भर्खरै :

निषेधाज्ञाको पालनामा कडाइ गर !

काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि लागू निषेधाज्ञा खुकुलो हुँदा सङ्क्रमण नियन्त्रणको लक्ष्य हासिल नहुने देखिँदै छ । अत्यावश्यक काममा बाहेक मानिसलाई घरबाट बाहिर आउन नदिए कोभिड–१९ सङ्क्रमणको शृङ्खला तोडिने आशासहित राजधानीका तीनै जिल्लालगायत देशका २० भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । तर, निषेधाज्ञाका नियमको कडाइका साथ पालना नगरिँदा सङ्क्रमण अझ फैलिने जोखिम कायम नै छ ।
जिल्ला प्रशासन कार्यालयको नाममा निषेधाज्ञामा पालना गरिनुपर्ने नियमहरूको सूचना जारी भएको छ । तर, ती नियमहरू यो वा त्यो बहानामा उल्लङ्घन भइरहेका छन् । विभिन्न कारण देखाई सडकमा गुड्ने सवारी साधनको चाप निषेधाज्ञा लागु भएको एकाध दिनमै बढ्दै छ । राजधानीमा केही सडकमा सवारी साधन जाम भएको समाचारले निषेधाज्ञालाई नमीठो व्यङ्ग्य गरिरहेको छ । मानिसहरू घरभित्र नबसेको मात्र होइन, बाहिर निस्कँदा समेत सावधानीका आधारभूत नियमको पालना भइरहेको छैन । सडकमा मास्क नलगाई बिनाकाम हिँड्ने मानिसको कमी छैन ।
प्रशासनले दिनको केही घण्टाको लागि दैनिकरूपमा आवश्यक खाद्यान्नका पसल खोल्न दिने सूचनामा उल्लेख छ । तर, खाद्यान्न र तरकारी पसलहरूमा सङ्क्रमण रोकथामको नियमको न्यूनतम पालनासमेत भइरहेको छैन । आपसी दुरी कायम गर्नुपर्ने नियमको कतै पनि पालना हुन सकिरहेको छैन । सामाजिक सञ्जालमा राखिएका केही तस्वीर हेर्दा अस्पतालहरूमा समेत बिरामी र बिरामी कुरुवा अथवा अन्य सर्वसाधारणबीच आपसी दूरी कायम भइरहेको छैन । अस्पताल र स्वास्थ्य चौकीहरूमा स्वास्थ्यकर्मीहरूलाई सुरक्षाका आधारभूत सामग्रीजस्तै पञ्जा, गुणस्तरीय मास्क, पीपीई आदिको प्रबन्ध भइरहेको छैन ।
अघिल्लो पटकभन्दा यो दोस्रो लहर अझ बढी आक्रामक भएको वैज्ञानिक अनुसन्धान र अनुभवले प्रस्ट देखाइरहेको छ । छिमेकी देश भारतकै भयावह अवस्थाले पनि दोस्रो लहरको जोखिमबारे धेरै कुरा बोलिरहेको छ । त्यही खतरालाई रोक्न सरकारले निषेधाज्ञा त जारी ग¥यो । तर, अघिल्लो पटकको लकडाउनभन्दा यो पटकको निषेधाज्ञा फितलो बनेको अनुभव गरिएको छ । प्रहरी प्रशासनले पनि सर्वसाधारणलाई नियम पालनामा कडाइ नगरेको देखिएको छ । प्रहरी प्रशासन नै उदासीन भएपछि सर्वसाधारण नियम उल्लङ्घन गर्न, निषेधाज्ञाका नियम नमान्न उत्साहित बनेका छन् ।
निःसन्देह निषेधाज्ञा नै सङ्क्रमण रोक्ने अन्तिम र एउटैमात्र अस्त्र होइन । तथापि, कोभिड प्रतिरोधको निषेधाज्ञा वा लकडाउन एउटा प्रभावकारी उपाय भएको संसारभरको अनुभवले देखाएको छ । पक्कै पनि लकडाउनले अर्थतन्त्रमा गम्भीर हानि पु¥याएको हुन्छ । कोभिड–१९ को कारण संसारको अर्थतन्त्रमा गम्भीर क्षति हुनुको मूल कारण रोकथाम र नियन्त्रणको यही तरिका हो । मानिसको जीवन रक्षा नै प्राथमिकताको पहिलो विषय भएकोले निषेधाज्ञाजस्तो उपायको अवलम्बन गरिनुपर्ने हुन्छ । तर, कडाइका साथ पालना नगरिए निषेधाज्ञाले अर्थतन्त्रमा हानि पु¥याउनेबाहेक अर्को कुनै उल्लेखनीय परिणाम दिनेछैन । परिमाणात्मक नभए निषेधाज्ञा अर्थतन्त्रमा क्षति र जनतालाई दुःख दिने कारणमात्र बन्ने छ ।
निषेधाज्ञा सुरु भएको साता दिन पनि नपुग्दै अवस्था निकै खुकुलो बन्दै गएको छ । सरकार एकातिर महामारी ‘ठेग्नै नसकिने अवस्थामा पुगेको’ भन्दै छ भने अर्कोतिर नागरिकलाई निषेधाज्ञाको पालना गराउन पनि सक्दैन । यो विरोधाभासको अन्त्य गरौँ । निषेधाज्ञा जनताको जीवन जोगाउन आवश्यक कदम हो । त्यसको कडाइका साथ पालना गरौँ÷गराऔँ । निषेधाज्ञाको कारणले दैनिक जीवनमा हातमुख जोड्ने समस्या भएका जनतालाई सरकारले राहतको व्यवस्था गरोस् । निषेधाज्ञालाई हावादारी नबनाऔँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *