भर्खरै :

‘मुसा मानुष’ भित्रको मित्रता

हिजोआज पुस्तकप्रेमीहरूबीच चर्चामा रहेको पुस्तक हो–मुसा मानुष । सामाजिक सञ्जाल होस् या साथीहरू भेटघाट हुँदा होस्, पुस्तकप्रेमीहरू ‘मुसा मानुष’ पुस्तक पढ्नुभयो भनेर सोध्ने गर्छन् । ‘मुसा मानुष’ नाम सुन्दा पनि केही फरकपनको आभास दिलाउने यो पुस्तक आखिर कस्तो रहेछ त भनी म किन्ने सोचमा थिएँ । त्यही बेला एकजना साथीले उक्त पुस्तक सम्झनास्वरुप दिए । हुन त म उति पुस्तक नपढ्ने मान्छे । उही मित्रले दिएको ‘फिरफिरे’ उपन्यास पढेपछि कथा, उपन्यास पढ्नेतिर मेरो झुकाव बढेको हो । आफुले पढ्न चाहेको पुस्तक साथीले दिएपछि मलाई अरू के चाहियो र ? ‘के खोज्छस् कानो, आँखो’ भनेजस्तै भयो ।
‘मुसा मानुष’ पुस्तकका लेखक जोन स्टेनबेक हुन् । पुस्तकको अङ्ग्रेजी नाम ‘अफ् माइस एन्ड मेन’ हो । यसलाई नेपालीमा लेखक गणेश पौडेलले अनुवाद गरेका हुन् ।
बुक हिलबाट प्रकाशित पुस्तक हिजोआज सर्वाधिक रुचाइएका पुस्तकहरूमध्ये पर्दछ । पुस्तकमा अनुवादकले संवादमा नेपालको पश्चिमाञ्चल क्षेत्रको बोलीचालीको लवज प्रयोग गरेका छन् । यो नै पुस्तकको मुख्य विशेषता हो ।
उपन्यासका सबै पात्रहरूको आ–आफ्नै महत्व छ । अहिलेको व्यस्त समयमा वा भनौं आफ्नोबारेमा मात्र सोच्ने, आफ्नोमात्र स्वार्थ हेर्ने समाजमा यस्तो मित्र पनि हुनेरहेछ भन्ने कुरा हामीले यस पुस्तकबाट थाहा पाउँछौँ । उपन्यासका मुख्य पात्र लेनिन स्मल र जर्ज मिल्टनलाई देखाइए तापनि साधारण भूमिकामा आउने बुढो क्यान्डी, साहुका छोरा कर्ली, कर्लीकी श्रीमती, क्रुक्स, स्लिम, काल्सर्नमात्रै नभई फारामको साहु आदि पात्रहरू पनि प्रभावशाली छन् ।
‘¥यान्च’ भनिने अमेरिकी कृषि फाराममा काम गर्न लेनिन र जर्ज दुई साथीहरू जान्छन् । उनीहरू आफ्नै घर–खेत जोड्ने सपना बोकेर काम गर्न गएका हुन् । लेनिन शरीरले वयस्क भए पनि बुद्धिले भने अपरिपक्व छन् । उनी आफ्नो जिन्दगीमा जर्जबाहेक अरू कसैको विश्वास गर्नसक्दैनन् । आफूले जस्तो गल्ती गरे पनि जर्ज सधँै साथमा हुने विश्वास उनमा छ । सानो कदकाँठीको भए पनि बुद्धिमा चतुर रहेका जर्ज मिल्टनले नै लेनिनलाई पहिले काम गरेको ठाउँमा गरेको गल्तीबाट बचाउन रातारात भगाएबाट मिल्टन चतुर भएको हामी थाहा पाउन सक्दछौँ ।
उपन्यासका पात्रहरूको नाम सजिलै भुल्न सकिँदैन । चाहे मेसिनले हात खाएको बुढो क्यान्डी नै किन नहोस्, सधैँ झगडा गर्न चाहने र आफ्नो श्रीमतीलाई खोजिहिँड्ने साहुपुत्र कर्ली, आफ्नो कुरा सुनिदिने वा आफ्नो इच्छाअनुसारको जीवन बाँच्न चाहने कर्लीकी श्रीमती, आफूलाई राजकुमार मान्ने स्लिम, बुढो र रोगी कुकुरालाई गोली हानी हत्या गर्ने काल्र्सन, सधैँ आफू कालो जातिको भएको कारण पछाडि रहेको मान्ने क्रुक्समात्र नभई एकपटक मात्र प्रसङ्गमा आउने कृषि फार्मको साहुमात्र नभई लेनिनकी काकी क्लारा आदि पात्रहरूले उपन्यासको बुनोट सुन्दर बनाएको छ ।
उपन्यासको मुल सन्देश नै मित्रताको अटुट सम्बन्ध हो । सधैँ सँगै हिँड्ने र केही काम बिगारेमा सुधार्ने जर्ज र लेनिनबीचको प्रगाढ मित्रताको नालीबेली र वियोगान्त नै यो उपन्यासको आशय हो ।
शरीरले वयस्क भए पनि बुद्धिले बालक लेनिनलाई आफ्नो अजङ्गको शरीरमा भएको तागत र त्यसले अरूलाई पार्नसक्ने क्षतिको रत्तिभर आभास हुँदैन । पूर्णरुपले मानसिक विकास नभएको लेनिनको अभिभाकको रूपमा र निश्चल प्रेम देखाएका जर्जबाट हामीले उनीहरूको मित्रताको गहिराइ बुझ्न सक्दछौँ । जहाँ मानिसहरूलाई आफ्नो बारेमा सोच्ने फुर्सद छैन त्यहाँ एक साथी यसरी आफ्नो अर्को साथी (जो शरीरले बलियो र बुद्धिले बालक)लाई लिएर कामको खोजीमा हिँडिरहेको हुन्छ । एउटा आफ्नै घर, जग्गाजमिन, गाईवस्तु र साथीको इच्छाअनुरुप खरायो पाल्ने सपना बुनिरहेको हुन्छ । साझा सपना पूरा गर्न उनीहरू फार्ममा काम गरिरहेका हुन्छन् ।
फार्ममा काम गरेसँगै उनीहरूको साझा सपनामा जोडिन आएका अन्य कामदार र सपना प्राप्तिको सङ्घर्षमा असंलग्न तर अप्ठ्यारो बनेर उभिएका अनेकन चरित्रहरूको चित्रणले पनि यो उपन्यासलाई थप गतिशील बनाएको छ । उनीहरूको साझा सपनामा जोडिन आएको एउटा हात मेसिनले खाएको बुढो क्यान्डी र कालो जातिको भनी सबैबाट अपहेलित क्रुक्स हुन् । जो आफ्नो उमेर बढेसँगै कामबाट निकालिने डर र जिन्दगीमा के गर्ने भन्ने चिन्ता बोकेर हिंडिरहेको हुन्छ । लावारिसजस्तो भएर मर्न नपरोस् भनी उनीहरू लेनिन र जर्जका साझा सपनामा गाँसिन आइपुगेका हुन् ।
उपन्यास ६ अध्यायमा बाँडिएको छ । मितेरीबाट सुरु भएको उपन्यास अन्तिम अध्यायमा मित्रताको लागि दिइने बलिदानमा पुगेर टुङ्गिन्छ । यो उपन्यासको कठिन प्रसङ्ग हो । जहाँ कर्लीकी श्रीमतीको भूलवश भएको हत्यापछि डराएको लेनिन आफ्नो साथी जर्जले पहिले भनेको ठाउँ (कुनै गल्ती गरिस् भने यही झाडीमा आएर मलाई पर्खेर बस्नु भनी जर्जले भनेको ठाउँ)मा लुक्न गयो । अरूले साथ नदिए पनि जर्जले उसलाई बुझ्नेछ भन्ने विश्वासका साथ लुकेर कुरिरहेका लेनिनलाई जर्ज आफैले मारिदिन्छन् । यो वियोगान्तको पीडाले पाठकको मनमा पनि अमिलो अनुभुति गराउँछ ।
यो उपन्यासले घटना र संवादकै माध्यमबाट पात्रहरूको बनोट र त्यस परिवेशको दृश्य हाम्रो मनमा चित्रण गर्न सफल छ । उपन्यासमा ‘वस्तुपरक कथावाचन’ शैलीको प्रयोग गरिएको छ । यसकारणले गर्दा यस उपन्यासका हरेक पात्र हाम्रो मस्तिष्कमा गहिरो छापसहित स्थापित हुन्छन् ।
 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *