भर्खरै :

नेपालको क्षेत्रफल कति बढ्यो ?

            काठमाडौँ, ११ जेठ । नेपाल सरकारले जेठ ५ गते लिम्पियाधुरासम्मको भूभाग समेटेरै नयाँ नक्सा स्वीकृत गर्‍यो । तर, सार्वजनिक गरेन । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री केपी ओलीसँग जेठ ६ गतेको प्रतिनिधिसभाको बैठकमा प्रश्न राख्नुभयो, “नेपालको नक्साअनुसारको क्षेत्रफल सार्वजनिक नगरेको किन होला ? के कसैको दबाब छ ? नेपाल सरकारले जेठ ७ गते नै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई नेपालको नयाँ नक्सा जारी गर्न लगायो तर, नयाँ नक्साको क्षेत्रफल सार्वजनिक गरेन । अहिले प्रश्न उठिरहेका छन्, “नयाँ नक्सा जारी गरिएपछि सोहीबमोजिमको नयाँ क्षेत्रफल सार्वजनिक गर्न नेपाल सरकारलाई कसले रोक्यो ? के नयाँ नक्साअनुसारको नेपाली भूमि भारत अतिक्रमणबाट फिर्ता गर्नुपर्ने सरकार नयाँ क्षेत्रफल सार्वजनिक गर्न डराउन मिल्छ ?”
            नापी विभागका प्रवक्ता दामोदर पोखरेलले वार्तामा बोल्दै थोरै धेरै तल–माथि भए समस्या हुने भएकोले नेपालको नयाँ नक्साको क्षेत्रफल सार्वजनिक नगरेको बताए । (अन्नपूर्ण दैनिक, २०७७ जेठ ११ गते) । त्यसो त क्षेत्रफल थोरै धेरै तलमाथि भएअनुसार अहिले जारी नयाँ नक्साको आकारमा पनि फरक पर्छ । नयाँ नक्सा जारी भएअनुसार नयाँ क्षेत्रफल सार्वजनिक गर्न सरकारले विलम्ब गर्दा नेपाली जनता र अन्तर्राष्ट्रिय समुदाय अन्योलमा छन् । सूचनाको हकअनुसार पनि नेपाली जनताले नेपालको नयाँ नक्साअनुसारको क्षेत्रफल थाहा पाउनुपर्ने हुन्छ ।
            नेपाल सरकारले जेठ ९ गते नेपालको संविधानको धारा ९ को उपधारा (२) अनुसारको नेपालको निशानछापमा रहेको नेपालको नक्सा जेठ ७ गते सार्वजनिक नयाँ नक्सा राख्ने गरी संविधान संशोधन विधेयक, २०७७ सङ्घीय संसद्मा दर्ता गर्‍यो । यो आवश्यक हो । तर, नेपालको संविधानमा नेपालको क्षेत्रफल पनि उल्लेख हुनु जरूरी छ । नेपाल मजदुर किसान पार्टीका सभासद्हरूले संविधान निर्माणको बेला संविधानमा नेपालको क्षेत्रफल राख्नुपर्ने संशोधन पेश गर्नुभएको थियो । तर, नेका, एमाले, माओवादीले उक्त संविधानलाई अस्वीकार गरेका थिए । संविधान निर्माणकै बेला सीमा नियमन गर्ने र क्षेत्रफल उल्लेख गर्ने विषय अगाडि बढेको भए देशभक्त र देशविरोधीबीच कित्ताकाट हुने थियो ।
            प्रम ओलीका प्रेस सल्लाहकारको फेसबुकमा नेपालको नयाँ नक्साअनुसारको क्षेत्रफल १ लाख ४७ हजार ५१६ वर्ग किलोमिटर छ । नापी विभागका पूर्वउपमहानिर्देशक सुरेशमान श्रेष्ठले नेपालको नयाँ नक्साअनुसारको क्षेत्रफल १ लाख ४७ हजार ९५० वर्ग किलोमिटर हुने बताउनुभयो । त्रिवि भूगोल विभागका प्राध्यापक टोलीले पनि श्रेष्ठकै गणना ठीक भएको बतायो । नापी विभागका पूर्वमहानिर्देशक पुण्यप्रसाद ओलीले नेपालको नयाँ नक्सानुसार ७-८ सय वर्ग किमि क्षेत्रफल बढ्नेछ । सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपालको ३७२ किमि भूमि भारत अतिक्रमणमा परेको बताउनुभयो । नदी विज्ञानका जानकार डा. जगतप्रसाद भुसालले भारतले ३८५ वर्ग किमि अतिक्रमण गरेको बताउनुभयो ।
            यसकारण नेपाल सरकारले नेपालको नयाँ नक्साअनुसारको क्षेत्रफल सार्वजनिक गरी अन्योल समाप्त गर्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *