भर्खरै :

भेनेजुयलाद्वारा युरोपेली युनियनका दूतलाई देश निकाला

काराकास, २५ फेब्रुअरी (एएफपी) । भेनेजुयलाले बुधबार युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र भेनेजुयला छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुयलाविरुद्ध प्रतिबन्धको घोषणा गरेलगत्तै युनियनका लागि पोर्चुगलका राजदूतलाई देश छाड्न आदेश दिएको हो ।
भेनेजुयलाका विदेशमन्त्री जोर्ज अरेजाले युनियनका राजदूत इसाबेल ब्रिलहान्ट पेड्रोसालाई देश छाड्ने आदेश दिनु भएको थियो । युरोपेली युनियनका विदेश मन्त्रीहरूको बैठकले ‘लोकतन्त्रको अपमान’ गरेको भन्दै भेनेजुयलाका १९ जना अधिकारीविरुद्ध प्रतिबन्धहरू घोषणा गरेको थियो ।
मन्त्री अरेजाले संवाददाताहरूसँग भन्नुभयो, “आज, राष्ट्रपति निकोलास मदुरोको निर्णय बमोजिम इसाबेल ब्रिलहान्टलाई देश छाड्न ७२ घण्टाको समयावधि राखेर आदेश दिएका छौँ ।”
उता, ब्रसेल्समा युरोपेली युनियनले भेनेजुयलालाई आफ्नो निर्णय फिर्ता गर्न माग गरेको छ । इयूका प्रवक्ता नबिला मासरालीले भेनेजुयलाको निर्णयप्रति खेद व्यक्त गर्दै यस निर्णयले अन्तर्राष्ट्रिय जगतबाट भेनेजुयला थप एक्लिने चेतावनी दिनुभएको छ ।
राष्ट्रपति मदुरोले टेलिभिजनमा सम्बोधन गर्दै युरोपेली राजदूतलाई निष्कासन गर्ने निर्णय अलोकप्रिय र ठीक नदेखिए पनि आफूहरूले बाध्य भएर यस्तो निर्णय गर्नुपरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *