भर्खरै :

फागु भैंसी चराइरहे छन्

तराई क्षेत्रमा भैंसी पाल्ने पेशा भने नौलो होइन । आवश्यक मात्रामा भैंसी चर्नको लागि वन जङ्ल, तालतलैया, ठुलठुला फाँट र खोलाका किनारहरू हुनाले भैंसी चर्न र डुलाउन तराईमा सजिलो हुने गर्दछ । दूध, मासु, खेती गर्न आवश्यक कृषि मलको लागि भैंसी पालिन्छ भने गाडा तान्न, बारी जोत्नको लागि पनि भैंसी राँगाको प्रयोग हुने गर्दथ्यो । तर, आजभोलि चितवनलगायत तराई क्षेत्रमा बिरलै मात्रामा भैंसी चराएको देख्न पाइन्छ । चरण क्षेत्रको अभाव र जोत्न, गाडा तान्नको विकल्पमा नयाँ उपकरणहरू विकास हुनाले मानिसहरूको परम्परागत पेशाहरू अन्यत्र मोडिन पुगेसँगै राङ्गा भैंसी पाल्ने पेशा कम हुन पुगेको हो ।
कालिका नगरपालिका–४ पदमपुरका फागु महत्तो यो उमेरमा पनि भैंसी चराउने पेशालाई निरन्तरता दिरहनुभएको छ । आँखा राम्रोसँग ठम्याउन सक्नु नहुने र शारीरिकरूपमा कमजोर भैसकेका फागु राप्ती नदी पारी रहँदादेखि नै भैंसी चराउने पेशा गर्दै आउनुभएको हो । उहाँले छोरीको दुईवटा र आफ्नो दुईवटा भैंसी चराउनुहुन्छ । साथीहरूसँग मिलेर समूहमा भैंसी चराउँदै आउनुभएको उहाँले आफ्नो उमेरमा बथानका बथान राँगा भैंसी चराएको स्मरण गर्नुहुन्छ । आजभोलि उहाँले गाउँनजिकै रहेको खगेडी खोलाको छेउछाउमा भैंसी चराउनुहुन्छ । राँगा भैंसीबाट हुने आम्दानीले नै उहाँको परिवारमा आईपर्ने आर्थिक समस्या समाधानमा टेवा मिल्दछ ।
सरकारले राप्ती नदि र जङ्गलको बीचमा रहेको पदमपुर बस्ती २०५४ सालमा अहिलेको कालिका नगरपालिकाको पदमपुरमा स्थानान्तरण गरिएको थियो । झन्डै १६ सय घरधूरी रहेको बस्ती नयाँ पदमपुरमा स्थानतरण गर्दा धेरै जग्गा हुनेको लागि सरकारले मिलाएको जग्गा कम हुन पुग्यो । त्यस्तै आफ्नो पहिलेको जग्गा भन्दा कम जग्गा पाएकोमध्ये एक फागु महत्तो पनि हुनुहुन्छ । उहाँको अहिलेको जग्गामा खेती लाउँदा जेनतेन खान पुग्दछ ।
उहाँको नाम फागु पूर्णिमाको दिन जन्मिएकोले फागु रहन गएको हो । आफ्नो उमेर यत्तिनै हो भनेर थाहा नभएको उहाँले नागरिकता बन्दा नेताहरूले गडबडी गरेको बताउनुभयो । राप्ती पारी हुँदा जग्गा जमिन धेरै थियो । लाउन खानलाई समस्या थिएन । बाढी जाने समस्या र जङ्गली जनावरबाट सुरक्षा हुन्छ भनी सरकारले नयाँ पदमपुर सारियो । सरकारले अड्कलेर दिएको जमिनले खान लाउन गा¥हो भएको फागुको गुनासो थियो । भैंसी पाल्नलाई पनि चरण क्षेत्र राम्रो छैन । सामुदायिक वनभित्र चराउन पाइँदैन । समयमा पानी नपर्नाले घाँस झारहरू राम्रोसँग पलाउन पाइएन । यही भैंसी पाल्न पनि गाह्रो भएको उहाँको दुखेसो थियो ।
मध्य दिनको टन्टलापुर घाममा पनि उहाँ छाता ओडेर भएपनी भैंसी चराउनुहुन्छ । राँगा भैंसीलाई लाग्ने भोक तिर्खा मेट्नुनै फागुको आफ्नो भोक तिर्खा मेट्नुसरह रहेको छ । कोरोना रोगबारे त्यति जानकार नभएका उहाँलाई मान्छेहरूको बेइमानीको कारण नयाँ नयाँ रोगहरू आएको उहाँको बुझाइ छ ।
तराईमै जन्मेका, हुर्केका मान्छेलाई चितवन बस्न गाह्रो हुँदैन । पहिला पहिला पहाडबाट तराई झर्ने मान्छेहरूमा औलो लागेर तराईमा बस्न सक्दैनथ्यो । सरकारले औषधि छरेर औलो रोग निर्मूल पारेपछि पहाडका मान्छेहरू तराईमा बस्न थालेको फागुले बताउनुभयो । थारुहरूलाई औलो रोग नलाग्ने उहाँको कुरा थियो । उहाँको बुझाइमा औलो भनेको हावापानीमा फेरबदल हुनु हो । पहाडबाट झरेका मान्छेहरूबाट आफ्नो ठाउँ, आफ्नो संस्कार खोसिन पुगेको उहाँको बुझाइ छ । रमझमको विकाससँगै मानिसहरूले नैतिकता, इमानदारितालाई भुल्दै गएकोप्रति उहाँको गुनासो रहेको छ ।
फागुले भैंसीको दूध डेरीमा लगे फ्याटको मात्राअनुसार पैसा पाउने गर्नुहुन्छ । होटल घरहरूमा ठेक्कामा दिएमा फाइदा हुने उहाँको कुरा छ । एउटा भैंसीको मूल्य कति पर्छ भन्ने जिज्ञासामा उहाँले भन्नुभयो–“अहिले स्पेसल चिया तीस रूपैयाँ भन्छ । दस रूपैयाँ बट्टाको चुरोट साठी रूपैयाँ पुग्यो । सबै कुराको मूल्य बढेको छ । अब तपाईँ आफै भन्नुुस् कि एउटा भैंसीको मूल्य कति पर्ला ¤ र एउटा पाडोको मूल्य कति पर्ला !राम्रो दूध दिने भैंसीको मूल्य एक लाख तीस हजारसम्म दिने गरेको छ ।“ राम्रोसँग हुर्काउन सकेमा पाडो डेढ वर्षमा बेच्न तयार हुन्छ । भैंसी, पाडोहरू बजारको नेवारहरूले किनेर मासु खानका लागि लान्छन् – उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *