भर्खरै :

शैक्षिक सत्र सुरु गर्ने घोषणा भए पनि अझै अन्योलमा युरोपेली देशहरू

ब्रसेल्स, १५ भदौ । युरोपका अधिकांश भागमा पछिल्ला दिनहरूमा फेरि कोभिड–१९ को सङ्क्रमण बढेपछि आगामी केही दिनमा नयाँ शैक्षिक सत्र सुरू गर्ने तयारी गरिरहेका विद्यालय र कलेजहरू अन्योलमा परेका छन् ।
सुरक्षालाई ध्यानमा राखी बालबालिकाको अनिवार्य शिक्षाको अधिकार सुनिश्चित गर्न अधिकांश युरोपेली सरकारले विभिन्न सावधानीका उपाय अपनाउने तयारी गरिरहेका छन् । तर, ती सावधानीका उपाय कतिको प्रभावकारी हुने हुन् भन्नेमा कोही पनि ढुक्क हुनसकेका छैनन् ।
गत सातामा स्पेनमा ४३ हजार ७४७ जना मानिसमा कोभिड–१९ सङ्क्रमण पुष्टि भयो । गत मार्च यता यो सबभन्दा खराब वृद्धि थियो । फ्रान्समा पनि शुक्रबार मार्च ३१ यता सबभन्दा बढी मानिसमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको थियो । बेलायत, जर्मनीलगायत अन्य युरोपेली देशहरूमा पनि सङ्क्रमितको सङ्ख्या बढिरहेको छ ।
तथापि, युरोपका विभिन्न निकायहरूले यो पटक भने एउटै लक्ष्य तय गरेका छन्–विगतमा जस्तै शैक्षिक संस्थाहरू पूर्ण ठप्प नबनाउने ।
स्पेनको स्वास्थ्य र शिक्षा मन्त्रालयले शैक्षिक वर्ष सुरू गर्न २९ वटा सावधानीका उपाय र ५ वटा निर्देशन जारी गरेको छ । जारी सूचनामा हरेक बिहान सबै शिक्षक–शिक्षिका र विद्यार्थीको ज्वरो नाप्ने, ६ वर्षभन्दा माथिका सबै केटाकेटीले अनिवार्य रूपमा मास्क लगाउने, विद्यालयमा रहुञ्जेल दिनको कम्तीमा पाँच पटक साबुन पानीले हात धुने आदि प्रावधान छन् । त्यस्तै विद्यालयलाई अत्यन्त सफा सुग्घर राख्ने र उही केटाकेटी सामेल रहने ‘बबल्स ग्रुपहरू’ बनाउने सूचनामा उल्लेख छ । बबल्स ग्रुपमा उही केटाकेटीमात्र हुने भएकाले अरू समूहलाई सङ्क्रमण फैलिहाल्ने जोखिम कम हुन्छ ।
इटालीमा आगामी सेप्टेम्बर १४ बाट विद्यालय पुनः सञ्चालन गर्ने घोषणा गरिए पनि कोभिड–१९ को फैलिँदो सङ्क्रमणको कारण यो निकै चुनौतीपूर्ण भएको सबैले अनुभव गरेका छन् । शिक्षक र कर्मचारीहरूलाई मास्क लगाउन अनिवार्य त गर्न सकिएला तर ६ वर्षदेखि १८ वर्ष उमेरका आधारभूत र माध्यमिक तहका विद्यार्थीहरूबीच सधैँ एक मिटरको आपसी दूरी कायम राख्ने काम सजिलो छैन ।
त्यस्तै उमेर र अन्य पूर्वशर्तहरू फरक फरक भए पनि फ्रान्स, बेलायत, आयरल्यान्ड, क्रोएसिया, सर्बियामा पनि मुख छोप्ने नियम भने अनिवार्य गरिएको छ ।
सोसियल बबल्स (समूहगत विभाजन), आपसी दुरी, नियमित हात धुनेजस्ता सावधानीका उपायबाहेक केही विद्यालयले भने थप अत्याधुनिक प्रावधान जस्तै रङमा आधारित प्रणाली वा लचिलो शिक्षण विधि लागु गरेका छन् ।
अस्ट्रिया सरकारले चार वटा ‘ट्राफिक रङ’ को आधारमा दोस्रो चरणको महामारी रोक्ने प्रयास गरिरहेको छ । नोबेल कोरोना भाइरसको महामारीबारे जनचेतना बढाउँदै आगामी शरद् यामसम्ममा विद्यालय पुनः सञ्चालनमा ल्याउने उद्देश्यले यस्तो उपाय अपनाइएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
रोमानियामा महामारीको सघनताको आधारमा विद्यालयहरूलाई हरियो, पहेँलो र रातो गरी तीन वर्गमा वर्गीकरण गरेको छ । हरियो क्षेत्रका विद्यालयमा विद्यार्थीहरूले अरू सामान्य अवस्थामा जस्तै विद्यालय गएर कक्षामा बस्न सक्छन् । पहेँलो क्षेत्रका विद्यालयमा अफलाइन र अनलाइन शिक्षण पद्धतिलाई एकीकृत गरी शिक्षणलाई चालु राखिनेछ । रातो क्षेत्रका विद्यालयलाई अनलाइन कक्षामा मात्र सीमित राखिनेछ ।
सर्बियाले ‘आधारभूत’ वा ‘मिश्रित’ ढाँचामा नयाँ शैक्षिक सत्र सुरू गर्ने तयारी थालेको छ ।
लुथआनियामा नयाँ शैक्षिक सत्र सामान्य हिसाबमा नै सञ्चालन हुने भएको छ । तथापि केही महामारी प्रभावित क्षेत्रका विद्यार्थीको लागि दूरशिक्षाको पद्धति लागु गरिने त्यहाँको शिक्षा मन्त्रालयले जनाएको छ ।
अल्बानियाले केही दिनअघि नै नयाँ शैक्षिक सत्र सुरू गर्न तीन वटा अवस्थामा आधारित निर्देशिका जारी गरेको छ । त्यसअन्तर्गत महामारी फैलिँंदै गएमा पुनः अनलाइन कक्षामै फर्किने उल्लेख छ ।
यस्ता सबै तयारीबीच अभिभावक र अरू शिक्षाविद्हरू भने अझै बालबालिकाको सुरक्षामा विश्वस्त हुनसकेका छैनन् । दक्षिण कोरियामा गरिएको एक अध्ययनअनुसार कुनै लक्षण वा केही लक्षण देखाए तापनि केटाकेटीको नाकमा तीन सातासम्म नोबेल कोरोना भाइरसका जीवाणु रहन सक्ने देखाएको छ ।
विश्व स्वास्थ्य सङ्गठन र युनिसेफले ५ वर्षभन्दा मुनिका बालबालिकाले मास्क लगाउनु नहुने बताएका छन् । त्यसले उनीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्ने बताइएको छ । ६ देखि ११ वर्ष उमेरका केटाकेटीलाई उनीहरू बस्ने क्षेत्रमा कोभिड–१९ को महामारीको सङ्क्रमणको अवस्था र सुरक्षितरूपमा मास्क लगाउन उनीहरू जान्दछन् भन्ने मास्क लगाउन सकिने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । १२ वर्षभन्दा माथिका बालबालिकाले भने वयष्कहरूले जस्तै मास्क लगाउन सक्ने बताइएको छ ।
युरोपको भाइरोलोजी समाजका अनुसार केटाकेटीमा सङ्क्रमण दर र महामारीमा त्यसले खेलेको भूमिकाबारे अझै पूर्ण वैज्ञानिक अध्ययन भइसकेको छैन । तर, यसको अर्थ महामारी र सङ्क्रमण केटाकेटीलाई हुँदैन भन्ने होइन ।
यस्तो अवस्थामा अभिभावकहरूको नयाँ शैक्षिक सत्रमा आफ्ना केटाकेटीलाई विद्यालय पठाउने वा नपठाउने विषयमा अझै अन्योलमै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *