भर्खरै :

वैज्ञानिक समाजवादको सान्दर्भिकता

आलेखको सुरुमा एउटा लघुकथा – एउटा अधबैँसे मालिक थियो । ऊ दिनको एक माना दुध खान्थ्यो । मालिकको कोठासम्म दुध पु¥याउने जिम्मा लिएको नोकरले एउटा चलाखी गर्नथाल्यो । नोकर एक माना दुधबाट केही दुध निकालेर आफू खान्थ्यो र त्यति नै पानी थपेर मालिकलाई दिन्थ्यो । एकदिन त्यो मालिकले दुधमा कुनै मिसावट नहोस् भनेर चियो गर्न अर्को एक नोकरलाई अह्रायो । तर, दुइटै नोकर मिलेर एक चौथाइ दुध खाएर पानी थपी मालिकलाई दिनथाले । अझ पनि शङ्का लागेर ती दुईमाथि निगरानी गर्न तेस्रो नोकरलाई खटाइयो । तीनैजना नोकरले थप दुध झिकेर मालिकलाई धेरै पानी मिसाएको दुध दिनथाले । दुध हेर्ने नोकर थपिँदै गए, दुध झन् पातलिँदै गयो । शुद्ध दुध खान नपाएपछि मालिक बिरामी प¥यो । एकदिन मालिक दुध नखाएरै निदाएछ । तर, एउटा नोकरले राति नै दुधको तर मालिकको जुँगामा लगाइदिएछ । भोलिपल्ट बिहान मालिकले आफूले अघिल्लो दिन दुध खान नपाएको कुरा भन्दा नोकरले जुँगामा दलेको दुधको तर देखाएर खाएकै हो भनी जिद्दी गरेछ । मालिक निःशब्द भएछ !
तर, आजको सन्दर्भमा प्रस्तुत लोककथाको मालिक भनेको पुँजीवादी विश्वका सोझासिधा जनता हुन् भने जनताको सेवा गर्छौँ भन्ने निर्वाचित शासक दलहरू त्यस्तै नोकर चरित्रका हुन् । नेपालकै सन्दर्भमा २०४६ सालको जनान्दोलनयता विभिन्न सरकारहरू बने तर लुटिए जनतामात्र । आखिर यस्तो किन हुन्छ ? जनताले सधैँ यस्तै नियति किन भोग्न परिरहको छ ? जनता लुटिने क्रम कहिले रोकिन्छ ? यी प्रश्न अनुत्तरित छन् ।
पुँजीवाद नै सबै समस्याको कारक
सामन्तवादलाई फालेर पुँजीवाद आयो । आजसम्ममा पुँजीवादले पनि विभिन्न तहहरू पार गरेको छ । दस्तकार र व्यापारीले सुरुमा ससाना उद्योग खोले । तिनीहरू घरघरमा सेवा पु¥याउँथे । उत्पादन थोरै हुन्थ्यो । किनभने, उपभोक्ता थोरै हुन्थे । बिस्तारै उत्पादन बढ्यो, हाटबजार आवश्यक भयो । हाटबजार सदाबहार चल्न थाल्यो । बिस्तारै अर्धस्वचालित यन्त्रको विकास भयो, कामदारको आवश्यकता बढ्न थाल्यो । स्वतन्त्रता, समानता र भ्रातृत्वको नाराले कामदार वर्गलाई कज्याउन सजिलो पनि भयो । झन् बढी सामानको उत्पादन हुनथाल्यो । पुँजीपतिबीच प्रतिस्पर्धा पनि हुनथाल्यो । बजार, मजदुर र कच्चा पदार्थको निम्ति विभिन्न देशमा उपनिवेश सुरु भयो । १७ औँ शताब्दीमा भारतमा आएको इस्ट इन्डिया कम्पनी त्यसैको उपज थियो । यसरी एकाधिकार पुँजीवादको विकास भयो । पुँजीवादभित्रका आर्थिक सङ्कट टार्न युद्धहरू हुनथाले । आज एक्काइसौँ शताब्दीको तेस्रो दशक सुरु हुँदा विज्ञान र प्रविधिमा उच्चतम प्रगति भएसँगै बहुराष्ट्रिय कम्पनीहरूमार्फत विश्वबजार नियन्त्रणको चरणमा पुगेको छ पुँजीवाद । युद्ध नगरेरै प्राकृतिक स्रोत तथा बजार कब्जा गर्न सकिने स्थिति उत्पन्न भयो ।
पुँजीवादको विकाससँगै विज्ञान तथा प्रविधिको विकास त भयो तर त्यसको फाइदा सीमित पुँजीपति वर्गले मात्र लिए । विश्वको पुँजी नै केन्द्रिकृत भयो । अक्सफामको एउटा प्रतिवेदनअनुसार विश्वका दुई सयजनाको हातमा ९० प्रतिशत सम्पत्ति देखिन्छ । गत सालको अर्को एक प्रतिवेदनअनुसार विश्वका २ प्रतिशत मानिसमा ९२ प्रतिशत पुँजी केन्द्रित भएको छ । धनी र गरिबबीचको खाडल चरम गहिराइमा पुगेको छ । पुँजीवादको द्रुत विकास भएको पछिल्लो ३–४ सय वर्षमा विश्वको ७० प्रतिशत प्रकृति ध्वंस भयो । नाफाको निम्ति आवश्यकताभन्दा बढ्ता सामानको अतिउत्पादन गरियो । बढी उत्पादन भएको अन्नसमेत समुद्रमा फालियो । उपभोक्तावादी तथा अत्योत्पादन संस्कृतिलाई मलजल गरियो । पुनःप्रयोग वा अधिकतम प्रयोगको संस्कृतिलाई निस्तेज पारियो । पुरानो मोडलको नाममा सामानको विनाश गरियो तर उपभोक्तालाई सस्तोमा दिइएन ।
प्राकृतिक विनाशको कारण पृथ्वीको तापक्रम बढ्दो छ । प्रसिद्ध वैज्ञानिक स्टेफन्स हकिन्सले आगामी ६ सय वर्षमा पृथ्वीको तापक्रम २ सय डिग्री सेल्सियस पुग्ने अनुमान गरेका छन् । विश्वमा परमाणु युद्धको खतरा उत्तिकै छ । विद्वान युवल नोहा हरारीले त नयाँ प्रविधिबाट सुपर ह्युमन (अति मानव) को विकास हुने र त्यसले संसारमा सङ्कट ल्याउने कुरा गरेका छन् । अति मानवले केही पैसावाललाई विशेष क्षमताको दिमाग बनाउने र अझ धेरै गुणा आयुदर बढाइदिने कल्पना हरारीले गरेका छन् । यी सबैको कारण भने पुँजीवाद नै हो । आजको विश्वको सबभन्दा ठूलो खतरा नै पुँजीवाद बनेको छ । पुँजीवाद नै आजको सङ्कटको मुख्य कारण हो ।
तावाको माछो भुङ्ग्रोमा !
पुँजीवादी व्यवस्थाको आधार नै शोषण हो । स्वतन्त्रता, समानता र भाइचाराको नारा दिएर स्थापित पुँजीवाद असफल भैसक्यो । आजपनि विश्वका १ अर्ब मानिस दिनमा एक छाकमात्र खान्छन् । पुँजीवादको कारण केही भौतिक विकास त भयो तर त्यसले गरेको प्रतिबद्धता पूरा भएन । नवउदारवादी नीतिले त राज्यलाई पनि निरीह बनायो । कोरोना भाइरसको महामारीको क्रममा मानिस संसारमै असुरक्षाको सिकार बन्यो । औषधी वा खोपको उत्पादक बहुराष्ट्रिय कम्पनीको निम्ति भने कमाउने समय भएको छ । तिनै बहुराष्ट्रिय कम्पनीका गोटी बनेका छन् आजका शासकहरू । बेरोजगारी उत्तिकै बढेको छ, बेरोजगारको आत्महत्याको शृङ्खला टुटेको छैन । आजको नेपालको नियतिबाट यी सबै कुरा छर्लङ्ग बुझिन्छ ।
नेपालीमा एउटा आहान छ, ‘दही मथे पो नौनी निस्किन्छ, मोही मथेर हुन्न’ । पुँजीवादले न्याय, स्वतन्त्रता तथा भ्रातृत्वको कुरा गर्छ, काम गर्दैन । नेपालमा पछिल्लो जनान्दोलन सम्पन्न भएको करिब डेढ दशक भयो । तत्कालीन राजा ज्ञानेन्द्रको प्रतिगामी कदमपछि चर्किएको विद्यार्थी आन्दोलनको क्रममै गणतन्त्रको नारा लाग्यो । त्यतिबेला नेपाल मजदुर किसान पार्टीको जनवर्गीय सङ्गठन नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले गणतन्त्रमात्र भन्नु अपुरो हुन्छ, पुँजीवादी गणतन्त्र होइन समाजवादी गणतन्त्र नै चाहिन्छ भन्ने अडान अघि सा¥यो । नेमकिपाले आन्दोलनभर समाजवादी गणतन्त्रको नारा निरन्तर घन्कायो । तर, आन्दोलनरत अन्य राजनीतिक दलहरू समाजवादी क्रान्तिको बाटोबाट भागे, पुँजीवादी पार्टीहरूबाट त्यस्तो आशा गर्नु पनि व्यर्थ थियो । जनान्दोलनको सफलतापछि पनि नेमकिपाका युवा तथा विद्यार्थी सङ्गठनहरूले समाजवादी व्यवस्थाले मात्र कामदार वर्गको हित गर्छ भन्ने विचार स्थापित गर्न प्रचार अभियान सञ्चालन अद्यापि गरिरहेका छन् । संविधानसभाको निर्वाचनको क्रममा नयाँ संविधानमा समाजवादी बन्दोबस्तका केही बुँदाहरू राख्न नेमकिपाले भरमग्दुर प्रयास ग¥यो ।
अनेक प्रकारका राजनीतिक परिवर्तन भए तर सत्ताको आधारभूत चरित्र बदलिएन । सत्ताको आधारभूत चरित्र शोषणमै आधारित छ । सीसी फेरिए, रक्सी पुरानै ¤ उत्पादनका साधन र उत्पादन सम्बन्धले समाजको चरित्र र संस्कृतिको निर्माण गर्छ । पुँजीवादी व्यवस्थामा विभिन्न नामका पुँजीवादी पार्टीहरू ‘दुधको साक्षी बिरालो’ बनेर सत्ताको भागबण्डा गर्छन्, ‘फुट गर र राज गर’ को नीति अपनाएर सत्ताको बागडोर कब्जा गर्छन् । संसारभरका सबै काग काला नै भएझैँ पुँजीवादी व्यवस्थाको मुख्य चरित्र पनि कालै हुन्छ । जनतामाथि करको भार निरन्तर थोपरियो, त्यही करमा तर मारिरहे शासक दल अनि तिनका मतियार पुँजीपति वर्गले । राजतन्त्रपछि प्रजातन्त्र आयो, प्रजातन्त्रपछि लोकतान्त्रिक गणतन्त्र आयो तर शोषण कायमै रह्यो, श्रमजीवी जनताको जीवनस्तरमा तात्विक परिवर्तन भएन । महँगी, भ्रष्टाचार, अन्याय, अत्याचार, कालोबजारी झन् बढ्यो । ‘तावाको माछो भुङ्ग्रोमा’ परेजस्तो नियति भोगिरहेका छन् सर्वसाधारण नेपाली !
हिँड्नु नै छ वैज्ञानिक समाजवादको बाटो !
दासयुगअगाडि मानिस जङ्गलमा बस्थे । उनीहरू प्रकृतिको एक अभिन्न अङ्ग भएर बस्थे । मुखिया त हुन्थे तर मुखिया समूहको रक्षाको निम्ति हुन्थे तर मुखिया शासक हुन्थेनन् । समूहका सदस्यहरू सामुदायिक निर्णयमा सहभागी हुन्थे । मानिस एक किसिमले स्वतन्त्र थिए । सम्पत्तिको विकास भएको थिएन । श्रम र उत्पादनको शृङ्खला सुरु भएको थिएन । यसलाई आदिम साम्यवाद भनिन्छ ।
नेवार समुदायमा प्रचलित गुठी प्रथाले समाजवादको केही झल्को दिन्छ । गुठीका सदस्यबीचको सामूहिक खेती (सामूहिक श्रम, वितरण तथा उपभोगसमेत), सामूहिक भोजन, ठूलो निर्माण कार्यमा सामूहिक श्रमदान (जसको जे सिप छ, त्यही गर्ने), मृतकको सदगत गर्न सामूहिक सहभागिता आदि परम्परा आज पनि कायम नै छ । बेलविवाह तथा विभन्न पूजाको परम्परा पनि उस्तै छ । अन्य थुप्रै चाडपर्व तथा जात्रामा सामूहिक उपस्थिति भइरहन्छ । पाटीपौवा, ढुङ्गेधारा, विद्यालय भवन आदि बनाउन पनि जनश्रमदानको प्रचलन नेपाली समाजमा जताततै देखिन्छ ।
समुदायकेन्द्रित समाजवादविपरीत पुँजीवादी समाज व्यक्तिगत स्वार्थकेन्द्रित हुन्छ । पुँजीवादी समाज पुँजीको लगानी, उत्पादन, वितरण र नाफामा आधारित हुन्छ । नाफाको निम्ति ‘घाँटी रेट्ने प्रतिस्पर्धा’ कै कारण पुँजीवाद बदनाम भएको छ । यसविपरीत उत्पादनका साधन (उद्योग, जमिन, प्रविधि) मा सामूहिक स्वामित्व वा सामाजिकीकरण नै समाजवादको प्रस्थानविन्दु हुन्छ । पुँजीवादले विच्छेद गरेको उत्पादक र उपभोक्ताबीचको सम्बन्ध जोड्ने काम समाजवादले गर्छ । आवश्यकताअनुसार उत्पादन र उपभोग गर्ने थिति समाजवादमा मात्र सम्भव छ । शिक्षा र स्वास्थ्य उपचार निःशुल्क गर्ने, व्यक्तित्व विकासमा समान अवसर दिने, योग्यताअनुसार काम र कामअनुसार ज्याला दिने बन्दोबस्तले समाजवादको आधार तयार गर्छ । जनताका प्रतिनिधिहरू जनताका सच्चा सेवक भई काम गर्ने अथवा जनताको अभिमतअनुसार शासन गर्ने समाजवादी शासन व्यवस्था नै पुँजीवादी व्यवस्थाको विकल्प हो । भनिन्छ, ‘दाइँ गर्न गोरु नै चाहिन्छ, बोकाले दाइँ हुन्न’ ! समाजवादले मात्र कामदार वर्गको हित गर्नसक्छ ।
भ्यागुतो, माछा, चरा स्वतन्त्र विचरण गर्दै आफ्नो जीवन निर्वाह गर्छन् । तर, मानिस ? यो पृथ्वीका लाखौँ प्रजातिका जीवमध्ये मानिस सर्वोत्कृष्ट भएर पनि ऊमात्र श्रम गर्न बाध्य किन भयो ? आफ्नै प्रजातिमाथिको शोषणबाट मोजमज्जा गर्ने एउटै जीव मानिस नै होला ! एउटा मानिसको सृजनशीलताको फाइदा उठाएर अर्को मानिस आफ्नो सम्पत्ति विस्तार गर्छ । दुई छाक खान र एक सरो लाउन ऊ शोषणको सिकार बन्छ पुस्तापुस्तान्तर । यही शोषणको विरोध पनि मानिसले नै ग¥यो । ठूला सङ्घर्ष पनि भए ।
आजसम्मको मानव समाजको लिखित इतिहास वर्गसङ्घर्षको इतिहास हो भनेर माक्र्स–एङ्गेल्सकृत ‘कम्युनिस्ट घोषणापत्र’मा लेखियो । सामन्त वर्गलाई फाल्न पुँजीपति वर्गले बल प्रयोग ग¥यो । पुँजीपति वर्गले पनि सजिलै सत्ता छोड्दैन, श्रमिक वर्गले बल नै प्रयोग गर्नुपर्ने हुन्छ । माक्र्सवादको सार पनि यही हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *