भर्खरै :

सन् १९२०– दशकमा एक बङ्गाली शिक्षकको काबुल अनुभव

काबुलबाट झन्डै साढे दुई माइल पर ख्वाजामोल्लाह नामको गाउँको एउटा घरमा म भाडामा बसेको थिएँ । कोठा भाडा लिँदा एक जना नोकर पनि साथमा दिइयो ।
म पढाउन गएको कलेजका प्रिन्सिपल गिरार्ड उनकी श्रीमतीसहित बस्दै आएको घरमै मलाई पनि एउटा कोठा मिलाइएको थियो । प्राध्यापक गिरार्ड फ्रान्सेली थिए । मेरो सेवामा लगाइएको नोकरसँग परिचय गराउँदै उनले औपचारिक लवजमा भने, “उसको नाम अब्दुर रहमान हो । उसले तपाईँको जुत्ता पलिस गर्नेदेखि तपाईँको शत्रुलाई पनि मार्नेछ ।” त्यसको अर्थ ऊ मेरो ‘हरफत–मौला’ अथवा ‘सबै काम गर्ने नोकर’ हो ।
गिरार्ड निकै व्यस्त थिए । विभिन्न मन्त्रीहरूका कार्यालयमा पुगेर उनी दिनभर झगडा गरेरै बिताउँथे । काबुलमा त्यसैलाई काम भनिन्थ्यो ।
“शुभ प्रभात ! साँझ भेटौँला”, हरेक बिहान यसो भन्दै उनी बाहिरिन्थे ।
काबुलमा मैले दुई जना बलवान चिनेको थिएँ । एक जना यही अब्दुर रहमान थियो ।
एक दिन मैले उसको पाइतालादेखि टाउकोसम्म नापेको थिएँ–ऊ ६ फिट ४ इन्च अग्लो थियो । उसको उचाइसँग चौडाइ पनि मिल्थ्यो । उसका हात घुँडासम्म पुग्ने लामा लामा थिए । अनि ती हातबाट औँलाहरू केराको घारीजस्तै झुन्डिएका हुन्थे । उसको खुट्टा सानोतिनो डुङ्गाजस्तै थियो । उसको छात्ती यति चौडा थियो कि ऊ मेरो भान्छे नभएर अमिर अब्दुर रहमान भएका भए उसले सिङ्गो अफगानिस्तानको भारी आफ्नो काँधमा बोक्ने थियो ।
उसको मुख एउटा कानबाट अर्को कानसम्म लामो थियो । एउटा सिङ्गै केरा उसले मुखको एउटा कुनाबाट निल्न सक्थ्यो । उसको अनुहारमा कुनै अग्लो पहाडजस्तै थियो उसको नाक । उसको निधार नै थिएन । उसको टाउको सधैँ ठुलो पगरीले छोपिएको हुन्थ्यो । तर, पगरी जतिसुकै ठुलो भए पनि उसको टाउकोमा त्यो यति सानो देखिन्थ्यो, मानौँ कि त्यो कुनै बालकको टोपी हो ।
ऊ गोरो थियो । तर, गर्मी र जाडोले उसको त्यो गोरो छालामा यति धेरै चिरा र चाउरी पारिएको थियो, त्यो अफगास्तिानकै भौगोलिक नक्साजस्तै चिराचिरा परेको थियो । उसका गाला राता राता थिए, मानौँ कि भर्खर कसैले उसलाई चड्कन हानेको हो । तर, उसलाई गालामा चड्कन हान्ने कसको हिम्मत ? उसले कुनै शृङ्गार गरेको पक्कै थिएन ।
उसले सलवार, कुर्ता र इस्टकोट लगाउँथ्यो ।
मैले उसको आँखा कहिल्यै देखिनँ । मेरोअघि उभिँदा ऊ सधैँ टाउको झुकाएर भुइँको कार्पेटमात्र हेरे उभिन्थ्यो । मसँग बस्दा उसले कहिल्यै पनि कार्पेटबाट आँखा उठाएको मलाई हेरेको याद छैन । मेरो देशमा कसैले पनि आफ्नो मालिक वा जेठोबाठोलाई आँखा जुधाउन हुन्न भन्ने भनाइ थियो । सम्भवतः अफगानिस्तानमा पनि उस्तै चलन थियो ।
तैपनि मैले एकाध पटक उसको आँखा नियालेको थिएँ । उसका आँखा चिनियाँ माटोले बनेका ठुला बटुकोमा तैरिरहेका दुई वटा ठुलठुला काला भकुन्डाजस्ता थिए ।
उसको आकार र बल देखेपछि म ढुक्क थिएँ । तर, मलाई कता कता शङ्का पनि लाग्थ्यो । उसले मेरोको लागि भीमलाई जत्तिकै खाना पकाइदिन्थ्यो र मेरो अङ्गरक्षकको काम पनि गथ्र्यो । तर, कुनै दिन ऊ मसँग रिसाए, के होला ?
म मेरो परिस्थितिसँग मिल्दोजुल्दो कुनै उदाहरण खोजिरहेको थिएँ । अनायास एउटा उदाहरण मैले सम्झेँ । एक जना दार्शनिकले ज्वरोले थला परेको द्विजिन्द्रनाथलाई कुइनिन औषधि खान भने । द्विजिन्द्रनाथले भने, “कुइनिनले मेरो ज्वरो त निको पार्ला तर कसले मलाई कुइनिनबाट निको पार्ला त ? कसले ?”
द्विजिन्द्रनाथले कुइनिन औषधि खाएनन् । तर, म मुसलमान हुँ । हिन्दूहरूले जे गर्छन्, त्यसको ठीकविपरीत मैले गर्नुपर्छ । त्यसकारण, अब्दुर रहमानले तत्कालै मेरो सबै घरव्यवहार हेर्ने मान्छे, भान्छे र नोकर–तीन काम एकै जनाले गर्ने काम पायो । जब मैले उसलाई त्यो कुरा भनेँ, उसले सानो स्वरमा भन्यो, “साहेब, म हजुरलाई मेरो आँखा, टाउको र ज्यान दिएर खुसी बनाउन प्रयास गर्नेछु ।”
मैले सोधेँ, “तिमी पहिला कहाँ काम गथ्र्यौ ?”
उसले जवाफ दियो, “म सेनामा भान्छाको मुख्य मान्छे थिएँ । एक महिनाअघि मात्र अवकास पाएको हुँ ।”
“तिमीलाई राइफल चलाउन आउँछ ?”
ऊ मन खोलेर हाँस्यो ।
“तिमीलाई के के पकाउन आउँछ ?”
“पुलाउ, छोर्मा, कवाब, फालुदा”
मैले भनेँ, “फालुदा बनाउन त बरफ चाहिन्छ होइन र ? यहाँ बरफ कारखाना छ र ?”
झ्यालबाट देखिने हिमचुली देखाउँदै उसले भन्यो, “ऊ परको माघमन हिमालबाट ।”
मध्य गर्मीयाममा पनि अग्लो निलो हिमचुलीबीच सेता चुली देखिएको थियो । मैले चकित परेर सोधेँ,“त्यहाँ पुगेर पनि बरफ ल्याउने हो र ?”
अब्दुर रहमानले भन्यो, “होइन साहेब । जाडोयाममा मानिसहरू गहिरो खाल्डो खन्छन् र त्यहीँ बरफ राखेर सञ्चय गर्छन् । गर्मीयाममा खाल्डो खनेर बरफ निकाल्छन् र गधालाई बोकाएर सहर ल्याउँछन् ।”
उसले आफूलाई स्रोतसाधन सम्पन्न भएको पुष्टि ग¥यो । म बस्ने घरमा कुनै पनि भाँडाकुँडा वा भान्छाको सामान नभएको थाहा पाएँ । मैले भनेँ, “बजारमा गएर जे जति चाहिने सामान हो, किनेर ल्याउनु । तिमीलाई आजै राति खाना पकाउन गाह«ो होला । बरु भोलि दिउँसो खाजा बनाउनु । बरु मलाई बिहानको चिया चाहिन्छ है ।”
पैसा लिएर ऊ बजार जान निस्कियो ।
त्यो दिउँसो म पनि काबुलतिर लागेँ । चिसो हावा सुसाइरहेको थियो । मलाई त्यो पैदल यात्रा रमाइलो लागिरहेको थियो । बाटोमा मैले अब्दुर रहमान फर्किंदै गरेको देखेँ । उसले आफ्ना पिँठ्युमा एउटा पहाड जत्रै सामान बोकेर ल्याउँदै थियो । मैले उसलाई भनेँ,“सबै सामान किन तिमी एक्लैले बोकेर ल्याएको ? एक जना भरियालाई बोलाएको भए हुन्थ्यो नि ।”
जवाफमा उसले भनेको कुराको सार थियो–मैले बोक्ने जति भारी बोक्न सक्ने काबुलमा अर्को मान्छे को छ र ?
मैले भनेँ, “तर, तिमीले आधा आधा गरेर सामान ल्याएको भए पनि हुन्थ्यो नि ।”
मेरो अनुमानमा उसले या त मेरो कुरा बुझेन अथवा उसले त्यसो गर्न चाहेन ।
एउटा ठुलो जालो झोलामा उसले त्यो ठुलो भारी बोकेको थियो । त्यसमा दाउरा, तेल, नुन सबै थोक थियो । म आफ्नो बाटोमा अघि बढेपछि उसले भन्यो, “साहेब, साँझ खाना खान आउनुहोला ।” उसले यस्तो पाराले त्यो कुरा भन्यो, त्यो बिरानो भूमिको एकतमासको सडकमा ऊसँग थप केही कुरा भन्ने आँट मैले जुटाउन सकिनँ । म ‘हुन्छ ! हुन्छ !’ भन्दै काबुलतिर लम्किएँ ।
म धेरै पर नपुग्दै टाङ्गामा गिरार्ड महोदय फर्किरहेको देखेँ ।
मेरो हाकिम र कलेजको प्रमुख हुनुको नाताले उनले मलाई झपार्ने अधिकार राख्थे र उनले त्यसै गरे । उनले भने, “काबुलमा रात बिताउन न तिमीसँग बल छ न हतियार नै ।”
तिमी आफैसँग पुग्दो सुद्धि छैन भने तिम्रो हाकिमसँग सधैँ विमति जनाइराख्नु बुद्धिमानी होइन । विशेषतः जब उनको श्रीमती उनीसँगै हुन्छिन् र उनलाई साथ दिइरहेकी हुन्छिन् । गिरार्डकी श्रीमती भन्दै थिइन्, “हो, पक्कै पनि । वास्तवमै ।”
महारानी भिक्टोरिया र राजकुमार अल्बर्टबीचमा एकै पटक कुरा मिलेको सुनेको थिएँ । तर, फ्रान्समा कुरा ठीक उल्टो थियो । त्यहाँ सबै श्रीमान्–श्रीमतीको कुरा सधैँ मिलेकै हुन्थ्यो ।
आफ्नो कुरा टेरे नटेरेको जाँच्न गेरार्डले अब्दुल रहमानलाई मेरो कोठामा हेर्न पठायो ।
त्यो रमजानको महिना थिएन । तथापि, म भाग्यमानी भए सेहरीको समय (व्रत बस्नुअघि खाना खाने समय) मा खाना पाउनेछु भन्ने सोचेँ ।
खाना कुर्दै म उँघ्न थालेछु । एउटा आवाजले म ब्युँझिएँ । हात धुन करुवामा पानी र भाँडो बोकेर अब्दुर रहमान उभिएको मैले देखेँ । गर्मी महिना थियो । तैपनि, मुखमा पानी छम्किँदा काबुल नदीको पानी अझै पनि चिसो अनुभव गरेँ । यही चाला हो भने मेरो अनुहार पनि कुनै भौगोलिक नक्साजस्तै चाउरी पर्न बेर लाग्नेछैन ।
खाना खान बस्दा थालमा पस्किएको परिकार देख्दा मेरो नोकर अब्दुर रहमान साँच्चै सिपाहीँको भान्छे भएकोमा मलाई सन्देह भएन ।
प्याज र घ्यूको बाक्लो झोलमा एक किलो पाठोको छोर्मा तैरिरहेको देखेँ । सानो कसौडीमा होइन, ठुलै कराइमा । बदाम र किसमिसका केही दाना झोलमा लुकामारी खेलिरहेका थिए । कराइको एउटा कुनामा एउटा आलु आफ्नो ज्यान जोगाउन झोलमा तैरिरहेको थियो । थालमा आठ वटा ठुलठुला टुक्रा शामी कवाब पस्किएका थिए । ठुलो थालभरि पुलाउ अनि त्यसमा सेकिएको सिङ्गै कुखुरा राखिएको थियो ।
म पक्क परेर बसेको देखेर अब्दुर रहमानले आत्तिएर भन्यो, “साहेब, नपुगे भान्छामा बाँकी छ ।”
तीन जनाको खाना एकै जना मान्छेको भाग लगाए त्यो भान्छेलाई गाली गर्नुपथ्र्यो । तर, ६ जना मान्छेलाई पुग्ने खाना एकै जनालाई थालमा पस्केर बाँकी खाना भान्छामा छ भन्दा त्यो भान्छेलाई के भन्ने ?
खाना गज्जब बनेको थियो । मलाई निकै भोक पनि लागेको थियो । त्यसकारण सामान्यतः एक जना बङ्गालीले औसतमा खानेभन्दा बढी नै खाएँ । त्यो मेरो पहिलो रात थियो । अब्दुर रहमान मेरो खाने क्षमताको यसरी परीक्षण गरिरहेका थिए । मानौँ, चिकित्साशास्त्रको विद्यार्थीले पहिलो पटक भ्यागुता चिर्दा जस्तो ध्यान दिएर नियाल्ने गर्छ ।
मैले थप खाना खान नसकेपछि भनेँ, “पुग्यो । मीठो खाना, अब्दुर रहमान ।”
त्यसपछि अब्दुर रहमान कतै हरायो । थालभरि फालौदा लिएर ऊ घर फर्कियो । उसको कामको कदरमा कुनै कमी अनुभव नहुने गरी मैले उसलाई अन्तिमको हलुका खाना (डेसर्ट) मन नपरेको बताएँ ।
अब्दुर फेरि कतै हरायो । यो पटक भने उसले एउटा ठुलो बरफको ढिक्का बोकेर ल्यायो । म अचम्म भएँ । “यो के हो ?”
बरफ निकालेर उसले त्यसभित्रको अङ्गुर झिकेर देखायो । उसले भन्यो, “बाग–इ–बालाको बार्की अङ्गुर । अफगानिस्तानको सबभन्दा मिठो खाना ।” उसले एउटा रिकापीमा बरफमा जमेको अङ्गुर राख्यो र त्यहीँ हलुका बरफ रगेटेर अङ्गुर झिक्यो । महिलाहरूले अचार पिँध्दा सिलौटोमा मसला पिँदेजस्तै उसले पनि बरफ झारिरहेको थियो ।
अङ्गुर त्यत्ति चिसो थिएन । अङ्गुर चिसो बनाउने त्यो नौलो तरिका थियो । अङ्गुर टोक्दा मेरो जिब्रो र टालु पनि चिसो भएन । मैले खैबर भञ्ज्याङको आँट सँगालेर मैले आठ वटा अङ्गुर खाएँ । उसको मालिक कोही असभ्य बर्बर मान्छे होइन भनेर पनि मैले त्यत्ति खाएर देखाउनुपर्ने भयो । त्योभन्दा बढी भने मैले खान सकिनँ । अनि मैले उसलाई भनेँ, “अब्दुर रहमान । अब पुग्यो । तिमी जाऊ अब र आफू पनि खाऊ ।”
‘सैद मुज्ताबा अलीको पुस्तक ‘इन अ ल्यान्ड फार फ्रम होमः अ बँगाली इन अफगानिस्तान’ को अंश । यसलाई बंगाली भाषाबाट अङ्ग्रेजी भाषामा नाजेस अफ्रोजले गरेका हुन् ।
स्रोतः स्क्रोल डट आइएन
नेपाली अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *