भर्खरै :

अब नेपाल झुक्नु हुँदैन

नेपाली भूमि मिचेलगत्तै नेपाल सरकारले विरोध गरेको भए भारतले नेपाली भूमि मिचेको मिचै गर्न पाउँदैनथ्यो । नेपाली भूमि मिचे पनि नेपाल सरकार मौन भएकैले भारतले विभिन्न ठाउँमा नेपाली भूमि मिचेको हो, मिचिरहेको हो । नेपाल सरकारको कमजोरीले गर्दा भारतले फाइदा उठाइरहेको हो । कसैले कसैको भूमि मिचेपछि या अतिक्रमण गरेपछि अतिक्रमित भूमिमा आफ्नो हक कायम रहँदैन । नेपाली भूमि हो भने ६-७ दशकसम्म नेपाल किन मौन बसेको हो भन्ने भारतको दाबी छ । भूमि मिचेपछि विरोध गर्नुपर्ने हो तर विरोध गरिएन भनेर अर्काको हुँदैन । विरोध नेपाल सरकारले मात्र नगरेको हो, नेपाली जनताले त बारम्बार विरोध गरिरहेकै हुन् ।
झन्डै पाँच दशकअघि सुस्ता भूमि मिचेको विरोधमा नेपाल मजदुर किसान पार्टीले जुलुस प्रदर्शन गरेको थियो । पछिल्ला दिनमा पनि भारतीय थिचोमिचोको विरोध गर्नेमा नेमकिपा अगाडि थियो । सुस्तालगायत अन्य भूमि मिचेको विरोध गर्न नेमकिपा कहिल्यै चुकेन । त्यही कारण अहिले पनि ठूला दलका नेता र मन्त्रीहरू नेमकिपालाई भारतविरोधीको आँखाले हेर्छन्, भारतलाई पनि त्यस्तै लागेको छ । नेमकिपा भारतीय जनताविरोधी होइन भारतीय थिचोमिचो र अतिक्रमणको विरोधी हो । सीमा अतिक्रमणको विरोधमा मात्र होइन भारतीय एकाधिकार पुँजी र अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत नेपाल–भारत सीमामा भारतले एकतर्फीरूपमा बनाएका बाँध तथा तटबन्धको विरोधमा पनि नेमकिपाले सशक्त विरोध गरेको थियो, गरिरहेको छ र गर्दै जानेछ । देश जोगाउनको निम्ति नेमकिपाका नेता तथा कार्यकर्ताले विरोध प्रदर्शन गर्दा उल्टो प्रहरी प्रशासनको मार खानुपर्‍यो । देश जोगाउन गरिएको सभा र प्रदर्शनमा साथ र हौसला दिनुको साटो दमन गरियो । नेमकिपाका नेता तथा कार्यकर्ता जेल जानुपर्‍यो । त्यसैबेला सरकार संवेदनशील भएको भए, सरकार सचेत भएको भए हजारौँ हजार हेक्टर नेपाली भूमि भारतले मिच्न पाउँदैनथ्यो, मिचेको भूमि कायम गर्नसक्दैनथ्यो । यो लामो समयदेखि सत्तामा रहेका दल या व्यवस्थाको कमजोरी हो ।
भारतको प्रमाण भनेकै नेपाली भूमि मिचेर लामो सयमदेखि बस्दै आउनु हो । लिम्पियाधुराबाट बगेको मुख्य काली नदीको सिमाना छोडेर अर्कै सानो खोल्सोलाई काली नदी ठानेर भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी आफ्नो दाबी गरेको छ । भारतीय सेना कालापानीमा बस्दैमा, फौज राख्दैमा त्यो भूमि भारतको हुँदैन । अब नेपाल झुक्नु हुँदैन । नेपाल सरकार जहिल्यै भारतको बन्दी बन्नु हुँदैन । नेपालको सार्वभौमिकता र स्वाधीनतामाथि भइरहेको हस्तक्षेप स्वीकार्नु हुँदैन । भारतले जहाँजहाँ नेपाली भूमि मिचेको छ त्यहाँ त्यहाँको एक एक हिसाब गरेर नेपाली भूमि कायम गर्नुपर्छ । नेपाली भूमि कायम गर्न सरकार पछि हट्नु हुँदैन । नेपाली भूमि नेपालको कायम राख्न सरकारले आफूसँग रहेका प्रमाणहरू सङ्कलन गरिराख्नुपर्छ । भूमिको हक स्वामित्वको कुरा गर्दा भारत चिढिनु स्वाभाविक हो । नेपाल–भारत सीमा विवाद टुङ्गो लागेपछि त्यो रिस पछि सेलाउँदै जानेछ । यसले नेपाल–भारतबीचको सीमा विवाद सदाको लागि टुङ्गो लाग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *