के मन्त्री भ्रष्टाचारको पर्याय हो ?
- चैत्र ३०, २०८२
प्रिय सम्पादकज्यू,
मजदुर दैनिक, भक्तपुर ।
तपाइँको ‘मजदुर’ दैनिकले नेपालका अन्य समाचारपत्रहरू र पत्र–पत्रिकाहरूले नदिने अन्तर्राष्ट्रिय समाचारहरू र जानकारीहरू छापेर नेपाली पाठकहरूलाई लाभान्वित गर्ने काम गर्दै आउनुभएकोमा धन्यवाद छ । जस्तै आजको ३० वैशाख २०८१ को ‘मजदुर’ मा ‘किन अमेरिकी युवाहरू गाजाको साथमा खडा छन् ?’ ‘युरोपेली देश स्वीडेनको माल्मो सहरमा गाजामा इजराइलद्वारा भइरहेको हमला र नरसंहार बन्द हुनुपर्ने माग गर्दै प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरू विरोध प्रदर्शन गर्दै गरेको’ ११ मई २०२४ अर्थात् २९ वैशाख २०८१ शनिबारको फोटो सहितको समाचार छाप्यो ।
त्यस्तै २९ वैशाख २०८१ को ‘मजदुर’ले ९ मई २०२४ अर्थात् २७ वैशाख २०८१ को दिन मेक्सिकोको मेक्सिको सिटीमा मेक्सिको र इजराइल बिचमा शैक्षिक, राजनैतिक र आर्थिक सम्बन्ध तोड्न माग गर्दै प्यालेस्टाइनका जनतासँग ऐक्यबद्धता व्यक्त गर्दै अन्तर्राष्ट्रिय विश्वविद्यालय र लोकप्रिय सभाका कार्यकर्ताहरू र विश्वविद्यालय र माध्यामिक विद्यालयमा विद्यार्थीहरू गाजामा इजराइलको आक्रमण र नरसंहारको विरोध गर्न शिविरको हिस्साको रूपमा मेक्सिकोको स्वायत्त विश्वविद्यालयको रेक्टरी भवन अगाडि मार्च गर्दै’ गरेको तस्बिरसहित समाचार छापेको थियो ।
२८ वैशाख २०८१ को ‘मजदुर’ मा ल्याटिन अमेरिका वा दक्षिण अमेरिकी देश अर्जेन्टिनाको राजधानी ब्यूनर्सआयर्समा राष्ट्रपति मिलेइले ल्याएको पेन्सन कटौतीलगायत समाज कल्याण बजेट कटौतीसहितको आर्थिक कार्यक्रमको विरोधमा प्रदर्शन गर्दै सेवानिवृत्त कर्मचारीहरूको मई २०२४ को अर्थात् २६ वैशाख २०८१ को समाचारलाई तस्बिरसहित छापेको थियो ।
नेपालमा ठुला–बडा कर्मचारी, उद्योगपति–व्यापारी र शाषक दलका नेताहरूसँग सम्बन्धित व्यक्तिहरूले अत्याधिक मात्रामा भ्रष्टाचार गरेको नेपाल सरकारले पनि पेन्सन मात्र होइन सेना, प्रहरी, कर्मचारी र शिक्षकहरूको समेत तलबमा कटौती गर्न सक्ने सम्भावना बढ्दै छ । यसकारण, सरकारले अपराधी र भ्रष्टाचारीहरूलाई जेल सजाय मात्र होइन तिनीहरूमा घर–जग्गा र आर्जन गरेका सबै सम्पत्ति जफत हुने ऐन कानुनमा सुधारको आवश्यकता छ । उद्योगपति र व्यापारीहरू र भन्सारका कर्मचारी मिलेर ठुलो भ्रष्टाचार गरेको कारण पनि सरकारको आम्दानी घटेर देशमा आर्थिक मन्दीले ठुलो आर्थिक सङ्कट ल्याउने निश्चित छ ।
‘मजदुर’ दैनिकले नेपालकै समाचारपत्र र पत्र–पत्रिकाहरूले छापेका राम्रा र महत्वपूर्ण समाचारहरू पनि साभार गर्दा पाठकहरू लावान्वित हुने विश्वास छ । उदाहरणको निम्ति तलका केही उदाहरण लिऔँ ।
१. ‘भिटामिनको नाममा आर्थिक शोषण’ भन्ने शीर्षकमा प्रा.डा. ढुण्डिराज पौडेलको ‘इजलास’ स्तम्भको सो जानकारी हाम्रा पाठकहरूको निम्ति जानकारीमूलक हुन्छ । अन्नपूर्ण पोष्ट–३० वैशाख, २०८१ ।
२. ३० वैशाख २०८१ को ‘नेपाल समाचार’ले पाँचौं पृष्ठमा रामेछाप जिल्लाको ‘वनमा आगो लगाउने पक्राउ’ शीर्षकको एक समाचार छाप्यो ।
रामेछापको वन डिभिजन कार्यालयको रिपोर्ट अनुसार ४ हजार ५ सय हेक्टर वन सखाप पार्नेहरू रामेछाप नगरपालिका–१, गोठगाउँका २५ वर्षीय सुभाष महत र लिखु तामाकोशी गाउँपालिका–३, का २३ वर्षीय अशोक महत पक्राउ परेका छन् ।
यो अपराध वनको ठाउँमा नयाँ बस्ती बनाउने घर–जग्गाका व्यापारीहरूले अपराध हो वा कुनै राजनैतिक दल वा संस्थासमेत यसमा संलग्नहरू गम्भीर रूपले छानबिन गर्नुपर्ने विषय हो । यो सामान्य जुत्ता चोर र मोटरसाइकल चोर नभई देश विरोधी कार्य हो । देशभर यसको गिरोहहरू (अपराधी ग्याङ्ग) बारे छानबिन र क्षतिपूर्ति भराउने ऐन नियम आवश्यक छ ।
३. ३० वैशाख, २०८१ को ‘राजधानी’ दैनिकले लेखेको, ‘सेतो बाकसमा सपना बोकेकी महिला’ समाचार अनुसार हरेकदिन विदेशबाट लास भित्रिन्छ, तर लासको राम्ररी प्रशिक्षण र छानबिन हुँदैन । दोस्रो विषय हो, ती श्रमिकहरूको पेन्सनको र घाइते हुँदाका सबै खर्च तत् तत् म्यानपावर कम्पनीले व्यहोर्ने गर्ने ऐन नियम बनाउनेमा सरकारको ध्यान जानु जरूरी छ ।
मिति ३० वैशाख, २०८१, भक्तपुर ।
Leave a Reply