भर्खरै :

भारतीय गणतन्त्र र लालकिल्लाको घटना

भारतको ७२ औँ गणतन्त्र दिवसको अवसरमा राजधानी दिल्लीमा आयोजित एक समारोहमा भारत सरकारले छिमेकी देशहरूलाई आफ्नो सैनिक शक्तिको प्रदर्शन गरेको देखियो । विभिन्न किसिमका दूरमारक यन्त्र, टैङ्क र बमवर्षक विमानहरूसाथ आफ्नो सैन्य शक्ति देखाएर पाकिस्तान, श्रीलङ्का, मालदिभ्स, बङ्गलादेश, भुटान र नेपाललाई ‘खबरदारी’ को सन्देश दिएको अड्कल केही नेपाली बुद्धिजीवीहरूको माझमा सुनियो ।
त्यो सैन्य प्रदर्शनबाट छिमेकीलाई मात्र नभई संसारकै ठूल्ठूला देशहरूलाई पनि ‘खबरदारी’ गर्न खोजेको भनी कसै–कसैले अड्कल काटे । त्यस्तो अड्कलको जवाफमा भारतको त्यस शक्ति प्रदर्शनले संरा अमेरिका, बेलायत, फ्रान्स, जापान, रुस र केही अफ्रिकी एवम् ल्याटिन अमेरिकी देशहरूको निम्ति के असर पर्ला र भन्ने कुरा पनि सुनियो ।
त्यसबाट प्रजग कोरिया, चीन, भियतनाम आदि पूर्वी एसियाली देशहरूलाई पनि केही असर पर्ने होइन किनभने प्रजग कोरिया सैन्य शक्तिमा धेरै अगाडि छ । भारतसँग पश्चिमी देशहरूमा बनेका बमवर्षक विमान र क्षेप्यास्त्रहरू धेरै छन् । अरूसँग ऋण लिएर ‘फुपूको श्राद्ध गर्नु’ र ‘अरूसँग हतियार किनेर वा मागेर आफू बलशाली भएको सम्झनु’ उस्तैउस्तै हो । कोरिया युद्ध (सन् १९५०–१९५३) मा विदेशबाट समयमै हात–हतियार आइनपुग्दा देश आजसम्म दुई टुक्रामा विभाजित छ । संरा अमेरिका र बेलायतजस्ता साम्राज्यवादी शक्तिहरूले आफूलाई नाफा एवम् फाइदा नभए एउटा सियो पनि नदिने यथार्थले मानव इतिहास भरिएको छ । त्यतिमात्रै होइन ‘अरूको भूमि पनि तिम्रै हो भनी नक्सा देखाएर’ छिमेकीहरू भिडाउनु त बेलायतको ‘धर्म’ हो । भारत–चीन सीमा विवादको यथार्थ पनि यही हो ।
ठूलो भूभाग देखाएर भारत र चीनको सीमा भिडन्तबाट बेलायती र अमेरिकी साम्राज्यवादले महँगो हतियार बेच्दै, सस्तो तेल किन्दै मध्यपूर्वदेखि दक्षिण–पूर्वी एसियासम्मकै एसियाली देशहरूमा युद्धको बिउ छरेको ७० वर्ष भयो ।
चीनमा थाइवान, हङकङ र तिब्बतको पृथकताको भावना छरिँदै छ, दक्षिण र उत्तर भियतनामको समस्या भियतनामी जनताले नै टुङ्ग्याए भने कोरियालीलाई कोरियालीसँगै लडाइँदै छ । दोस्रो विश्वयुद्धपछि जापानसँग फिलिपाइन्स, इन्डोनेसिया, कम्बोडिया, अन्य टापु देशहरूको मनमुटाव बढाइँदै छ । बेलायत र अमेरिकी साम्राज्यवाद पुनः आफ्नो उपनिवेश फर्काउन चाहन्छन् । यसको निम्ति तिनीहरू भारतको काँधमा बन्दुक राखेर एसियालाई रगताम्य युद्धमा मुछ्न चाहन्छन् ।
भारतीय जनताको इतिहास साम्राज्यवादविरोधी रहिआएको छ यसकारण साम्राज्यवादीहरूको सहयोगमा एसियामा ठूला वा साना देशहरूसँग सीमा झगडा गर्नु वा पूर्वी पाकिस्तान, सिक्किम, श्रीलङ्का, नेपाल र काश्मीरको काण्ड थोपर्नु निश्चय पनि शान्तिको पक्षमा हुनेछैन ।
भारतका आधा जनता गरिबीको रेखामुनि छन्, दलित एवम् धर्मको विवाद (मुसलमान, सिख, बौद्ध, जैन, क्रिश्चियन आदि) झिकेर जनतालाई दबाउनु निश्चय पनि फासीवादी चरित्र हो । शाहीनवागमा भएको महिलाहरूको धर्ना र हालैको दिल्लीको किसान आन्दोलन एवम् अनसनले भारतीय जनता पार्टीको सरकार अल्पसङ्ख्यक धर्म, जात, संस्कृति र भाषा–भाषीलाई दबाउन चाहन्छ भन्ने प्रस्ट अनुभव भारतीय बुद्धिजीवीहरू गर्दै छन् ।
आफ्नो माग राखेर दिल्लीमा प्रदर्शन गर्न किसानलाई सहमतिविपरीत रोक लगाएको हुनाले र दमन गरेको हुँदा ‘लाल किल्ला’ को घटना भएको बताइन्छ । झ्याल–ढोका थुनेर बिरालोलाई तह लगाउन खोजेजस्तै चारैतिर घेरेर किसान आन्दोलन दबाउन खोज्दाको परिणाम ‘लाल किल्ला’ को घटना भएको भारतीय तटस्थ जनताको निष्कर्ष छ । आन्दोलन र सङ्घर्ष ‘टुक्रा टुक्रा डफ्फा’, ‘देशद्रोही’, ‘विश्वासघाती’ जस्ता आरोपले किसान जनतामा आक्रोश थपेको देखियो भन्ने बताइन्छ । आशा गरौँ – ‘भारतीय किसान जनताको माग पूरा हुनेछ !’ सङ्घर्ष मात्रै एउटा नारा हो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *