सन्दर्भ : उच्च रक्तचाप दिवससुनिता गाइसी

            मानव जीवन अमूल्य छ । मानिस आधुनिकताको नाउँमा आफ्नो जीवनशैलीलाई परिवर्तित गर्दै छन्, खोक्रो भ्रममा बाँचिरहेका छन् । नेपालमा अहिले पनि गरिबीको रेखामुनि रहेको जनसङ्ख्या २३ प्रतिशतभन्दा बढी छ । उनीहरूलाई बिहान खाए बेलुका के खाउँ भन्ने समस्याले हरदम पिरोलिरहेको छ । त्यसमाथि पनि विभिन्न किसिमका रोगले मानव जीवनलाई आक्रान्त पार्दै छ । पहिला हैजा, झाडापखाला, आउँ आदि सरुवा रोग लागेर धेरै मानिसको मृत्यु हुनेगर्थ्यो । समय परिवर्तनसँगै नयाँ नयाँ रोगको जन्म हुने क्रम बढिरहेको छ । कहिले बर्डफ्लु, स्वाइनफ्लु, मर्स त कहिले कोरोना । हाल विश्व नै कोरोनाको महामारीमा पिरोलिएको छ विश्वमा । यसै रोगका कारण लाखौँ मानिसले ज्यान गुमाइसकेका छन् । आधुनिक जीवनशैलीले मानिसलाई दिनप्रतिदिन रोगी बनाइरहेको छ । विश्वले मे १७ लाई विश्व उच्च रक्तचाप दिवसको रूपमा मनाउँदै आएको छ । हाल धेरै मानिसहरू यस रोगबाट प्रभावित हुँदै छन् । यस रोगलाई हाइपरटेन्सन पनि भनिन्छ । हाल धेरै मानिसहरू कामको व्यस्तताले गर्दा घरबाहिरका खानेकुराहरू बढी खान बाध्य हुन्छन् । उच्च रक्तचाप आजको समाजको मौन तर डरलाग्दो स्वास्थ्य समस्या हो, उच्च र समृद्ध जीवनशैली जिउने होडबाजीमा सबै लागिपरेका छन् । जसले गर्दा हाम्रो जीवनशैली नै अस्तव्यस्त बन्न पुगेको छ । अब हामी रक्तचापबारे केही छलफल गरौँ ।

            सामान्यतया माथिल्लो प्रेसर अर्थात् सिस्टोलिक १२० र तल्लो प्रेसर अर्थात् डायस्टोलिक ८० हुनुपर्दछ । उच्च रक्तचापका कारण विभिन्न मुटुका रोगहरू लाग्नसक्दछ । यसका साथै यसबाट मिर्गौलासम्बन्धी रोगहरू, थाइराइड समस्या अनि विभिन्न नशाजन्य रोगहरू पनि लाग्नसक्छ । उच्च रक्तचापका लक्षणहरूमा रिङ्गटा लाग्ने, कमजोर महसुस हुने, छाती दुख्ने, टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, तनाव बढ्दै जाने देखिन्छ । विलासी र अल्छी जीवनशैलीले गर्दा धेरै मानिसहरू उच्च रक्तचापबाट पीडित हुँदै छन् । पसलको तारेको, भुटेको, रङ भएको खाना, चाउचाउ, बिस्कुट अन्य पेयपदार्थहरू बढी सेवन गर्नाले हाम्रो शरीरमा विभिन्न समस्याहरू उत्पन्न हुन्छन् । हामी खाना शरीरलाई स्वस्थ र फूर्तिलो राख्नको लागि खान्छौँ तर आधुनिक जीवनशैलीले गर्दा आफनो स्टाटस मेनटेन गर्न हामी घरबाहिरका महँगा खानेकुराहरू कुराहरू खान्छौँ । जसले गर्दा हाम्रो शरीरलाई बिरामी बनाउन जालो बुनिरहेको हुन्छ । हामीले घरमा खाने खाना नै औषधि हो, त्यसैलाई समय–समयमा खाने गर्नुपर्दछ । उच्च रक्तचाप भएका मानिसहरूले नुन कम खाने गर्नुपर्दछ साथै आफ्नो दैनिकरूपमा खानेकुरामा पनि ध्यान दिनुपर्दछ । यस्ता समस्या भएका मानिसहरूले विशेषगरी केरा, चुकन्दर, सुन्तला, किवी, पालु·ोको साग, विभिन्न किसिमका सिमी, ग्रीन टी इत्यादि खाने गर्नुपर्दछ । यस्ता खानेकुरामा पाइने फाइबर, नाइट्रेट, पोटासियम, म्यागनेसियमले उच्च रक्तचापलाई सन्तुलनमा राख्न मद्दत गर्दछ । यदि रक्तचाप निकै नै बढेको छ भने चिकित्सकको सल्लाहबमोजिम औषधि खानुपर्दछ । खानेकुरामा हेलचक्राइँ गर्नु पटक्कै हुँदैन किनभने स्वास्थ्यभन्दा ठूलो धन केही हुँदैन । बढी कमाएर बैड्ढ व्यालेन्स बढी छ भनी मख्ख नपरौँ । यदि हामी स्वस्थ भएनौँ भने ती बैड्ढ रुपैयाँले केही गर्दैन । अर्बपति भएर पनि दिनमा २ गिलास दूध र ४ वटा बिस्कुट खाएर बस्नुपरेको कुराहरू पनि बेला बेलामा हामी सुन्ने गर्दछौँ । हाम्रो भान्छामा विभिन्न औषधियुक्त तरकारी तथा फलफूल रहेका हुन्छन् । जसको नियमित सेवन गर्नाले हामी विभिन्न रोगबाट मुक्त हुनसक्छौँ । त्यसैले हामीले खाने खाना नै औषधि हो, यसलाई नियमितरूपमा खानुपर्दछ । नत्र औषधि पनि खानाको रूपमा खाने गर्नुपर्ने हुन्छ । खाना वास्तवमै प्रकृतिले  मानवलाई उपहारस्वरुप दिएको औषधि हो । घरबाहिरका खानेकुरामा नुनको मात्रा अधिक हुने कुरा अनुसन्धानले देखाएको छ । एक अध्ययनका अनुसार बाहिरी खाना जस्तैः चाउचाउ, कुकिज, कुरकुरे, बिस्कुटमा नुन वा सोडियमको मात्रा ८० प्रतिशत हुने गरेको तर घरमै बनाएको खानामा नुनको मात्रा जम्मा २० प्रतिशत जतिमात्र हुने कुरा देखाएको छ । बाहिरका खानाले नचाहिँदा तनाव बढाउने गर्दछ । जसले गर्दा हामी उच्च रक्तचापको शिकार बन्न पुग्छौँ ।

            हरेक समस्याको हल वा समाधानका उपायहरू हुन्छ । त्यस्तै उच्च रक्तचापबाट बच्नका लागि धूमपान र मद्यपानबाट टाढै बस्नुपर्छ । नियमितरूपमा शारीरिक व्यायाम, योग ध्यान गर्नुपर्दछ । यसरी व्यायाम गर्नाले शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछ । हाल भइरहेको लकडाउनको समयमा पनि हामीले आफ्नो स्वास्थ्यप्रति विशेषता ध्यान दिनुपर्दछ । यतिबेला घरबाहिर जान सम्भव छैन । त्यसैले कौसीमा पनि हामी दैनिकरूपमा गर्दै आएका शारीरिक व्यायामहरू निरन्तररूपमा गर्नुपर्दछ । कही कतै जान पर्दैन, हिँड्न अल्छी मानी आफ्ना दैनिक क्रियाकलापलाई पूर्णविराम दिन खोजे कतै हाम्रो अमूल्य जीवनमा पनि पूर्णविराम लाग्नसक्दछ । बेलैमा यस्ता कुराहरूप्रति हामी सबै सजग हुनुपर्दछ । कतिपय मानिसहरू म त स्वस्थ छु भनी ढुक्क भएर बस्छन् । शारीरिक व्यायामसँगै हामीले पर्याप्त मात्रामा सुत्नु पनि पर्दछ । निद्रा पुगेन भने पनि हामी मानसिक तनावको शिकार हुन पुग्दछौँ । जसले उच्च रक्तचाप बढाउन सहयोग पुग्दछ । राति ढिलोसम्म नसुत्ने साथै रातिको ड्युटी गर्नेहरूमा उच्च रक्तचापको समस्या देखिने कुरा विभिन्न अध्ययनले देखाएका छन् । यीबाहेक पनि बढी युवाहरू आजकल अबेरसम्म मोबाइलमा विभिन्न गेमहरू खेल्ने, फिल्म हेर्ने इत्यादि क्रियाकलापहरूले मानसिक तनावको शिकार हुने गरेको देखिन्छ । यसैको परिणामस्वरुप समाजमा विभिन्न सामाजिक समस्याहरू देखा पर्दै आएका छन् । त्यसैले प्रायः स्वास्थ्य समस्याहरू समाज र सामाजिक जीवनसँग अन्तर सम्बन्धित रहेका हुन्छ । विभिन्न रोगहरूबाट बच्नको लागि आफ्नो जीवनशैलीमा विशेष ध्यान दिन जरुरी छ । सादा जीवन नै स्वस्थ जीवनको मूलमन्त्र मान्न सकिन्छ । रोग लागेर उपचारतर्फ लाग्नुभन्दा रोग नै लाग्न नदिनेतर्फ हामी सबै सचेत हुनुपर्दछ ।

सुनिता गाइसी image
सुनिता गाइसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *