भर्खरै :

दुई अमर व्यक्तित्वको अबिच्युरी

            मिखाइल लुकासको निधनबारे म्यासेज आएको थियो एक साथीको । नराम्रो लाग्यो । तर, यो खबरले निरासै भने बनाएन जस्तो केही दिनअघि इरफान खानको निधनले बनाएको थियो । किन ? यसबारे अलि पछि बताउँला । दुवैजनाको सम्झनामा केही न केही लेख्न चाहिरहेको थिएँ । सकिनँ । त्यसबेला अलि भावविभोर हुने सम्भावना थियो । किन पनि भने क्वारेन्टिनमा एक्लै बस्दा समय निकै ढिलो घर्किन्छ र हरेक आघात लामो समयसम्म मानसपटलमा तरङ्गित भइरहन्छ । ढिलै सही मरिजानेहरूको सम्मानमा यो छोटो लेखोट अर्पण गर्छु ।
मिखाइल लुकास
            बाहिर बजारमा पाइने क्रान्तिकारी साहित्यबाहेक सङ्गठनमा प्रवेश गर्दाताका पार्टीका पुराना प्रकाशनहरू र ‘श्रमिक’ साप्ताहिक हामीसँग थिए । यिनलाई न्यूनाङ्कन गर्न भने मिल्दैन । नेमकिपाका अग्रजहरूको सुझबुझका कारण अन्य सङ्गठनको तुलनामा हामीकहाँ अध्ययन सामग्रीहरूको पौल छ । पछि हामी क्याम्पस जीवनमा पस्दै गर्दा पार्टीको मुखपत्र ‘मजदुर किसान’ र ‘ध्रुवतारा’ निरन्तर छापिन थाले । ती प्रकाशनको कस्तो प्रभाव हुन्थ्यो भने हामीलाई कहिले दुई महिना बित्ला र ‘मजदुर किसान’ र ‘ध्रुवतारा’का नयाँ अङ्क पढ्न पाइएला भन्ने तलतल लाग्थ्यो ।
            मिखाइल लुकासलाई त्यतिबेला हामी ‘माइकल लुकास’ भन्थ्यौँ । उनका लेखहरू ‘श्रमिक’ को बीचको अन्तर्राष्ट्रिय खापामा बेलाबेला पढ्ने गथ्र्यौँ । सक्ने साथीहरूले इन्टरनेटमा गएर केही सामग्री बटुलेर पढ्थे । लुकासले त्यसबेला लेखेको कुन चाहिँ कुराले तँलाई छोयो भनेर कसैले सोध्छ भने म यहीँ भनेर यकिनसाथ भन्न सक्ने अवस्थामा छैन । लुकासका केही लेखहरूको धमिलो स्मरण यसबेला म गरिरहेको छु । बाराक ओबामालाई अमेरिकी राष्ट्रपति बनाइनुका कारणबारे लुकासको लेखको रमरम भने पछिसम्म हामीले महसुस गरेका थियौँ । सम्भवतः त्यो लेख ‘ध्रुवतारा’ निस्कनुभन्दा पहिले ‘श्रमिक’ मा आएको थियो । जेहोस्, लुकासजस्तै अनेक सिद्धान्तनिष्ठ लेखकका लेखहरूको जगमा उभिएर नै सङ्गठनको हाम्रो छिमलका साथीहरूको विश्व दृष्टिकोण निर्माण भएको हो भन्दा मलाई कुनै दकस लाग्दैन । यति म ढुक्कसँग भन्न सक्छु । यस हिसाबले लुकास हाम्रा दृष्टिकोण निर्मातामध्येमा पर्छन् । विमति राख्ने साथीहरूले लेख्नुहोला !
            “द इन्टरनेशनल काउन्सिल फर फ्रेन्डसिप एन्ड सोलिडारिटी विथ सोभियत पिपलको क्यानडाबाट प्रकाशित हुने मुखपत्र ‘नर्थस्टार कम्पास’ को यो नेपाली भाइचारा प्रकाशन हो ।” नेपाली ‘ध्रुवतारा’ द्वैमासिकको यो चिनारी हाम्रो मुखमा लिपिक्कै टाँसिएजस्तो थियो । अक्सर पुस्तक प्रदर्शनीहरूमा ‘ध्रुवतारा’का विभिन्न अङ्क ग्राहकलाई देखाउँदै हामी यो वाक्य फरर भन्ने गथ्र्यौँ । हामी कहाँका शिक्षक एवं बुद्धिजीवीहरू पनि ‘ध्रुवतारा’प्रति आकर्षित थिए । हरेक पुस्तक प्रदर्शनीमा हामीलाई ‘ध्रुवतारा’का नयाँ अङ्कहरू आए, नआएको सोध्थे । यसले हाम्रो आत्मविश्वास र हौसला बढाइदिन्थ्यो । किनभने तिनले भन्दा पहिले हामी फुच्चेहरूले ‘ध्रुवतारा’ पढ्थ्यौँ र नयाँ अङ्कमा के छ भनी बताउन एकसरो तयारी गथ्र्यौँ । अन्य ‘पार्टीका’ विद्वानहरूको त्यस चासोले ‘ध्रुवतारा’का हरेक लेखहरू नबिराइ पढ्ने हाम्रो जाँगर झन्झन् बढ्दै गयो । ‘ध्रुवतारा’को सबैभन्दा पछिल्लो अङ्क निस्कँदासम्म त्यो जाँगर सेलाएन ।
            नर्थस्टार कम्पासका सम्पादक एवं लेखक मिखाइल लुकासको गुण हाम्रो भावना वा ‘स्पिरिट’मा परेको छ । उनी ९० वर्षको आसपास पुग्दासमेत उत्तिकै क्रियाशील छन् भन्ने खबरले नै हामी प्रफुल्ल हुन्थ्यौँ । उनले हाम्रो पार्टीलाई अन्तर्राष्ट्रिय सम्मेलनमा डाके रे, उनले हामीलाई पार्टी महाधिवेशनको शुभकामना पठाए रे । यस्ता समाचारले हामीलाई उत्साहित पार्थे । यसैलाई कम्युनिस्ट शब्दावलीमा क्रान्तिकारी अन्तर्राष्ट्रवाद भनिन्छ । लुकासले हामीमाझ त्यस भावनाको अतुलनीय परम्परा छोडेका छन् । यहीँ पथमा हिँडेर हामीले आफ्नो अन्तर्राष्ट्रवादी भावना पार्टीका विविध गतिविधिका माध्यमबाट पोख्यौँ । जस्तो, पार्टीले पाँच क्युवालीको रिहाइको लागि चलाएको अभियान यसको ज्वलन्त उदाहरण हो । हाम्रो पार्टी इतिहासमा यस भावनाका अल्याख उदाहरण छन् ।
            अर्को, ‘ध्रुवतारा’ मासिकले हाम्रो अध्ययनको क्षितिजसमेत फराकिलो पारिदियो । यसले हामीलाई विश्वको पहिलो समाजवादी मुलुकबारे धेरै जानकारी दियो । सोभियत समाज, दोस्रो विश्वयुद्ध, युरोपका विभिन्न देशको स्थिति र खासगरी स्टालिनबारे हाम्रो ज्ञान र बुझाइको निर्माणमा यसको महत्वपूर्ण देन छ । ‘ध्रुवतारा’ले समकालीन विश्वबारे पनि हामीलाई सचेत तुल्यायो । सिरियाको प्रयोजित युद्ध, मुअम्मर गद्दाफीको लिबिया, नाटो आदिबारे आँखा खोल्ने काम गर्‍यो । हामीलाई अनेक असल लेखक, गहिरा चिन्तकसँग परिचय गराइदियो । हामीले आर्क गेट्टी, ग्रुभर फरलगायतका अनुसन्धानकर्ताका गहन लेख, अन्तर्वार्ता यसमै पढ्यौँ । र, तिनका अन्य रचनाप्रति आकर्षित भयौँ । ‘ध्रुवतारा’का छोटा तर स–साना समाचारले हाम्रो जानकारी उन्नत बनाउन मद्दत गरे । ‘ध्रुवतारा’मा छापिने कार्टुनहरू चोटिला थिए । हामीले तिनलाई पोस्टर बनाएर प्रदर्शन गर्‍यौँ । “भविष्यतर्फ फर्कौँ, सोभियत सङ्घतर्फ फर्कौँ ।” यस्ता अनेक ‘आइकोनिक’ नारा ‘ध्रुवतारा’ले हामीलाई सिकायो ।
            पछि पार्टीले लुकासले अनुवाद र सम्पादन गरेको पुस्तक ‘सेकरेट डकुमेन्ट्स’ लाई नेपालीमा अनुवाद गरी ‘गुप्त दस्तावेज’ पुस्तक प्रकाशित गर्‍यो । यस पुस्तकले हामीलाई सोभियत सङ्घ र स्टालिनविरोधी साम्राज्यवादी दाउपेच र षड्यन्त्रबारे छर्ल· पार्‍यो, नौला जानकारीले सुसज्जित गर्‍यो । साम्राज्यवादीहरूले कसरी ‘भले–मानुष’ कम्युनिस्टहरूलाई थाङ्नामा सुताउँछन् भन्ने विषयमा प्रकाश पारेर पुस्तकले हामीलाई क्रान्तिको पेचिलो बाटोबारे प्रशिक्षित पार्‍यो । आज त्यस पुस्तकका कैयौँ अंश नेपालका अन्य वामपन्थीहरूले समेत साभार गर्ने गर्छन् । नेपालीमा उक्त पुस्तक छापिएपछि एक भारतीय विद्वानले ‘हामीले भन्दा पहिले यस पुस्तकको अनुवाद गर्नुभएछ’ भनी हाम्रा साथीलाई बधाई दिएका थिए ।
            मिखाइल लुकासबारे के लेख्ने होला भनी लेखको आरम्भमा म सोच्दै थिएँ । यहाँसम्म आइपुग्दा मैले के बुझेँ भने विद्यार्थी वयमा प्रत्यक्ष र परोक्ष रूपमा हामी उनका कक्षामा बारम्बार बसेका रहेछौँ । हाम्रा अध्ययन, चिन्तन, गतिविधि र भावनामा उनको गहिरो प्रभाव रहेछ । यस हिसाबले हामी उनका आजन्म ऋणी छौँ । जीवनका ऊर्जाशील वर्षमात्र नभई आफ्ना बुढेसकालका वर्षहरू समेत श्रमजीवी वर्गको सेवामा समर्पित गर्ने विरासत लुकासले छोडेर जान सके । यसकारण उनको निधनको खबर निरासापूर्ण थिएन । हाम्रा गतिविधिहरूमा उनी सदा बाँचिरहनेछन् ।
इरफान खान
            सन् ९० को दशकमा हुर्केका र खासगरी बलिउडमा अभ्यस्त पुस्ता एउटा हावादारी ‘फेन्ट्यासी’बाट ग्रसित छ । बहुराष्ट्रिय कम्पनीका ‘ब्रान्डेड’ सामानको प्रचार गर्दै अमेरिकामा ८० को दसकमा एफबीआईले नियोजित रूपमा मलजल गरेको ‘पप कल्चर’ले नवउदारवादी अर्थतन्त्र अङ्गिकार गरेको भारतलाई पनि गाँज्यो । र, यो उपभोक्तावादी संस्कृति भारतीय मूलधारका फिल्म र टेलिसिरियलमार्फत् नेपालसम्म आइपुग्यो । यस्तोमा इरफान खानजस्ता भुइँमान्छेका भावनालाई अभिव्यक्ति दिनसक्ने कलाकारहरू किनारमा पर्नु स्वाभाविक थियो । उपभोक्तावादी संस्कृतिको गाडीमा किनारमै बसेर भए पनि इरफान नेपाल पसे । ‘चन्द्रकान्ता’ नामक लोकप्रिय टेलिफिल्मबाट ।
            बाल्यकाललाई एउटा उडान चाहिन्छ । ज्ञानको । कल्पनाको । साहित्य यस उडानको बलियो पखेटा हुने गर्छ । तर, पुस्तकालय नाउँका ठाउँ पनि हुन्छन् भन्ने हामीलाई थाहा थिएन । चन्द्रकान्ता सुलभ साहित्य बनेर टिभीमा आयो, हाम्रो भेगका बालबालिकाका लागि । वास्तवमा चन्द्रकान्तामा चर्चित भारतीय लेखक कमलेश्वरका संवाद थिए । (हिन्दी साहित्य पढ्न थालेपछि थाहा भयो ।) कहानीमा चुनारगढ देशको राजा शिवदत्त असल पात्र होइन । तर, चुनारगढको सेनापति बद्रीनाथ र उसको दाजु सोमनाथलाई सबैले रूचाए । किनभने तिनको हाउभाउ बनावटी थिएन । मातृभूमिप्रतिको तिनको बफादारी र इमानदारी दर्शकले मन पराए । ती दाजुभाइलाई पर्दामा उतारेका थिए इरफानले ।
            सिडी, डिभिडी र इन्टरनेट हुँदै इरफान बिस्तारै हामीबीच झ्याम्मिए । समाजका कठोरतम पात्रको भूमिकामा आफूलाई जीवन्त तुल्याएर जीवनका विविध कटु पक्षतिर हामीलाई आकर्षित गरे । फैजको कविता छ नि – ‘और भी दुख हैं जमाने में मुहब्बत के सिवा… ।’ त्यसरी नै । दिल्लीस्थित नेशनल स्कूल अफ ड्रामाका प्रगतिशील प्रशिक्षकबाट स्पातमा ढालिएका इरफानलगायत भारतीय कलाकारहरूको एउटा तप्काले कथित आर्ट फिल्महरूमार्फत् दर्शकलाई ९० को दसकको धङधङीबाट बाहिर तानिरहे । हाम्रो कलाचेतलाई परिष्कार गरिरहे । माक्र्सवादी समालोचनाको कोणबाट हेर्दा यी फिल्मका आफ्ना सीमाहरू प्रष्ट देखिन्छन् । तथापि, ‘नहुनु मामाभन्दा … मामा बेस’ भनिन्छ । वास्तवमा, जीवन्त फिल्महरूले बजार लिँदै गइरहेको पछिल्लो कलात्मक परिघटना आफैँमा नवउदारवादी नीतिहरूप्रतिको भारतीय जनअसन्तोषको उपरी संरचनागत अभिव्यक्ति हो ।
            समयको सीमाले सामान्य कलाकारहरू बाँधिनु स्वाभाविक हो । तर, इरफान कलाका दृष्टिले आफ्नो समयभन्दा अघि बढेका कलाकार थिए । उभिने मान्छेले बस्नेले भन्दा पहिले घाम देख्छ भनेझैँ प्रगतिशीलता सम्भवतः उनको यसै कलाबोधको घच्घच्याई थियो । उनी अभिनय कलाको यात्रामा धेरै अघि गए । कथित मूलधारका चकलेटी अभिनेताहरूलाई पछार्दै हलिउड पुगे । केही चीर स्मरणीय काम गरे । केही वर्षअघि उनलाई क्यान्सरले थला पार्‍यो । त्यसपछि उनी अलि बढी मुखर बनेको, संसार छोड्नुपर्दाको उनको छटपटी वा पीडा हामीले महसुस गरेका थियौँ । उनी नमर्दै साथीहरूसँगै बसेर उनको पछिल्लो फिल्म ‘अङ्ग्रेजी मिडियम’ हेरेका थियौँ । एउटा प्रगतिशील र जिम्मेवार बाबुको भूमिकामा उनको बेजोड अभिनय हेर्दा उनी यति छिटै खस्लान् भन्ने लागेकै थिएन । हामीलाई उनी नसिरुद्दीन शाहजत्तिकै बाँचेको, जीवनबारे गहकिला अनुभव बाँडेको र सामाजिक न्यायका मुद्दामा आफ्ना अग्रजजस्तै गर्जेको हेर्ने धोको थियो । तर, कालले उनलाई चुँड्यो । आउँदो समयका पृथ्वीवासी उनका अझ माझिएका काम हेर्नबाट वञ्चित भएकोमा हामीजस्ता उनका धेरै शुभचिन्तकले थकथकी मानेको हुनुपर्छ ।
            एक विख्यात मेथड एक्टरले भनेका छन् –“अभिनेता बढीमा सुन्दर कवि बन्न सक्छ ।” इरफान यस्तै एक कवि बन्ने शिखरको उपल्लो शिविरबाट उकालो हेर्दै थिए । असामयिक निधनले उनलाई एक अधुरो कवि बनाइदियो । उनको जीवन एक अपुरो कविता बन्न पुग्यो । पाशको कविता ‘सबैभन्दा खतरनाक’ जस्तै इरफान एउटा अपुरो तर अमर कविता बनेकोमा भने सन्देह छैन । मानव जीवनलाई माया गर्ने प्रत्येक कला अनुरागीलाई हामी ‘यो कविता पनि पढ’ भनेर भन्ने नै छौँ ।
            हाम्रो विवेकको जगका दुई चट्टान मिखाइल लुकास र इरफान खानप्रतिको यो श्रद्धासुमन यहीँ टुङ्ग्याउँछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *