भर्खरै :

आदर्श आजादमा गणित विषयसम्बन्धी कार्यशाला गोष्ठी

आदर्श आजादमा गणित विषयसम्बन्धी कार्यशाला गोष्ठी

भक्तपुर, १ जेठ । गणित केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको आयोजना तथा आदर्श आजाद मावि भिमसेनस्थान भक्तपुरको सहआयोजनामा मङ्गलबार ‘विद्यालय तहमा गणित विषयको शिक्षण, पाठ्यक्रम तथा अध्यापनको वर्तमान अवस्था’ विषयक कार्यशाला गोष्ठी भयो ।
गोष्ठीको पहिलो सत्रको उद्घाटन गर्दै गणित केन्द्रीय विभाग त्रिवि कीर्तिपुरका प्रमुख प्रा.डा. चेतराज भट्टले गणित विषयप्रति नेपाली समाजको धारणामा सकारात्मक परिवर्तन गराउनुपर्ने कुरा औँल्याउनुभयो । उहाँले गणित विषय अध्यापन, शिक्षण सिकाइ क्रियाकलापहरूमा आउने र आएका समस्या समाधान गर्न विभागले कार्यक्रम नै सञ्चालनमा ल्याएको बताउनुभयो ।
विभागका सहप्राध्यापक डा. श्रीराम खड्काले गणित विषय सिकाइमा शिक्षक, विद्यार्थी र अभिभावकको अहम् भूमिका हुने भएकोले गणितलाई जनजीवनमा व्यवहारिकरूपमै प्रयोगमा ल्याउनुपर्ने कुरामा जोड दिनुभयो ।
विद्यालयका प्र.अ.तथा कार्यक्रमका सभापति श्रीकृष्ण किसीले विद्यालय तहबाट नै गणित विषयप्रति रुचि जगाई गणित विषयको जनशक्ति उत्पादन गर्ने उद्देश्यले कार्यशाला गोष्ठी आयोजना गरेको बताउँदै गणितमा दखल भएका नागरिकहरू धेरै भएको देशले विज्ञान तथा प्रविधिमा छिटो विकास गरेको तथ्य बताउनुभयो ।
विद्यालयका सहायक प्र.अ.चक्रबहादुर चाकतुले गणित विषयसम्बन्धी समस्याहरू समाधानमा गणित केन्द्रीय विभागबाट सहकार्य तथा सहयोग हुने अपेक्षा गर्नुभयो ।
गणित तथा विज्ञान अध्यापनरत शिक्षक तथा विद्यार्थीहरू सहभागी सो गोष्ठीमा कार्यक्रम संयोजक डा. विष्णुहरि सुवेदी, प्रा.डा.प्रकाशमुनि बज्राचार्य, डा. पवन श्रेष्ठ र शिक्षक राकेश सुकुपायोले आ–आफ्नो धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *