(विश्वका सम्पूर्ण कामदार जनताका महान् गुरु भ्लादीमिर इल्यीच लेनिनको समग्र जीवन चरित्रको झाँकी प्रस्तुत गर्ने प्रस्तुत गहकिलो एवं प्रेरणादायी पुस्तक ‘लेनिन कथा’ लेनिनको विषयमा गहिरो अध्ययन गरेकी सोभियत लेखिका मरिया प्रिलेजायेभाले सन् १९७१ को फेबु्रअरी महिनामा प्रकाशित गरेकी थिइन् ।

            अघिल्लो अङ्कमा हामीले १९०५ को असफल रुसी क्रान्तिका घटनाक्रम, लेनिनको प्रथम प्रवासकाल र क्रान्तिमा लेनिनको सक्रिय सहभागिताबारे अध्ययन गर्‍यौँ ।)

फेरि प्रवास

            दुर्ई वर्षसम्म रूसभरि मजदुर र किसान आन्दोलनको ज्वाला दन्किरह्यो । दुई वर्षसम्म जारशाही अधिकारीले क्रान्तिलाई दबाइरहे । असङ्ख्य क्रान्तिकारीहरू गिरफ्तार भए । निर्वासनमा पठाइए । कतिलाई फाँसी दिइयो ।

            लेनिन पिटर्सबर्गबाट केही टाढा बस्थे । फिनलैन्डमा । यहाँ उनले गैरकानुनी बोल्शेभिक अखबार ‘प्रोलेतारी’ (सर्वहारा) छाप्थे । पिटर्सबर्गको बोल्शेभिक केन्द्रसँग उनको स्थायी सम्पर्क स्थापित थियो । क्रुप्सकाया पार्टीको सन्देश लिएर बेलाबेला पिटर्सबर्ग गइरहन्थिन् ।

            एक दिन पिटर्सबर्गबाट फर्किँदा उनी निकै चिन्तित थिइन् । जार सरकार कम्मर कसेर लेनिनको पछि लागेको थियो । उसले सबै स्टेशनहरूलाई जसरी पनि बोल्शेभिक नेता लेनिनलाई पक्रिनु भन्ने आदेश दिएको थियो ।

            तिनताक फिनलैन्ड रूसी जारको कब्जामा थियो ।

            बोल्शेभिक केन्द्रले लेनिनलाई विदेश जाँदा राम्रो हुने ठहर गर्‍यो । प्रोलेतारी विदेशबाटै निकाल्ने निक्र्योल भयो ।

            ‘बिदा,’ क्रुप्सकाया लेनिनबाट छुट्टिइन् ।

            ‘स्वीडेनमा भटौँला’  ।

            क्रुप्सकाया पछि मात्र स्टकहोम जाने तय भयो । त्यसैले लेनिन एक्लै स्टकहोमतर्फ लागे ।

            १९०७ को डिसेम्बर महिना थियो । रेलगाडी हेल्सिङफोर्सदेखि फिनलैन्डको बन्दरगाह आबोतर्फ गइरहेको थियो ।

            सोचाइमा डुब्नाले लेनिनको नजर कम्पार्टमेन्टको ढोकाको सिसा बाहिर गल्लीमा उभिएको मानिसमाथि ढिलो गरी पर्‍यो । उसलाई देख्नासाथ पुलिसको सुराकी हो भन्ने भेउ पाइहाले । लेनिनले अब सुराकी ठम्याउन सिकिसकेका थिए । आबोको स्टेशनमा पुलिसले उनको प्रतीक्षा गरिरहेको हुनसक्थ्यो । शिकार जालमा फस्न आइरहेको छ भनी सुराकीले खबर गरिसकेको हुनसक्थ्यो ।

            के गर्ने होला ? आबोभन्दा वरको स्टेशन पनि छुटिसकेको थियो । रेलले लेनिनलाई सिधै पुलिसको पन्जामा लगिरहेको थियो । लेनिनले ढोकातिर हेरे । सुराकी त्यहाँ थिएन । सायद शिकार उम्कन नसक्नेमा ढुक्क भएकोले ऊ आफ्नो सिटमा गएको थियो । स्थिति असाध्यै सङ्कटपूर्ण थियो । एक घन्टापछि लेनिन पिँजडामा कैद हुँदै थिए ।

            उनी उभिए । आफ्नो सुटकेश उठाएर बिस्तारै डिब्बाको ढोकातिर गए । गल्ली सुनसान थियो । उनले बिस्तारै ढोका खोले । मुहारमा चिसो हावाले हान्यो । छ्या गाडी पनि कति जोडले गुडेको हो ! ठि· उभिन पनि गार्‍हो हुने गरी डिब्बा डग्मगाइरहेको थियो । लेनिनले केही मिनेटसम्म प्रतीक्षा गरे । फुङ्गाल्ने हिम्मत जुटाउन सकिरहेका थिएनन् । उनले पाङ्ग्राको छुकछुक सुनिरहे । त्यति नै बेला उनलाई मोडमा रफ्तार कम हुने हेक्का भयो । साँच्चिकै मोडमा गाडीको रफ्तार कम भयो । अब जे होला होला । दोस्रो विकल्प थिएन । लेनिनले हाम फाले ।

            उनी हिउँको ठूलो थुप्रोमा पछारिए । कलर र जुत्ताभरि हिउँ भरियो । अनुहार पनि हिउँले अरठ्ठियो । हड्डीहरू धन्न ठीकठाक थिए । उनी सकुशल थिए । जिउँदो थिए । रेल बरफको थुप्रोनजिकैबाट छुकछुकाउँदै गयो । अन्तिम डिब्बाको रातो बत्ती केही बेरसम्म देखियो र ओझेल भयो । अलि टाढा पुगेपछि रेलको आवाज पनि हरायो । अब चारैतिर निस्तब्धता थियो । बरफ थियो । रात थियो । र, ताराहरू झिल्मिलाइरहेको आकाश थियो ।

            लेनिन हिउँको थुप्रोबाट उठे । कपडा र अनुहारको हिउँ टक्टक्याए । र, रेल्वे लाइनको किनारैकिनार हिँडेरै आबोतर्फ लागे ।

            करिब १२ भेस्र्तको यात्रा पार गर्नु थियो । त्यो पनि चिसो रातमा । पुलिसको पन्जाबाट मुक्त त भइयो । लेनिनले मनमनै कल्पना गर्न थाले । थरर्र काम्दै र हडबडाउँदै सुराकीले आफूलाई डिब्बाहरूमा खोज्दै होला भनी सम्झेर उनी हाँस्न थाले ।

            “चित खायौ कान्छा ! हाकिमले तिम्रो हुर्मत लिनेछन्, हेरिराख्नू ।”

            जसरी पनि आबो पुग्नु थियो र फिनिश जहाजमा चढ्न बाँकी थियो । त्यसपछि मात्र खतरा टथ्र्या ।

            तर, जहाज छुटिसकेको थियो । लेनिन ढिलो पुगे । खतरा अझै टरेको थिएन । जताततै खतरा थियो । बन्दरगाह रूसी पुलिस र सुराकीहरूले भरिएको थियो । अतः त्यहाँ रोकिनुको अर्थ आफैँलाई समस्याको भुमरीमा फसाउनुहुन्थ्यो । बोल्सेभिक केन्द्रले एकजना फिनिश साथीलाई लेनिनलाई आबोदेखि स्टकहोमसम्म पुर्‍याउने जिम्मा दिएको थियो । उसले सहरमा पनि पाइला–पाइलामा पुलिस तैनाथ छन् भनी बतायो । आबोदेखि तुरुन्त अन्त जान जरुरी थियो ।

            फिनिश साथीले लेनिनलाई समुद्रको चट्टानी किनारमा अवस्थित माझी बस्तीमा पुर्‍यायो । यहाँनिर सयौँ साना–ठूला टापु, प्रायःद्वीप र खाडीहरू थिए । ती सबै यसबेला बरफले ढाकिएका थिए ।

            दुईजना माझीहरू लेनिनलाई एउटा टापुसम्म पुर्‍याउन तयार भए । स्वीडेनी जहाज यस चट्टानी टापुको किनारमा केही बेर रोकिन्थे । बरफ फुटाल्ने पोतहरूले अन्य जहाजका लागि बाटो बनाउँथे । यो टापु पनि यस्तै बाटोनजिक पथ्र्यो ।

            रात अँध्यारो र तुफानी थियो । कसैले देख्ने छैन भन्ठानेर उनीहरू रातमा निस्किए । यी मानिसहरू यस्तो ठिहिर्‍याउने बरफमा उनीहरू कहाँ र किन गइरहेका होलान् भनी जोसुकै अचम्मित हुनसक्थ्यो ?

            बरफ कच्चा थियो । कतै चर्किएको र कतै पानी देखिएको थियो । आफूले जहाजमा पुर्‍याइरहेको रूसी नागरिक जारविरुद्ध दिनरात लडिरहेको व्यक्ति हो भनी माझीहरूलाई थाहा थियो । फिनिश जनताले पनि जारलाई घृणा गर्थे । यसकारण माझीहरू उनको लागि ज्यान अर्पिन तयार थिए । तीनैजना चुपचाप लामो लट्ठीको सहाराले बाटो छाम्दै एक–एक पाइला गर्दै अगाडि बढिरहेका थिए । हिमकणहरूले गाला घोचिरहेका थिए । गगनमा निस्पट्ट अन्धकार व्याप्त थियो । हावा बेसरी चलेको थियो । समुद्रबाट जहाजको हरणको आवाज आइरहेको थियो ।

            “धन्यवाद माझी दाजुभाइ, यस्तो भयङ्कर रातमा पनि मलाई बाटो देखाउन तयार हुनुभयो । धन्यवाद साथीहरू,” लेनिनले मनमनै सोचिरहेका थिए ।

            रातमा यस्तो बाटोमा हिँड्नु कति खतरनाक थियो, उनलाई थाहा थिएन । लट्ठीले बाटो पहिल्याउँदै उनी माझीहरूको पछिपछि हिँडिरहेका थिए । अचानक बरफ हल्लियो । गोली चलेजस्तो आवाज निकालेर चरक्क चिरियो । बरफ एकातिर ढल्कियो र पैतालामुनिबाट खस्किन लाग्यो । दरारबाट पानी माथि आयो । लेनिनले लट्ठीले छामछुम गरे । तर, लट्ठी पानीमा झन् गइयो ।

            त्यहाँबाट कसरी बच्न सकिन्छ, उनले केही भेउ पाउन सकेनन् । कसैले उनीतिर हात बढायो । हात समातेर उनी अगाडि फु·ाले ।

            फिनिश भाषामा केही भन्दै माझीहरूले लेनिनको पिठ्यूँ थपथपाए । अनि जर्मन भाषामा भने :

            “गेनोसे, गेनोसे… साथी !”

            जारविरुद्ध जनताको तर्फदेखि लडिरहेका रूसी साथी बर्फिलो पानीमा डुब्नबाट बचेकोमा माझीहरू औधी खुसी थिए ।

            लेनिन टापुसम्म पुगे । स्वीडेनी जहाजले उनलाई स्टकहोम पुर्‍यायो । त्यहाँ उनले क्रुप्सकायाको प्रतीक्षा गरे ।

            उनी फेरि जेनेभा आइपुगेका थिए । मातृभूमिबाट पर । पराइ देशमा ।

            क्रान्तिकारी भूमि रूसबाट लेनिन आफ्नी बफादार मित्र र प्रिय जीवनसङ्गिनी नाद्युशासँगै त्यस डिसेम्बरमा जेनेभा पुगेका थिए । त्यसबेला त्यो परिचित सहर उनलाई असाध्यै अनाकर्षक लाग्यो ।

            जाडो थियो । तर, बरफ थिएन । धुलो उडाउँदै चिसो निर्मम हावा फुटपाथमा हर बखत चलिरहन्थ्यो ।

            जेनेभावासीहरू घरभित्रै रहन्थे । सडकहरू सुनसान थिए । यसपालि लेनिनले जेनेभामा आफूलाई निकै एक्लो र पराइ महसुस गरे ।

आमासँगको भेट

            सन् १९१० को शरद । लेनिन फेरि स्वीडेनको राजधानी स्टकहोम आएका थिए । यसपालि अलि विशेष कामले आएका थिए । मनमनै अत्यन्त प्रसन्न हुँदै उनी फटाफट स्टकहोमको सडकमा हिँडिरहेका थिए ।

            उनले स्वीडेनी सभाभवनमा भाषण गर्नुपर्ने थियो । यतिबेला उनी यही काममा जाँदै थिए । लेनिनले पहिले पनि दसौँ पटक विभिन्न नगरमा मजदुर र पार्टी सदस्यसामु भाषण दिएका थिए । तर, आज उनी यति खुसी किन थिए ? फटाफट हिँडिरहँदा उनले स्नेही नजरले पराइ स्वीडेनी जीवनतिर नजर लाउँदै थिए । बाङ्गाटिङ्गा र सिधा गल्ली भएको शान्त र सफा स्टकहोम नियालिरहेका थिए । उनका लागि यो पुरानो परिचित सहर थियो । तर, आज उनी सहर हेर्दै बारम्बार मुस्कुराइरहेका थिए । हिँड्दै गर्दा उनले फूल बेच्दै गरेकी एउटी युवती देखे । उनका खुट्टानिर राता र पहेँला गुलाफले टम्म टोकरी राखिएको थियो ।

            “मलाई यो रातो गुलाफ दिनुस् न ! धन्यवाद !”

            लेनिन फूलको गुच्छा लिएर भाषण दिन गइरहेका थिए !

            सभाभवन आयो । हलमा प्रवासी रूसी बोल्सेभिकहरूको सभा थियो ।

            “लेनिन ! लेनिन !” स्नेहपूर्ण उद्गारहरूले लेनिनलाई स्वागत गरे ।

            रूसी राजनीतिक प्रवासीहरूले उनलाई घेरे । उनीसँग हात मिलाए । सबैले लेनिनलाई उनका किताब र लेखहरूबाट, बोल्सेभिक अखबार ‘इस्क्रा’, ‘भिपेयोर्द’, ‘नोभाया जीज्न’, ‘प्रोलेतारी’ बाट र पार्टी काङ्गे्रसमार्फत चिन्थे ।

            त्यस सानो हलका पछिल्ला सीटमा दुई महिला बसेका थिए । तीमध्ये एउटी वृद्ध थिइन् । उनले घाँटीसम्म ढाकिने पोसाक लगाएकी थिइन् । कपासजस्तो सेतै फुलेको कपालमा धर्के पछ्यौरी ओढेकी थिइन् । नाक सुलुत्तको थियो । कोठामा “लेनिन ! लेनिन !” को उद्घोष हुँदा उनको मुहार खुसीले चम्कियो ।

            दोस्री चाहिँ जवान थिइन् । आँखा काला थिए । गालाका हड्डी अलि उठेका थिए । मुहार केही गम्भीर देखिन्थ्यो । लेनिन पसेसँगै उनी पनि मुस्कुराइन् । लेनिनले नजिकै आई फूलको गुच्छा वृद्धाको खुट्टामा राखिदिए ।

            “रूसदेखि आमा र बहिनी मलाई भेट्न आउनुभएको छ,” उनले आफ्नो छेउछाउ उभिएका साथीहरूलाई बताए । “हजुर आएर एकदम राम्रो गर्नुभयो,” एक बोल्शेभिकले वृद्धालाई सम्बोधन गर्दै भने । “गर्व गर्नलायक छोरा जन्माउनुभएको छ ।”

            लेनिनले स–सानो टेबलपछाडि उभिएर आफ्नो भाषण सुरु गरे । यो भाषण असामान्य थियो । पहिलोचोटि आमाले छोराका कुरा प्रत्यक्ष सुनिरहनुभएको थियो । उनी साथीहरू, बोल्शेभिकहरू र आफ्नी आमालाई सम्बोधन गरिरहेका थिए । आमा आफ्नै छोराछोरीकी साथी बन्नुभएको थियो । उहाँका सबै सन्तान क्रान्तिकारी बनेका थिए । उहाँ छोराछोरीलाई जेलमा गई भेट्नुहुन्थ्यो । उनीहरूका निम्ति खानेकुरा र किताब लगिदिनुहुन्थ्यो । १८८५ मा भ्लादीमिर इल्यीचलाई जेल लगिँदा आमा पिटर्सबर्ग आउनुभएको थियो । “आमा, मलाई सम्झना छ, जेलको जालीबाहिरबाट तपाईँ मलाई हेर्ने गर्नुहुन्थ्यो । ओठ कामिरहेका हुन्थे, तैपनि मुस्कुराइरहनुहुन्थ्यो ।”

            लेनिनले आफ्नो भाषणमार्फत पार्टीको स्थिति र सम्पूर्ण गलत विचारहरूसँग सङ्घर्ष गर्ने तरिकाहरूबारे स्पष्ट पारे ।

            १९०५ को क्रान्ति असफल रह्यो । तर, पनि हामीले हिम्मत हार्नु हुँदैन । साहसपूर्वक अगाडि बढ्न आवश्यक छ । हामीसामु एकमात्र विकल्प छ… एकमात्र बाटो छ…।

            लेनिनले क्रान्तिकारी सङ्घर्षको यस विकल्पबारे बताए । भाषणपछि सबैजना उनी वरिपरि झुम्मिए । बडो मुश्किलले उनी सभाभवनबाट उम्किन सफल भए ।

            साँझको समय थियो । घरका झ्यालहरूबाट बाहिर सडकमा प्रकाश परिरहन्थ्यो । बन्दरगाहतिरबाट चिसो स्याँठ आइरहेको थियो । कतै सङ्गीत गुञ्जिरहेको थियो ।

            आमा र मन्याशा सडकमा उभी लेनिनको प्रतीक्षा गरिरहेका थिए ।

            “आमा, तपाईँलाई देखेर म एकदम खुसी छु !” उनले आफ्नो हर्ष लुकाउन सकेनन् ।

आजको सभाबारे आमाको मनमा कस्तो विचार खेलिरहेको होला भनी उनी जान्न चाहन्थे । लेनिनलाई आफ्नो बाल्यकाल र त्यस सुखद अवधि ताकाको आमाको शीलस्वभावको सम्झना आयो । आमा सदा शान्त, संयमी र न्यायप्रेमी हुनुहुन्थ्यो ।

            आमासँग चर्काचर्की भएको एउटा पनि घटना लेनिनको स्मरणमा थिएन ।

            “थाहा छ, भोलोद्या,” आमाले भन्नुभयो । “मैले तिम्रा किताब र लेख पढेकी छु । तिम्रा विचार र लक्ष्यलाई खूब सम्मान गर्छु । मानिसहरूले तिमीलाई खूब रुचाउँदा रहेछन् । आज मलाई विश्वास भयो ।”

            मरिया अलेक्सान्द्रोभ्ना र मन्याशा दस दिन स्टकहोममै बसे । उनीहरूलाई भेट्न लेनिन पेरिसदेखि आएका थिए । एक झिमिकमै बितेझैँ दस दिन बितिहाले ।

            रूसी जहाज स्टकहोमदेखि बिहान छुट्थ्यो । हिउँद लागेको थियो । आकाशमा बादल मडारिइरहेको थियो । हावाले रुखका पातहरू उडाइरहेको थियो । पानीमा स–साना लहर उछालिरहेको थियो । कतै जहाजहरूको आवाज गुञ्जिइरहेको थियो । वातावरण उकुसमुकुस थियो र उदासीनता छाएको थियो ।

            छोरालाई बारम्बार अङ्कमाल गरेपछि आमा सिँढी चढेर जहाज उक्लिनुभयो । तब लेनिनको हृदय बिछोडको पीडाले भरियो । आमाले बारम्बार पछि फर्किँदै हात हल्लाइरहनुभएको थियो । जहाज धेरै बेरसम्म रोकिरह्यो । तर, लेनिन त्यसमा चढ्न सक्दैनथे । जहाज रूसी धर्तीमा थियो । त्यहाँ रूसी कानुन चल्थ्यो । त्यसमा खुट्टा राख्नेबित्तिकै लेनिनलाई गिरफ्तार गरिन्थ्यो ।

            जहाजको हरणको आवाज एकनासले आइरह्यो । समुद्री चराहरू कानै खाने गरी कराए । जहाजले बन्दरगाह छोड्न थाल्यो ।

            “अलबिदा आमा !”

            लेनिनले आफ्नी प्राणप्रिय आमालाई फेरि कहिल्यै देखेनन् ।

अनुवाद : माधव अधिकारी

मरिया प्रिलेजायेभा image
मरिया प्रिलेजायेभा

Leave a Reply

Your email address will not be published. Required fields are marked *