भर्खरै :

बीस वर्षपछि संरा अमेरिकी कब्जाबाट मुक्त भयो अफगानिस्तान

काबुल, ३१ अगस्ट । अफगानिस्तानमा बीस वर्षको प्रत्यक्ष सैनिक कब्जा अन्त्य गरेर सोमबार संरा अमेरिकी सबै सेनाले अफगानी भूमि छोडेका छन् । संरा अमेरिकी सेनाको केन्द्रीय कमान्डले अफगानिस्तानमा संरा अमेरिकी सेना फिर्ताको प्रक्रिया पूरा भएको बताएको छ ।
“म आज अफगानिस्तानबाट हाम्रो फिर्तीको सम्पूर्ण प्रक्रिया पूरा भएको र अमेरिकी नागरिक, तेस्रो देशका नागरिक र उद्धार गर्नुपर्ने अफगानीहरूलाई उद्धार गर्ने मिसन सम्पन्न भएको घोषणा गर्न चाहन्छु”, वाशिङ्टनस्थित संरा अमेरिकी रक्षा विभागमा आयोजित पत्रकार भेटघाटमा बोल्दै संरा अमेरिकी सेनाको केन्द्रीय कमान्डका कमान्डर केनेथ मेकेन्जले भने ।
अफगानिस्तानमा बाँकी रहेका थप संरा अमेरिकी नागरिकको सुरक्षा कूटनीतिक नियोगले गर्ने जनाएको छ ।
संरा अमेरिकी इतिहासकै सबभन्दा लामो अफगान युद्धमा २ हजार ४६१ जना संरा अमेरिकी सिपाहींको ज्यान गएको र २० हजारभन्दा बढी अमेरिकी सिपाहीं घाइते भएका छन् । कुल मृतकको सङ्ख्यामा गत बिहीबार काबुल विमानस्थलमा भएको हमलामा मारिएका १३ जना सिपाहीं पनि समावेश छन् ।
अमेरिकी सेनाको अन्तिम टोलीले अफगानिस्तान छोडेलगत्तै त्यहाँको केन्द्रीय सत्ता कब्जा गरेको तालिवान समूहका लडाकुले काबुल विमानस्थल नियन्त्रणमा लिएका छन् । तालिवानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले भने,“अब विमानस्थलको सुरक्षा तालिवानको जिम्मामा लिएका छौँ ।”
“हामी विमानस्थल सुरक्षाको लागि तयार छौँ । चाँडै सबै कुरा सामान्य हुनेछ । संरा अमेरिकाले विमानस्थल भद्रगोल अवस्थामा छोडेको छ । त्यसकारण, प्राविधिक पक्ष मिलाउन केही समय लाग्नेछ । हामी सकेसम्म चाँडो नियमित उडान सुरु गर्नेछौंँ”, उनले भने ।
संरा अमेरिकी सेनाको अन्तिम टोली फर्किनुअघि उनीहरूले विमानस्थलमा ‘गैरसैनिकीकरण’ गर्नुका साथै ७० भन्दा बढी विमान, दर्जनौँ हतियारबद्ध गाडी नष्ट गर्नुका साथै हवाई सुरक्षा प्रणाली पनि विच्छेद गरेका थिए । तालिवानले विमानस्थल नियन्त्रणमा लिएलगत्तै काबुल सहरमा खुसियालीमा गोली पड्काइएको आवाज सुनिएको थियो । विमानस्थल जाने बाटोमा राखिएका सुरक्षा चौकीहरू हटाइएको थियो ।
तालिवानले संरा अमेरिकी सेनाको पूर्ण फिर्ताको स्वागत गरेको छ । “संरा अमेरिका फिर्ता भए पनि अब अफगानिस्तान पूर्णतः स्वतन्त्र र स्वाधीन बनेको छ”, तालिवानका प्रवक्ताले भने ।
काबुलका बासिन्दा ख्वाजा वाहिदले भने, “दुई दशकपछि संरा अमेरिका अफगानिस्तानबाट फर्केको छ । तर, अमेरिकीहरूले हाम्रो देशलाई भद्रगोल बनाएर गए ।”
“संरा अमेरिका पराजित भएको छ । हो, ऊ नराम्ररी पराजित भएको छ”, ४२ वर्षका उनले भने ।
“मङ्गलबार बिहान मैले सञ्चारमाध्यममा संरा अमेरिकाले अफगानिस्तानको निम्ति आफ्नो राजदूतावास कतारमा खोल्ने तयारीमा रहेको समाचार पढेको थिएँ । यसको अर्थ अफगानिस्तानमा संरा अमेरिकाले सबै कुरा गुमाएको छ ।”
संरा अमेरिकी विदेश सचिव एन्टोनी ब्लिनकेनले काबुलबाट आफ्नो सेना फिर्ता गरेपछि अमेरिकी दूतावास कतारमा सार्ने घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *