भर्खरै :

२५० वर्षअघि भक्तपुरमा थियो व्यवस्थित पुस्तकालय

(राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा भक्तपुर नगरपालिकाको आयोजनामा भदौ १५ गते भएको विचार गोष्ठीमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्य)
आज राष्ट्रिय पुस्तकालय दिवस । भक्तपुर नगरपालिकाको आयोजनामा पुस्तकालय दिवस मनाउँदै छौँ ।
आधुनिकतासँगै युवा पुस्तामा पठन संस्कृतिको विकास गर्ने यस कार्यक्रमको उद्देश्य हो । विज्ञान र प्रविधिको विकासले संसारलाई सानोमात्रै होइन मानिसलाई अत्यन्त व्यस्त पनि बनाएको छ । संसारमा भइरहेका नयाँ नयाँ विकास र समृद्धिको विषय आज छोटो समयमा कम्प्युटर वा मोबाइलको सहयोगमा अध्ययन गर्नसक्ने भएका छौँ । समाज आजको अवस्थासम्म आइपुग्न हजारौँ र लाखौँ वर्षको इतिहास छ । त्यसबारे अध्ययन अनुसन्धान प्राचीन र आधुनिक पुस्तकालयहरूको सहयोगविना सम्भव हुँदैन ।
एउटा अक्षर, शब्द, वाक्य र भाषा निर्माणको लागि समाज विकासको क्रममा हजारौँ वर्ष लागेको हुनुपर्छ । प्राचीन चीन, ग्रीस, रोम, भारतलगायतका देशहरूमा लेख्ने कलाको विकास भएको र त्यसबेला जनावरको हाड, बाँसको बोक्रा, काठको चोया आदिमा लेख्न सुरु भएको तथा लेख्ने कलासँगै संसारमा ज्ञान सामग्रीहरूको विकास भएको इतिहास पाइन्छ ।
लेख्ने, कोर्ने कलाको विकाससँगै त्यसलाई सङ्कलन गरी सुरक्षित कामको पनि सुरुवात भयो । त्यो सङ्ग्रह गर्ने ठाउँलाई नै पुस्तकालय भनियो र संसारमा सयौँ वर्ष पहिले नै यस्तो प्राचीन पुस्तकालयको विकास भएको थियो । सन् १४४० मा जर्मनीमा प्रेसको विकास भएपछि माटो, हाड, बाँसको बोक्रामा सीमित ज्ञान सामग्रीहरू कागजमा मात्रै सीमित भएन त्यसले विकासमा तीव्रता पायो ।
अठारौं शताब्दीमा विश्वमा अध्ययन अध्यापनको लहरसँगै संसारमा विश्वविद्यालय स्थापनाको क्रम सुरु भयो । अध्ययन अनुसन्धानको सुरुवात त्यहीँबाट भएको मानिन्छ ।
अहिले संसारमा लाखौँ पुस्तकालय सञ्चालनमा छन् । दैनिक लाखौं पुस्तक र पत्रपत्रिकाहरू प्रकाशित भइरहेका छन् । प्राचीन पुस्तक र पत्रपत्रिकाहरू संरक्षणको अभावमा कैयौँ लोप भइसके होलान् भने कैयौँ सङ्ग्रह गरी संरक्षण गरेका थुप्रै पुस्तकालयहरू पनि छन् । पुस्तकालय नयाँ नयाँ विषय अध्ययन अनुसन्धान गर्नेहरूको लागि अत्यन्त उपयोगी ठाउँ हो । हाम्रा प्राचीन पुस्तक र पत्रपत्रिकाहरू पनि पुस्तकालयहरूमा सुरक्षित गर्नु आवश्यक छ । हाम्रो भूगोल, इतिहास र मानव विकाससम्बन्धी प्राचीन पुस्तकहरू पनि देश विदेशका विभिन्न पुस्तकालयहरूमा पाउन सकिन्छ ।
दरबारमा बस्ने राजा महाराजाहरू र कैयौँ धनी व्यक्तिहरू तथा बुद्धिजीवीहरू आफ्नै घरमा निजी पुस्तकालय बनाएर अध्ययन गर्ने गर्छन् तर त्यो सर्वसाधारण र काम गरी खाने वर्गको निम्ति सम्भवको विषय होइन । अध्ययन गर्ने र ज्ञान हासिल गर्ने अवसर सबैले पाउनुपर्छ । अध्ययनको पहुँच सर्वसाधारण जनतासम्म पु¥याउनको निम्ति नै ठाउँ –ठाउँमा सार्वजनिक पुस्तकालयहरूको आवश्यकता पर्दछ । अहिले टोल टोलका सार्वजनिक पुस्तकालयसँगै विद्यालय, कलेज र विश्वविद्यालयहरूमा पुस्तकालयहरूको विकास भइरहेको छ । कतिपय सार्वजनिक पुस्तकालयहरू नाममात्रकै छन् । त्यसको उचित प्रयोग हुन सकिरहेको छैन भने आवश्यकताअनुसार पुस्तक पत्रपत्रिकाहरू पनि राख्न सकिरहेका छैनन् । विद्यालय र कलेजमा पुस्तकालय भएन भने त्यहाँका शैक्षिक स्तर पनि अगाडि बढ्न सक्दैन । जसरी शैक्षिक संस्थाहरूमा प्राध्यापक, विद्यार्थी र प्रयोगशालाहरूको आवश्यकता रहन्छ त्यसरी नै पुस्तकालयको पनि आवश्यकता हुने गर्दछ । अहिले विज्ञान र प्रविधिको विकाससँगै आधुनिक र प्रविधियुक्त पुस्तकालयको महत्व झन् बढ्दै गएको छ ।
ज्ञान गुण हासिल गर्ने सबैभन्दा सजिलो माध्यम पुस्तक र पत्रपत्रिकाहरू नै हुन् । जति बढी जनताको बीचमा पुर्याउन सकिन्छ, त्यति नै जनता सचेत हुनेछन् । यसको लागि राज्यले प्राथमिकतामा राख्नुपर्ने हुन्छ ।
नेपालभाषामा पुस्तकालयलाई साफुकुथि भनिन्छ । भक्तपुरमै पृथ्वीनारायण शाहले आक्रमण गर्नुअघि नै व्यवस्थित पुस्तकालय भएको इतिहास छ । भक्तपुरका अन्तिम राजा रणजित मल्लले हालको साकोठामा पुस्तकालयको स्थापना गरेको, त्यहाँ नालन्दा विश्वविद्यालय, विक्रमशील विश्वविद्यालय र सिम्रनगौढ राज्यबाट ल्याइएका बहुमूल्य हिन्दु एवम् बौद्ध धर्म तथा ज्ञानविज्ञानसँग सम्बन्धित ग्रन्थहरू ल्याइ सङ्ग्रहित गरिराखेको उल्लेख छ । पृथ्वीनारायण शाहले वि.सं. १८२६ मा भक्तपुरमा आक्रमण गरी सयौँ घरहरू जलाउनुका साथै हजारौँ जनताको ज्यान लिएसँगै रणजित मल्लद्वारा निर्मित उक्त पुस्तकालय जलाएको इतिहासविद् विश्वमोहन जोशीले ‘ख्वपको राजनैतिक अवस्थाको ऐतिहासिक परिचय’ शीर्षक लेखमा उल्लेख गर्नुभएको छ । जे होस् भक्तपुरमा आजभन्दा २५० वर्षअघि नै राम्रो र व्यवस्थित पुस्तकालय रहेको बुझ्न सकिन्छ ।
अहिले भक्तपुरमा सार्वजनिक ३१ वटा र कलेज र विद्यालयहरूमा पनि छुट्टाछुट्टै पुस्तकालयहरू सञ्चालनमा छन् । ती अधिकांश सार्वजनिक पुस्तकालयहरू व्यवस्थितरूपमा सञ्चालनमा आउन नसकेको जनगुनासो छ । त्यसबारे भक्तपुर नगरपालिकाको ध्यान गएको छ ।
भक्तपुर नगरपालिकाले जनज्योति पुस्तकालय सञ्चालन गर्दै आएको सर्वविदित्तै छ । अशिक्षित जनतामा ज्ञानको ज्योति दिने, अध्ययन, अनुसन्धानलाई अग्रसर बनाउने, दुर्लभ वा लोप प्रायः भएका पुस्तक तथा शैक्षिक साधनहरूलाई एकत्रित र सुरक्षा गरी सदुपयोग गर्नेलगायतको उद्देश्य लिएर २००७ सालमा स्थापना भएको उक्त पुस्तकालयलाई थप व्यवस्थित र समयानुकूल सुधार गर्ने प्रयास गरिरहेका छौँ । अध्ययन, अनुसन्धान गर्ने विद्यार्थीहरूको लागि उपयोगी बनाउने उद्देश्यले त्यसलाई थप सुधार र विस्तार गर्ने योजना बनाउँदै छौँ ।
अहिले वडा – वडामा सञ्चालित सार्वजनिक पुस्तकालय र विद्यालय कलेजहरूमा सञ्चालित पुस्तकालयसँग जनज्योति पुस्तकालयमार्फत सम्पर्क बढाउने र सक्दो सहयोग गरी सेवा सुविधामा वृद्धि गर्ने नीति नगरपालिकाको रहेको जानकारी गराउन चाहन्छौँ ।
इन्टरनेटको समय भएकोले पहिलेजस्तै पुस्तकालयमा गई हरेक विषयमा अध्ययनको पनि जरुरत नपर्ला । त्यसलाई पनि ध्यानमा राखेर इ. लाइब्रेरीको विकास, उच्च शिक्षाको लागि अध्ययन गर्न छुट्टै व्यवस्थित अध्ययन कक्षको व्यवस्था र उच्च शिक्षा हासिल गर्ने विद्यार्थी र बुद्धिजीवीहरूको सुझावअनुसार थप पुस्तकहरू राख्ने हामीले तयारी गरिरहेका छौँ । हाल दिइरहेको सेवा अपुग भएको जनगुनासोपछि त्यसको स्तरवृद्धिको लागि आवश्यक व्यवस्था गर्ने कोसिस गरिरहेका छौँ ।
सबै साथीहरूसँग छलफल गरी बुद्धिजीवी साथीहरू र पुस्तकालयमा कार्यरत यहाँहरूको उचित सल्लाह र सुझावहरूलाई ध्यान दिएर पुस्तकालय विकासको निम्ति हामी निरन्तर लागिरहनेछौँ । यहाँहरूको निरन्तर सहयोगको अपेक्षा गर्दछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *