फिते चप्पल लगाएर आएको थियो गुप्ते ! माफ गर्नुहोला, ‘गुप्त’ !

            आजभोलि साहित्यिक जमघटमा उसलाई ‘गुप्तजी’ भन्न थालिएको छ । तैपनि ऊ मेरो लागि हाम्रो घर पल्तिर अँधिया गर्ने गोपाल चौधरीको माहिलो छोरो गुप्ते नै थियो । उमेरले मभन्दा दुईचार वर्ष जेठो होला । सानोमा हामी उसलाई ‘गुप्ते दाइ’ भन्थ्यौँ ।

            “जनताले संविधान बनाइसकेका छन् । इतिहासमै बलियो सरकार बनेको छ । देशले स्थिरता पाएको छ । तैपनि पञ्चायतकालीन प्रतिबन्धित कार्यकर्ताको जस्तो आफ्नो हुलिया गुप्तले फेरेको छैन ।” उसलाई देखेपछि मेरो दिमागमा यस्तै कुरा खेलिरह्यो । ऊसित पैसा नभएको पनि होइन । प्लम्बरको काम गर्छ । हाम्रो नगरपालिकामा मात्रै दिनको चारवटा नयाँ घर थपिन्छ भन्छन् । कमाइ पनि राम्रै हुँदो हो । तैपनि गुप्त उस्तै छ ।

            राजनीति पनि गर्छ भन्ने सुनेको छु । मैले उता काठमाडौँमा इन्जिनियरिङको अन्तिम वर्षको पढाइ सक्दै गर्दा संविधानसभाको दोस्रो चुनाव भएको थियो । त्यस चुनावमा गुप्त पनि हाम्रो निर्वाचन क्षेत्रबाट उठेको थियो । कुन चाहिँ कम्युनिस्ट पार्टीबाट हो कुन्नि, अहिले बिर्सेँ । साना पार्टीबाट टिकट पाउनु के ठूलो कुरा भयो र !

            हामीले पुल्चोकको क्यान्टिनमा चुरोटको धुवाँ उडाउन सिक्दै गर्दा गुप्तले साहित्य लेख्न थालेछ ! हुन त जनआन्दोलनताका नै ऊ साहित्य सङ्गमहरूमा फाट्टफुट्ट देखिन थालेको थियो । अहिले ऊ राम्रै कविता लेख्ने भएको छ । साहित्यिक जमघट पहिलेजस्तो बाक्लो त हुँदैन आजभोलि । जति हुन्छन्, त्यसमा ऊ छुट्दैन । त्यसैले पनि ऊ आएको थियो हाम्रो कार्यक्रममा ।

            विमोचन कार्यक्रम थियो । हाम्रो ठूलो बुबाले रचना गर्नुभएको महाकाव्यको । परिवारका सबैजना सहभागी थिए । म पनि त्यहीँ थिएँ । कार्यक्रममा सबै पाहुना आइसकेका थिएनन् । गुप्त दुईजना साथी लिएर आयो । उसका साथीहरू पनि ऊजस्तै थिए । साधारण पहिरन, साधारण हुलिया । मैले गुप्तलाई देखिसकेको थिएँ । तैपनि, नदेखेझैँ आफ्नै सुरमा ठूलो बुबाले अह्राउनुभएको काममा खटिरहेको थिएँ । कार्यक्रमस्थल सजाउने जिम्मा मेरो थियो । ब्यानर टाँग्ने, साउन्ड सिस्टम कसरी सेट गर्ने, पोडियम र सोफा कहाँ राख्ने सबै बन्दोबस्त मैले मिलाएको थिएँ ।

            कार्यक्रमस्थल बनाइएको हल बिस्तारै भरिँदै गयो । विद्यालय जीवनका मेरा नेपाली शिक्षक श्याम पाण्डे सर पनि आउनुभएको रहेछ । उहाँ गुप्त र उसका साथीहरू बसेको लहरभन्दा ठीक अघिल्लो लहरमा बस्नुभएको थियो र बेलाबेला पछि फर्किँदै गुप्तसँग छिटफुट कुराकानी गरिरहनुभएको थियो । सरका आँखा ममाथि परेपछि उहाँलाई नमस्कार गरेँ । सादा पहिरन र खुला हाँसोबाट सादा जीवन उच्च विचारको भाव प्रकट गर्ने उहाँको बेदाग जीवनशैली फेरिएको रहेनछ । उहाँले मलाई छेउमा बस्न बोलाउनुभयो । पुराना सम्झनाबारे श्याम सरसँग गफगाफ चल्यो । कुराकानी बहाना थिए । खासमा हामी कार्यक्रमका मुख्य अतिथिलाई पर्खिरहेका थियौँ ।

            कार्यक्रमका प्रमुख अतिथि हुनुहुन्थ्यो हाम्रो नगरपालिकाका मेयर बलदेव घिमिरे । बलदेव अङ्कल हाम्रो जिल्लाका नमुना मेयर हुनुहुन्छ । जिल्लाका चार नगरपालिकामध्ये उहाँ सबैभन्दा चर्चित हुनुहुन्छ । नहुनु पनि कसरी ? कार्यकाल सुरु भएको एक वर्षभित्रै उहाँले स्थानीय कानुन बनाउनुभयो । लगानी सम्मेलन गर्नुभयो । सांस्कृतिक कार्यशाला गर्नुभयो । पत्रपत्रिकामा उहाँको विषयमा समाचार नआएको दिन नै हुँदैन ।

            लगभग आधा घन्टाको प्रतीक्षापछि मेयर साहेब आउनुभयो । कविर दाइले कार्यक्रम सुरु गर्नुभयो । कार्यक्रम चलाउने उहाँको तरिका गजबको छ । अझ कविता पाठ गर्ने उहाँको शैली देखेर सबै मोहित हुन्छन् । उहाँ दोस्रो जनआन्दोलनको प्रोडक्ट हो । उहाँका आगो ओकल्ने कविताहरू सुन्दा आन्दोलनको रौनक नै अर्को हुन्थ्यो त्यसबेला । हुन त मञ्चमा आसीन लगभग सबैजसो लेखक, कवि र साहित्यकारहरू राजतन्त्रको विरोधमा क्रान्तिकारी र जनवादी गीत, कविता, गजल र कथा लेख्ने महानुभावहरू नै हुनुहुन्थ्यो । अलिबेर अघिसम्म उहाँहरूले पनि उत्सुकतापूर्वक मेयर साहेबको बाटो हेरिरहनुभएको थियो ।

औपचारिक स्वागत–सत्कारका पन्ध्र–बीस मिनेटपछि महाकाव्यको विमोचन भयो । विद्वान समीक्षकज्यू बोलिरहनुभएको थियो । गुप्त र उसका साथीहरू एकाएक उठे अनि सरासर हलबाहिर निस्किए । ठूलो बुबाले मलाई इसारा गर्नुभयो । उनीहरूबारे बुझ्न अह्राउनुभएको हुनुपर्छ । म सुटेडबुटेड थिएँ । एक मनले त उनीहरूसँग कुरा गर्न अलि अप्ठ्यारो महसुस भयो । तैपनि बुबाले भनेपछि आयोजकीय शिष्टाचारको प्रश्न पनि आउने भयो । त्यसैले उनीहरूलाई पछ्याउँदै बाहिरिएँ ।

            “गुप्त दाइ, किन निस्कनुभयो कुन्नि ?” सिँढी ओर्लिन लागेको गुप्तलाई मैले सोधेँ ।

            “यस्ता पाखण्डी कार्यक्रममा म किन बस्ने ?” उसले अकस्मात् असाध्यै तीतो प्रतिप्रश्न गर्‍यो । मलाई झनक्क रिस उठ्यो । जे भए पनि यस कार्यक्रममा मेरो ठूलो बुबाको मिहिनेत खर्च भएको थियो । परिवारका लागि हर्षको दिन थियो ।

“मुख सम्हालेर बोल । के पाखण्डी भयो ? बित्थामा आरोप नलाऊ ।” रिसको झोँकमा म चर्किएँ । सायद आफ्नो सक्कली रवैयामा झरेँ ।

            “तिम्रो ठूलाबाको सामुन्ने त्यो मेयरको के हैसियत छ हँ ? त्यो हिजोको जग्गा दलाल होइन ? सरकारी जग्गा मिचेर पार्टी प्यालेस बनायो, स्कूल खोल्यो ! पार्टीका पुराना इमानदार नेता हुँदाहुँदै पैसा पेलेर मेयरको टिकट लिएको हैन त्यसले ? त्यस्ता कालो धन खेलाउनेलाई कविर दाइले के भन्नुभएको ? राजा भोजजस्तो रे ? अझ भएन भनेर नगर प्रमुख भनेर बोलाए हुँदैन ? कविर दाइले कति चिल्लो घस्नुभएको ? नगर पिता रे ? यो सामन्ती शब्द हैन ? हामीले सामन्तवाद किन फालेको ? यही दिन देख्न ? कहाँ गयो कविर दाइको क्रान्तिकारी ओज ? जनताले भित्रभित्र मेयरलाई थुक्छन् ।” उसले एकै झपटमा कुरा टुङ्ग्यायो । म अक्क न बक्क परेर उसलाई हेरिरहेको थिएँ ।

            “बरु रेशम बा आफँैले आफ्नो किताब विमोचन गरेको भए राम्रो हुन्थ्यो । साहित्यकार भनेका यस्ता दलाल र ठगभन्दा कति हो कति उच्च हुन्छन् । तिनीहरूका अगाडि निहुरिने ? तिनको प्रशंसा गर्ने ? यसलाई पाखण्ड नभनेर के भन्ने ?” श्याम सर कसरी बस्न सक्नुभयो कुन्नि ! म त सकिनँ ।” तीखा छेड्ने आँखाले मतिर हेर्दै उसले भन्यो । उसका आँखाले मलाई घोँचेजस्तो लाग्यो । उसलाई ठाडो नजरले हेर्न पनि मलाई धौधौ भइरहेको थियो ।

            गुप्तले तल पुगिसकेका आफ्ना साथीतिर नियाल्यो । इतिहासकै सर्वाधिक बलवान सरकार सम्हालेको दलको विद्यार्थी नेता भएर पनि मैले उसलाई जवाफ फर्काउन सकिरहेको थिइनँ । कहिल्यै सरकारमा पनि नपुगेको सानो दलको कार्यकर्तासामु म पराजित भएको थिएँ । मलाई के भनूँ, के नभनूँ भयो । मैले देशका नेताहरू सम्झेँ र सम्झेँ हाम्रा स्थानीय जनप्रतिनिधिहरूका बेलाबेला सुनिने कर्तुतहरू । कार्यक्रममा उपस्थित केही साहित्यकारको मेयर–स्तुति सम्झिएँ । र आफैलाई नियालेँ । मेरो आत्मगौरव पाखण्डमा परिणत भयो । एकै छिनअघिको मेरो रवाफ हिनताबोधमा खस्कियो । क्लेशले मुख मलिन भयो । साँच्चै भन्ने हो भने आफँैलाई देखेर ग्लानी महसुस भइरहेको थियो मलाई ।

            गुप्त साँघुरो सिँढीबाट फटाफट ओर्लियो । कोरिडोरमा आएर म उसलाई हरियो गेटबाट बाहिरिँदै गरेको हेरिरहेँ । खैरो खियामाथि हरियो इनामेल पोतिएको अज·को स्थिर गेट टल्किएको त थियो । तर, उसको रातो र सजीव चेकसर्ट कता हो कता झल्किरहेको प्रतीत हुन्थ्यो । बतासले झन्डाझैँ फहराउँदै गरेको रातो चेकसर्टमा बेरिएर कुनै नायकजस्तो ऊ गइरहेको थियो ।

सुरेश image
सुरेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *