भर्खरै :

सक्वको म राजदास – ३३

            रेल गुड्दै थियो । अन्ना पेट्रोभ्ना र मेरो कुरा चल्दै रह्यो कहिल्यै नरोक्ला जस्तो गरी । साँझ हुन लाग्यो । दिन बितेको यादै भएन । हाम्रो कुरा टुङ्गिएन पनि । अन्नाले आफ्ना दुःख सबै पोख्न भ्याइन् । मैले पनि आफ्ना मनमा लागेका, मैले जाने–सुनेका कुराहरू अन्ना पट्रोभ्नालाई बताएँ । नेपालको रीतिरिवाज, धर्म, संस्कृति, शिक्षा प्रणाली, आर्थिक अवस्था र सामाजिक व्यवस्थाबारे आफूले जानेका कुरा र आफ्नो भविष्यको योजनाबारे अलिअलि उनलाई बताएँ । अन्नालाई नेपालको बारेमा धेरै कुरा थाहा नभएकोले मैले हाम्रो समाजमा विद्यमान धर्म, संस्कृति र जात–भातको कुरा बताउँदा उनी धेरै अचम्मित भए । आफ्नै नेवाः समुदायभित्र अनेकौँ जात–भात
त्यसभित्र हुने छुवाछूतको कुरा उनले नपत्याएको कारण मैले त्यसबारे विस्तृतरूपमा बताएँ ।
            भारतीय समाज र  भारतीय चलचित्रबारे चासो व्यक्त गरी उनले भनिन्, “इन्डियाका केही फिल्महरू मैले हेरेकी छु, राजकपुर मलाई धेरै मनपर्ने सिने कलाकार हो ।” तत्कालीन सोभियत सङ्घका फिल्महलमा बेला–बेलामा हिन्दी फिल्महरू देखाउँथे । इन्दिरा गान्धीको शासनकालमा भारत र सोभियत सङ्घको सम्बन्ध धेरै नजिकिँदै थियो । भारत त्यसबेला असंग्लन राष्ट्रहरूको स·ठनको एक महत्वपूर्ण सदस्य भए पनि भारतको विदेश नीति, आर्थिक र सैनिक सम्बन्धमा सोभियत सङ्घसँग धेरै नजिक थियो । त्यसबेला अमेरिकासँग भन्दा पनि सोभियत सङ्घसँग भारतको सम्बन्ध राम्रो थियो । भारतलाई सोभियत सङ्घले आफ्नै प्रभाव क्षेत्रका देशहरूमा राखेर हेर्ने गर्दथ्यो । गाइँगुइँ सुन्नमा  आइन्थ्यो कि भारत सोभियत सङ्घको एक मित्र देशमात्र होइन एक समाजवादी भ्रातृ देश पनि हो ।
            सोभियत सङ्घकै सहयोग र समर्थनमा सन् १९७२ मा भारतले तत्कालीन पूर्वी पाकिस्तानमा सैनिक हस्तक्षेप गरेर पाकिस्तानलाई दुई टुक्रा गरी बङ्गलादेश स्थापना गरिएको थियो ।
            शिख मुज्जबुर रहमानको नेतृत्वमा पूर्वी पाकिस्तानमा आन्दोलन चलिरहँदा पाकिस्तानको सहयोगार्थ अमेरिकाको सैनिक दस्ता ‘सेभेन्थ फ्लिट’ बङ्गाल खाडीतिर आउँदै थियो । त्यसको प्रत्युत्तरमा भारतको आग्रहमा सोभियत सङ्घले पनि त्यस्तै शक्तिशाली सैनिक दस्ता बङ्गाल खाडीमा प्रवेश गर्‍यो र अमेरिकी सैनिक जहाजको दस्ता पछि हट्यो । पछि सोभियत सङ्घ र भारतको साथ तथा सहयोगमा पूर्वी पाकिस्तान बङ्गलादेशमा परिवर्तन भयो ।
            भारतमा जस्तै अरब राष्ट्रहरूमा पनि सोभियत सङ्घले ठूलो आर्थिक तथा सैनिक शक्तिको लगानी गरी आफ्नो प्रभाव क्षेत्र बढाउँदै थियो । मध्यपूर्वका देशहरूमध्ये मिश्र (इजिप्ट) र सिरियामा सोभियत सङ्घले ठूलो आर्थिक लगानी गरेको थियो । त्यसबेला सोभियत सङ्घमा धेरै अरबी देशका विद्यार्थीहरू पढ्न आइरहेका थिए ।
            द्वितीय विश्व युद्धपछि अमेरिका र सोभियत सङ्घबीच चुलिएको शीत युद्ध (कोल्ड वार) ले विश्वलाई दुई ध्रुवमा विभाजित गरेको थियो । यसविपरीत भारतका प्रधानमन्त्री जवाहरलाल नेहरू, इजिप्तका नासीर, युगोस्लाभियाका टीटोजस्ता ख्यातिप्राप्त नेताहरूको अग्रसरतामा एउटा ‘असंलग्न राष्ट्रहरूको सङ्गठन’ पनि उदय भएको थियो । त्यस सङ्ठगनमा नेपाल पनि आबद्ध हुनपुगेको थियो । सैद्धान्तिकरूपमा असंलग्न भने पनि धेरैजसो सदस्य राष्ट्रहरू सोभियत पक्षतिर नै ढल्केका थिए । सोभियत सङ्घले पनि असंलग्न राष्ट्रका विकासोन्मुख देशहरूलाई आफूतिर तान्न धेरै प्रयास गरेको थियो ।
            सदियौँदेखि विभिन्न देशहरूको आक्रमण खेपी आइरहेको रूसी जनता सोभियत सङ्घको उदयपछि र विशेष गरेर द्वितीय विश्व युद्धमा नाजी हिटलरी फौजमाथि विजय प्राप्त गरेपछि एक समृद्ध र सुखी देशमा परिवर्तन हुन सफल भएको थियो । तर, धेरै समय त्यो टिक्न सकेन । अक्टोबर क्रान्तिपछि स्थापना भएको सोभियत सङ्घलाई शिशु अवस्थादेखि नै देशभित्रका प्रतिक्रान्तिकारी  र देश बाहिरका साम्राज्यवादी शक्तिहरूबाट निमोठ्ने प्रयास भइरहेको थियो  ।
            महान् अक्टोबर क्रान्तिबाट प्राप्त सोभियत समाजवादी व्यवस्थालाई स्थायी रूप दिन र हुर्काउन सोभियत जनता र सोभियत नेतृत्वले धेरै कठोर सङ्घर्ष गर्नुपरेको थियो  । यही कठोर सङ्घर्ष तथा सोभियत क्रान्तिकारी नेता भ्लाडिमीर ईलिच्च लेनिनको सबल नेतृत्वको सोभियत सङ्घले गृहयुद्धमा सफलता हासिल गर्‍यो । अक्टोबर क्रान्तिपछि पनि जारशाही शासकहरूको सानो सैनिक समूहले केही वर्षसम्म कम्युनिस्ट पार्टीका सैनिकहरूसँग विभिन्न ठाउँमा स–साना युद्धहरू गर्दै रह्यो । तर, हरेक ठाउँमा सोभियत सेनाले विजय हासिल गर्दै क्रान्तिकारी अभियानलाई अगाडि बढाउँदै लगे ।
            सोभियत सङ्घको बोल्सेभिक पार्टीअन्तर्गतको सोभियत सेनालाई ‘रेड आर्मी’ अथवा ‘लाल सेना’ भनिन्थ्यो भने रूसी जारकालीन सेनालाई ‘सेतो आर्मी’ अथवा ‘ह्वाइट आर्मी’ भनिन्थ्यो ।
            समाजवादी क्रान्तिपछि देशका धनीमानी जमिनदार किसानहरूले आफ्नो फसल र अन्न उब्जाउ सोभियत सरकार र रेड आर्मीलाई दिनुपर्ला भनेर उत्पादन घटाउन थाले र  उनीहरूले आफूलाई चाहिने जतिमात्र अन्न उत्पादन गर्न थाले । यसले गर्दा नवउदयी सोभियत सङ्घमा अन्नको उत्पादनमा धेरै र्‍हास भयो र भोकमरीको अवस्था सृजना भयो ।
            यस परिस्थितिलाई सुधार्न सोभियत नेता भ्लादिमीर लेनिनले सोभियत सङ्घमा एक नयाँ आर्थिक नीति प्रतिपादन गरे । यस नयाँ नीतिलाई ‘न्यु इकोनोमिक पोलिसि’ (नेप) अथवा ‘नयाँ आर्थिक नीति’ भनियो । यस नीतिअनुसार गाउँ÷सहरहरूमा सोभियत जनतालाई केही मात्रामा निजी उत्पादन गरी स्थानीय बजारमा बेचबिखन गर्न पाउने सुविधा दिइयो । यद्यपि, ठूलठूला कारखाना, उत्पादन केन्द्र र उत्पादनका साधनहरू सबै सरकारीकरण गरियो ।
            रूसी साम्राज्य कृषिप्रधान देश थियो । त्यहाँ प्रशस्त अन्न, फलफूल तथा तरकारी उत्पादन हुन्थ्यो । तर सोभियत समाजवादी क्रान्ति सम्पन्न भएपछि देशका धनी जमिनदारहरू जसलाई ‘कुलाक’ भनिन्थ्यो । उनीहरू सामन्ती स्वभावका भएकाले क्रान्तिविरोधी थिए र सोभियत सरकारलाई हरतरह असहयोग गर्थे । त्यसकारण सोभियत सत्ताले जारशाहीको सेतो आर्मीसँग युद्ध गर्नु परेजस्तै रूसका यी जमिनदार ‘कुलाक’ हरूसँँग पनि युद्धस्तरमा सङ्घर्ष गर्नुपरेको थियो ।
            सोभियत रुसका पुँजीपति र जमिनदाहरू देशबाट पलायन भएर गएको कारण देशको आर्थिक अवस्था धेरै नाजुक भइरहेको थियो । विदेशी साम्राज्यवादीहरू पनि सोभियत सङ्घलाई ध्वस्त पार्ने रणनीतिमा नै थिए । संयुक्त राज्य अमेरिका, जर्मनी मुख्यतया यसमा उग्ररूपमा लागिपरेका थिए । यस्तै विभिन्न समस्या र धेरै कठिन अवस्थाबाट सोभियत सरकार गुज्रिरहेको बेला सन् १९१८ मा सोभियत नेता भ्लादिमीर इलिच लेनिनमाथि साङ्घातिक आक्रमण भयो । आक्रमणको बेला लेनिन मस्कोस्थित एक कारखानाका मजदुरहरूलाई सम्बोधन गरेर आफ्नो गाडीतिर निस्कँदै थिए । अगष्ट ३० मा भएको उक्त आक्रमणबाट लेनिन सख्त घाइते भए र  बिग्रँदै गएको स्वास्थ्यको कारण पहिलेजस्तो सक्रियरूपमा राज्यको गतिविधिमा उहाँ संलग्न हुनसक्नुभएन । यद्यपि, आफ्ना पार्टीका उच्चपदस्थ नेताहरू त्यसमध्ये सबभन्दा नजिकका सहयात्री जोसेफ स्तालिनमार्फत आरामगृहमा रहेर पार्टी र सरकार चलाइरहेका थिए ।
            सन् १९२४ को जनवरी २१ मा सोभियत सङ्घका महान क्रान्तिकारी नेता भ्लादिमीर लेनिनको देहावसान भयो । उहाँको निधनपछि सोभियत पार्टी र सोभियत सरकारको बागडोर जोसेफ स्तालिनले सम्हाले र सोभियत सङ्घको आर्थिक नीतिलाई योजनाबद्धरूपमा अघि सार्दै सोभियत सैनिक शक्तिमा पनि उच्च सफलता हासिल गर्दै लगे । स्तालिनको सफल नेतृत्वकै कारण सन् १९३९ देखि १९४५ सम्म चलेको द्वितीय विश्व युद्धमा सोभियत सङ्घले ठूलो विजय हासिल गर्‍यो र विश्वमा सोभियत सङ्घ र सोभियत जनतालाई महान गर्व दिलायो ।
            सोभियत सङ्घमा उच्च शिक्षा हासिल गर्न म सन् १९६९ मा सोभियत सङ्घ गएको थिएँ । सन् १९७५ मा आफ्नो पढाइ सकिन लाग्दा मस्कोबाट लन्डन गई फर्किरहँदा रेल यात्रामा संयोगवस भेट भएकी अन्ना पेट्रोभ्नासँग कुराकानीमा उब्जिएका धारणा हुन् यी मेरा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *