भर्खरै :

सक्वको म राजदास – ६६ निकिता ख्रुश्चेभको अमेरिका यात्रा

 
रुसी साम्राज्यको उक्राईना सीमा नजिकको गाऊँ कालीनोभ्कामा सन् १८९४ मा जन्मेका निकिता ख्रुश्चेभका पिता एक कृषक थिए । तर, कृषि काम छोडेर उनी एक कोइला खानीमा काम गर्न गएका थिए । ख्रुश्चेभका बाजे जार शासनमा एक जमिनदार थिए । आफ्नो जन्मस्थलोबाट उक्राईनाको डानेच्क सहर पुगेका उनको परिवारसँगै गएर निकिता ख्रुश्चेभले १५ वर्षको उमेरमा एक प्लम्बरको जागिर खाए । एक कलकारखानामा काम गरिरहेको कारण प्रथम विश्वयुद्धमा उनलाई जार शासनको सैनिक सेवामा लगिएन । सन् १९१७ मा रुसमा बोल्शेभिक क्रान्ति हुनु अगाडि पनि उनी मजदुर सङ्गठनहरूमा संलग्न भएका थिए । सन् १९१८ मा उक्राईना कब्जा गर्न भएको बोल्शेभिकको लाल सेना, जार शासकको श्वेत सेना र उक्राईनाको राष्ट्रवादीहरूबीच भएको सङ्घर्षमा उनी रुसी कम्युनिस्ट पार्टी (बोल्शेभिक) को सदस्य बने । सन् १९१९ को सुरुमा उनी बोल्शेभिक पार्टीको लालसेनामा नियुक्ति भएर एक पोलिटिकल कमिसारको रूपमा काम गरे । अक्टोबर क्रान्तिपछि रुसमा गृहयुद्ध चलिरहेको थियो । अन्नको अभावले भोकमरीको अवस्था श्रृजना भएको अवस्थामा उनकी पत्नी गलीनाको युवा अवस्थामा नै मृत्यु भयो । सन् १९२२ मा ख्रुश्चेभ सोभियत मजदुर स्कूलमा भर्ना भए । यूजोभ्का भन्ने सहरमा जहाँ उनले माध्यमिक शिक्षा हासिल गर्नुको साथै पार्टीको निर्देशन अनुसार उनी एक विद्यार्थी नेता बने । त्यही उनको नीना पेट्रोम्बासँग सन् १९२४ दोस्रो विवाह सम्पन्न भयो ।
सन् १९२५ मा निकिता पार्टीको पूर्णकालीन कार्यकर्ता भए र यूजोभ्का सहरमा जिल्ला सचिवसम्म भए ।
कठोर परीश्रम गर्ने स्वभावका निकिता खानी तथा मजदुरहरूको पनि समस्यासँग धेरै परिचित थिए । छिट्टै उनी पार्टीको काम गर्दागर्दै जोसेफ स्तालिनको नजरमा एक सहकर्मीको रूपमा पुगे ।
सन् १९२९ मा उनी मस्को गएर ‘स्तालिन औद्योगिक एकेडेमी’ मा खनिज उद्योग सम्बन्धित विषयमा अध्ययन गर्न पुगे । सन् १९३१ मा मस्कोमा उनी पूर्णकालीन पार्टी सदस्य भएर काम गर्न थाले । सन् १९३३ मा आएर उनी मस्कोको क्षेत्रीय कमिटीको दोस्रो सचिव भए । पार्टीको काम गर्दागर्दै त्यसबेला मस्को सहरमा बन्दै गरेको भूमिगत रेल मार्गको निरीक्षक भएर काम गरे बापत उनले सन् १९३५ मा ‘अर्डर–अफ लेनिन’ पदक पाए । ‘अर्डर अफ लेनिन’ सोभियत सङ्घको सबभन्दा ठूलो सम्मानको पदक हो । यो देशको उत्कृष्ट सेवा गर्ने सोभियत नागरिकले पाउने पदक हो ।

हिटलरले सोभियत सङ्घमाथि हमला गर्न थालेपछि सोभियत सङ्घका धेरै उद्योगधन्दा र कलकारखानाहरू हिटलर सेनाको बमबारीबाट बचाउन उराल पहाडी क्षेत्रमा स्थानान्तरण गरिएको थियो । त्यसपछि ख्रुश्चेभलाई सोभियत सेनामा लेफ्टिनेन्ट जनरलको पदवी दिएर सोभियत जनतालाई नाजी हिटलरको फौजविरुद्ध उठाउने जगाउने जिम्मा दिनुको साथै सोभियत सर्वोच्च कमाण्डर र जोसेफ स्तालिनको साथै अन्य पोलिटब्यूरो सदस्यहरूलाई युद्धको गतिविधिबारे सूचित गर्ने जिम्मा दिइयो । युद्धभूमिमा रहेका जनरल कमाण्डरहरू र स्तालिन तथा अन्य पोलिटब्यूरो सदस्यहरूबीच सम्पर्क सूत्रको रूपमा काम गर्नुको साथै स्तालिनग्राड र लेनिनग्राडको रक्षात्मक युद्धमा ख्रुश्चेभले प्रत्यक्ष ठूलो भूमिका खेली दोस्रो विश्वयुद्धको अन्त पछि ख्रुश्चेभ उक्राईन गए तापनि पछि मस्कोमा बोलाइए र स्तालिनको एक सल्लाहकारका रूपमा काम गर्न थाले ।

निकिता ख्रुश्चेभ सोभियत नेता जोसेफ स्तालिनको कट्टर समर्थक थिए । उनी सन् १९३६ को संविधान समितिका सदस्य बने । सन् १९३९ मा सोभियत कम्युनिस्ट पार्टी पोलिटब्युरोको पूर्ण सदस्य बन्न सफल भए ।
सन् १९४१ मा फासिस्ट जर्मनीले सोभियत सङ्घमाथि साङ्घातिक आक्रमण गर्दा ख्रुश्चेभलाई उक्राईनाको उद्योग कल–कारखानाहरू सकेजति उठाएर पूर्वीय भागमा स्थानान्तरण गर्न लगाइयो ।
हिटलरले सोभियत सङ्घमाथि हमला गर्न थालेपछि सोभियत सङ्घका धेरै उद्योगधन्दा र कलकारखानाहरू हिटलर सेनाको बमबारीबाट बचाउन उराल पहाडी क्षेत्रमा स्थानान्तरण गरिएको थियो । त्यसपछि ख्रुश्चेभलाई सोभियत सेनामा लेफ्टिनेन्ट जनरलको पदवी दिएर सोभियत जनतालाई नाजी हिटलरको फौजविरुद्ध उठाउने जगाउने जिम्मा दिनुको साथै सोभियत सर्वोच्च कमाण्डर र जोसेफ स्तालिनको साथै अन्य पोलिटब्यूरो सदस्यहरूलाई युद्धको गतिविधिबारे सूचित गर्ने जिम्मा दिइयो । युद्धभूमिमा रहेका जनरल कमाण्डरहरू र स्तालिन तथा अन्य पोलिटब्यूरो सदस्यहरूबीच सम्पर्क सूत्रको रूपमा काम गर्नुको साथै स्तालिनग्राड र लेनिनग्राडको रक्षात्मक युद्धमा ख्रुश्चेभले प्रत्यक्ष ठूलो भूमिका खेली दोस्रो विश्वयुद्धको अन्त पछि ख्रुश्चेभ उक्राईन गए तापनि पछि मस्कोमा बोलाइए र स्तालिनको एक सल्लाहकारका रूपमा काम गर्न थाले ।
सन् १९५३ को मार्च ५ तारिख स्तालिनको मृत्युपश्चात् ख्रुश्चेभ सोभियत सङ्घको सर्वेसर्वा नेता भए र सन् १९५६ को २५ तारिख सोभियत कम्युनिस्ट पार्टीको २० औँ पार्टी काङ्ग्रेस महाद्यिवेशनमा उनले एक गोप्य दस्तावेज पेश गरे, जसमा उनले स्तालिनको खेदो खने र सोभियत सङ्घमा स्तालिनविरोधी हौवा फैलाए । आफू सत्तामा आएपछि सोभियत सङ्घको आन्तरिक तथा बाह्य राजनीतिमा ठूलो परिवर्तन ल्याउने चेष्टा गरे । जसअन्तर्गत सोभियत जनजीवन र समाजभित्र प्रतिकृयावादी उदार नीति ल्याउनुको साथै विदेश नीतिमा विश्वका पुँजीवादी र साम्राज्यवादी देशहरू सँगसँगै मिलेर जाने ‘सहअस्तित्व’ को अवधारणा प्रस्तुत गरे । ख्रुश्चेभको यस राजनीतिक धारणा र दिशालाई चीनले संशोधनवादको संज्ञा दिँदै सोभियत नीतिबाट दूर रहन गए भने सोभियत सङ्घले क. माओ त्सेतुङ्गको नीतिलाई ‘चाउभिनिज्म’ को संज्ञा दिएर दुई ठूलो शक्तिशाली कम्युनिस्ट राष्ट्रहरूकोबीच चिरा पारे र विश्व कम्युनिस्ट आन्दोलनमा शिथिलता उत्पन्न गराए । क्युबा, भियतनाम, लाओस क्याम्बोडियाजस्ता समाजवादउन्मुख देशहरू कुन खेमामा लाग्ने भन्ने अन्योलमा परे भने ईजिप्ट, भारत, युगोप्लाभिया जस्ता देशहरू मिलेर असंलग्न राष्ट्रहरूको सङ्गठन बनाए । जसमा नेपाललगायत फिडेल कास्ट्रोको क्युबासमेत गाभिन आए ।
असंलग्न राष्ट्रहरूको सङ्गठन ‘यो एउटा द्वितीय विश्वयुद्धकै उपज हो भन्नुपर्छ । दुई शक्तिशाली राष्ट्रहरू सोभियत सङ्घ र संयुक्त राष्ट्र अमेरिका शीतयुद्धमा होमिएपछि उत्पन्न भएको थियो ।
सोभियत सङ्घ र संयुक्त राज्य अमेरिकाबीच शीतयुद्ध चलिरहँदै गर्दा सोभियत नेता ख्रुश्चेभले संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण गर्ने निधो गरे । तत्कालीन अमेरिकी राष्ट्रपति द्वीथ आईजेनआवरको निमन्त्रणामा निकिता ख्रुश्चेभले संयुक्त राज्य अमेरिकाको सन् १९५९ को सेप्टेम्बर १५ तारिखदेखि २७ तारिखसम्म १३ दिनको औपचारिक भ्रमण गरे ।
एक सोभियत नेताबाट औपचारिक रूपमा संयुक्त राज्य अमेरिकाको भ्रमण भएको यो पहिलोचोटि भएकोले यस भ्रमणको व्यापक चर्चा परिचर्चा विश्वभरि भयो । निकिता ख्रुश्चेभले आफ्नो भ्रमणमा आफ्ना श्रीमति नीना ख्रुश्चेभको साथै छोरा सेर्गेई, छोरी ज्वाईँ आलेक्स र दुई छोरीहरू युलीया र राडा पनि सामेल गराएका थिए । सोभियत नेताहरूले स्वदेशमा तथा विदेशमा भरिने औपचारिक भ्रमणहरूमा यसरी आफ्ना परिवारका सदस्यहरू लाने चलन पहिले थिएन ।
यस हिसाबले पनि ख्रुश्चेभको अमेरिकी यात्रा रोचक रहेको थियो भने ख्रुश्चेभको यस यात्राले सोभियत राजनीति र अर्थनीतिमा ठूलो प्रभाव पनि पारे ।

निकिता ख्रुश्चेभ


निकिता ख्रुश्चेभ अमेरिका जानुपूर्व संयुक्त राज्य अमेरिकाका तत्कालीन उपराष्ट्रपति रिचार्ड निक्सन सोभियत सङ्घ आएका थिए । सन् १९५९ को सुरुमा मस्कोमा ‘अमेरिकी राष्ट्रिय प्रदर्शनी’ भइरहेको थियो ।
यस अमेरिकी प्रदर्शनी हेर्न रिचार्ड निक्सनसँगै सोभियत नेता निकिता ख्रुश्चेभ पनि मस्को पाभिलिओनमा गएका थिए  । प्रदर्शनी हेर्दै गर्दा दुवै देशका नेताहरू आ–आफ्ना देशका आर्थिक नीतिहरूबारे कुरा गर्दै गए । उपराष्ट्रपति निक्सनको अन्य मस्को भ्रमणपछि संयुक्त राज्य अमेरिकाका तत्कालीन राष्ट्रपति आईजेनआवरले सोभियत राष्ट्रपति निकिता ख्रुश्चेभलाई अमेरिका भ्रमणको निम्तो पठाएका थिए । सोही निमन्त्रणा अनुसार निकिता ख्रुश्चेभले सपरिवार १९५९ को सेप्टेम्बर महिनामा १३ दिन अमेरिकी भ्रमण सम्पन्न गरेका थिए । उक्त भ्रमणमा सोभियत सङ्घका तत्कालीन प्रभावशाली डिप्लोम्याटिक नेता परराष्ट्रमन्त्री आन्द्रेई ग्रोमीको पनि सामेल थिए ।
उक्त अमेरिकी भ्रमणको सिलसिलामा सोभियत नेता ख्रुश्चेभले संयुक्त राज्य अमेरिकाको राजधानी वाशिङ्गटन डी.सी., न्यूयोर्क सिटीलगायत क्यालिफोर्निया, इओवा, पेन्सिलभानिया र क्याम्प डेविडको पनि यात्रा गरे ।
सेप्टेम्बर १५ तारीख अमेरिका पुगेका सोभियत नेता ख्रुश्चेभलाई अमेरिकी–आन्द्र सैनिक विमानस्थलमा २१ तोपसहितको भव्य स्वागत गरियो । उक्त अवसरमा सोभियत सङ्घको राष्ट्रिय धून पनि बजाइएको थियो ।
आफ्नो भ्रमणको पहिलोेदिन वाशिङ्गटन डी.सी.मा बिताएका ख्रुश्चेभ, दोस्रो दिन मेरील्याण्ड पुगे । जहाँ उनले ‘अमेरिकी कृषि अनुसन्धान केन्द्र’ को निरीक्षण गरेर वाशिङ्गटन डी.सी.फर्के ।
सेप्टेम्बर १७ तारिख वाशिङ्गटनबाट रेलमार्ग हुँदै ‘न्यूयोर्क इकोनोभिक क्लब’ ले दिएको रात्रिभोजमा सामेल भए । उक्त अवसरमा उपस्थित दुई हजारभन्दा बढी विश्व उद्योग व्यापारी पाहुनाहरूलाई ख्रुश्चेभले आफ्नो सम्बोधन भाषण गरे ।
आफ्नो न्यूयोर्क भ्रमणमा निकिता ख्रुश्चेभले अमेरिकाका भूतपूर्व प्रथम लेडी एलेनोर रुजभेल्टलाई पनि उनकै निवासमा गएर भेट गरे ।
न्यूयोर्क भ्रमणमा रहँदा ख्रुश्चेभलाई अमेरिकाका संयुक्त राष्ट्रसङ्घमा कार्यरत राजदूत हेनरी कावोटले साथ दिएका थिए भने न्यूयोर्कको सबभन्दा ठूलो व्यापारिक केन्द्र मानहटन पुग्दा ख्रुश्चेभको त्यहाँ उपस्थित धनाढ्य व्यापारीहरूसँग ठूलो वादविवाद परेको थियो । ख्रुश्चेभ त्यहाँ पुँजीपति व्यापारीहरूमाथि आक्रामक रूपमा प्रस्तुत भए । पुँजीवादी अर्थतन्त्र व्यवस्थाको विरोधमा र उपस्थित व्यापारी समूहले पनि ख्रुश्चेभको भनाइको प्रतिरोध गरेका थिए ।
न्यूयोर्क पछि ख्रुश्चेभ अमेरिकाको पश्चिम् किनारा अवस्थित धनाढ्य राज्य क्यालिफोर्निया प्रस्थान गरे । क्यालिफोर्नियाको राजधानी लस ऐंजल्समा मेयरले ख्रुश्चेभको स्वागत गर्दै आफ्नो स्वागत भाषणमा ३ वर्ष अघि निकिता ख्रुश्चेभले मस्कोस्थित पोल्याण्डको राजदूतावासमा पुँजीवादीहरूको खेदो खन्दै ‘हामी तिमीहरूलाई दफन गर्छौँ ।’ (वी वील बरी यू) भनेका कुरालाई उदृध गर्दै भनेः “हामी तपाईंको कुरासँग सहमत छैनौँ । तपाईंले हामीलाई दफन गर्नु हुन्न र हामी तपाईहरूलाई दफन गर्दैनम् । हामी आफ्नो जीवनशैलीमा खुसी छौँ र आफ्ना कमी कमजोरीबारे हामी सजग छौँ र यस्ता कमजोरीहरूलाई सुधार्ने प्रयास गर्छौँ । तर, कसैले लल्कार्छ भने अन्तिम घडीसम्म लड्न हामी तयार छौँ ।”
आफ्नो अमेरिकी भ्रमणकालमा निकिता ख्रुश्चेभले निरन्तर रूपमा पुँजीवादी व्यवस्थाभन्दा समाजवादी व्यवस्थाको अर्थतन्त्र धेरै राम्रो छ भनी वकालत गर्दै हिँडेकोमा लस ऐंजेलसका मेयर नोरीस पाउल्सनले उक्त अभिव्यक्ति व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *