भर्खरै :

भक्तपुर नगरमा लकडाउन खुकुलो भएको हो ?

            कोभिड–१९ भाइरसका सङ्क्रमितहरूको सङ्ख्या भक्तपुरका विभिन्न स्थानमा देखिन थाल्दा पनि सर्वसाधारण भने अझै पनि घरबाहिर विभिन्न बहानामा आउने–जाने क्रम रोकिएको छैन । बरू तुलनात्मकरूपमा अझ बढिरहेको देखिन्छ । सडकमा तरकारी किन्न, किनमेल, मर्निङ र इभिनिङ वाक्को नाममा सर्वसाधारणको चहलपहल निकै बढेको छ । भक्तपुर नगरपालिकाले केही समयअघि स्वयम्सेवक परिचालन गरी मानिसको आवतजावत कम गर्ने प्रयास पनि क्रमशः फितलो बन्दै गएको छ । नगरपालिकाले दिएको पास जाँच्ने क्रम झन्डै रोकिएको छ । स्वयम्सेवकहरू मानिसको भीडभाड देखिने ठाउँमा देखिन छोडेको छ ।
            साँझ–बिहान कमलपोखरीमा देखिने मानिसको भीडले लकडाउन नाममात्रको भएको देखाउँछ । प्रहरीले पनि मानिसको आवतजावतमा नियन्त्रण गर्न कममात्र ध्यान दिएको छ ।
            सामुदायिक स्तरमा फैलिसकेको कोरोना भाइरस फैलिन नदिन स्थानीय तह र सुरक्षा निकायले समयमा नै ध्यान दिनुपर्ने देखिन्छ । वरपरका नगरपालिकामा सङ्क्रमित देखिएको अवस्थामा सर्वसाधारणलाई सचेत बनाउँदै घरमा बस्न अझ कडाइ गर्नुपर्ने देखिन्छ । कोही पनि सङ्क्रमित फेला नपरेको भन्दै मानिसले लकडाउनलाई खेलाँची गर्न थालेको अवस्थाले भयावह अवस्था आउनसक्छ ।
            सर्वसाधारण नगरका पाटीपौवामा बिना काम बस्ने क्रम बढेको छ । सडकमा हिँड्नेमध्ये कममात्र मानिसले मास्क लगाउने गरेको देखिएको छ । स्यानिटाइजर र साबुन पानीले हातले धुने बानी कम भएको छ । नगरपालिकाले तत्कालै विशेष तदारूकता नदेखाउने हो भने सङ्क्रमणले टाउको उठाउनसक्छ । सुरक्षा निकायले पनि सुरूका केही साता कडाइ गरे पनि हाल बेवास्ता गरेको देखिन्छ । सवारी साधन र बटुवालाई सोधपुछ गर्ने काम प्रहरीले गर्न छोडेका छैनन् । यो विषयमा गम्भीरतापूर्वक विचार गरौँ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *