्को जान्थे हुँला र एक दिन म मस्कोमा तपाईँलाई आफ्नो फ्ल्याटमा राख्थे हुँला ।
अहिले म धेरै खुसी छु राज । त्यसैले यो मैले हलुका श्रृङ्गार गरेको । आफ्नो सुहाग रात सम्झेर ।
अन्नाको कुरा सुन्दै गर्दा म होसह्वास गुमाएको मान्छेजस्तो भएँ । किंकर्तव्यविमूढ भएर भनेँ, “अन्ना आफूलाई सम्हाल, नजिक आफ्नो काखमा छोरी छिन् सुतिराखेकी, माथि वेडमा हजुरको लोग्ने, डिभोर्स नै भएको भए पनि ।”
“म तपाईँको वेदना बुझ्छु यस्तो जवानी उमेरमा लोग्नेसँगै छुटेर एउटी अबोध नाबालिका छोरीसँग बस्नुपर्दा कतिको दर्द हुन्छ । आफूलाई मनपर्ने साथीसँग छुट्नु पर्दाको दुःख कति हुन्छ भन्ने कुरा मैले रुसको लागि काठमाडौँ छोडेर आउँदा भोगेको छु । कलेजमा पढ्दा मलाई माया गर्ने मेरो एउटी साथी थिइन् । म पनि उनलाई धेरै माया गर्थेँ । यति माया गर्थँे कि उनको प्रेममा पागल भएर मैले आफ्नो पढाइ बिगारेर दुई वर्ष लाग्ने इन्टरमेडियत कोर्स तीन वर्ष लगाएर पास गरेँ । तब अचानक हाम्रो बोलचाल बन्द भयो र आजसम्म म उनको मायाको आलो घाउ बोकेर हिँड्दै छु ।
“तपाईँको कुरा सही हो राज ¤ त्यो आफ्नो ठाउँमा छ । तर, मेरो कथा व्यथा अलि फरक छ । भिक्टर र मेरो बीचमा त्यस्तो गहिरो प्रेम थिएन । हाम्रो लोग्ने स्वास्नीको मात्र सम्बन्ध हो । हाम्रो प्रेम गरेर विवाह भएको होइन । भिक्टरभन्दा पहिले मेरो एक केटा थियो आन्ड्रेई । हामीसँगै स्कूलमा पढ्थ्यौँ  । आन्ड्रेई पढाइमा मभन्दा अलि कमजोर थियो । मैले उनलाई पढाइमा हरतरहले मद्दत गर्थेँ ।
आन्ड्रेई धेरै राम्रो केटो थियो । रुसी भाषामा जवान केटोलाई ‘पारेन’ भनिन्छ । आन्ड्रेई र मेरो बीचमा गहिरो सम्बन्ध थियो । एक अर्कालाई धेरै माया गथ्यौँ । स्कूलको पढाइ सकियो । मेरो नतिजा धेरै राम्रो आयो, तर आन्ड्रेईको जाँचको नतिजा त्यति राम्रो भएन । यसले गर्दा हाम्रो बीचमा अलि दुरी उत्पन्न भयो । आन्ड्रेई मदेखि केही लज्जित भए र मबाट टाढा हुन खोजे । हर प्रयास गरेँ मसँगको मित्रता गाँसी राख्न । मैले उनलाई त्याग्न सकिनँ । मेरै कारणले उनी मसँग भेट गर्दै रहे । तर, पहिलेको जुन हृदयदेखिको आत्मीयता थियो त्यो मैले हराउँदै गएको पाएँ आन्ड्रेईमा । तैपनि मैले आन्ड्रेईलाई आफ्नो मायाको काखमा च्यापिराखेँ ।
मैले स्कूलपछि उच्च शिक्षाको लागि मस्को स्टेट युनिभर्सिटीमा दर्खास्त दिएँ तर आन्ड्रेईले त्यो आँट गर्नसकेनन् ।
तपाईँलाई थाहा नै छ मस्को स्टेट युनिभर्सिटी भर्ना हुन त्यति सजिलो छैन र विश्वमा उत्कृष्ट युनिभर्सिटीहरूमध्ये एक गनिन्छ ‘मस्को स्टेट युनिभर्सिटी’ ।
थाहा छ अन्ना, “मलाई मस्को स्टेट युनिभर्सिटीबारे । संसारबाट मोस्ट टालेन्टेड विद्यार्थीहरू यहाँ पढ्न आउँदै छन् र मस्को स्टेट युनिभर्सिटीमा उत्पादन बिक्री हुन्छन् ।
“म युनिभर्सिटी” भर्ना भएँ राज । तर, आन्ड्रेइले पढ्न खोजेनन् । त्यसैले मलाई हाम्रो रिसेप्सनमा एउटा बज्रपात भयो ।
“अनि के भयो त आन्ड्रेइलाई ¤ आर्मीमा भर्ना लियो” मेरो मनमा दोस्रो बज्रपात ग¥यो राज ।
“ओहो…अनि ?

“अनि आन्ड्रेइलाई सैनिक तालिमको सिलसिलामा पूर्वी जर्मनी पठाइयो र तेस्रो बज्रपात भयो । तत्कालीन सोभियत सङ्घमा प्रत्येक युवालाई स्कूल जीवनदेखि सैनिक शिक्षा र सैनिक तालिम दिइन्थ्यो ।
मेरी श्रीमती भालेन्टिनाको दुःखद मृत्युको घटनापछि मेरो छोरा अलेक्जेन्डर श्रेष्ठ पनि सन् १९८३ तिर सोभियत स्कूलमा पढ्थ्यो । मैले अलेक्जेन्डरलाई त्यही बसेर पढ्न मामाघर पठाएको थिएँ । स्कूलमा ६–७ कक्षामा भर्ना पनि लिइयो । १४–१५ वर्षको उमेरमा नै उसलाई पनि सैनिक शिक्षा दिइएको थियो । त्यस्तो उमेरमै उसलाई बन्दुक चलाउने, बन्दुक जोड्ने, गोली भर्ने, निकाल्ने, राइफल सफा गर्ने आदि सिकाइएको थियो । श्रीमती भालेन्टिनाले पनि सैनिक शिक्षाबारे स्कूलमा प्रारम्भिक ज्ञान पाएकी थिइन् । पछि मसँग विवाह भएको कारण इन्स्टिच्युटमा उनलाई सैनिक शिक्षाको कक्षामा प्रवेश दिइएन । तत्कालीन सोभियत सङ्घमा विदेशीको सम्पर्कमा रहेका विद्यार्थीलाई सैनिक तालिम र सैनिकसम्बन्धी शिक्षा दीक्षा दिइँदैनथ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *