भर्खरै :

नेपाल संवत्मा भक्तपुर जेँला टोलको अभिलेखको महत्व

मेसोपोटामियाको बेबिलोनियाबाट सुरु भएको संवत्को इतिहासमा थुप्रै महान् शासक, धर्मगुरुहरूले विभिन संवत्हरू प्रचलनमा ल्याएका देखिन्छन् । यसै सन्दर्भमा नेपाल र वरपर कलिगत संवत्, विक्रम संवत्, शाक्य संवत्, लक्ष्मण संवत्, मानदेव संवत्, नेपाल संवत्जस्ता थुप्रै संवत्हरू चलन–चल्तीमा आएको हामी पाउँछौँ । तर, नेपालको आफ्नै भूमिमा स्थापना भएको लिच्छवी संवत् (मानदेव संवत्) र नेपाल संवत्मध्ये नेपाल संवत् प्रचलनमा आउनुमा एकजना सर्वसाधारण नेपाली नागरिकको योगदान उल्लेख गरेको देखिन्छ । यसै सन्दर्भमा नेपाल संवत््को श्रेय आजभन्दा ११३९ वर्षअगाडि नेपालको आफ्नै भूमिमा जन्मेका शङ्खधर साखवाललाई जान्छ । शङ्खधर साखवाललाई १८ मंसिर २०५६ मा तत्कालीन सरकारले राष्ट्रिय विभूति घोषणा गरिसकेको छ ।
आजभन्दा ११३९ वर्षअगाडि नेपाल खाल्डोमा लिच्छवी वंशको शासन थियो । विगतका ती दिनहरूमा प्रशस्त अभिलेखहरू राख्ने चलन नभए तापनि हाम्रो इतिहास जीवन्त वंशावलीहरूबाट थाहा हुन्छ । त्यतिबेला ललितपटन (हालको पाटन) सहरमा राघवदेवले शासन गर्दथे । त्यसबेला काठमाडौँ छुट्टै राज्यको रूपमा विकास नभएर पाटनको अधीनमा थियो भने भक्तपुर सहर नवस्थापित अवस्थामा थियो । यसबारे वंशावलीहरूमा मतभिन्नता भए पनि भक्तपुर सहर ने.सं. २६७ (वि.सं. १२०३) मा आनन्ददेवले स्थापना गरेकोमा प्रायः वंशावलीहरूमा एकरूपता छ । यता लिच्छवी वंशहरूको वंशावलीहरूमा नामावली फरक दिने क्रममा गोपाल वंशावलीले वरदेव, शङ्खरदेव, वालार्जुनदेव, विक्रमदेव, गुणकामदेव नाम दिइएको छ भने राइटले वरदेव, शङ्खरदेव, वर्धमान, वलिदेव, जयदेव वालार्जुनदेव, गुणकामदेव दिइएको छ । नेपालमा प्रायः वंशावलीहरू नेपाल एकीकरणपछि लेखिएको सन्दर्भमा संस्कृत एवम् पुरानो नेवारी (भुजिमोल) लिपिमा लेखिएको वेण्डालले पाएको वंशावलीमा वलिदेव, राघवदेव, जयदेव, विक्रमदेव, नरेन्द्रदेव, गुणकामदेव आदिको नाम उल्लेख भएको पाइन्छ । यसैबीच विभिन्न प्रामाणिक अभिलेखहरूबाट ई.सं. ७३६—७३ तिर यहाँ शङ्खर देवले राज्य गरिरहेको मानिन्छ । त्यसपछि यिनका छोरा वर्धमानले पाटन राज्य काठमाडौँसम्म विस्तार गरेकोमा एकपटक रुद्रदेव नाम गरेका राजा यहाँका शासकहरूलाई हराई राजा भएका थिए । तर, रुद्रदेव निःसन्तान भएकाले पूर्व लिच्छवी वंशकै एक राजकुमार जयदेवलाई राजा बनाएको उल्लेख छ । जयदेवले विक्रमको नवौँ शताब्दीतिर पाटन काठमाडौँमा राज्य गरिरहेको समयमा उनका भाइ आनन्ददेवले पूर्वतर्फका ६ वटा गाउँहरू मिलाएर खुपो देश बनाएको वंशावलीहरूमा पाइन्छ । तसर्थ आनन्ददेवलाई भक्तपुरको संस्थापक राजा मानिन्छ ।
वंशावलीहरूमा नेपाल संवत् चलेको समयमा पाटनमा राघवदेव र भक्तपुरमा आनन्ददेवले राज्य गरिरहेको उल्लेख भएबाट अलिकति शङ्का लाग्न सक्छ । तर, कतिपय इतिहासकारहरूले जयदेवको अन्तिम समयतिर आनन्ददेव भक्तपुरमा राजा भएको, जयदेवको मृत्युपछि वालार्जुनदेव केही समयसम्म राजा भई उनकै छोरा मानदेव चौथोले राज्य गरेको मानिन्छ । जुन लिच्छवी सं. ३०४ तिरको घटना मानिन्छ । साढे तीन वर्षपछि अर्थात् मानदेवको मृत्युपछि राघवदेव पाटनको राजा भएको र त्यस समयसम्म भक्तपुरमा आनन्ददेवकै शासन रहेको थियो । यसै समयमा काठमाडौँ इलाछेँ भीमसेनस्थान बस्ने शङ्खधर साखवालले आफूले पाएको अपार धनले काठमाडौँ र पाटनका जनताको ऋणमोचन गरी नेपाल संवत् चलाएको मानिन्छ । शङ्खधर साखवालको विषयमा हालसम्म ऐतिहासिक अभिलेखहरू नभेटिए पनि शङ्खधरलाई एक व्यापारी मानिन्छ । शुद्र जातिका फौबन्जार भनिएका शङ्खधर सर्वसाधारण नागरिक हो भन्नेमा दुईमत हुनसक्दैन । किंवदन्तीकै आधारमा भए पनि आपूmसँग भएको अपार धन सदुपयोग गरी यश कमाउन सफल शङ्खधरको सालिक पशुपतिनाथको परिसरमा स्थापना हुनु पनि कम महत्वको प्रमाण मान्न सकिँदैन । त्यहाँ पाइएको सालिकमा हातमा शङ्ख लिएको मूर्ति भएकै कारण शङ्खधर नामकरण हुन गएकोमा धेरै संयोग मिल्न आउँछ ।
साखवाल वा साख्वालबारे अध्ययन गर्नुपर्ने अवस्था छ । नेवाः जातिमा अहिले पनि साख, सिंख्वाल, सापाल, सापुजस्ता थरहरू रहेको सन्दर्भमा शङ्खधरको थरबारे गहन अध्ययन हुनुपर्ने देखिन्छ । हुन त अपार धन भएका शङ्खधरले कान्तिपुर र पाटनका जनताको ऋणमोचन गरिदिएकै कारण साखवाल हुन गएको हुनुपर्छ । किनभने साखको अर्थ सापटी हुन जान्छ । प्राचीनकालमा यहाँ यस्तै सापटी दिने ठाउँहरूलाई साखकोठा भन्ने चलन थियो । ल्हासामा व्यापार गर्ने व्यापारी साहुमहाजनहरूको कारोबार गर्ने ठाउँलाई साखकोठा भन्ने चलन थियो । त्यसबाहेक भक्तपुर क्वाछेँस्थित साकोठालाई कसै कसैले साखकोठाबाट साकोठा भएको पनि बताउँछन् । यसै सन्दर्भमा जनताको ऋण तिरिदिने शङ्खधर साखवाल सोही स्थानका त होइनन् ? प्रश्न उठ्छ ।
त्यस्तै नेपाल संवत््को सुरुआतको तिथिमिति एवम् नेपाल संवत््को प्रवर्तकबारे विवाद नदेखिएको होइन । कतिपय विद्वान लेखकहरूले राघवदेव एवं आनन्ददेव राजाहरूलाई मल्ल वंशका भनी वंशावलीमा पढी दिँदा नेपाल संवत््को सुरुवात मल्लकालमा भएको भनी लेखेको पाइन्छ । यस वंशावलीमा अभय मल्लको मृत्युपछि जयदेव राजा भएको र उनका भाइ आनन्ददेव मल्लले भक्तपुर स्थापना गरेको उल्लेख छ । जुन गलत छ । अभय मल्लको शासन काल ने.सं. ३४४ तिर देखिन आउँछ । जुन कुरा भरत नाट्यम शास्त्र भन्ने किताबमा ने.सं. ३४४ं८८० . १२२४ सन् लेखेबाट अभय मल्लको शासनकाल स्पष्ट हुन्छ । फेरि यता गुणकामदेव (राघवदेवपछि ३ पुस्ताको) को पालामा पाटनमा भेटिएको एक अभिलेखमा ने.सं. १०७ स्पष्टसँग उल्लेख छ । यसबाट नेपाल संवत् लिच्छवीकालमै सुरु भएको हो भन्ने स्पष्ट हुन्छ । यता विद्वानहरूले नेपाल संवत्् सन २० अक्टोबर ८७९ मा अर्थात् वि.सं. ९३६ कार्तिक शुक्ल प्रतिपदाको दिनबाट शुभारम्भ भएको मानिन्छ जुन काठमाडौँ उपत्यकालगायतका नेवारहरूको चाड स्वन्तीको म्हपूजाको दिन पर्दछ । तसर्थ यस दिन नयाँ वर्ष मनाउने चलन छ ।
नेपाल संवत््का प्रवर्तक को हुन् भन्नेबारे पनि विवाद छ । कतिपय विद्वानहरूले नेपाल संवत्् प्रचलनमा आएताका यहाँका राजा राघवदेवलाई नै यसका प्रवर्तक मानेका छन् । कतै कतै त राघवदेवले आफ्नो बाबु मानदेव चौथोलाई हत्या गरी गद्दी हत्याएको र त्यसताका चलिरहेको मानदेव संवत््को ठाउँमा नयाँ संवत्् चलाएको भन्ने गरिन्छ र पितृहत्याको कारण आफ्नो नाम नराखी पशुपतिमा शङ्ख बोकेको आफ्नो मूर्ति स्थापना गरी शङ्खधर नामबाट संवत्् चलाएको भनी विवाद बढाउने काम पनि भइरहेको छ । त्यसबाहेक सङ्क्षिप्त गोपाल वंशावलीमा ‘राजा श्री राघवदेव वर्ष ६३ मास ६ श्री पशुपति भट्टारके संवत््सर प्रवृति कृता’ भनी उल्लेख छ । यसैको आधारमा नेपाल संवत्् राघवदेवले चलाएका भन्नेहरू पनि छन् । वास्तवमा माथि उल्लेखित दुवै तथ्यहरू आफैमा विरोधाभाषपूर्ण देखिन्छ । पितृहत्याको आरोप आफूमाथि लाग्ला भन्ने डरले संवत्को नाममा आफ्नो नाम नजोड्ने राघवदेवले पशुपतिनाथमा आफ्नो नामबाट संवत् चढाएको अभिलेख सायद राख्दैन होला । तर, यो कुरालाई कदापि बिर्सनुहुँदैन कि शङ्खधर साखवाल एकजना सर्वसाधारण व्यक्ति भएकाले संवत्जस्तो महत्वपूर्ण कदम (जुन प्रतापी महत्वाकाङ्क्षी राजाहरूले मात्र गर्नसक्छन्) चाल्न त्यसबेलाका राजाको आज्ञा अवश्य लिएको हुनुपर्छ र अभिलेखमा त्यही भएर राजा राघवदेवको नाम उल्लेख भएको हुनुपर्छ । त्यस्तै नेपाल संवत् शङ्खधरले चलाएको भन्नेबारे प्रमाण डा. डिल्लीरमण रेग्मीको ‘मिडिल क्यालेन्डर अफ नेपाल’ मा नेपाल संवत्् सर साखीवाल भनी स्पष्ट उल्लेख छ । त्यस्तै वंशावलीहरूमा पनि नेपाल संवत् शङ्खधर साखवालले नै चलाएको भनी स्पष्ट छ । त्यसबाहेक नेपाली पात्रोहरूमा नेपाल संवत््लाई शङ्खधर नेपाली संवत् सर भनी उल्लेख छ । अझ कतिपय अभिलेखहरूमा नेपाल संवत््लाई शङ्खधरकृत नेपाल संवत्् भनी उल्लेख गरिएको छ । २०३० सालमा डा. मोहन खनालले प्रकाशित गर्नुभएको ‘मध्यकालीन अभिलेख’ भन्ने पुस्तकमा भक्तपुरको जेँला टोलको एउटा पाटीमा रहेको अभिलेखले नेपाल संवत््को सुरुआत शङ्खधर साखवालले नै गरेको हो भन्ने स्पष्ट हुन्छ । नेपाल संवत् ८२७ मा स्थापना गरिएको भूपतीन्द्र मल्लको समयको उक्त अभिलेखमा स्पष्टसँग शख्वा संवत् भनी उल्लेख छ । यसरी नेपाल संवत् सुरु भएर ८२७ वर्षपछिसम्म भक्तपुरका मल्ल शासकहरूले शङ्खधरको नाम उल्लेख गर्नुबाट यो संवत््को सुरुआत शङ्खधरले नै गरेको हो भन्ने स्पष्ट हुन्छ । जुन यसप्रकारको छ:
स्वस्ति ।।! फ् अद्यबराह कल्पत्यादि ।।
शङ्खाजोग वसुश्चैव मासि राघव कृष्णया ।
ब्रम्हा तिथी तस्या जीव जीर्ण उदारत दिने ।।
अथ नेपाल भाखा शख्वा संवत् ८२७
वैशाख कृष्ण दशमीउत्रभद्र नक्षत्र बृहस्पति वार
थ्व कुन्हु श्रीश्रीश्री विष्णुप्रितिन श्री २
जय भूपतिन्द्र मल्ल देव महाराजा प्रमान हाकु
भारोया बेलस चुकुति प्रमुखन मनहोल सिं
जिव त्वार नायक रामचन्द्र त्वार नायक
जेँलाटोलया पन्च सकरस्यन थ्व फले जीर्णद्धार याङा
थ्व फल सुना नं कचङ्गल उपद्रव याङा व सेन करसा
पन्चमहापातक, जेँला टोलया लोकनं विचार याङाव
सल्हा आदिन याङाव यातसा श्री ३
शिवलीं थापना याङाया पुण्यलाक ।। शुभ ।।
भक्तपुर नगरको जेँला टोल दत्तात्रय मन्दिरको पछाडि दक्षिणतिर सीधा परेको एउटा लामो गल्ली छ । दत्तात्रय मन्दिर पछाडिको मक्व गल्लीबाट सोझै माहेश्वरी पीठ जाने बाटोको मध्य भागमा अलि खुला ठाउँमा नारायण मन्दिर, गणेश, भीमसेन र मंक द्यलगायतका देवदेवीहरूका साथ दक्षिण पूर्व मोहडा भएको एउटा पाटी छ । सोही पाटीमा दक्षिणाभिमुख यो शिलापत्र छ । जुन १३ हरफको छ । यो शिलापत्रअनुसार राजा भूपतीन्द्र मल्लले भतmपुरमा राज्य गरिरहेको समयमा भक्तपुरका प्रमान हाकु भारोको पालामा जेँला टोलका टोल नाइके मनहोरसिंह र रामचन्द्रले जेँला टोलवासी सबै मिली यो पाटीको जीर्णेाद्धार गरेको व्यहोरा छ । यस शिलापत्रको सबैभन्दा महत्वपूर्ण बुँदा हरफ ३ मा उल्लेख शख्वा संवत् नै हो । नेपालमण्डलभित्र हालसम्म भेटिएको शिलापत्र, ताडपत्र, दानपत्र, स्वर्णपत्र, तमसुकलगायत हरेक लिखित प्रमाणमा लिच्छवी संवत्, अशुंवर्मा संवत्, शक संवत्हरू सुरुमा आएको र मध्यकालदेखि नेपाल संवत् प्रयोग भएकोमा दुईमत छैन । यहाँ देखिएको ८२७ वैशाख कृष्ण दशमी पनि नेपाल संवत् नै हो । जतिबेला भतmपुरमा भूपतीन्द्र मल्लले राज्य गरिरहेको इतिहास साक्षी छ । तर, उतm शिलापत्रमा नेपाल संवत् भनिएको छैन । बरु पहिलोपटक शख्वा संवत् लेखियो । भक्तपुरको राजा भूपतीन्द्र मल्ल हरेक क्षेत्रमा तत्कालीन समयमा कान्तिपुर र ललितपुरभन्दा अगाडि आउन सफल राजा थिए । यस क्रममा उनी नेपाल संवत्को सुरुआत गर्ने शङ्खधर साख्वाको योगदानलाई राज्यस्तरबाट सम्मान गर्ने काम गर्न भूपतीन्द्र मल्ल अगाडि आए । यसको लागि ८२७ वर्ष लाग्यो । भूपतीन्द्र मल्लको यो कदमको उठान गर्न वि.सं. २०३० सालसम्म कुर्नुपर्यो । आज नेपाल संवत्् सुरु भएको ११४० वर्ष नाघिसकेको यो दिनमा हामी त्यसबारे चर्चापरिचर्चा गर्न बाध्य छौँ । यो अत्यन्तै दुःख लाग्ने विषय हो । अर्कोतिर ११३९ वर्षको त्यो लामो समयपछि भए पनि नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाको विषयमा दरिलो प्रमाण सबैको सामु आउनु राम्रो पक्ष हो । भतmपुरको त्यस्तो ठाउँमा यो शिलापत्र रहेको छ जुन ठाउँको इतिहास सदैव शानले ओतप्रोत रह्यो । जेँला टोलको इतिहासमा वाँचु हिटी सदैव पवित्र ढुङ्गेधारा मानिन्छ । जेँला टोलको रूपमा वाँचु त्वले चिनिएको यो टोल पवित्र निर्मल ठाउँ भएको कारण भतmपुर राज्यभित्र यो टोल स्वतन्त्र ठाउँ बन्न सफल थियो । तत्कालीन वाने लाय्कुको उत्तरमा क्वाठण्डौ सामरिक गढ रहेझैँ दक्षिणमा जेँलाले त्यो भूमिका निभाएको देखिन्छ । भतmपुरको इतिहासमा सर्वप्रथम यहीँ जेँला टोलवासीले जनस्तरबाट नाटक मञ्चन गरेको प्रमाण छ । यता राजा रणजित मल्लको समयमा यहीँ जेँला टोलवासीहरूले रामायण नाटक देखाई भएको आम्दानीले माहेश्वरी मन्दिरको गजुर फेरेको उल्लेख छ । जेँला पाटी जीर्णोद्धार गरेको अवसरमा शख्वा संवत् उत्कीर्ण गर्न तत्कालीन राजा भूपतीन्द्र मल्ल, प्रधानमन्त्री हाकुभारो अन्य मन्त्री चुकुटि र मनोहरसिंहलगायत यो टोलका टोल नाइके जीव टोल नाइके, रामचन्द्र नाइके र जेँला टोलवासीको ठूलो भूमिका रह्यो । यसको प्रमाण आजसम्म उक्त टोलको शिलापत्रसहितको पाटी मौजुद छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *