भर्खरै :

बाइडेन, तिम्रो विज्ञानमा गुप्तचरी छ !

संरा अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो चुनाव प्रचारको क्रममा आफूलाई ‘ट्रम्पविरोधी’ को रूपमा प्रस्तुत गरेका थिए । त्यत्तिबेला उनले जनतासमक्ष धेरै कुराको वाचा गरेका थिए । तीमध्ये एउटा वाचा थियो–कोभिड–१९ महामारीलाई विज्ञानको बाटोमा फर्काउने । अघिल्लो राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबारे धेरै थरी झूट फैलाएका थिए । आफ्ना भाषण र ट्वीटमा उनले कोरोना भाइरसलाई बारम्बार ‘चिनियाँ भाइरस’ भनेर जातिवादी भावना फैलाएका थिए । उनले गलत मनसायबाट अभिप्रेरित विरोध प्रदर्शनलाई उक्साएर कोरोना भाइरससँगको लडाइँलाई नै न्यूनाङ्कन गरेका थिए । ठुला औषधि कारखानालाई मुनाफा कमाउन दिने हिसाबले मात्र उनले खोपमा लगानी गरेका थिए । तर, बाइडेन राष्ट्रपति बनेपछि विज्ञानमा आधारित निर्णय हुने अपेक्षा गरिएको थियो ।
दुर्भाग्यवश चुनावमा जितेपछि भने बाइडेन सरकारले पनि आफ्नो पूर्ववर्ती सरकारकै बाटो पछ्याएको देखियो । महामारीमा मात्र होइन, चीनसँगको नयाँ शीतयुद्ध र क्युवामाथिको नाकाबन्दीको सन्दर्भमा पनि बाइडेनले अघिकै सरकारको नीतिलाई अँगालेको छ ।
कोभिड–१९ भाइरसको उत्पत्तिबारे अध्ययन गर्न राष्ट्रपति बाइडेनले गत मे २६ मा ९० दिनको म्यादसहित संरा अमेरिकी गुप्तचर समुदाय सम्मिलित एउटा आयोग गठन गरेका थिए । त्यो आयोगले आफ्नो प्रतिवेदन हालै बुझाएको छ । त्यो प्रतिवेदनले विज्ञानको आवरणभित्र लुकेको ट्रम्पको अवधारणालाई निरन्तरता दिने बाइडेनको भयानक मनसाय उजागर गरेको छ । ‘उहान’ वा ‘चिनियाँ’ भाइरस भनी किटेर नभने पनि बाइडेनले भाइरसको उत्पत्तिको खोजीलाई ट्रम्पले भन्दा खराब ढङ्गले आफ्नो हतियार बनाउन खोज्दै छन् ।
सत्य के हो भने विज्ञान र गुप्तचरी एकआपसमा घुलमिल हुँदैनन् । विकिपेडियाले गुप्तचर अथवा ‘गुप्तचरी’ निकायलाई ‘कानुन कार्यान्वयन, राष्ट्रिय सुरक्षा, सैनिक र विदेश नीतिका लक्ष्य’ पूरा गर्न सूचना र गलत सूचनाको प्रयोग गरी सूचना वा गलत सूचना सङ्कलन, विश्लेषण र प्रयोगको निम्ति जिम्मेवार सरकारी एजेन्सी’ भनी परिभाषित गरेको छ । गुप्तचरहरूले आफ्ना ‘राष्ट्रिय’ स्वार्थ रक्षाको निम्ति सूचनाको प्रयोग र दुरुपयोग पनि गर्छन् । ‘राष्ट्रिय’ स्वार्थ भनेको खासमा सत्तारुढ पुँजीपति वर्गका स्वार्थ हुन् जो जनविरोधी हुन्छन् ।
कोभिड–१९ को उत्पत्तिबारे अहिले बुझ्नु भविष्यमा महामारी रोक्नको लागि महत्वपूर्ण छ । साथै अहिलेकै महामारीको रोकथाम गर्न पनि त्यसको स्रोत पहिल्याउन आवश्यक छ । यसको अध्ययन ज्ञानको खुला प्रवाहमा निर्भर हुनुपर्छ । अनि वैज्ञानिकहरूलाई आफ्ना उपलब्धि सीमाविहीनरूपमा आपसमा आदानप्रदान गर्न दिइनुपर्छ । तर, संरा अमेरिकी गुप्तचरी निकायलाई परिचालन गरी बाइडेनले यस्तो ज्ञानको प्रवाह र आदानप्रदानमा रोक लगाएका छन् । विज्ञानले खुलापनको पक्ष लिन्छ भने गुप्तचरहरूले गोप्यताको माग गर्छन् । विज्ञानले आफ्नो उपलब्धि संसारसामु खुलारूपमा प्रस्तुत गर्नुपर्छ । गुप्तचरहरूले लुकाउने गर्छन् । विज्ञानले सूचनाको आदानप्रदान गर्न माग गर्छ, गुप्तचरहरूले सूचना रोक्ने, लुकाउने र बिगार्ने गर्छन् । विज्ञानले विश्वास बढाउँछ, गुप्तचरहरूले न्यूनाङ्कन गर्छन् ।
पश्चिमा सञ्चारमाध्यमहरू त्यस्ता असहज सत्यलाई प्रचार गर्न उत्ति जोड दिन खोज्दैनन् । बरु प्रतिष्ठित म्यागाजिन ‘नेचर’ ले समेत गुप्तचर निकाय संलग्न रहेका केही अनुसन्धानको भने कदर गरेको छ । तथापि, उच्च दक्षता भएका व्यक्ति, क्षमता र सक्रियता निहीत रहेका संरा अमेरिकी गुप्तचर निकाय आफै यसमा लाग्नु भनेको फरक विषय हो । एउटा प्रतिष्ठित म्यागाजिन ती सक्षम गुप्तचरहरूलाई कुन कारण परिचालित गरियो भन्ने कुरामा दिमाग खियाएर बस्दैन ।
अमेरिकी गुप्तचर निकायले दिएको ५ सय शब्दको ‘खुला निचोड’मा सार्वजनिक केही निष्कर्षलाई पक्कै पनि वैज्ञानिक मान्न सकिन्न । त्यसले पूर्णतः धेरै विश्वास लाग्ने परिकल्पनालाई उपेक्षा गरेको छ । उहानमा महामारी फैलिन धेरै महिनाअघि नै युरोपेली देशहरू र संरा अमेरिकामा भाइरस फेला परेको प्रमाणलाई पनि त्यो अध्ययनले बेवास्ता गरेको छ ।
‘भाइरसलाई जैविक हतियारको रूपमा विकास गरिएको थिएन’ भन्ने अध्ययनको निचोडलाई केही मानिसहरूले उहान भाइरोलोजी प्रतिष्ठानमा संरा अमेरिका स्वयम्को लगानीबाट ध्यान अन्यत्र तान्ने प्रयासको रूपमा बुझेका छन् ।
अध्ययनको निचोडले भाइरस आनुवंशिकरूपमा परिमार्जन गरिएको हुनसक्ने सम्भावनालाई खुला गरेको छ । त्यस्तै सङ्क्रमित पशुसँगको प्राकृतिक सम्पर्कमार्फत् सुरुमा मानिस यो भाइरसबाट सङ्क्रमित भएको हुनसक्ने कुराप्रति ‘न्यून सम्भावनासहित विश्वास’ गरिएको छ । चिनियाँ सरकारी अधिकारीहरूलाई भाइरसबारे ‘पूर्वजानकारी’ नभएको पनि प्रतिवेदनमा उल्लेख छ । अमेरिकी गुप्तचर निकायहरूमध्ये कम्तीमा एउटा निकायले मात्र भाइरस कुनै वैज्ञानिक प्रयोगको शिलशिलामा चुहेको हुनसक्ने कुरामा ‘मध्यम विश्वास’ मात्र गरेको छ ।
यसले हामीसमक्ष दुई वटा परिकल्पना छोडेको छः पहिलो, सङ्क्रमित जनावरबाट प्राकृतिकरूपमा फैलिएको’ र दोस्रो, ‘प्रयोगशालाबाट भाइरस चुहेको’ । प्रतिवेदनमा ‘कोभिड–१९ सङ्क्रमणका सुरुका क्लिनिकल नमुना वा सङ्क्रमणको कुनै पूर्ण तथ्याङ्क’ बिना यी दुई सम्भावनाबाहेक अर्को सम्भावना पहिल्याउन नसकिने बताइएको छ । त्यसको निम्ति प्रतिवेदनमा ‘चीनको सहकार्य’ आवश्यक भएको जबकि ‘पेइचिङले विश्वव्यापी अनुसन्धानको निम्ति लगातार अवरोध सिर्जना गर्दै आएको छ’ लेखिएको छ । गुप्तचर निकायले चीनमाथिको आरोपमा मात्र एक मत भएर बोलेका छन् ।
कोभिड–१९ को उत्पत्तिलाई चीनविरोधी हतियार बनाउन गुप्तचरहरूसँग मिलेर विज्ञानको भ्रष्टीकरणको तुलनामा चीनको सामना गर्ने ट्रम्पको समग्र अवधारण निर्दोष बच्चाको झ्याइँकुटी खेलजस्तै हो ।
अपुष्ट आरोपले भरिएको यो प्रतिवेदनले अन्तर्राष्ट्रिय क्षेत्रमा त्यसै पनि तनाव बढाइसकेको छ । भाइरसको उत्पत्तिको खोज अघि बढाउन चीनलाई मुख्य तगारो भनी औंल्याउनुले चीनसँगको सहकार्यबाट विश्व स्वास्थ्य सङ्गठनले तयार गरेको प्रतिवेदनलाई उपेक्षा गरेको छ ।
पुँजीवाद, निजी (बौद्धिक) सम्पत्ति अधिकार र राज्यका स्वार्थको प्रभुत्व रहेको आजको संसारका ज्ञानको प्रवाह अवरुद्ध बनेको छ । अन्तर्राष्ट्रिय सहकार्यले यो समस्यामाथि जीत हासिल गर्नसक्छ । तर, राष्ट्रपति बाइडेनको ‘गुप्तचर निकाय’ को प्रतिवेदनले हासिल गर्नुपर्ने लक्ष्यलाई अझ पर पु¥याएको छ । सबै जना यसो किन भयो भनी चिन्तित छन् ।
लेखक क्यानाडाको मनिटोबा विश्वविद्यालयको राजनीतिक अध्ययनका प्राध्यापक हुनुहुन्छ ।
स्रोत : सीजीटीएन
नेपाली अनुवाद : सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *