भर्खरै :

तिब्बतमा सरदर आयुको नयाँ रेकर्ड

तिब्बतको आधिकारिक स्रोतले जनवरी २० तारिखमा जनाएअनुसार, सन् २०२० मा हिमालयको उत्तरी भागमा पर्ने चीनको तिब्बतमा सरदर आयु ७१.१ पुगेको छ जुन सन् १९५१ मा तिब्बतको शान्ति मुक्तिको समयको तुलनामा लगभग दुई गुणाले वृद्धि भएको छ ।
सरदर आयुको वृद्धिले एक मुलुक, जनजाति वा क्षेत्रको आर्थिक विकास स्तर तथा चिकित्सा सेवाको स्तरलाई प्रकाश पार्छ । छिङहाइ–तिब्बत पठारभूमिमा अवस्थित तिब्बतको औसत उचाइ समुद्र सतहदेखि ४००० मिटरभन्दा बढी छ । त्यहाँको प्राकृतिक वातावरण प्रतिकुल र जाडो ठाउँमा अक्सिजनको कमी हुने भएकोले आधुनिक चिकित्साको विकास मन्द छ । सन् १९५१ मा तिब्बतमा सरदर आयु ३५.५ वर्षको मात्रै थियो ।
बितेका लगभग ७० वर्षमा तिब्बतमा चिकित्सा तथा स्वास्थ्य क्षेत्रमा फड्को मार्ने विकास भइरहेको छ जसबाट तिब्बतको सरदर आयुको नयाँ रेकर्ड सिर्जनाको लागि बलियो समर्थन दिइरहेको छ ।
प्राप्त सबैभन्दा पछिल्लो तथ्याङ्कअनुसार, तिब्बतमा गर्भवती महिला तथा बाल मृत्यु दर बाह्रौँ पञ्चवर्षीय योजनाको अवधि (सन् २०११–२०१५)को अन्तसम्मको दाँजोमा ५० प्रतिशतले घटेको छ । चिकित्सक र सम्बद्ध प्राविधिज्ञको सङ्ख्या सन् २०११–२०१५ को अन्तसम्मको दाँजोमा ४८.२ प्रतिशतले बढेको छ । हरेक १००० जना बिरामीको लागि खाटको सङ्ख्यामा ४.५ देखि ४.९ प्रतिशतसम्म वृद्धि भएको छ । यसै अवधिमा जम्मा गरी ४०० किसिमका गम्भीर रोगको उपचार तिब्बतमै पाउन थालिसकेको छ ।
वास्तवमा तिब्बतमा चिकित्सा क्षेत्रको टड्कारो प्रगति चीनको केन्द्रीय सरकार तथा विभिन्न ठाउँका फरक फरक जनजातिको समर्थन तथा सहयोगसँग घनिष्ट सम्बन्ध छ ।
सन् २०१५ को अगष्ट महिनामा आयोजित छैठौँ तिब्बत कार्य गोष्ठीपछि चीनका विभिन्न ठाउँबाट चिकित्सा विशेषज्ञहरूलाई तिब्बतमा पठाउन थालिएको थियो । ती विशेषज्ञहरूले तिब्बतमा दक्ष स्थानीय चिकित्सक तथा स्वास्थ्यकर्मीको विकासका लागि ठूलो योगदान र समर्थन दिइरहेका छन् । हालसम्म जम्मा गरी ८४१ जना चिकित्सा विशेषज्ञले तिब्बत गएर योगदान दिइसकेका छन् । हिजोआज ‘हाइडेटिड’ रोग, काशीन बेक रोग, जन्मजात मुटुको रोग तथा मोती बिन्दु रोगलगायत भूअवस्थाअनुसार तिब्बतीहरूलाई लाग्ने रोगहरूको नियन्त्रण गरिसकेको छ ।
सन् २०२० को अगष्ट २८–२९मा आयोजित सातौँ तिब्बत कार्य गोष्ठीमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पुष्टि गर्नुभयोः केन्द्रीय सरकार तथा चीनका विभिन्न ठाउँले तिब्बतको समर्थन तथा सहयोगमा निरन्तरता दिँदै जानेछ । सबै क्षेत्रको साझा प्रयासमा तिब्बतको चिकित्सा क्षेत्रमा अझ ठूलो प्रगति हासिल हुनेछ । तिब्बतमा बसोबास गर्नेहरूको जीवनस्तर पनि ठूलो परिधिमा उकासिँदै जाने छ । तिब्बतको निरन्तर प्रगति तथा विकासबाट नेपाललगायत चीनका छिमेकी मुलुक लाभान्वित हुनेमा कुनै शङ्का छैन ।
(सीआरआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *