भर्खरै :

लेनिनका जीवनका पानाहरू २ जेनेभा र पेरिस

म हरेक झिसमिसेमा क्रुप्सकायाकोमा पुग्थेँ । दिनको धेरैजसो समय उहाँसँगै काम गर्थेँ । रुए दे दोबिद (दोबिद मार्ग) मा उहाँकोे दुई कोठा भएको एउटा सानो घर थियो । जसमध्ये एउटा भान्सा कोठा थियो । ती दुवै कोठामा एक–एकवटा झ्याल थिए । क्रुप्सकायाकी आमा (एलिजावेता वासिलेभ्ना) पनि त्यसै घरमा बस्नुहुन्थ्यो । आमा धरै दयालु हुनुहुन्थ्यो । उहाँ कहिल्यै आफ्नी छोरीसँग अलग्ग बस्नुभएन । आजन्म उहाँहरू सँगै रहनुभयो । लेनिन उहाँको एकदम ख्याल राख्नुहुन्थ्यो । आमा पनि लेनिनलाई अन्तर हृदयदेखि चाहनुहुन्थ्यो ।
लेनिनको परिवार सादापनसाथ बस्थ्यो । एलिजावेता वासिलेभ्नाले गृहस्थी चलाउनुहुन्थ्यो । बजारबाट रासन ल्याउनुहुन्थ्यो, खाना पकाउनुहुन्थ्यो, सरसफाइ गर्नुहुन्थ्यो र क्रुप्सकाया अनि लेनिनको राम्रोसँग ख्याल राख्नुहुन्थ्यो । आमा अति शान्त स्वभावकी हुनुहुन्थ्यो । क्रुप्सकायालाई आफ्नो कामबाट थोरै–धेरै फुर्सद भएको बेला गृहस्थीका काममा आमाको मद्दत गर्नुहुन्थ्यो । उहाँ मसँग प्रायजसो भन्नुहुन्थ्यो, “गृहस्थीको काम आफैमा त्यति नराम्रो छैन ।” उहाँ अझ थप्नुहुन्थ्यो, “यसकारण यो काम गर्न झन्झट लाग्दैन । तर गृहस्थीको काम गर्दागर्दै कामको बारेमा सोचविचार गर्नुपर्दा कहिलेकाहीँ झन्झट लाग्छ ।”
एउटा कोठामा क्रुप्सकाया र आमा बस्नुहुन्थ्यो । अर्कोमा लेनिन । उहाँको घरमा साधारण मजदुरको घरमा जस्तै मामुली सामानहरू थिए । लेनिनको कोठामा फलामको एउटा पलङ थियो, जसमाथि छालाका रेसाहरूले भरिएको गद्दा बिच्छ्याइएको हुन्थ्यो । साथीहरूसँग त्यही कोठामा भेट्नुहुन्थ्यो । उनीहरूसँग गफिनुहुन्थ्यो । तर, आफ्नो कामको लागि उहाँ ‘सोसियेते दे लेकत्युर’ को सार्वजनिक पुस्तकालयमा बस्न उत्तम ठान्नुहुन्थ्यो । त्यहाँ धेरै राम्रो सुविधा थियो । उहाँ झिसमिसेमा पुस्तकालयतिर निस्किनुहुन्थ्यो । दिउँसोको खाना खान घर आउनुहुन्थ्यो । फेरि रातिको खाना वा साँझको चियाको समयसम्मका लागि पुस्तकालयमा फर्कनुहुन्थ्यो । जहाँसम्म मलाई याद छ, उहाँहरूले दिउँसोको खाना चार बजे खाने गर्नुहुन्थ्यो । म पनि कहिलेकाहीँ दिउँसोको खाना उहाँहरूसँगै खान्थेँ । धेरै काम भएको खण्डमा रातको खाना पनि खाने गर्थेँ । ती दिनका सम्झनाहरू मेरा सबैभन्दा मूल्यवान पुँजी हुन् । साधारणतया लेनिन एकदम विनोदप्रिय हुनुहुन्थ्यो र उहाँको मन सदा युवा रहन्थ्यो । उहाँले एलिजावेता वासिलेभ्नालाई दुई सासूहरू पाउनु नै व्यक्तिले बहुविवाह गर्दाको सर्वाधिक कडा सजाय हुन्छ भनेर जिस्काइरहनुहुन्थ्योे । लेनिन हाम्रो कामको बारेमा न त खाने समयमा कुरा गर्नुहुन्थ्यो न त चियाको समयमा । उहाँ धेरै चाखपूर्वक खाना खानुहुन्थ्यो । आफूलाई मनपर्ने खानाको लागि कहिल्यै आग्रह पनि गर्नुहुन्नथ्यो । अझ भन्नुपर्दा, उहाँ जे खानुहुन्थ्यो, त्यसबाट उहाँलाई केही फरक पर्दैनथ्यो ।
परिवारको अपूर्व मैत्रीपूर्ण सद्भाव देखेर मलाई अति खुसी लाग्थ्यो । त्यो सद्भाव उच्च आदर्शप्रतिको निष्ठा, समान आत्मिक अभिरुचि, पारस्परिक विश्वास र सम्मानमा आधारित थियो ।
मैले सामान्यतः लेपेशिन्स्की दम्पत्ति (१) द्वारा सञ्चालित मेसमा खाना खान्थेँ । धेरैजसो रुसी निर्वासितहरूले यस्तै गर्थे । त्यहाँ बिहानदेखि रातिसम्म मानिसहरूको घुइँचो लाग्थ्यो । त्यो वास्तवमा एउटा बोल्शेभिक क्लवजस्तो थियो । मानिसहरू त्यहाँ आफ्ना साथीहरूसँग भेट्न, नयाँ–नयाँ समाचार सुन्न–सुनाउन, वाद–विवाद गर्न, चेस खेल्न वा कुनै रिपोर्ट सुन्न जान्थे । त्यहाँ एउटा पियानो राखिएको थियो र साँझको बेला हामीले प्रायजसो से.इ. गुसेभको गीत वा प.अ.क्रासिकोभको भायोलिन वादन सुन्थ्यौँ । मैले पियानोमा उहाँहरूलाई पछ्याउँथे र कहिलेकाहीँ एक्लै पनि कुनै धुन बजाउँथे । त्यहाँ कहिलेकाहीँ लेनिन पनि आउनुहुन्थ्यो । गुसेभ एकजना अत्यन्त सक्रिय बोल्शेभिक र दोस्रो पार्टी अधिवेशनका प्रतिनिधि हुनुहुन्थ्यो । उहाँको गला एकदम सुरिलो थियो । सङ्गीतमा पनि उहाँको राम्रो पकड थियो । लेनिन उहाँसँग दर्गोभिज्स्की, रुबिस्ताइन र चाइकोभ्स्कीका सङ्गीतहरू सुन्न मन पराउनुहुन्थ्यो ।
पियानोमा जुन धुन मैले बजाउँथँे, त्यसमध्ये बिथोभनको करुण रचना (एबतजभतष्त्रगभ क्यलबतब० लेनिनको सबैभन्दा प्रिय थियो । एकचोटि जब मैले त्यो धुन बजाएँ, तब भ्लादीमिर इल्यीच मछेउ आएर भन्नुभयो, “हजुरले अझै अभ्यास गर्नैपर्छ ।” यी शब्दहरूले मलाई चकित पारे । मैले सोचेँ, “ए, त्यसो भए यसको अनुमति छ ?¤” युवा अवस्थाका प्रारम्भिक दिनहरूमा मैले पिसारेभ (२) का कृतिहरू पढ्ने गर्थेँ र त्यसको एउटा वाक्य मेरो दिमागमा छापिएको थियो, “समाजमा एउटा व्यक्ति अशिक्षित हुँदाहुँदै कोही समाजकलाको अध्ययनमा जुट्छ भने ऊ नाङ्गै घुम्ने तर पाखुरामा सुनका बाला लगाउने वनमान्छे हो ।” यस विचारले ममा गाढा प्रभाव प¥यो र तैपनि म सङ्गीत विद्यालयको अन्तिम कक्षामा विशेष योग्यताका साथ पास भएकी थिएँ । पछि मैले त्यसलाई छोडेर त्यसको सट्टामा बेस्तुजेभ–पाठ (३) मा सम्मिलित भएँ । तर, अब अरू कसैले होइन, स्वयम् लेनिनले भन्नुभयो, “हजुरले अझै अभ्यास गर्नैपर्छ… ।” तैपनि, सङ्गीतको अभ्यास मैले लगभग दस वर्षपछि मात्र सुरु गर्न सकेँ ।
क्रासिकोभले ब्रागका सेरीनेड (साध्य सङ्गीत) र रेफ्फका कैभेटिन (सामान्य गीत) जस्ता सामान्य धुनहरूलाई भायोलिनमा राम्रोसँग न्याय गर्नुहुन्थ्यो । मस्कोमा धेरैचोटि गिरफ्तार भएपछि, उनीहरूबाट कसैगरी बाँचेर उहाँ जून महिनाको अन्तिममा जेनेभा पुग्नुभयो । मैले उहाँलाई पहिलोचोटि तब देखेँ, जब उहाँ पा.नि. लेपेशिन्स्कीसँग भर्खरै स्टेसनबाट निस्किरहनुभएको थियो । उहाँसँग एउटा सानो सुटकेस र भायोलिन–केस थियो । गुप्तचर र सुराकीहरूको पञ्जाबाट फुत्केर हातमा एक भायोलिन लिई गैरकानुनी ढङ्गले सीमा नाघ्ने कुनै पेशेवर क्रान्तिकारीको कल्पना मलाई एकदम विचित्र लाग्यो । उहाँले हामीलाई आफू प्रतिनिधि भएको दोस्रो पार्टी अधिवेशनको बारेमा, रुसमा भविष्यमा हुने कामको बारेमा र आफू जन्मे–हुर्केको साइबेरियाको बारेमा अनेक रोचक कुराहरू बताउनुभयो । उहाँ मेन्शेभिकसँगको वादविवादमा धेरै सफल सावित हुनुभयो । उहाँले तिनका कमजोरीहरूलाई चलाखीसाथ पहिल्याउनुहुन्थ्यो र तिनीहरूमाथि मार्मिक प्रहार गर्नुहुन्थ्यो । उहाँ ठट्टा गर्नमा अत्यधिक दक्ष हुनुहुन्थ्यो । हाजिरीजवाफ तथा चोटिला व्यङ्ग्यमा पनि निपुणता प्राप्त गर्नुभएको थियो । यसकारण पनि मेन्शेभिकहरूले उहाँलाई देखी सहँदैनथे । उहाँको पार्टीको उपनाम ‘स्पील्का’ (काँडा) थियो ।
एक दिन मलाई तीन–चार साथीहरूको एक मण्डली गठन गर्न उहाँले सल्लाह दिनुभयो । उहाँले हामीलाई आवश्यक विषयहरूमा पर्चा तथा निवेदन लेख्न सिकाउन थाल्नुभयो । मसँगै यस मण्डलीमा सोन्या अस्ताफेवा (कीभ जेलखानाकी मेरी छिमेकी) र वाल्या कसात्किना पनि थिए । वाल्या त्यसबेला जेनेभा विश्वविद्यालयको चिकित्सा सड्ढायकी विद्यार्थी थिइन् । पछि उनी १९०५ मा पिटर्सबर्गका मजदुर प्रतिनिधिहरूको सोभियतकी सचिव भइन् । जेनेभामा लामो समयसम्म बस्ने हामी कसैको चाहना थिएन तर रुसमा राम्ररी पर्चा लेख्नमा उपयोगी हुन् भनी हामीले क्रासिकोभको प्रस्तावलाई सहर्ष स्वीकार ग¥यौँ । तैपनि, हाम्रो सिकाइ छिट्टै सकियो । यो केही अस्वाभाविक काम थियो ।
हामी कहिलेकाहीँ आफ्ना साँझहरू ल्यान्डोल्ड क्याफेमा बिताउँथ्यौँ । त्यहाँ रुसी राजनीतिक निर्वासितहरूको प्रयोगको लागि एउटा कोठा सुरक्षित थियो । त्यहाँबाट गल्लीमा निस्कनका लागि अलग ढोका थियो । त्यहाँ हामी साँझपख बस्थ्यौँ र एक गिलास बियर पिउँदै कुराकानी वा बहस गथ्र्यौँ वा चेस खेल्थ्यौँ । मेन्शेभिकसँग मेरो भेटघाटै भएन । म धेरैजसो गुसेभसँग चेस खेल्थेँ र हाम्रो ध्यान नराम्ररी भङ्ग गर्दै क्रासिकोभ खेल हेर्नुहुन्थ्यो । कहिलेकाहीँ एक हात चेस खेल्न त्यहाँ भ्लादीमिर इल्यीच पनि आउने गर्नुहुन्थ्यो । कहिलेकाहीँ म र मरिया इल्यीनिच्ना (४) सँगै बसेर त्यहाँ एक दुई घण्टा बिताउँथ्यौँ ।
मरिया इल्यीनिच्ना उल्यानोभा १९०४ को सेप्टेम्बरको अन्त वा अक्टोबरको सुरुमा जेलबाट छुट्नेबित्तिकै जेनेभामा आएकी थिइन् । राम्रोसँग परिचय नहुँदै हामीबीच गहिरो मित्रता गाँसियो । हाम्रो मित्रता आजीवन रह्यो । १९०५ मा म उनीसँग पिटर्सवर्गमा क्रान्तिकारी कामको सिलसिलामा प्रायजसो भेट्थेँ । अक्टोबर क्रान्तिपछि सोभियत सरकार मस्कोमा आयो । तब मरिया इल्यीनिच्ना भ्लादीमिर इल्यीचसँगै बस्न लागिन् । उनले भ्लादीमिर इल्यीचलाई असीम स्नेह गर्थिन् र उनीहरूमा अगाध मित्रता थियो । तिनताका हामी दैनिकजसो भेट्थ्यौँ । मरिया इल्यीनिच्नाले आफूलाई भ्लादीमिर इल्यीचले कति राम्रो हेरविचार गर्नुहुन्थ्यो भनी बताउँथिन् । पानी परेको दिन उनलाई रबरको जुत्ताबिना बाहिर जान दिनुहुन्नथ्यो । उनको मुहारमा थकान देखिएमा उहाँले मायालु पाराले सोध्नुहुन्थ्यो– गलेकी त छैनौ ? शरद्को एक दिन क्रेमलिनको मैदानमा टहल्दै गर्दा भ्लादीमिर इल्यीच र मरिया इल्यीनिच्ना एकसाथ भेटिए । मरिया इल्यीनिच्ना र म बरफका गोला बनाएर एकअर्कालाई हान्ने खेल खेल्न थाल्यौँ । मेरा गोलाहरूले मरिया इल्यीनिच्नाको कोटको कलर नभरिँदासम्म हामी हाँस्न र खेल्न थाल्यौँ । भ्लादीमिर इल्यीच त्यसैबेला उनीछेउ आउनुभयो र बरफ पग्लेर शरीरमा नबगोस् भनेर सबै बरफ टक्टकाइदिनुभयो । भ्लादीमिर इल्यीच बिरामी हुँदा मरिया र क्रुप्सकायाले उहाँको दिनरात हेरचाह गर्थे । उनीहरू अन्तिम साससम्म उहाँको छेउमै बसे ।
मरिया इल्यीनिच्ना पेशेवर क्रान्तिकारी थिइन् । पार्टीप्रति उनको असीम निष्ठा थियो । उनले आफ्नो सारा जीवन र शक्ति क्रान्तिकारी कामहरूमा समर्पित गरेकी थिइन् । १९३७ को जून महिनाको सुरुमा उनी एक्कासि बिरामी भइन् र फेरि कहिल्यै होशमा आइनन् । त्यसै महिना १३ गतेका दिन उनको मृत्यु भयो ।
मरिया इल्यीच्ना र म प्रायजसो जेनेभा नजिकैको गाउँमा साइकल चलाउँदै जान्थ्यौँ । कहिलेकाहीँ भ्लादीमिर इल्यीचले पनि हामीलाई साथ दिनुहुन्थ्यो । एक दिन साँझ हामी तीनजना नगरको सबैभन्दा अग्लो भागबाट दुवैतर्फ स–साना खोल्सा भएको गोरेटो हुँदै गाउँतर्फ गइरहेका थियौँ । भ्लादीमिर इल्यीच सबैभन्दा अगाडि हुनुहुन्थ्यो । म उहाँको पछाडि थिएँ । मरिया इल्यीनिच्ना सबैभन्दा पछाडि थिइन् । बाटो अलि ओरालो थियो । मैले भर्खर–भर्खर साइकल चलाउन सिकेकी थिएँ । साइकलको पछिल्लो पाङ्ग्रामा ब्रेक हुन्छ भन्ने पनि मलाई थाहा थिएन । अघिल्लो पाङ्ग्राको ब्रेकले काम गर्न छाड्यो । फलस्वरूप मेरो साइकलको गति तेज भयो र भ्लादीमिर इल्यीचको साइकलको नजिकै पुग्दा म लाचार भएँ । आत्तिएर मैले मेरो साइकल हजुरको साइकलसँग ठोक्किँदै छ भनेँ । उहाँले पछाडि हेर्नुभयो, त्यसपछि सम्भावित खतरालाई कम गर्न आफ्नो साइकललाई खोल्सोतर्फ मोड्नुभयो । उहाँ साइकल ढल्न नपाउँदै त्यसबाट हामफाल्नुभयो । उहाँलाई त केही भएन तर उहाँको साइकल खोल्सामा ठोक्कियो र त्यसको हेन्डल फेरि चलाउन नसकिने गरी बाङ्गियो । भ्लादीमिर इल्यीचले न त रिसाएर मलाई केही भन्नुभयो न त दोष नै दिनुभयो । मैले आफ्नो मानसिक सन्तुलन किन गुमाएँ, उहाँले भन्दा पहिले मैले नै किन आफ्नो साइकल गुल्टाइनँ भन्ने सोचेर मलाई आफैसँग रिस उठ्यो । मेरो बहादुरीमा हाँस्दै र ठट्टा गर्दै उहाँले हामीलाई नजिकैको एउटा गिर्जाघरबाहिर राखिएको बेन्चसम्म लग्नुभयो । गिर्जाघरबाट हार्मोनियमको आवाज आइरहेको थियो । त्यहाँ हामी गीत सुन्दै केहीबेरसम्म बस्यौँ र पैदल नगरतर्फ फर्कियौँ ।
साइकलमा नगरबाहिर जान लेनिनलाई औधी मनपथ्र्यो । साधारणतः यस्तो घुमफिरमा उहाँ आफ्नी पत्नीसँग निस्किनुहुन्थ्यो । यसबाट उहाँलाई कमसेकम मेन्शेभिकहरूसँगको खस्किएको सम्बन्धले गर्दा उब्जेको कठोर र सकसपूर्ण वातावरणबाट छोटो समयलाई भए पनि छुटकारा मिल्थ्यो ।
पा.नि. लेपेन्शिन्स्कीका सुप्रसिद्ध व्यङ्ग्यचित्रहरूले केही समयको लागि मानसिक तनावबाट छुटकारा दिलाउन सघाउँथे । मेन्शेभिक अखबार ‘इस्क्रा’ (५) को जूनको अड्ढमा मार्तोभको एउटा लेख प्रकाशित भयो । त्यसको शीर्षक थियो ‘अगाडि वा पछाडि’ ? यो लेख लेनिनको पुस्तक ‘एक कदम अगाडि दुई कदम पछाडि’ लाई लक्षित गरी लेखिएको थियो । लेनिन एउटा राजनीतिक लास हुन् भनी मार्तोभले त्यस लेखमा घोषणा गरेका थिए । त्यसको उपशीर्षक ‘अन्त्येष्टि–भाषणको सट्टा’ राखिएको थियो । लेपेशिन्स्कीले तुरून्त एउटा व्यङ्ग्यचित्र बनाएर जवाफ दिनुभयो । त्यसको शीर्षक थियो – ‘मुसाहरूले बिरालोलाई कसरी गाडे’ ? यो उहाँको सर्वश्रेष्ठ कृतिमध्ये एक थियो । त्यसमा मुसाहरूको अनुहार प्रमुख मेन्शेभिक नेताहरू – मार्तोभ, दान, पोत्रेसोभ आदिका अनुहारसँग मिल्दोजुल्दो बनाइएको थियो । व्यङ्ग्यचित्रको साथमा जुन मूल पाठ दिइएको थियो, त्यो रुसी कवि जुकोभ्स्कीको कहानी ‘मुसा र भ्यागुताहरूको युद्ध’ को सारांशबाट लिएको थियो । त्यस व्यग्यङ्चित्रलाई जेनेभाभरि हातहातै घुमाइयो । मानिसहरूले मूल पाठका पङ्क्तिहरूलाई बारम्बार दोहो¥याउँदै घोके । त्यसले बोल्शेभिकहरूलाई हँसाउँथ्यो र मेन्शेभिकहरूलाई मुर्मुरिने गरी रिसाउन हाल्थ्यो । त्यस व्यङ्ग्यचित्रले मेन्शेभिकहरूलाई खिल्ली उडाइरहेको थियो । त्यस घातक हतियारसामु मेन्शेभिकहरू लाचार थिए ।
टिप्पणीहरू ः
१) पान्तेलेइमोन तथा ओल्गा लेपेशिन्स्की – पुराना बोल्शेभिक दम्पती । उनीहरू १९०३–१९०५) मा प्रवासी बोल्शेभिकहरूको जेनेभा दलमा काम गर्थे ।
२) द.इ. पिसारेभ (१८४०–१८६८) – प्रमुख रुसी क्रान्तिकारी जनवादी, भौतिकवादी दार्शनिक, समसामयिक विषयका लेखक र साहित्य समालोचक ।
३) बेस्तुजेभ–पाठ – प्रगतिशील बुद्धिजीवीहरूको एक समूहले पिटर्सबर्गमा १८७८ मा स्त्रीहरूका निम्ति स्थापित एउटा उच्च शिक्षण संस्थान । त्यसमा साहित्य र इतिहास तथा भौतिक र गणितका दुइटा विभाग थिए ।
४) मरिया इल्यीनिच्ना उल्यानोभा बोल्शेभिक पार्टीकी पुरानी सदस्यमध्ये एक थिइन् । पेसाले पत्रकार । भ्लादीमिर इल्यीचकी बहिनी ।
५) दोस्रो अधिवेशनमा पार्टीभित्र फुट उत्पन्न भएको कारणले त्यो बोल्शेभिकहरू र मेन्शेभिकहरूमा बाँडियो । यसपछि ‘इस्क्रा’ (लेनिनद्वारा संस्थापित र सञ्चालित, क्रान्तिकारी माक्र्सवादीहरूको पहिलो अखिल रुसी गैरकानुनी अखबार) माथि मेन्शेभिकहरूले कब्जा गरे र ५२ औँ अड्ढ (१९ अक्टोबर) देखि त्यो उनीहरूको मुखपत्र बन्यो ।
अनुवाद ः आरम्भ

Leave a Reply

Your email address will not be published. Required fields are marked *