भर्खरै :

सरकारको गैरजिम्मेवारी र उदासिनता उदाङ्गो

कोरोना भाइरसको महामारी नफैलिएको अवस्थामै आवश्यकताभन्दा बढी बन्दमा कडीकडाउ र भाइरसको सङ्क्रमण फैलिन सुरु भएपछि आवतजावतमा सबैतिर खुकुलो गरेको यादै छ । प्रधानमन्त्री केपी ओलीले त कोभिड–१९ केही पनि होइन सामान्य रुघामात्र हो, बेसार पानी खाएपछि चट्टै निको हुन्छ भनी पटक – पटक बोलेकै थिए ।
कोभिड–१९ सङ्क्रमितहरू बढ्दै गएपछि अस्पतालहरूमा सङ्क्रमितको उपचार गर्ने शय्याको अभाव भएको थियो । त्यतिबेला स्वास्थ्य मन्त्रालयका प्रवक्ताले त सङ्क्रमितहरूलाई आफ्नै घरमा एकान्तवासमा बस्न र गम्भीर बिरामी भएर बेहोस हुनथालेपछि अस्पताल जान आग्रह गरेका थिए । त्यस स्थितिलाई विज्ञहरूले सरकारको गैरजिम्मेवारी र जनताको जीवन बचाउनमा उदासिनता भनी आलोचना गरेका थिए ।
नेपाल सरकार, प्रदेश सरकारहरू र स्थानीय तहका सरकारहरूका गैरजिम्मेवारी र उदासिनता अहिले परिणामको रूपमा उदाङ्गो भएको छ । एउटा अध्ययन प्रतिवेदनअनुसार महामारी नियन्त्रणमा दक्षिण एसियाली देशहरूमध्ये नेपालको अवस्था सबैभन्दा नाजुक रहेको देखाएको छ । हुन त पछिल्लो समयमा दक्षिण एसियाली देशहरूमा महामारीको अवस्था स्थिर देखिएको छ भने नेपालको महामारीको अवस्था पनि गत ३ महिनादेखि क्रमिकरूपमा घट्दै आएको छ । यो खुसीको कुरा हो । तर, तथ्याङ्कहरूले नेपालको कोरोना सङ्क्रमण र महामारी नियन्त्रणको अवस्था अन्य दक्षिण एसियाली देशहरूभन्दा नाजुक भएको देखाउँछ । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा हालसम्म २,७०,८५४ जना मानिसलाई कोरोना सङ्क्रमण भइसकेको छ । २०२७ जनाले यसै सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन्  । त्यस अर्थमा नेपालको हालसम्मको समग्र कोरोना मृत्युदर करीब ०.७५५ छ । हालसम्म जम्मा सङ्क्रमितमध्ये १.८५ सङ्क्रमित बाँकी छन् र ९८.२५ सङ्क्रमितहरू सङ्क्रमणमुक्त भइसकेका छन् । हालसम्म नेपालमा २०,६७,६९९ जनाको पीसीआर परीक्षण गरिएको छ भने औसतमा समग्र सङ्क्रमण दर अर्थात् पोजिटिभिटी १३.१५ जति देखिएको छ । केही महिना अगाडिसम्म नेपालको सक्रिय सङ्क्रमण र सङ्क्रमण दर अति उच्च थियो भने हाल यो निकै तल झरेको छ । नेपालमा पीसीआर परीक्षण नै कम भएको कारणले मात्र सङ्क्रमित घटेको हो भन्ने तथ्यलाई बिर्सन मिल्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *