भर्खरै :

गोर्खा भर्तीकेन्द्र खारेज गर्नु जरुरी छ

 
सन् १८१४–१८१६ को समयमा नेपाल र इस्ट इन्डिया कम्पनीबीच भएको युद्धमा नेपालले हार व्यहोर्नुपरेपछि नेपाली युवाहरूलाई विदेशी सेनामा भर्ती गर्ने अवधारणाको विकास भएको थियो । त्यसैले सन् १८१५ लाई गोर्खा भर्तीको इतिहासको सुरुवाती विन्दु मानिन्छ । पछि जङ्गबहादुर राणाले अङ्ग्रेजलाई खुसी पार्न नेपाली युवालाई गोर्खा भर्तीलाई औपचारिकता दिए ।
बेलायती पक्षमा नेपाली युवाहरूले इरान, इराक, कोसोभो, सियरा लिओन, ग्रीस, इटाली, जापान, जर्मनी, सिङ्गापुर, इन्डोनेसिया, मलेसिया, बु्रनाई, अर्जेन्टिना आदि ठाउँमा लडे । दुई वटा विश्वयुद्धमा नेपाली युवाहरू साम्राज्यवादी शक्तिहरूको लागि लडे । अर्जेन्टिनाको माल्भिनास टापु
(फकल्यान्ड) मा बेलायती साम्राज्यवादको निम्ति नरसंहार मच्चाएको हुनाले अहिले पनि अर्जेन्टिनी जनताले नेपालीहरूलाई घृणा गर्न छाडेका छैनन् । नेपाली युवाहरूलाई बेलायती महारानीद्वारा भिक्टोरिया क्रसको उपाधि दिएर लड्न उत्साहित गरिन्छ । नेपाली युवाहरूको ज्यान जान्छ, बदलामा विदेशीले उपनिवेश देशको भूमि, प्राकृतिक स्रोतसाधन कब्जा गर्छ ।
सन् १९४७ मा भारत स्वतन्त्र भएपछि गोर्खा सेना बाँडफाँडको कुरा चल्यो । बेलायती विरासत बोकेको स्वतन्त्र भारतले पनि अङ्ग्रेजको सिको गर्दै नेपालीहरूलाई गोर्खा भर्तीकेन्द्रमार्फत भारतीय सेनामा समाहित गर्ने सोच राख्यो । यसै सोचको फलस्वरुप नेपाल–भारत–बेलायतबिच सन् १९४७ नोभेम्बर ९ मा गोरखा भर्तीबारे त्रिपक्षीय सम्झौता हुन पुग्यो । जसको कारण नेपाली सपुतहरूलाई विदेशीको लागि लड्न पठाउन नेपाल बाध्य भयो । हालसम्म सो परम्परा चलेकै छ ।
नेपाली युवाहरूलाई भारतले सन् १९६२ मा चीनविरुद्ध प्रयोग ग¥यो । आफूलाई असंलग्न परराष्ट्र नीतिको नेता मान्ने भारतले एक मित्रराष्ट्रविरुद्ध नेपाली युवाहरूलाई प्रयोग ग¥यो । केही समयअगाडि गलवनमा भएको भारत–चीन युद्धमा पनि मोरङका नेपाली युवाले ज्यान गुमाए । भारतले विवादित क्षेत्र काश्मीरमा पनि नेपाली युवाहरूलाई प्रयोग ग¥यो । सन् १९६५ मा पाकिस्तानविरुद्ध नेपाली युवाहरूलाई प्रयोग गरियो । भारतले नेपाली युवाहरूलाई कार्गिलमा लडेर वीरता प्रदर्शन गरेको भनेर परमवीर चक्र, महावीर चक्रजस्ता सम्मान दिएर फुरुक्क पार्ने गरेको छ ।
गोर्खाली सेनाले नलड्ला भनेर विदेशीले चलाखीपूर्ण ढङ्गले बहादुरीताको कल्गी पनि लगाइदिने गरेको सुनिन्छ । एकपटक भारतीय सेनाका फिल्ड मार्सल सैम मानेकसाले भने, “यदि कसैले मृत्युसँग डर लाग्दैन भन्छ भने उसले झूटो बोलेको छ अथवा ऊ गोरखा सेना हो ।” विचरा नेपाली युवाहरू विदेशीले लगाइदिएको यो कल्गीबाट मख्ख पर्छन् र विदेशीको चातुर्यसामू नतमस्तक भएर विदेशीकै लागि मर्न तयार हुन्छन् । यो नियति अहिलेसम्म नेपालीहरूले भोगिरहेका छन् । यसकारण औपनिवेशिक परम्परालाई रोक्न गोर्खा भर्तीकेन्द्र खारेज गर्नु जरुरी छ ।
नेपाल–भारतबीच ७०÷७१ ठाउँमा सीमा विवाद कायम छ । भारतले नेपालको करिब ६० हजार हेक्टर जमिन मिचेर नेपालको सार्वभौमिकता, भूअखण्डतालाई चुनौती दिइरहेको छ । सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीवारि नेपाली भूभाग हो । महाकाली नदीको उद्गमस्थल लिम्पियाधुरा नेपालको भूमि हो । नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी अहिले भारतको कब्जामा छ । हामी नेपालीसँग यथेष्ट प्रमाण भएर पनि आफ्नो भूमि फिर्ता लिन सकिरहेका छैनौँ । जुन देशले हाम्रो अस्मितामाथि खेलवाड गर्छ, जुन देशले हाम्रो भूमि अतिक्रमण गर्छ त्यही देशको सेवा गर्न नेपाली युवाहरूलाई पठाउनुपर्ने, यो कस्तो विडम्बना ¤
युवा शक्ति देशको मेरुदण्ड हो । ३ करोड नेपालीमा करिब १ करोड होनहार युवाहरू वैदेशिक रोजगारीको सिलसिलामा विदेशिन बाध्य छन् । देश युवाविहीनजस्तै छ । रेमिटेन्सबाट देश चलेको भन्दै सरकार देशलाई विदेशीको लागि काम गर्ने श्रमिकको कारखानामा परिणत गर्दैछ । वैदेशिक रोजगारीमा गएका युवाहरूको मृत्युदरको तथ्याङ्क पछिल्लो ११ वर्षमा ७ हजार ४ सय ९९ ले बढेर चिन्ताजनक अवस्थामा पुगेको छ । कोभिड–१९ लगायत विविध कारणले हजारौँ युवाहरू विदेशी भूमिमा अलपत्र परेका छन् । यस्तो अवस्थामा कसरी देशको सार्वभौमिकता रक्षा हुन्छ ? कसरी देश रेमिटेन्सबाट चल्छ ?
यसर्थ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सम्पूर्ण नेपाली युवाहरूले गम्भीरतापूर्वक आफ्नो देशको सार्वभौमिकताको बारेमा सोच्नु जरुरी छ । नेपाली युवाहरूले आफ्नै देशको बाँझो जमिनलाई उर्वर बनाउने हो कि अरू देशको कामदारमात्र बन्ने ? नेपाली युवाहरूले आफ्नै देशको सिमाना रक्षा गर्ने हो कि विदेशीको आदेश पालना गर्ने भाडाको सिपाहीँ बन्ने ? देशको सार्वभौमिकता, भूअखण्डता रक्षाको निम्ति नेपाली युवाहरूले देशको सिमानाको पहरेदारी गर्नु आजको आवश्यकता हो, विदेशी भूमिमा ज्यान फाल्नुभन्दा आफ्नै देशमा पसिना बगाएर धर्ती हराभरा पार्नु आजको आवश्यकता हो । आफ्नै देशको लागि मर्ने प्रण गरेर विदेशीको लागि युवा बेच्ने गल्लावाल सरकारविरुद्ध सङ्घर्ष गर्न सके अन्तर्राष्ट्रिय युवा दिवसको सान्दर्भिकता नेपालको सन्दर्भमा अझ सार्थक हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *