भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
सांस्कृतिक नगर, जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाले त्रिभुवन विश्वविद्यालयको सहयोगमा इतिहास, संस्कृति र पर्यटनसम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ ।
वैशाख ४ गतेका दिन त्रिविवि इतिहास, संस्कृति विभागका प्रमुख प्रा.डा. सोमप्रसाद खतिवडाको नेतृत्वमा केही प्राध्यापकहरू नगरपालिकामा आउनुभयो । भेटघाटमा उहाँहरूले इतिहास, संस्कृति र पर्यटनसम्बन्धी एकदिने अन्तरक्रिया गर्ने प्रस्ताव राख्नुभयो । कार्यक्रममा भक्तपुरका विषयमा अध्ययन र अनुसन्धानका कार्यपत्रहरू प्रस्तुत गर्ने बताउनुभयो । हामीले त्यसलाई सकारात्मकरूपमा लियौँ । हामीले ३÷४ महिनाको समय लिएर गहन अनुसन्धान पछिमात्रै कार्यक्रम राख्ने सोचले कुराकानी गयौँ । उहाँहरूले भने वैशाख महिनाभित्रै गर्न पाए राम्रो हुने विचार राख्नुभयो । दुवै पक्षको सहमतिमा आजको यो कार्यक्रम सम्भव भएको हो ।
भक्तपुर नगरपालिकाले इतिहास, संस्कृतिसँगै राजनीतिक शास्त्र, भूगोल, नेपालभाषा, अर्थशास्त्र, दर्शन शास्त्रलगायत पढ्ने नगरवासी विद्यार्थीहरूको लागि स्नातकदेखि विद्यावारिधिसम्म पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएको छ । इतिहास संस्कृतिलगायत देशको लागि विभिन्न विषयका विज्ञ जनशक्ति तयार गर्ने उद्देश्यले नगरपालिकाले यस्ता छात्रवृत्तिको व्यवस्था गर्दै आएको हो ।
केही वर्षअघि एउटा दैनिक पत्रिकाले मुख पृष्ठमा एउटा समाचार छाप्यो, “विश्वविद्यालयमा इतिहास र संस्कृति विषयमा प्राध्यापकभन्दा विद्यार्थी कम छन् ।” हाम्रो ध्यान त्यसले तान्यो । नेमकिपाका अध्यक्षले इतिहास, संस्कृति, भूगोलजस्ता विषयमा जनशक्ति तयार गर्न हामीलाई निर्देशन दिनुभएको थियो । त्यही वर्ष भक्तपुर नगरपालिकाले विद्यार्थीहरूलाई छात्रवृत्तिमा पढाउने क्रम सुरु गरेको हो । नगरपालिकाको छात्रवृत्तिमा अहिले विभिन्न विषयमा ८ जनाले एमफील र विद्यावारिधि गरिरहेका छन् भने थुप्रैले स्नातक र स्नातकोत्तर गर्दै छन् ।
छात्रवृत्तिमा अध्ययन गरिरहेकालाई भक्तपुरको कुनै न कुनै विषयमा अध्ययन अनुसन्धानको जिम्मेवारी दिने गरेका छौँ । अहिले पनि २÷३ जना विद्यार्थीहरूले विभिन्न विषयमा अध्ययन अनुसन्धान गर्न निवेदन प्रस्तुत गरेका छन् । त्यसबारे छलफल गरी निर्णय गर्न भने बाँकी छ ।
उहाँहरूले अध्ययन अनुसन्धान गरी तयार गरेका सोधपत्रहरू भक्तपुर नगरपालिकाको मात्रै होइन देशकै सम्पत्ति बन्नेछन् । हामीले त्यसलाई सुरक्षित राख्नेमात्र होइन सम्भव भएसम्म प्रकाशित गरेर जनतालाई जानकारी दिने पनि कोसिस गर्नेछौँ ।
भक्तपुर नगरपालिका देशकै सानो नगरमध्ये एक हो । आकारमा सानो भए पनि ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक महत्व बोकेका मूर्त र अमूर्त सम्पदाहरूको दृष्टिमा भने भक्तपुर देशकै महत्वपूर्ण नगर हो । यहाँ थुप्रै मूर्त तथा अमूर्त सम्पदाहरू छन् । संरक्षणको अभावमा कैयौँ सम्पदाहरू लोप भइसके भने कैयौँ लोपोन्मुख अवस्थामा पुगेका छन् । लोप भइसकेका सम्पदा र संस्कृतिहरूको अध्ययन अनुसन्धान गरी जीवन्तता दिने तथा लोपोन्मुखलाई संरक्षण गरी निरन्तरता दिने कार्य नगरपालिकाले गर्दै आएको छ । सम्पदा र संस्कृतिहरू राज्यको सम्पत्ति भएको हुँदा त्यसको संरक्षण र संवद्र्धन गर्ने कार्य पनि राज्यकै जिम्मेवारी हो भन्नेमा हामी स्पष्ट छौँ ।
२०७२ सालको भूकम्पले भक्तपुरका हजारौँ निजी घरहरूसँगै सयौँ सम्पदाहरूमा क्षतिग्रस्त भयोे । त्यति बेला स्थानीय तहमा जनप्रतिनिधिहरू थिएनन् । २०७४ सालमा हामी निर्वाचित भएपछि सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेर काम सुरु ग¥यौँ । सम्पदा पुनःनिर्माण र जीर्णोद्धारको क्रममा स्थानीय स्रोत, साधन, सीप र जनशक्तिको अधिकतम उपयोगको नीति लियौँ । पहिलो ५ वर्षे कार्यकालमा १२४ वटा सम्पदाहरू पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न ग¥यौँ । ती सम्पदाहरू पुनःनिर्माणमा कुनै पनि विदेशीको सहयोग थिएन । स्थानीय जनतासँग मिलेर आर्थिक सहयोग, श्रमदान जुटाएर काम ग¥यौँ । भक्तपुरका सम्पदाहरू स्थानीय जनताको साथ र सहयोगले उठाउन पाउँदा हामीलाई गर्वको महसुस भइरहेको छ । अझै दर्जनौँ सम्पदाहरू निर्माणाधीन अवस्थामा छन् । वैशाख २४ गते भक्तपुरको ऐतिहासिक थंथु दरबार पुनःनिर्माणको शिलान्यास गर्यौँ । त्यस दरबार निर्माणको लागि पनि नेपाल सरकारबाट कुनै किसिमको सहयोग प्राप्त भएको छैन । नगरपालिकाको आफ्नै स्रोत र साधनहरूको आधारमा उक्त दरबार बनाउन सुरु गरेका छौँ ।
भक्तपुरका थुप्रै सम्पदा र संस्कृतिका विषयहरूकाबारे अध्ययन, अनुसन्धान र उत्खनन गर्न बाँकी छन् । ९९ चोक, जगन्नाथ क्षेत्र, तालादम्फो, टोल–टोलमा रहेका चोकहरू, साँझ्याहरू, ढुङ्गेधारा, पोखरी, पाटी, सत्तल आदि अनुसन्धानका क्षेत्रहरू हुन् । भक्तपुरका विहारहरू, माटाका भाँडा बनाउने सीप र विभिन्न सङ्गीतबारे अध्ययन अनुसन्धान गर्न सके नयाँ नयाँ कुाराहरू पत्ता लाग्ने हाम्रो विश्वास छ ।
केही समयअगाडि दरबार क्षेत्रस्थित विद्यार्थी निकेतन माविमा पानी ट्याङ्की निर्माणको क्रममा पुरानो दरबारको जग भेटियो । त्यसलाई सुरक्षित साथ राखिएको छ । त्यो क्षेत्र अध्ययन अनुसन्धान गर्नुपर्ने क्षेत्र हो । यसरी भक्तपुरमा अध्ययनका विषयहरू धेरै छन् । हामी क्रमशः त्यसलाई अनुसन्धानतर्पm अगाडि बढाउने छौँ ।
भक्तपुर नगरपालिकाले संस्कृति संरक्षणमात्र गरेको छैन, त्यसलाई पर्यटनको विकाससँग पनि जोड्ने प्रयास गरिरहेको छ । अहिले नेपाल आउने पर्यटकहरूमध्ये करिब २५ प्रतिशतले भक्तपुर भ्रमण गर्ने गरेको तथ्याङ्क छ । आ.व. २०८०÷८१ को यो ९ महिनामा २ लाखभन्दा बढीले भक्तपुर भ्रमण गरिसकेका छन् । पर्यटन शुल्कबाट उठेको रकमबाट भनपाले सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, सरसफाइ, विकास निर्माणलगायतको क्षेत्रमा खर्च गरिरहेको छ ।
भनपाले २ वटा इन्जिनियरिङ कलेजसहित ७ वटा शैक्षिक संस्थाहरूमार्पmत उच्च शिक्षा प्रदान गरिरहेको छ । ती शैक्षिक संस्थाहरूमा हाल ७७ जिल्लाका ७ हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् ।
शैक्षिक क्षेत्रको विकासको लागि भनपाले शैक्षिक ऋणको पनि व्यवस्था गरेको छ । हाल करिब ६ सय जना विद्यार्थीहरूले नगरपालिकाबाट रु. ५ लाखका दरले शैक्षिक ऋण लिएर उच्च शिक्षा हासिल गरिरहेका छन् । शिशु स्याहार केन्द्रदेखि स्नातकोत्तर तहसम्म स्थानीय तहले नै शैक्षिक संस्थाहरू सञ्चालन गर्ने भक्तपुर देशकै एकमात्र नगरपालिका हो । विश्वविद्यालय सञ्चालनको लागि पनि हामीले तयारी गरिरहेका छौँ । संसद्मा विचाराधीन ख्वप विश्वविद्यालय विधेयक पारित भएमा हामीले अरु विषयहरूजस्तै चिकित्सा शिक्षा पनि सस्तोमा प्रदान गर्नेछौँ । हामीले नेपाल मजदुर किसान पार्टीको सिद्धान्तलाई व्यवहारमा उतार्ने कोसिस गर्दै छौँ ।
सम्पदा पुनःनिर्माणको काममा विदेशीले सहयोग गर्न नखोजेका भने होइनन् । २०७२ सालपछि नेपाल सरकार र जर्मन सरकारबिच भक्तपुर पुनःनिर्माणको लागि १ अर्ब २० करोड (१ करोड युरो) सहयोग सम्झौता भएको थियो । हामी निर्वाचित भएपछि गम्भीरतापूर्वक सम्झौताका पानाहरू अध्ययन ग¥यौँ । त्यसमा हाम्रो स्वाभिमानमा आँच पुग्ने बुँदाहरू थिए । हामीले त्यसलाई सुधार गर्नुपर्ने तर्क राख्यौँ । उहाँहरू तयार हुनुभएन । त्यसपछि हामीले स्वीकार गरेनौँ । अहिले हाम्रै पौरखले पुनःनिर्माण गरेको भनेर गर्वका साथ संसारलाई देखाउन पाएका छौँ । हामीले आत्मनिर्भरताको बाटो रोजेर अगाडि बढ्ने क्रममा भक्तपुरले आजको सफलता हासिल गरेको हो ।
(भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ वैशाख २४ गते ख्वप इन्जिनियरिङ कलेजमा भएको इतिहास, संस्कृति र पर्यटनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिबाट व्यक्त मन्तव्यको सार सङ्क्षेप)
Leave a Reply