भर्खरै :

अतिथिले प्रधानमन्त्रीविरुद्ध बोलेको भन्दै रेडियो नेपाललाई मगाइयो माफी

            काठमाडौँ, १५ वैशाख । सोमबार बिहान प्रसारण गरिएको ‘अन्तरसंवाद’ कार्यक्रममा नवगठित जनता समाजवादी पार्टी नेपालका नेता बाबुराम भट्टराईसँगको अन्तर्वार्ताको कारण रेडियो नेपालले विज्ञप्ति नै जारी गरी माफी मागेको छ ।
            सोमबार बिहान ६३० बजे रेडियो नेपालमा प्रसारण भएको प्रत्यक्ष अन्तर्वार्तामा नेता भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई लक्षित गरी ‘निरङ्कुश’, ‘उद्दण्ड’, ‘भष्मासुर’ जस्ता शब्द प्रयोग गरेकोमा दुःख मनाउ गर्दै रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले सोमबार जारी गरेको वक्तव्यमा सो कार्यक्रम प्रत्यक्ष (लाइभ) प्रसारण भएकोले आवश्यक सम्पादन गर्न नसकिएको भन्दै क्षमा माग्नुभएको छ ।

            वक्तव्यमा भनिएको छ,‑“अब उपरान्त रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूमा अतिथि चयन गर्दा गम्भीररूपमा सचेत रहने प्रतिबद्धता पनि व्यक्त गर्दछौँ ।”
            आमन्त्रित पाहुनाको विचारको कारण सरकारी स्वामित्वको रेडियो नेपालले यसरी औपचारिक विज्ञप्ति जारी गरी सरकारसँग माफी माग्नु परेको अवस्थालाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हमलाको रूपमा लिइएको छ । सरकारी स्वामित्वका समाचारमाध्यमहरू शासकको पेवा र भजनमण्डली होइनन्, सबै जनताको साझा चौतारी हुन् । सरकारी स्वामित्वको अर्थ सरकारको विरोधमा केही पनि बोल्न वा प्रसारण गर्न निषेध गर्र्नु लोकतान्त्रिक मूल्यमान्यताविपरीत हो । ओली सरकार अधिनायकवादी बन्दै गएको टीकाटिप्पणीलाई रेडियो नेपाललाई विज्ञप्ति प्रकाशन गर्न बाध्य पार्ने अवस्थाले पुष्टि गरेको विश्लेषकहरूको भनाइ छ । यसअघि प्रधानमन्त्री ओली निजी तथा सरकारी सञ्‍चारमाध्यम आक्रामक बन्दै गएकोमा उनी आलोचित छन् । उनले पटक–पटक आफ्ना कमीकमजोरी लुकाउन सञ्‍चारमाध्यमलाई दोषारोपण गर्दै आएका थिए ।  सञ्‍चारमाध्यमका कतिपय कार्यशैलीप्रति उनले आपत्ति जनाउँदै आएका थिए ।
            सोमबार रेडियो नेपालमा प्रसारित अन्तर्वार्तामा आमन्त्रित अतिथिको अभिव्यक्तिकै आधारमा कर्मचारीलाई माफी माग्न दबाब दिइनु र उपरान्त पाहुना बोलाउन पनि ‘गम्भीररूपमा सचेत रहनुपर्ने’ अवस्था निम्त्याउनुले संविधानको भावनालाई लत्याएको छ । अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि खालको अङ्कुश कसैबाट पनि लगाइनु असंवैधानिक हो र सरकारी स्वामित्वका सञ्‍चारमाध्यमको सन्दर्भमा यो अझ बढी लागू हुनुपर्छ ।
            रेडियो नेपालको ‘अन्तरसंवाद’ कार्यक्रममा प्रधानमन्त्रीलाई प्रयोग गरिएको शब्दप्रति बिहानै केही सरकार पक्षधर पत्रकारहरूले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *