भर्खरै :

भक्तपुर नगरपालिकाको नगर प्रहरी ऐन, २०७५: एक चर्चा

देशका रहेमा प्रहरीले समाज र देशभित्र शान्ति र सुरक्षा कायम गर्ने कार्य गर्दछ । नागरिकहरूको शान्तिपूर्णरूपमा जीवनयापन गर्न र उनीहरूको सम्पत्तिको सुरक्षा गर्न देशमा प्रहरीको आवश्यकता पर्दछ । देशमा रहेका सेनाले देशको सिमानाको रक्षा गर्दछ । आवश्यक समयमा देशमा आन्तरिक सुरक्षामा खलल पुग्ने कुनै गतिविधिहरू बढ्न थालेमा सेनाले शान्ति सुरक्षा कायम गर्न मद्दत गर्दछ । नेपालको संविधानले जसरी देशले प्रहरी र सेना राख्न सक्ने प्रावधान राखेको छ, त्यसरी नै नगर प्रहरी हरेक स्थानीय पालिकाहरूले राख्न पाउने प्रावधानको व्यवस्था गरेको छ । नगर प्रहरी भनेको कुनै पनि नगरभित्रका जनतालाई शान्ति सुरक्षा र सेवा प्रवाहमा व्यवस्थित गर्न नगरपालिकाले राखेका कर्मचारीहरू नै नगर प्रहरी हुन् । भक्तपुर नगरपालिकाले पनि भक्तपुर नगरका जनताको जीवनयापनलाई सहजता र सुरक्षाको प्रत्याभूति दिन नगर प्रहरी राख्नका लागि भक्तपुर नगरपालिकाको नगर प्रहरी ऐन, २०७५ पारित गरेको छ ।
नेपाल मजदुर किसान पार्टी केन्द्रीय निर्वाचन परिचालन समितिले स्थानीय तहको निर्वाचन घोषणापत्र २०७४ सार्वजनिक गरेको थियो । यस घोषणापत्रमा नेमकिपाका जनप्रतिनिधिहरूले गर्ने कार्य विवरण पेश गरिएको थियो । जसमा “नगर प्रहरी, सहकारी संस्था र एफ. एम. सञ्चालन गर्ने अधिकार व्यवस्थित गर्नेछ ।” भनी उल्लेख छ । त्यस्तै नेपाल मजदुर किसान पार्टी निर्वाचन परिचालन समिति भक्तपुर नगरपालिकाले स्थानीय तह निर्वाचनमा भक्तपुर नगरपालिकाको लागि नेमकिपाको घोषणापत्र २०७४ प्रकाशित गरेको थियो । जसको बुँदा नं. ८ मा “नगरपालिकाको सेवा प्रवाहमा नागरिकको गुनासो सुन्न र तत्काल सम्बोधन गर्न संयन्त्रको निर्माण गर्ने” उल्लेख छ । भक्तपुर नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरू उक्त घोषणापत्र कार्यान्वयन गर्न क्रियाशील रहेको सर्वविदित्तै छ । घोषणापत्रको माथिका बुँदाहरू कार्यान्वयन गर्नको लागि भक्तपुर नगरपालिकाले नगर प्रहरी ऐन, २०७४ पारित गरेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी भक्तपुर नगरपालिकाको चौथो नगरसभा २०७५ बाट यो ऐन पारित गरिएको थियो । यो ऐन खण्ड ३, माघ १५, २०७६ को सङ्ख्या १२ मा भक्तपुर नगरपालिकाबाट प्रकाशित राजपत्र सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ । स्थानीय सरकारको रूपमा भक्तपुर नगरपालिकाले उपलब्ध गराउने सेवा प्रवाह र विकास निर्माणको कार्यमा सहयोग पु¥याउँदै नगरभित्र सुव्यवस्था कायम गर्न तथा नगरपालिकाको निर्णय कार्यान्वयनमा प्रभावकारिता ल्याउन नगर प्रहरीको सञ्चालन एवम् परिचालन कार्यलाई व्यवस्थित बनाउनुपर्ने आवश्यकता रहेकोले नेपालको संविधानको धारा ५७ (४) र अनुसूची ८ मा भएको व्यवस्था र स्थानीय सरकार सञ्चालन ऐन, २०७ को दफा १०२(१) ले दिएको अधिकार प्रयोग गरी भक्तपुर नगरपालिकाको चौथो नगर सभाले यो ऐन बनाएको थियो ।
भक्तपुर नगरपालिकाको नगर प्रहरी ऐन, २०७५ को दफा २(१) ले भक्तपुर नगरपालिकाको छुट्टै नगर प्रहरी रहनेछ यो भक्तपुर नगर प्रहरीको नामले चिनिने छ । दफा २(२) ले नगर सभाबाट विनियोजित बजेटको सीमाभित्र रही कार्यपालिकाको निर्णयअनुसार आवश्यक सङ्ख्यामा नगर प्रहरी सेवा करारमा लिन सकिने व्यवस्था गरेको छ भने दफा २ (३) ले त्यस्तो प्रहरी हाल कार्यरत कर्मचारीहरूमध्येबाट लिन सकिने व्यवस्था पनि गरेको छ । यस ऐनको दफा ३ ले नगर प्रहरीको सञ्चालन एवम् परिचालन सम्बन्धमा व्यवस्था गरेको छ । जसमा प्रहरी सहायक बराबरको पारिश्रमिक पाउने गरी एक जना नगर प्रहरी प्रमुख हुने र प्रहरी हवल्दारले पाउने पारिश्रमिक सुविधा पाउने गरी २ जना नगर प्रहरी हवल्दार रहने व्यवस्था छ । नगर प्रहरी प्रमुखले नगर प्रमुखको प्रत्यक्ष सुपरीवेक्षण, नियन्त्रण र निर्देशनको अधिनमा रही कार्य गर्ने, सोको दैनिक रिपोर्ट नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतसमक्ष दिने व्यवस्था पनि गरेको छ । प्रत्येक नगर प्रहरीले नगर प्रहरी प्रमुखको प्रत्यक्ष सुपरीवक्षेण, नियन्त्रण र निर्देशनको मातहतमा रही कार्य गर्नेछ । नगर प्रहरीले पालन गर्नुपर्ने अनुशासन एवम् आचरण उल्लङ्घन गर्ने नगर प्रहरीलाई नगर प्रहरी प्रमुखले नगर प्रमुखको स्वीकृति लिई अनुशासनात्मक सजाय दिन सक्ने व्यवस्था पनि गरेको छ । नगरपालिकाको कामको सिलसिलामा नगरपालिकाको प्रमुखले दिएको आदेशको पालन गर्नु नगर प्रहरीको कर्तव्य हुनेछ । नगर प्रहरीको ड्युटीको खटनपटन तथा अन्य जिम्मेवारीको बाँडफाँड नगर प्रमुखको निर्देशनमा नगर प्रहरी प्रमुखले गर्नेछ र सोको जानकारी प्रमुख प्रशासकीय अधिकृतलाई दिने व्यवस्था गरेको छ । दफा ४ ले नगर प्रहरीको कार्य विवरण सम्बन्धमा उल्लेख गरेको छ । जसअनुसार नगर प्रहरीलाई कार्यालयले जुनसुकै समय जुनसुकै बखत काममा लगाउन सक्ने, नगर प्रहरी प्रमुखले नगर प्रहरीको हाजिरी, बिदा र अभिलेख राख्ने व्यवस्था गरेको छ । दफा ५ ले नगर प्रहरीले पालना गर्नुपर्ने आचरणहरू उल्लेख गरेको छ । नगर प्रहरीले प्रचलित कानुन तथा नगरपालिकाको निर्णय, नीति नियमको पालन गर्नुपर्ने, समयको ख्याल गर्नुपर्ने, अनुशासनसम्बन्धी कुरा पालना गर्नुपर्ने, माथिल्लो अधिकृतले दिएको आदेश पालना गर्नुपर्ने, नगरपालिकाको कर्मचारी, सेवाग्राही तथा नगरवासीप्रति सम्मान र आदर भाव राख्नुपर्ने, स्वच्छ चरित्र एवम् आचरणयुक्त हुनुपर्ने, ड्युटीको समयमा पान, गुट्खा, सुर्तीजन्य पदार्थ वा मद्यपान गर्नु हुँदैन, नगरपालिकाको अहित हुने गरी कुनै कार्य गर्न नहुने, आफूलाई तोकिएको जिम्मेवारी र कर्तव्य निष्पक्षता एवं निर्भीकतापूर्वक निर्वाह गर्नुपर्ने उल्लेख छ ।
यस ऐनले नगर प्रहरीलाई आधुनिक सूचना उपकरण दिन सकिने, नगर प्रहरीको दज्र्यानी चिह्न, पोशाक, सुरक्षाका साधनहरू दिन सकिने व्यवस्था गरेको छ । यस व्यवस्थाले नगर प्रहरीको आफ्नो कर्तव्यपालनमा बढी प्रभावकारिता हुने गर्दछ भने उच्च मनोबल कायम गर्न पनि मद्दत पुग्दछ । नगर प्रहरीलाई सेनालाई व्यारेकमा राखेसरह व्यारेक प्रणालीमा बस्ने गरी कार्यालयले आवश्यक व्यवस्था मिलाउन सक्ने व्यवस्था गरको छ । यस प्रावधानले निश्चय नै प्रहरीको कार्यबलमा प्रभावकारिता हुनुको साथै उच्च मनोबलका साथ कार्य गर्ने वातावरणको सृजना गर्दछ । नगरपालिकाले कुनै पनि समयमा कुनै पनि नगर क्षेत्रमा खटाउन सक्ने भएकोले निर्णय कार्यान्वयमा बढी प्रभावकारिता देखिन्छ । व्यारेक प्रणालीमा सामूहिक भावना वृद्धि हुनुका साथै कार्य प्रभावकारिता तुरून्त देखिन्छ । नगर प्रहरीको पारिश्रमिक करारअनुसार वा नगर कार्यपालिकाले तोकेबमोजिम हुने व्यवस्था गरेको छ । समयसापेक्ष नगर प्रहरीलाई विभिन्न आवश्यक तालिम दिने व्यवस्था गरिएको छ । यस व्यवस्थाले नगर प्रहरीहरूको कार्यक्षमता समयअनुसार वृद्धि गर्न मद्दत पुग्दछ । यस ऐनको दफा १२ ले एक विशेष व्यवस्था पनि गरेको छ । दफा १२ ले कार्यालयले आवश्यक ठानेमा नगर प्रहरीलाई प्रमुख, उपप्रमुख वा प्रमुख प्रशासकीय अधिकृतको अङ्गरक्षकको रूपमा कार्य गर्ने गरी खटाउन सक्ने व्यवस्था छ । यस व्यवस्थाले जनप्रतिनिधिको सुरक्षाको लागि नेपाल सरकारको प्रहरी र सेनामा भर पर्नुपर्ने हालको व्यवस्थालाई अन्त गरी नयाँ सुरुआत भएको देखिन्छ । सराहनीय व्यवस्था हो । यसले जनता तथा जनप्रतिनिधिहरूलाई शान्ति र सुरक्षाको प्रत्याभूति हुने गर्दछ । नगर प्रहरीमाथि आवश्यक समयमा छानबिनको व्यवस्था पनि यस ऐनमा रहेको छ । कुनै नगर प्रहरीले प्रचलित कानुन वा नगरपालिकाको निर्णय, नीति, नियमविपरीत कार्य गरेमा वा बदनियतपूर्वक कार्य गरी नगरपालिकालाई हानि नोक्सानी पु¥याएमा वा आचरणसम्बन्धी कुरा पालन नगरेको वा अनुशासनहीन कार्य गरेमा वा नगरपालिकाको कामको सिलसिलामा कार्यालयले दिएको आदेश पालन नगरेमा निजलाई नसिहत, पद घटुवा गर्न वा अन्य आवश्यक सजाय वा कारबाही गर्न वा जुनसुकै बखत निजलाई प्रमुख प्रशासकीय अधिकृतले सेवाबाट हटाउन सक्ने व्यवस्था पनि गरेको छ । यस व्यवस्थाले नगर प्रहरीको स्वेच्छाचारितालाई एकातिर नियन्त्रण गर्दछ अर्कोतिर अधिकार दुरुपयोग गर्नेतर्फ सचेत पार्ने कार्य गरेको छ ।
नगर प्रहरीको व्यवस्था काठमाडौँ महानगरपालिकालगायत केही नगरपालिकाहरूमा व्यवस्था गरिसकेको अवस्था छ । भक्तपुर नगरपालिकाले नगर प्रहरीको व्यवस्था गर्न कानुन बनाई नगर सभाबाट पारित भइसकेको अवस्था भए पनि नगर प्रहरीको व्यवस्था कार्यान्वयनमा आउन सकेको छैन । तापनि नगर प्रहरीको भूमिका हाल भक्तपुर नगरपालिका वडा निरीक्षकहरूले केही हदसम्म गर्दै आएको सर्वविदित्तै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *