भर्खरै :

दिनहुँ डराउँदै, आफैसित लड्दै फेरि जित्दै गरेकी एक क्रान्तिकारीकी आमा

(उमर खालिद भारतको लोकतान्त्रिक विद्यार्थी सङ्घ (डीएसयू) का पूर्वनेता र जवाहरलाल नेहरू विश्वविद्यालयका पूर्वविद्यार्थी तथा एक धर्मनिरपेक्ष सामाजिक अभियन्ता हुन् । उनलाई २०२० को सुरूमा भएको दिल्ली दङ्गाको योजनाकारको आरोप लगाई आतङ्कवादविरोधी ऐनअन्तर्गत सेप्टेम्बर १४ का दिन पक्राउ गरी जेलमा राखिएको छ । हिन्दूत्ववादी कट्टरपन्थीहरूबाट पटक–पटक उनको हत्या प्रयास पनि भएको थियो र उनका आमा बुबालगायत परिवारलाई डर, धम्की मिलिरहेको थियो । उनीमाथि लगाइएको अभियोगको ठोस सबुतप्रमाण पुलिसले अदालतमा पेश गर्न सकेको छैन । उमर खालिदको रिहाइको माग गर्दै भारतभर विभिन्न कार्यक्रमकासाथ अभियान चलिरहेको छ । – अनुवादक)
भारतमा आमाहरूका कैयौँ कथाहरू छन्, कैयौँ प्रसङ्गहरू छन् आमाको आशिर्वादका, आमाको आँचल, आमाको माया र मोह, आमाको चप्पल, आमाको पाइतालामुनि स्वर्ग । आमा एक महिला हो तर महिलामात्र होइन । आमा एक जादुको करिश्मा हो । आमा कुनैबेला आकाशबाट झरेकी परी हुने गर्छ । हामी सबै यस संसारमा हुनुको कारण आमा नै हुन् । मेरो पनि र तपाइँको पनि । उमर खालिदको पनि आमा छन् । म आफ्नै आँखाले देखेर आएको छु । भेटेर आएको छु । तर, उहाँसित भेटेर आइसकेपछि थोरै चिन्तित भएको छु ।
यो कस्तो आमा हो जो हामी उमरका साथीहरूलाई भनिरहनुभएको थियो, “जब उमर जेलबाट बाहिर आउने छ, उसलाई भनिदिनू, हिन्दुस्तान छोडेर जावस्, होइन भने फेरि कुनै झूटा मुद्दाहरूमा फसाइदिनेछन् ।” सडकमा कोही झगडा गरिरहेमा दौडेर त्यहाँ पुग्थे झगडा रोक्नका लागि । हिंसा र लडाईँ झगडासित उसको यस्तो घृणा थियो, त्यस्तो रोक्नको लागि आफैलाई खतरामा पारिरहन्थ्यो । भन्नुस् त्यस्तो मानिसले दङ्गा गराउँछ ? जसले सडकमा मानिसहरूलाई झगडासम्म गर्न दिँदैनथ्यो, बीचमा बसेर झगडा सुल्झाउन पुगिरहन्थे ?
हामी चुपचाप बसिरह्यौँ । न हामीसित कुनै जवाफ थियो न कुनै उपाय । र, यस्तो स्थितिमा चुपचाप बस्नु नै मनासिब थियो । एक अनौठो मौनता त्यहाँ व्याप्त भएको थियो । उमरका वालिद (पिता) पनि त्यहाँ हुनुहुन्थ्यो । उहाँ धेरै समयदेखि चुपचाप हामे कुरा सुनिमात्र रहनुभएको थियो । एक क्रान्तिकारीको पिता हुनु कुनै सानो भूमिका निभाउनु हुने गर्दैन । आफ्नो वास्तविक भावनालाई दबाउनुपर्छ, आफ्नो आँसु यसरी पिउनुपर्छ कि कसैलाई थाहा नै हुँदैन । हामीलाई लागेको थियो कि उहाँले उमरको आमालाई सन्त्वना दिनुहुनेछ र हामीमाथि आइपरेको जिम्मेवारी हाम्रो काँधबाट हटनेछ । सायद उमरका पितामा पनि अब सान्त्वना दिने हिम्मत बाँकी रहेन, या सायद उहाँसित पनि ती कुनै प्रश्नका जवाफ थिएन ।
जब कसैले केही बोल्न सकिरहेको थिएन, तब उमरकी आमा स्वयम्ले बोल्नुभयो, “म एयरपोर्टमा थिएँ, जब उमरमाथि कसैले गोली चलाएको खबर आयो ।” हिन्दी समाचार च्यानलहरूमा बुँदागत रूपमा समाचार दिने गरिन्छ । त्यसमा १ नम्बरमा उमरबारेको समाचार थियो । त्यस अपुरो समाचार सुनेर म यति धेरै बेचैन भएँ कि टिभीको अगाडि उभिएर पुगेँ । म हिजाबभित्रै धुरूधुरू रून थालेँ । आँसुले थामि नै रहेको थिएन । केही समयपछि केही बाँकी समाचारबाट थाहा भयो कि हमलाकारीको पेस्टोल जाम भएको थियो, गोली चल्न सकेको थिएन र उमर सग्लै छ । अनिमात्र शरीरमा चेतना फक्र्यो । पछि मैले यो कुरा उमरलाई बताउँदा उसले भन्यो, “अम्मा (आमा) त्यसरी सार्वजनिक रूपमा बुर्कामा रूने नगर्नुहोस् । नभए मानिसहरूले तीन पटक तलाक भनेर सम्बन्ध विच्छेद भएर रोएको ठान्ने छन् । त्यो बदमास (उमर) त सधैं ख्यालठट्टा गरिरहन्छ ।”
उहाँ मुस्कुराउनुभयो र हामी सबै पनि बिस्तारै हाँस्यौँ । हामी सबैलाई लाग्यो कि हामी बच्यौँ । किनभने उहाँका प्रश्नको जवाफ हामीसित थिएन । केही वर्ष अगाडि अभिनेता आमिर खानले पनि त्यस्तै केही प्रश्न उठाउनुभएको थियो । खानले बताउनुभएको थियो, “उहाँको पत्नी किरणलाई यहाँ डर लाग्न थालेको छ । खानले त्यति बोल्दा भारतका हिन्दूत्ववादीहरूले यति धेरै तर्साइदिए कि उहाँहरूको डर र बोली दुवै समाप्त भयो ।”
अहिले उमरको आमाले हामीलाई भन्नुहुन्छ कि उमरले हिन्दुस्तान छोडिदिनुपर्छ । यस कुराको जवाफमा हिन्दूत्ववादीहरूले भन्नेछन् कि उमरले पाकिस्तान जानुपर्छ या अफगानिस्तान जानुपर्छ किनभने हिजोआज अफगानिस्तान बढी प्रचलनमा आइरहेको छ । हामीलाई थाहा छ कि उमर मुस्लिम परिवारमा जन्मे तापनि उनी धर्मनिरपेक्ष भारतीय समाजलाई बढी प्रेम गर्छन् । उनी मानवतावाद र न्यायको सिद्धान्तमा अडिग युवा–विद्यार्थी नेता हुन् ।
उमरकी आमाको तर्क गलत छैन । अहिले उदाहरणका लागि मध्य प्रदेशको इन्दौर सहरको एक घटनालाई नै लिऔं । एक चुडी बेच्नेलाई मारिदिएको छ, मात्र उनी मुसलमान भएको कारणले । फेरि जब मुसलमानहरूको भीड त्यस हत्याको विरोध गर्न जाहेरी गर्न प्रहरी कार्यालय गए, उनीहरूमध्ये केहीमाथि थप सङ्गीन अभियोग लगाइदियो । चुडीवालाहरूलाई आतङ्कवादविरोधी ऐनअन्तर्गत हिरासतमा लिइयो ।
अर्को दिन हिन्दूत्ववादीहरूको आह्वानमा हजारौँको भीड ती हत्याराहरूको समर्थनमा जम्मा हुन्छ, जसले त्यस चुडीवालाको हत्या गरेको थियो । यसको अर्थ निकै स्पष्ट छ, हामी तिमीलाई मार्नेछौँ र यदि तिमीले आवाज निकाल्यौ भने तिमी र तिम्रा सबै शुभचिन्तकहरूलाई जेलमा राखेर सडाइदिनेछौँ । हिन्दुस्तानको यस्तो स्थितिमा यदि उमरको आमाले उनी देश छोडर बाहिर जावस्’ भनी भनेमा के नै गलत भयो र ?
तर, यति नै सार होइन, कथामा अर्को मोड पनि छ । उमरकी आमा अगाडि भन्नुहुन्छ, “तर उनी (उमर) बाहिर कहाँ जानेछन् ? थाहा छैन खुदा (ईश्वर)ले उनलाई कानमा के भनेर पठाएका छन्, डराउँदै डराउँदैन । हिम्मत हार्न त लाग्छ उसले सिकेकै छैन । अब वर्षदिनभन्दा अगाडिदेखि उनी जेलमा बन्द छन् ।” तर, सधैँ मलाई भन्ने गर्छन्, “यी भित्ताहरू नै मात्र त हुन् नि । र भित्ताहरूले स्वतन्त्रताका विचारलाई कहाँ रोक्न सकेका छन् र ?”
हामीलाई महसुस हुन्छ उमरकी आमा हामीसित कुराकानी गरिरहनुभएको छैन बरू आफैसित कुरा गरिरहनुभएको छ । त्यहाँ उहाँको हृदयको कुनादेखिको सम्वाद चलिरहेको थियो र हामी मात्र त्यहाँ दर्शक भएर सुनिरहेका थियौँ । फेरि उहाँ भन्नुहुन्छ, “गर्न देऔँ तिनीहरूलाई जे गर्न चाहन्छन् । हामी पनि हेर्नेछौँ तिनीहरूभित्र अझ कति अन्याय गर्ने हिम्मत बाँकी छ ।”
फेरि उहाँ मुस्कुराउनुहुन्छ र भन्नुहुन्छ, “अब त म पनि बदलिइसकेकी छु । केही दिनअघि जन्तरमन्तरमा सायद कुनै ¥याली थियो । मलाई त थाहा पनि थिएन के विषयमा हो । पुलिसका एक जवान बाहिर धोकामै आएर खडा भए । मैले सोधेँ तपाइँ यहाँ के गर्न आउनुभएको ? उनले भने, “माथिको हुकुम छ तपाईँलाई त्यस ¥यालीमा जानबाट रोक्नुछ ।” फेरि मैले उनलाई जवाफ दिएँ, “त्यसो त आज केको ¥याली छ मलाई पनि थाहा छैन । तर, कान खोलेर सुनुस् यदि मलाई कुनै ¥याली वा कार्यक्रममा जानु नै छ भने कुनै पनि शक्तिले मलाई त्यहाँ जानबाट रोक्नसक्ने छैन । लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्न पाउने नागरिकहरूको नैसर्गिक अधिकार हो । ती पुलिस दङ्ग भएर मेरो मुख हेरिरह्यो । अब त म पनि बदलिइसकेँ ।” उहाँ फेरि हाँस्नुभयो ।
उहाँ हाँसेपछि हामी पनि हाँसो रोकेर बस्न सकेनौँ । यो वास्तवमा एक क्रान्तिकारीकी आमाको भावनाको यात्रा हो । जसलाई हामीले आफ्नै आँखा अगाडि खुल्दै, पाना पल्टँदै, सम्हालिँदै र फेरि गति लिँदै गरेको हामीले देख्यौं । जनताको अधिकार एक एक गरी खोस्दै फासीवादतिर उन्मुख भइरहेको भारतको लोकतन्त्रमा फेरि एक क्रान्तिकारीकी आमा दिन हुँ डराउँदै, आफैसित लड्दै फेरि जित्दै गरेको हामीले देख्यौँ ।
सायद सबै क्रान्तिकारीहरूकी आमा यस्तै नै हुन्छन् । डराउँथे पनि होलान्, आफैसित लडाइँ पनि लड्थे होलान्, आफैसित जित्थे पनि होलान् । हरेक दिन, बिहान र बेलुकी बस यस्तै गर्ने होलान् ।
भारतको हाल तपाइँ हाम्रो अगाडि नै छ । त्यसबारे म कुनै ज्ञान बाँड्न आवश्यक ठान्दिनँ । तर, एउटा कुरा निश्चित रूपमा छ, उमर खालिदको आमाजस्ता आमाहरू आज भारतभरि छन् ।
तपाइँको दिनचर्या सायद रोजीरोटीको जोगाडको लडाइँमा अल्झेको होला । सोच्नुस् त जो तपाईँको रोजीरोटीको अधिकारका लागि साथ दिएर लडाइँ लडिरहेका छन्, उनीहरूको घरका मानिसहरू पनि बिहान–बेलुकी आफ्ना डर, बेचैनी र आफ्नो विवशतासित लडिरहेका छन् । यी लडाइँ भारतका हरेक सडक, हरेक चोक, हरेक गलीहरूमा जारी छ । फेरि पनि हामीलाई बताइएको छ – सारा संसारमा असल हिन्दुस्तान हाम्रो, हामी चरा हौं यसका, यो वृक्ष हो हाम्रो । यो वृक्ष हो हाम्रो ।
(दाराब फारूकी भारतीय चलचित्र क्षेत्रका एक चर्चित कथाकार र पटकथा लेखक हुन् । )
–The Wire
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *