भर्खरै :

नेहरुको चिठी सार्वजनिक गर

भारत सरकारद्वारा अतिक्रमित नेपालको भूमि कालापानी तत्कालीन भारतीय प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले राजा महेन्द्रलाई चिठी लेखेर बसेको कुरा तत्कालीन महेन्द्रका दायाँ हात विश्वबन्धु थापाले हालै सार्वजनिक गरेका छन् । विश्वबन्धु थापा ९३ वर्षमा हिँडिरहेका महेन्द्रकालीन जीवित साक्षी हुन् । उनले जेठ १ गते इमेज टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा उक्त रहस्य उद्घाटन गरेका हुन् । चीन–भारत लडाइँमा सन् १९६२ मा भारतीय सेना पराजित भई झन्डै भाग्दै आउँदा कालापानी क्षेत्रमा एउटा विशाल चउर फेला पारे । त्यो ठाउँ निर्जन थियो । तसर्थ कालापानीको विशाल चउरमा शिविर बनाएर बसे । कालापानी, लिपुलेक, लिम्पियाधुरा बा¥है महिना मान्छे बस्न सक्ने ठाउँ होइन । भारतीय सेनाले शिविर निर्माण थालेपछि पनि कसैले कुनै प्रतिरोध गरेन । त्यसपछि त सो शिविरको स्तरवृद्धि पनि गरियो । भारतलाई त्यो भूमि नेपालको हो भन्ने थाहा भयो । अर्को देशको भूमिका अक्स्मात् सशस्त्र सेनाको ब्यारेक निर्माण राम्रो होइन । तसर्थ नेपालको जमिन त्यसै कब्जा गर्न मिल्दैन भनी पण्डित नेहरूले सोझै राजालाई पत्र लेखे र भने आफ्नो सेनाका केही जवान अलि समय कालापानीमा बस्छन्, पछि फर्कन्छन् भन्ने ब्यहोरा थियो रे त्यो पत्रमा । राजाले नेहरूको पत्रबारे आफ्ना मन्त्रीहरूलाई जानकारी दिएका थिए भन्छन् विश्वबन्धु थापा । नेहरूको त्यो पत्र कहाँ छ अत्तोपत्तो छैन ।
चिठी पठाएका थिए नेहरूले
विश्वबन्धु थापा राजा महेन्द्रको निर्दलीय पञ्चायतका सहनायक दुईमध्ये एउटा सशक्त पात्र हुन् । अर्को त्यस्तै सशक्त सहनायकमध्येका हुन् डा. तुलसी गिरी । इमेज च्यानल टेलिभिजनमा गएको १ जेठमा दिएको अन्तर्वार्तामा एउटा प्रश्नको उत्तरमा विश्वबन्धुले स्पष्ट भने, मैले विश्वेश्रलाई छोडेको पनि होइन राजा महेन्द्रकहाँ गएको पनि होइन । पत्रकारको भनाइ थियो, तपाईँ विश्वेश्वरप्रसाद कोइरालालाई छोडेर राजा महेन्द्रकहाँ जाने मान्छे । त्यो जिज्ञासा पचेन उनलाई र भने, मैले छोडेको पनि होइन गएको पनि होइन । त्यो प्रसङ्गको कुरामात्रै हो । पत्रकारले ¥याख ¥याखती पार्दै भने, त्यो बेला नेपालको भूमि कति थियो ? तपार्इँ त गृहमन्त्री पनि हुनुहुन्थ्यो, नेपालको जमिन कति थियो भन्ने थाहा थियो थिएन ? थाहा भए कति थियो ? थापाले स्पष्ट भनेनन् । तर के भन्ने भने त्यसको पनि स्पष्ट जवाफ आएन । विश्वबन्धुले भने त्यो बेला ७५ वा ७७ जिल्ला थिएनन् । यातायातका लागि बाटो थिएन, पुल थिएन । नाममात्र हो कता ¤ एउटा बडाहाकिमले ठुलठुला क्षेत्र हेर्नुपथ्र्यो । ७७ पनि होइन ७५ पनि होइन ३५ जिल्ला थिए प्रशासनिक जिल्ला , ठुला यातायात भनेको पैदल । खोला नदी नालामा पुल थिएन, तसर्थ वारपार गर्न बिजोग थियो । विश्वबन्धु थापा त्यतिबेलाका साँगुरा कुरा गर्न सिपालु । नेपालको पक्षबाट विश्वबन्धु थापाले भनेको, नेहरूको त्यो पत्र सार्वजनिक हुनुप¥यो ।
शौचालयतिर होइन भ्युटावरतिर आकर्षण
यो आजको तरल राजनीतिक अवस्थामा निराश भएर सुतेको राजावादीहरूले पनि मुण्टो उठाउने मौका ठानेका छन् । आजको मुलुकको संवेदनशीलता नबुझेका राजाका भक्तहरू राजसंस्थालाई पुनःस्थापनाको अवसरको रूपमा प्रयोग गर्ने दुष्प्रयास गर्न जुर्मुराएका छन् । बगेको खोलो फर्काउने उनीहरूको मूढाग्रह हेर्दा कता कता दया लाग्छ । हो, राजतन्त्र उन्मूलनपछिका सरकारहरू जनता रिझाउने काम नगर्दा वा गर्न नसक्दा जनता पुराना लुच्चाहरूले मौकामा चौका हान्न खोज्दै छन् । यता सत्तावालाहरू समग्र नेपाल पढ्दैनन् र पैसाको अति लोभ गर्न छोड्दैनन् । निर्वाचन पद्धति यति धेरै महँगो गराए अब जनताका खास मान्छे निर्वाचनमा उम्मेदवार हुनसक्ने अवस्था नै छैन । यो अत्यन्त भयावह स्थितिको सङ्केत हो । पार्टीका नेताहरूमा अस्वस्थ प्रतिस्पर्धा छ । पैसामुखी राजनीतिले देशलाई कहाँ पु¥याउँछ भन्न सकिँदैन । हाम्रा नेताहरू धेरैलाई मुलुक र मुलकवासीहरूको यथार्थ अवस्था थाहा छैन । हामी आज पनि भ्युटावर बनाउने रोगबाट ग्रस्त छौँ । शौचालय बनाउने र सफासुग्घर राख्नेतिर भन्दा भ्युटावर निर्माण गर्नेतिर नेताहरूको बढी रुचि देखिन्छ । तराईमा अझै जातीय भेदभाव डरलाग्दो रूपमा छ । दलितहरू अदलितहरूको इनारबाट खानेपानी पनि लिन पाउँदैनन् । कस्तो अनर्थ, कत्रो भेदभाव ¤ दलितका बाल–बच्चाहरू विद्यालय जाने अवस्था अझै सबैतिर पुगेको छैन । स्वास्थ्य चेतना भए पनि आर्थिक अवस्थाले त्यसअनुसार काम गर्न अनुमति दिने अवस्था छैन ।
यस्ता काम पनि गराउने !
सत्तासीन नेपाल कम्युनिस्ट पार्टी सिङ्गोरुपमा एउटा भइसकेको छैन । पार्टीका सदस्य नै पार्टी कार्यकर्ता हुन् मैले थाहा पाएसम्म । म पुरानो कम्युनिस्ट परेँ । महिनाको दश पैसा पार्टीलाई बुझाउन पनि धौ धौ पर्ने । तर नबुझाए कारबाहीमा परिन्थे । हामीलाई पार्टीले दिनदिनै गर्नैपर्ने काम हुन्थ्यो । ती काम गर्नैपथ्र्यो । दुईदेखि तीन घण्टा पार्टीका लिट्रेचरहरू नपढी हुन्नथियो । कुनै पनि कामको विकल्प सोच्नुपथ्र्यो । एउटा कामको जिम्मा लियो त्यो काम सम्पन्न गर्न एउटा बाटो हुने नै भयो । त्यो बाटोबाट भएन भने के गर्ने ? भन्ने विकल्प सोच्नुपथ्र्यो । विकल्प सोच्नु पर्नासाथ मस्तिष्क हुडल्नुपथ्र्यो । आज गाउँ–गाउँमा बनाएका पानीका पाइप काटिएका छन् । पानीले बाटो बिगारेको छ । विद्यालय छन् । गाउँका पढ्ने उमेरका केटाकेटी बरालिएर हिँडेका छन् । पुस्तकका गाता उक्किएका छन्, खानेपानीको मुहानमा फोहोर थुप्रिएको छ । जनता उठाएर त्यस्ता मुहान सफा गर्ने, पानीका काटिएका पाइप जोड्न लगाउने, पुलका उक्किएका पाता ठोक्न लगाउने, प्रौढ कक्षा सञ्चालन गर्ने, गर्न लगाउने काम कम्युनिस्ट कार्यकर्ताहरूलाई गर्न लगाउने गर्नुप¥यो । तसर्थ पार्टी सदस्यहरूलाई क्रियाशील गराउनसके परिवर्तन सुरु हुन्छ । यी यी काम पार्टी सदस्यहरूमार्फत पनि गराउन सकिन्न र ?
नत्र निस्क्ँदैनथ्यो नक्सा !
नेपाल तात्यो भने, जाँगर देखायो भने धेरै थोक गर्नसक्छ । यो विशेषता हो, नेपालको आफ्नोपन पनि हो । तर, यो जाँगर गर्ने काम र तताउने काम सरकार बाहिरबाट गर्नुपर्ने स्थिति छ । तसर्थ सरकार बाहिर अर्को सरकार भनौँ वा सरकारलाई सरकारबाट प्रोत्साहित गर्ने क्रियाशील समूह आवश्यक पर्नेरहेछ । उपमाका निम्ति विद्यमान समयमा पनि सरकारले खोज्यो त सुगौली सन्धिले विभाजन गरेको नेपालको भूभागका नक्साहरू । एक किसिमले भारत सरकारलाई सधन्यवाद दिँदा फरक पर्दैन । यदि भारत सरकारले २०७६ कार्तिक १६ गते नेपाली भूमि अतिक्रमण गरेको नक्सा सार्वजनिक नगरेको भए नेपाल साबिकबमोजिम चल्थ्यो । हामी देशभक्तहरू पनि तात्दैनथ्योँ होला । जब भारतले हाम्रो जमिनमा बनाएको सडक उद्घाटन ग¥यो तबमात्र थाहा पाउँथ्योँ होला । नेपाल तरङ्गित हुन र तात्न ६ महिना ढिला हुन्थ्यो होला । जब भारतले एकतर्फीरुपमा नेपालको भूभाग अतिक्रमण गरी नक्सा प्रकाशन ग¥यो नेपालका देशभक्त ज्येष्ठ नागरिकहरू ताते । एउटा क्रियाशीलता आयो । एउटा नयाँ काम भयो । सीमा बचाऔँ अभियान चलाए अघिल्लो पुस्ताले । त्यो क्रियाशिलतामा युवा पुस्ता सहासा गाँसियो । देशभक्त भूगोलज्ञाताहरू, सीमाविद्हरूको एउटा माला गाँसियो । त्यो अभियानले सुगौली सन्धिले नेपाल भनेको भूखण्डसहितको नक्सा निकाल्यो
देशभक्त ज्येष्ठ नागरिक ताते
सो देशभक्तिको अनुष्ठानमा १०१ वर्षमा हिँडिरहनुभएका राष्ट्रकवि माधव घिमिरे जसले कवितामा नेपालको सीमाको नामोच्चारण गरी ‘पश्चिमा किल्ला काँगडा पूर्वमा टिस्टा पुगेथ्यौँ भन्ने भावोद्गार अभिव्यक्त गरेका थिए र शताब्दीपुरुष सत्यमोहन जोशी, ९६ वर्षीय डा. गौरीशङ्करलाल दासदेखि भूगोलविद् डा. पिताम्बर शर्मा, नेपालका पहिला राष्ट्रबैङ्कका गभर्नर हिमालयशमशेर, प्रा. वीरेन्द्र मिश्र, इतिहासविद् ज्ञानमणि नेपाल, केदारभक्त माथेमा, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, प्रा.डा. त्रिरत्न मानन्धर, अनुसन्धानदाता द्वारिकानाथ ढुुङ्गेल, त्रिभुवन विश्वविद्यालयका भूगोल विभागका पूर्वप्रमुख प्रा.डा. रमेश खनाल, प्रा. शेरबहादुर गुरुङ, पूर्वमन्त्री शान्ता मानवी, शान्ता श्रेष्ठ, विशेष अदालतका पूर्वप्रमुख गौरीबहादुर कार्की, पत्रकार रामनारायण देवलगायत थुप्रै देशभक्तहरूको अग्रसरतामा लिम्पियाधुरासहितको चुच्चे नक्सा सार्वजनिक गर्न सफल भयो सीमा बचाउँ अभियान । सो अभियानले उक्त नक्सा भूमि व्यवस्था गरिबी निवारण र सहकारी मन्त्री पद्मा अर्याल, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा (बादल), शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई हस्तान्तरण गरेर एउटा वातावरण बनाउन सफल भइयो । परिणाममा सरकारले सिङ्गो नक्सा प्रकाशन ग¥यो । हुँदा हुँदा संविधान नै संशोधनसमेत गर्नुपर्नेरहेछ ।
दुई चिठी पनि पेश हुनुपर्छ
परिस्थिति अब निकै अघि बढिसकेको छ । नेपाल सरकार अब भारत सरकारसँग कुरा गर्दा अरु अरु सबुद् प्रमाणका साथ पाँचवटा त भारतीय त्यस्ता नक्सा नै पेश गर्ने तयारी गरेको छ सरकारले । जुन भारतीय नक्साहरूले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालमा नै पर्छन् भन्ने स्पष्ट देखाउँछन् । ती नक्सा सुगौली सन्धिको तीन वर्षपछि सन् १८१८ मा सबै अझ इन्डियाले प्रकाशत गरेको हो । सुगौली सन्धि भएकै वर्ष र जनवरी १८१६ को ब्रिटिश सम्राटका नक्साविद्द्वारा प्रकाशित नक्साले पनि मद्दत गर्छ कि ? त्यो नक्सा पनि उपलब्ध छ । ती नक्साले काली–महाकाली अथवा कुटियाङ्दी भनेको नदी लिम्पियाधुराबाट निस्केको भन्ने प्रमाणित गर्छन् । अन्तर्राष्ट्रिय जलविज्ञानको सिद्धान्तअनुसार नदी खोलाहरूको नाम रहने मुख्यतः तीनवटा आधार हुन्छन् । ती हुन् १) सबभन्दा ठुलो जलाधार क्षेत्र (ल्याम्पपोस्ट एरिया) एवम् २) नदीको लम्बाइ ३) पानीको मात्रा – धेरै पानी जुन खोलामा छ । यी तीनवटै आधारबाट हेर्दा लिम्पियाधुराबाट निःसृत खोलो नै कालीको मुहान हो भन्ने सिद्ध हुन्छ । लामो नदी त्यही छ, पानी पनि त्यसैमा बढी छ र जलाधार क्षेत्र पनि त्यसैको ठूलो छ, सा¥है ठुलो छ । यसर्थ भारतसँग वार्ता गर्ने नेपाली टोली यसका कुरामा पोटिलो भएर जानु जरुरी छ । सन् १८१७ मा ब्रिटिश इन्डिया सरकारका कार्यवाहक मुख्य सचिव मेजे आडमले लेखेका दुईवटा चिठीका प्रतिलिपि पेश हुनुपर्छ ।
नेपालकै हो नेपालकै हुने
नेपाली जनताको स्वभाव नै सहयोगी । खोजेको कुरामा उदारतासाथ सहयोग गर्ने । यस्तो गुण वस्तुतः देशभक्तिको लक्षण हो । सरकारले सीमा संरक्षण गर्ने मामलामा आफूसँग भएका निस्सा, सबुद प्रमाण, लेखोट आदि सामग्री, प्रामाणिक वस्तु, दशी प्रमाण भए सरकारलाई उपलब्ध गराउन सार्वजनिक आह्वान ग¥यो भने जनतासँग रहेका अमूल्य निधिहरू उपलब्ध हुन्छन् । जनताले उदार सहयोग गर्छन् । यो विशिष्ठ स्वभाव हो महान नेपाली जनताको । सरकारले स–सम्मान आह्वान गरोस् जनतालाई । यो महान देशभक्तिको काममा आम जनताले सहयोग गर्छन् । यस्तो वैशिष्टय छ नेपाली जनतामा । यस्तै विशिष्ट सभ्यता, संस्कृति, सम्पदा एवम् सहयोगी प्रवृत्तिका कारण त नेपाल आजसम्म आफ्नो अस्तित्व जोगाएर आएको हो । शासकहरूले यस्तो विशिष्टतालाई वैशिष्टीकरण गरेर जनसहयोग लिनसक्नुपर्नेमा त्यसो गर्न नसक्दा आजको जस्तो अतिक्रमणको दुर्दशा आएको हो भन्ने लाग्छ । जनतासँग भएका प्रमाण प्रमबाट आह्वान गरोस् सरकारले र सम्पूर्ण सक्कल सामग्रीसहित द्विपक्षीय, बहुपक्षीय बैठकहरू, छलफलहरू, अनुष्ठानहरूमा सहभागी हुँदा नेपालले आफ्ना अतिक्रमित भूमि र त्यस्तो आजसम्मको क्षतिपूर्तिसहित नेपालको हुनेछ किनकि त्यो हिजैदेखि नेपालकै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *