भर्खरै :

सक्‍वको म राजदास – ३२

            सन् १९६९ मा म सोभियत सङ्घमा पढ्न जाँदा तत्कालीन सोभियत सङ्घ एक स्वर्गजस्तो देश लागेको थियो । समाजवाद र साम्यवादको बाटोमा विश्व सर्वहारा वर्गको नेतृत्व लिदैँ सोभियत सङ्घ अगाडि बढ्दै थियो । हुन पनि सन् १९१७ मा भएको महान समाजवादी अक्टोबर क्रान्तिपछि विश्वमा सोभियत सङ्घले एक अद्वितीय तर· ल्याइदियो । सयौँ वर्षदेखि शोषित उत्पीडित विश्वका सयौँ राष्ट्रहरू मुक्ति आन्दोलनमा उत्रिए । सयौँ स्वतन्त्रताप्रेमी जनताले आफ्नो देशलाई साम्राज्यवादी उपनिवेशबाट मुक्त गरेर स्वतन्त्रताको सास फेरे । यसरी उपनिवेशबाट मुक्त हुने देशमध्ये हाम्रो नजिक रहेको छिमेकी देश भारत पनि हो । सन् १९४७ मा भारत ब्रिटिश उपनिवेशबाट मुक्त भएपछि नेपालमा पनि जहाँनिया राणातन्त्रविरुद्ध आन्दोलन सुरु भयो । तद्नुरुप सन् १९५२ (२००७) मा नेपाल राणाशासनको क्रूर पञ्जाबाट मुक्त भयो । यसरी हेर्दा हाम्रो देशको स्वतन्त्रता पनि सोभियत रुसमा भएको महान अक्टोबर क्रान्तिसँग जोडिएको छैन भन्न सकिँदैन । म सोभियत सङ्घप्रति कृतज्ञ हुँदै सोभियत सङ्घमै उच्च शिक्षा हासिल गर्न गएको यही कारणले पनि हो । सोभियत सङ्घले मलाई केमिकल इन्जिनियरि·को डिग्रीमात्र दिएन बोनसस्वरुप एक मजस्तै केमिकल इन्जिनियर श्रीमती र दुई राम–लखनजस्ता छोराहरू पनि  प्रदान गर्‍यो । त्यसकारण पनि म सोभियत सङ्घप्रति ज्यादै आभारी छु । सोभियत सङ्घको जनताको प्रत्येक सुख दुःखमा म सरोकार राख्न चाहन्छु । रेलमा सँगै यात्रा गरिरहेकी अन्ना पेट्रोभ्नासँगैको भेटमा भएका सबै कुराहरूले मलाई सोभियत सङ्घका जनताको सुख दुःख बुझ्ने अवसर प्रदान गर्‍यो ।
            विश्व इतिहासमा रुसी जनताले धेरै दुःख कष्ट भोगे । तर, अक्टोबर क्रान्तिपछिको ठूलो सङ्घर्ष र द्वितीय विश्वयुद्धमा सोभियत जनताले दुईतीन करोड जनताको बलिदानपछि प्राप्त गरेको विजयले सोभियत जनतालाई विश्वमा एक गौरवशाली राष्ट्रको  रूपमा प्रतिस्थापना गरिदिए । यो अत्यन्त गौरवको कुरा हो । आफ्नो इतिहास सन् १९४५ पछिको समयले सोभियत सङ्घलाई एक शान्ति र समृद्धिको शिखरमा पुर्‍याइदियो ।
             सोभियत जनता खुसी र सुखी थिए । सोभियत जनतामा देशभक्तिको भावना र राजनैतिक चेतना अथाह थियो । सोभियत रुसी जनताले दोस्रो विश्वयुद्धमा पाएको विजयले विगतमा भोगेका दुःखकष्ट सबै भुलेजस्तो लाग्थ्योे । देशमा शान्ति थियो, सुरक्षा थियो, सबैलाई सबै कुरा पुगेको थियो खान, पिउन, बस्न र लाउन । तर, पनि केही न केही नपुगेको जस्तो थियो । सोभियत जनतामा यत्रतत्र एक असन्तुष्टी छाइरहेको देखिन्थ्यो ।
            दोस्रो विश्वयुद्धपछि सोभियत सङ्घ संयुक्त राज्य अमेरिकासँग शीतयुद्धमा होमिन पुग्यो । यही शीतयुद्धका कारण देशका अथाह सम्पत्ति सामरिक हातहतियार उत्पादनमा खर्च गर्न पर्‍यो । दोस्रो विश्वयुद्धपछि विश्व दुई ध्रुवमा विभाजित हुनपुग्योे ।
            एकातर्फ उत्तर एटलान्टिक सैन्य स·ठन (नाटो) गठन भयो भने अमेरिकाको नेतृत्वमा यसले सोभियत सङ्घको अधीनमा वार्सा सैनिक सङ्गठन (वार्सा–प्याक्ट) गठन भयो । युरोपलगायत विश्वका धेरै देशमा यस शीतयुद्धले प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पार्दैरह्यो । विश्वका विभिन्न क्षेत्रमा धेरै देशहरूबीच युद्ध पनि चल्दैरह्यो ।
            गणतन्त्र चीनमा सोभियत सङ्घको प्रभाव र सहयोग समर्थनमा विश्वमा एक शाक्तिशाली कम्युनिस्ट राष्ट्रको उदय भयो । चीनका महान क्रान्तिकारी नेता माओ त्सेतु·को नेतृत्वमा विश्वमा एक नयाँ जोस र जाँगरले भरिएको क्रान्तिकारी युवा शक्तिको उत्पादन भयो ।
            चीनमा भएको महान क्रान्तिको प्रत्यक्ष असर हाम्रो देश नेपालमा पनि पर्‍यो । नेपालमा एक नयाँ राजनैतिक चेतनाले सुसज्जित युवा क्रान्तिकारी समूह र कम्युनिस्ट नेताहरूको उदय भयो । नेपालमा एकातिर हाम्रो देश सन् १९५२ (२००७) को क्रान्तिपछि छिमेकी राष्ट्र भारतको प्रभावमा अगाडि बढ्दै गयो भने चीन र सोभियत सङ्घमा विकसित हुँदै रहेको साम्यवादी दर्शन र राजनीतिले पनि जरा गाड्दै आयो । नेपालको राजनीति सरसरती हेर्दा दुई होइन तीन धारामा प्रवाहित हुनथाले ।
            एकातर्फ दक्षिण भारतको राजनीतिबाट प्रभावित भएको प्रजातान्त्रिक शक्ति उदय भयो भने अर्कोतर्फ गणतन्त्र चीन र समाजवादी सोभियत सङ्घको वैचारिक प्रभावमा कम्युनिस्ट राजनीतिको विचार बोकेको साम्यवादी शक्ति पनि बिस्तारै उडाउँदै आयो । यी दुई राजनैतिक शक्तिबीच परम्परागत सामन्ती सोच बोकेको राजतन्त्रले देशमा आफ्नो निरङ्कुशता प्रदर्शन गर्दै जनतामाथि शासन चलाउँदै गर्‍यो । यस्तो अवस्थामा हुर्केको २०–२२ वर्षको एक किसानको छोरो म सोभियत सङ्घ र चीनका महान नेता माओ त्सेतुङ्गको विचारधाराबाट प्रभावित भएँ । विश्वमा शान्ति र समृद्धि समाजवादले मात्र दिनसक्छ भन्ने निक्र्योल गर्दै यस विचारधारालाई आत्मसाथ गरेर सोभियत सङ्घमा अध्ययन गर्ने गएको थिएँ । आफ्नो ५–६ वर्षको बसाइमा सोभियत सङ्घमा समाजवादका राम्रा पक्षहरूबारे धेरै अनुभव देख्न सुन्न पाएँ । यसको साथै सोभियत नागरिकसँग विवाह सम्बन्ध रहन गएको कारण मलाई साधारण सोभियत जनजीवनको पक्षमा पनि धेरै कुरा बुझ्ने अवसर मिल्यो ।
            सन् १९७५ को मेरो मस्को–लन्डन–मस्को भ्रमणमा संयोगवस भेट भएको अन्ना पेट्रोभ्नासँगको एक दिनको रेल यात्रामा एक साधारण सोभियत बुद्धिजीवी नारी, एक ग्राजुयट शिक्षिका, एक प्रतिभाशाली साहित्यप्रेमी नारीको जीवन पनि कति निरीह र दुःखी हुनसक्छ भन्ने कथा पनि सुन्न पाइयो । विश्वमा सायद सोभियत सङ्घ पहिलो राष्ट्र होला त्यति धेरै नारी अधिकार दिइएको । सोभियत समाजमा नारीलाई धेरै सम्मान र आदर गरिन्थ्यो । सोभियत नारीलाई काम र दर्जा कुनै पनि किन नहोस् पुरुषलाई भन्दा बढी सम्मान र सत्कार दिइन्थ्यो । एक दिन म आफ्नो इन्स्टिच्युटबाट बाहिर निस्कँदै थिएँ । आफ्नो बिहानको कक्षा सकाएर इन्स्टिच्युट भवनको मूल ढोका बाहिर एक महिला आफ्नो कुचो लिएर बढार्दै थिइन् । इन्स्टिच्युटको मन्त्रीस्तरीय डीन आफ्नो गाडीबाट ओर्लेर ढोका नजीक आइपुगे । उनले ढोका बढारिरहेकी महिला देखेपछि उनको समीपमा गएर आफ्नो शिरबाट टोपी फुकाली महिलासमक्ष निहुरेर अभिवादन गरे । “दोब्रोए उट्रो मारिया पेट्रोभ्ना !!! भनेर । मतलबः “शुभ बिहानी मारिया पेट्रोभ्ना !!!”
            उक्त दृश्य देखेर मेरा आँखा रसाए र मनमनै सम्झेँ मैले बाल्यकालमा घोकेको एक     श्लोकः
            “यत्र नारी पूज्यन्ते
            तत्र रमन्ते देवता !!!”

Leave a Reply

Your email address will not be published. Required fields are marked *