भर्खरै :

लेनिन कथा – १०

 
पत्रिकादेखि पार्टीसम्म
मरिया प्रिलेजायेभा
(विश्वका सम्पूर्ण कामदार जनताका महान् गुरु भ्लादीमिर इल्यीच लेनिनको समग्र जीवन चरित्रको झाँकी प्रस्तुत गर्ने गहकिलो एवं प्रेरणादायी पुस्तक ‘लेनिन कथा’ लेनिनको विषयमा गहिरो अध्ययन गरेकी सोभियत लेखिका मरिया प्रिलेजायेभाले सन् १९७१ को फेबु्रअरी महिनामा प्रकाशित गरेकी थिइन् ।
अघिल्ला अङ्कमा हामीले साइबेरिया निर्वासनमा लेनिन र क्रुप्सकायाका भोगाइबारे सविस्तार पढ्यौँ ।)
बोल्शेभिक
पहाडहरूको देश स्वीजरल्येन्डमा निलो जेनेभा तालको किनारामा एक सुन्दर सहर छ – जेनेभा । त्यसको बाहिर, तालदेखि केही दूरीमा, सेशेरोन नामक मजदुर बस्ती थियो । र, त्यो बस्तीमा थियो एउटा सानो दुईतले घर । अन्य घरहरूजस्तै त्यसको छानो पनि सानो टायलको थियो । सानो हराभरा बगैँचा पनि भएको उक्त घरका झ्याल हरियो रङ्गका थिए ।
यो घरमा इल्यीच दम्पति, अर्थात् भ्लादीमिर इल्यीच र नादेज्दा कोन्स्तान्तिनोभ्ना बस्थे ।
पहिले उनीहरू म्युनिखमा बस्थे । तर, त्यहाँको पुलिसले ‘इस्क्रा’ बारे सुइँको पाएपछि उनीहरूले त्यो सहर छोड्नुप¥यो । यसर्थ उनीहरू बेलायतको राजधानी लन्डन आए । एक वर्ष ‘इस्क्रा’ लन्डनमा छापियो । तर, पछि त्यहाँ बस्न पनि खतरा भयो । ‘इस्क्रा’ को लागि अन्य ठाउँ खोज्न जरुरी थियो । तब इल्यीच दम्पती जेनेभानजिकै पर्ने सेशेरोन बस्तीमा पुग्यो ।
“एकदम राम्रो ¤” केही मिनेटमा सारा घरको अवलोकन गरेपछि भ्लादीमिर इल्यीचले भने । “एकदम राम्रो । शान्त ठाउँ छ । यहाँ हामीले चैनसँग काम गर्न सक्नेछौँ ।”
घरको तल्लो तलामा अलि ठूलो भान्छाकोठा थियो । माथि दुइटा साना तर खूब उज्याला कोठा थिए ।
भ्लादीमिर इल्यीचसँग काम त धेरै थियो । तर, उनले कल्पना गरेको शान्ति छिट्टै मिथ्या साबित भयो । बस्तीका बासिन्दाहरूले त्यहाँ धेरै मानिस आइरहेको देखे । जुलाई, १९०३ मा त आगन्तुकहरूको मानौँ ताँती नै लागि रह्यो । आगन्तुक कहिले एक्लै आउँथे त कहिले दुई तीन जनाको समूहमा आउँथे ।

उनीहरू स्थानीय होइनन् भनी सजिलै चिन्न सकिन्थ्यो । स्थानीय बासिन्दाको भन्दा उनीहरूको पहिरन अलग थियो र बोली पनि मिल्दैनथ्यो । उनीहरू रूसी बोल्थे । उनीहरू जेनेभामा पहिलोपटक आएका हुन् भनी प्रष्ट छुट्टिन्थ्यो । यहाँका हरेक चीज उनीहरूका लागि नयाँ थिए । उनीहरूलाई यहाँको घमाइलो आकाश, उज्याला रङ्गका झ्यालहरू, गमलामा फुलेका फूल, सबै औधी मन पर्थे ।
सेशेरोनका बासिन्दाहरू १९०३ को गर्मी याममा यति धेरै रूसीहरूलाई जेनेभामा देखेर आश्चर्यचकित भएका थिए सायद । तर, उनीहरू सबैजना रूसका विभिन्न भागबाट पार्टीको दोस्रो अधिवेशनमा भाग लिन यहाँ आएका हुन् भन्ने तिनीहरूमध्ये कसैलाई पनि थाहा थिएन ।
अधिवेशनको लागि छानिएका मानिस विभिन्न समस्याबारे विचार–विमर्श गर्न लेनिनसमक्ष आउँथे । उनको राय सोध्थे । अधिवेशनको तयारीमा सबैभन्दा ठूलो योगदान भ्लादीमिर इल्यीच छ भन्ने उनीहरूलाई थाहा थियो । अधिवेशनको तयारीको क्रममा भ्लादीमिर इल्यीचले पार्टीको गठन कसरी गर्ने भन्ने विषयमा ‘इस्क्रा’ का अनेक अङ्कमा धेरै लेखहरू लेखेका थिए । पार्टीको नियमावली र जुझारु कार्यक्रम तयार पार्दै ‘के गर्ने ?’ नामक किताब पनि लेखेका थिए । “हामी समाजलाई नयाँ र प्रगतिशील ढङ्गले सुगठित बनाउन चाहन्छौँ । यो नयाँ र प्रगतिशीलसमाजमा न कोही धनी हुनेछ, न कोही गरिब । सबैले समान रूपमा काम गर्नुपर्नेछ,” लेनिनले साथीहरूलाई सम्झाउँथे ।
लेनिनले यी सबै विषयमा धेरै सोचविचार गरेका थिए । खासमा पार्टी कार्यक्रमको रूपरेखा उनले आफ्नो निर्वासनकालमा नै तयार पारेका थिए । उनले अधिवेशनबाट नयाँ समाज स्थापनाको लागि सबैभन्दा उत्तम तरिका के हुनसक्छ, सबै मिलेर तय गरुन् भन्ने चाहन्थे । अधिवेशनमा भाग लिनेहरू जेनेभाबाट ब्रसेल्स पुगे । त्यहाँ एउटा विशाल, अँध्यारो र कामचलाउ आटा गोदाममा अधिवेशनको उद्घाटन भयो । अधिवेशनको लागि गोदाम खाली गरिनुका साथै झ्यालहरू खोलेर ताजा हावा आउन दिइएको थियो । एउटा भित्तातिर काठहरू चाङ पारेर मञ्च बनाइएको थियो । सबैभन्दा ठूलो झ्यालमा रातो कपडा टाँगिएको थियो । प्रतिनिधिहरू बस्न बेन्च राखिएका थिए । प्रतिनिधि आ–आफ्नो ठाउँमा बसे । प्लेखानोभ मञ्चमा चढे । उनी पहिलो रूसी माक्र्सवादी र घागडान विद्वान थिए । लेनिनभन्दा पहिले नै उनले माक्र्सका क्रान्तिकारी विचारहरूको बारेमा धेरै किताब लेखिसकेका थिए । समारोही वातावरणमा प्लेखानोभले अधिवेशनको उद्घाटन गरे र अत्यन्त प्रभावशाली भाषण थिए ।
सबैले सास रोकेर प्लेखानोभका विचार सुने । भ्लादीमिर इल्यीच पनि अत्यन्त भावुक भए । उनका आँखा उल्लासले चम्किरहेका थिए । पार्टीको पुनःस्थापना र पार्टी अधिवेशनको सपना उनले धेरै पहिलेबाट देखिआएका थिए । आखिरमा सपना साकार भएको थियो ।
अधिवेशनको कारबाही सुरु भएपछि पहिलो दिनबाट नै सङ्घर्ष पनि छेडियो, किनकि केही प्रतिनिधि लेनिनद्वारा प्रस्तावित जुझारु कार्यक्रममा सहमत थिएनन् । उनीहरूलाई यो कार्यक्रम एकदम नयाँ र जोखिमपूर्ण लागेको थियो । नविनतासँग उनीहरू डराउँथे । अतः उनीहरू लेनिनसँग बहस गर्न थाले । लेनिन सही थिए । उनले आफ्नो पक्षको कुरा कति जोश र उत्साहसाथ प्रस्तुत गरे भने अधिकांश प्रतिनिधिले सहमति जनाए । अधिवेशनमा पार्टीका कार्यक्रम र नियमावलीबारे सोचविचार गरियो । केन्द्रीय समिति र ‘इस्क्रा’ को सम्पादन मण्डल चुनियो । प्रायः सबै प्रश्नहरूमा सङ्घर्ष भयो । लेनिनले अधिवेशनमा एक रिपोर्ट पेश गरे । रिपोर्ट कति स्पष्ट र विश्वासिलो थियो भने सबै प्रतिनिधिहरूले त्यसलाई असाधारण एकाग्रताका साथ सुने । अधिवेशनमा सैँतीस बैठकहरू भए । तिनमा लेनिनले जम्मा एक सय बीस पटक बोले । उनी बोल्दा सबै अचम्मित हुन्थे । अधिकांश प्रतिनिधिहरूले लेनिनको समर्थन गरे । यसकारण उनीहरूलाई बोल्शेभिक (बहुमतप्राप्त) भन्न थालियो । लेनिनको विरोध गर्नेहरूलाई मेन्शेभिक अल्पमतप्राप्त) भनियो । बोल्शेभिकहरूको उल्टो मेन्शेभिकहरू क्रान्तिकारी सङ्घर्षबाट बिस्तारै पछि हट्दै गए ।
अधिवेशन जारी थियो । एकपछि अर्को बैठक भइरहेको थियो । अब भने आटा गोदाममा केही शङ्कास्पद अनुहार पनि देखिन लागेका थिए । टाढैबाट चिहाएर उनीहरू भित्र के भइरहेछ, पत्ता लगाउन चाहन्थे । वास्तवमा रूसी क्रान्तिकारीहरूको अधिवेशन भइरहेको छ भन्ने बेल्जियम पुलिसले सुइँको पाएको थियो । यसकारण सुराकीहरूको पूरा फौज लगाइएको थियोे । खतरा बढिरहेको थियो । अधिवेशनस्थल सारियो, लन्डनमा । यहाँ अधिवेशनको कारबाही जारी रह्यो । जीत लेनिनकै भयो । उनका निर्भिक र जोशिला साथीहरू (बोल्शेभिकहरू) उनको पक्षमा थिए ।
लन्डनमा प्रायः पानी परिरहन्थ्यो । यसपटक त सिमसिमे पानी कतिसम्म प¥यो भने लन्डनका सडक छातैछाताले ढाके । बीचबीचमा इङलिश च्यानलबाट आउने हावाले घना बादल उडाएर लैजान्थ्यो । केही समय निलो आकाश देखिन्थ्यो, घाम झुल्किन्थ्यो, फेरि पानी पथ्र्यो ।
यस्तै एक दिन अधिवेशन सकिएपछि, केही समय चम्केर सूर्य बादलपछाडि लुक्न गएको थियो, तब लेनिनले भने ः
“साथीहरू ! बीस वर्षपहिले यहीँ लन्डनमा कार्ल माक्र्सको निधन भएको थियो । आउनुस्, हामी पनि महान् माक्र्सको चिहानमा श्रद्धाञ्जली अर्पण गर्न जाऔँ ।”

अनि सबैजना सँगसँगै चिहानतर्फ लागे । चिहान लन्डनको उत्तरी भेगमा पर्ने डाँडामाथिको पार्कमा थियो । डाँडाबाट लन्डनको मनमोहक दृश्य देखिन्थ्यो – कोइलाले काला भएका घर, कालो छत, धुवाँ ओकलिरहेका कारखानाका चिम्नीहरू ।
माक्र्सको चिहान सेतो सङ्गमरमरले बनेको थियो । चिहानको वरिपरि हरियो घाँस उम्रेको थियो ।
चिहानको सिरानमा गुलाफका फूल राखिएका थिए । शोक व्यक्त गरेझैँ फूलका थँुगा केही झुकेका थिए । सिमसिमे पानी परिरहेको थियो । सडकमा कालो छाता ओढेर मानिसहरू बिस्तारै आउजाउ गरिरहेका थिए ।
‘साथीहरू,’ लेनिनले शिरको टोपी खोल्दै भने, “महान् माक्र्स हाम्रा गुरु हुनुहुन्छ । उहाँको चिहानछेउ उभिएर हामी शपथ खान्छौँ, उहाँका विचारहरूप्रति सदा निष्ठावान रहनेछौँ र कहिल्यै सङ्घर्षबाट विमुख हुनेछैनौँ । अगाडि बढौँ साथी हो ! केवल अगाडि !”
अनुवाद – माधव अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *