भर्खरै :

शत्रु र मित्र जातले होइन वर्गले छुट्याऔँ !!!

वर्ग भनेको जात होइन । हरेक जात–जाति र भाषा–भाषीको समाजमा वर्ग हुन्छ । नेवार, पर्वते (काठमाडौँ उपत्यकामा पर्वते, ‘खस’ र ‘खेँ’ शब्दले नेपाली भाषा–भाषीलाई सम्बोधन गरिन्थ्यो), गुरुङ्, मगर, राई, लिम्बू, मैथिली वा भोजपुरी, चौधरी र अन्य जात–जाति र भाषा–भाषीमा पनि वर्ग हुन्छ । नेवारहरूमा भारतबाट आएका ‘क्षेत्रीय’ मल्ल, प्रधानाङ्ग, अमात्य, राजोपाध्याय, जोशी, कर्मचारी, कायस्थ र ‘ज्यापू’ वा ‘किसान’ जातिमा सुवाल, दुवाल, न्याइच्याई, बासुकला, प्रजापति (कुम्हाले) कोजू, माकजू, आदि थर वा जातमा विभाजित छन्् । त्यस्तै खस जातीमा ठकुरी, क्षेत्री, बाहुन आदि र तराईका विभिन्न भाषा–भाषीहरू पनि धनी र गरिब, शोषक र शोषित आदि वर्गमा विभाजित छन् ।
तर, जग्गाको मूल्य केही बढेको कारण आफ्नै पुख्र्यौली सम्पत्ति भएका केही मानिस र इँटा भट्टा व्यवसायी, व्यापारी, घर जग्गा कारोबारी (घर–जग्गाको दलाली गर्ने), ठेकेदार (निर्माण व्यवसायी), धेरै घर बनाएर बहालमा दिने (विदेशी भाषामा – जमिनको मालिक) आदिले पनि ‘हामी एउटै जातका हौँ’ भन्नु वर्गलाई जात, थर र भाषा–भाषीमा रूपान्तर गर्न खोज्नु हो । सैद्धान्तिक र सामाजिकरूपले त्यो परिभाषा गलत हुन्छ । एउटै थर वा जातिका साहुहरूले त्यही थर र जातिका ग्राहकलाई पनि ठग्छन् र शोषण गर्छन् । यस अर्थमा जात र वर्ग एउटै हुँदैन ।
एउटै पेशाका पनि आर्थिकरूपमा फरक–फरक तहमा पुगेका हुन्छन् । प्राथमिक स्कूलका शिक्षक–शिक्षिका र विश्वविद्यालयका प्राध्यापकसमेत पेशाले शिक्षक नै हुन् । तर, पारिश्रमिक वा तलब एवम् सहुलियत हिसाबमा धेरै ठूलो भिन्नता हुन्छ । यसकारण, जात र थर एउटै भएपनि धेरै सम्पत्ति र उत्पादनका साधन भएका शिक्षण पेशामा लागेका व्यक्ति एउटै वर्गमा आउँदैनन् । वर्षभरि मजदुरी वा ज्यालादारी गरेर जीविका चलाउनेहरू मजदुर हुन् भने आफ्नो वा अरूको खेत कमाई ३ महिना खान पुग्ने किसानदेखि आफू–आफूमा आलोपालो गरी एकले अर्काको काम गरिदिने (पर्म) किसान मध्यम किसान हुन् । तिनीहरू खेतीबाट तीन महिनामात्र खान पुग्ने गरिब किसान हुन् भने खेतीमा ज्यामी नगरी खानै नपाउने अर्थात् आफूसँग कुनै खेतीयोग्य जग्गा नभएका किसान ‘जोताहा’ किसान हुन् ।
तर, त्यही जात र थरका नयाँ पुस्ता कोही बैङ्कमा छन् त कोही विश्वविद्यालय र ठूल–ठूला व्यापार तथा विदेशी कम्पनीका एजेन्ट छन् भने तिनीहरू ‘मजदुर’ र ‘किसान’ वर्गमा आउँदैनन् । तीमध्ये केही करोडपति र अरबपति भई घुमाई–फिराई शोषणमा भाग लिनेहरू शोषकवर्गमा पर्छन्, केही निम्न–पुँजीपतिवर्गमा पर्छन् । चलन चल्तीमा ‘मध्यमवर्ग’ भनिने वर्ग यथार्थमा ‘निम्न पुँजीपतिवर्ग’ मा पर्छ । दाजु पुँजीपतिवर्गको हुनसक्छ भने भाइ निम्न पुँजीपतिवर्गको । शिक्षक, तल्लोस्तरका कर्मचारी, नाङ्ले पसलेदेखि थोक पसलेसम्म, अरूको पसल र निजी कार्यालयमा काम गर्ने, सिकारु वकिल, डाक्टर, इन्जिनियर आदि समेत निम्न पुँजीपतिवर्गमा आउँछन् ।
विदेशी पुँजीबाट सञ्चालित उद्योग–धन्दा वा व्यापारका एजेन्ट र गैर–सरकारी संस्था (एनजीओ) को माथिल्ला सबै हाकिमहरू ‘विदेशी एजेन्ट’ हुन्–पेशा र वर्गको आधारमा । तर, सबै पेशा र वर्गमा यति सजिलै वर्गभेद छुट्याउन नसकिने ठाउँ र विषय पनि हुन्छ । सरलरूपले भन्नुपर्दा कुनै एक शिक्षकलाई ९ महिना तलबले पुग्छ र ३ महिना उसको घर बहाल वा खेतको आम्दानीबाट खान पुग्छ भने ऊ सानो वा निम्नवर्गको जग्गाधनी हो । कुनै शिक्षकको प्रतिमहिना ३० हजार रुपैयाँ तलब छ र महिनामा एक लाख रुपैयाँ उसको घर – खेतको बहाल वा कुतबाट आउँछ भने ऊ मध्यम जमिनदारवर्गमा पर्छ । वर्षको आफ्नो पुँजी लगानी, बैँङ्कको ब्याज र व्यापारबाट करोडौँ रुपैयाँ आम्दानी हुन्छ भने ऊ पुँजीपतिवर्गमै पर्छ । अचल सम्पत्ति र पुँजीबाट आम्दानी गर्ने अरबपति र खरबपतिहरू पनि नेपालमा हजारौँ भइसकेका छन् । यसकारण, एउटै जातका मानिसहरू एउटै वर्गका हुँदैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *