भर्खरै :

राष्ट्र सङ्घको महासभामा कोभिड महामारी र जलवायु परिवर्तन प्रमुख विषय

संयुक्त राष्ट्र सङ्घ, २२ सेप्टेम्बर । संयुक्त राष्ट्र सङ्घीय महासभाको ७६ औँ अधिवेशनको आम बहसको पहिलो दिन मङ्गलबार विश्वका नेताहरूले कोभिड–१९ महामारी र जलवायु परिवर्तनविरूद्धको लडाइँमा आफ्ना भनाइ केन्द्रित गरे । राष्ट्र सङ्घको सभाकक्षमा भौतिक वा अभौतिकरूपमा उपस्थिति विभिन्न देशका नेताहरूले सबै देशमा कोभिड–१९ लाई समूल पराजित नगर्दासम्म त्यसमाथिको पूर्ण विजय सम्भव नभएकोले यो लडाइँमा संसारका सबै देशले सहकार्य गर्नुपर्नेमा जोड दिए । विशेषतः विकासशील गरिब देशहरूले महामारी रोकथाम गर्ने सबभन्दा बलियो हतियार बनेको खोपमा समता ल्याउन राष्ट्र सङ्घको भूमिकामाथि जोड दिए । “संसारका सबै मानिसलाई सकेसम्म चाँडो खोप लिनु महामारीलाई पराजित गर्ने एउटै उपाय हो । त्यसको निम्ति खोप समता सर्वाधिक महत्वको विषय हो”, महासभामा बोल्दै माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोलेहले भने ।
फिनल्यान्डका राष्ट्रपति सौली निनिस्टोले पनि महामारी अन्त्यको निम्ति समाधान विश्वव्यापी नै हुनुपर्ने बताए । “महामारी रोकथामको निम्ति विश्वव्यापी प्रयास सफल बनाउन प्रभावकारी उपायमा समतामूलक पहुँच आवश्यक छ”, उनले भने ।
उनले भविष्यमा आउनसक्ने अन्य थरी महामारी सामनाको निम्ति विश्व समुदायले तयारी थाल्नुपर्ने भन्दै अहिलेको चुनौतीभन्दा पर हाम्रा साझा स्वास्थ्य सुरक्षामा सुधार गर्न मूर्त कदम चाल्ने उपयुक्त समय आएको बताए ।
कोस्टा रिकाका राष्ट्रपति कार्लोस अल्भाराडो कुइसादाले कोभिड–१९ को खोप संसारका सबै जनताको निम्ति सार्वजनिक वस्तुको रूपमा उपलब्ध हुनुपर्ने बताए ।
“आज प्रभावकारी बहुपक्षतामार्फत हामीले कोभ्याक्सलाई मूर्त समाधान बनाउन आवश्यक छ । त्यसको निम्ति जी २० को सहयोग आवश्यक छ”, उनले भने ।
उनले खोपको अभाव र समय त्यत्तिकै व्यतीत हुँदा थप पीडा, मृत्यु र नयाँ प्रजातिको भाइरस देखिन थालेको बताए ।
विभिन्न देशका नेताहरूले तड्कारोरूपमा उठाएको अर्को विषय जलवायु परिवर्तनको प्रभाव हो । चीनका राष्ट्रपति सी चिनफिङले पेइचिङबाट अभौतिक माध्यमबाट महासभामा बोल्दै जलवायु परिवर्तनको निम्ति केही महत्वपूर्ण घोषणा गर्नुभयो । (थप जानकारी पृष्ठ ६ मा हेर्नुहोस्) ।
जलवायु परिवर्तन र विश्व तापमान वृद्धिको प्रत्यक्ष प्रभावमा परेको माल्दिभ्सका राष्ट्रपतिले पृथ्वीको तापक्रम १.५ डिग्रीबाट २.० डिग्री पुग्नु माल्दिभ्सको निम्ति ‘मृत्युदण्ड’ जस्तै भएको बताए । उनले साना टापु देशहरूमा भइरहेको वातावरणीय क्षतिको प्रभावले चाँडै ठूलो देशलाई पनि नछोड्ने बताए ।
“यदि माल्दिभ्सको अस्तित्व मेटिए, संसारका अरू कुनै पनि देशको अस्तित्व सुनिश्चित गर्न सकिन्न”, उनले भने ।
उज्वेकिस्तानका राष्ट्रपति शाभ्कत मिरजियोयेभले आफ्नो देशले जलवायु परिवर्तनको प्रतिरोध, वातावरण र जैविक विविधताको संरक्षणमा विशेष जोड दिइरहेको बताए ।
“हामीले आजको लागि मात्र होइन, भविष्यको पुस्ताको लागि पनि वातावरण र जैविक विविधताको संरक्षण गर्नु आदर्श जिम्मेवारी हो । हामी पेरिस सम्झौताका लक्ष्य हासिल गर्न प्रतिबद्ध छौँ । हामी नवीकरणीय ऊर्जा स्रोतको लागि मूर्त निर्णय गरिरहेका छौँ । विशेषतः सन् २०३० भित्र हाम्रो अर्थतन्त्रलाई दोब्बर मात्रामा ऊर्जा प्रभावकारी बनाउनुपर्छ । २५ प्रतिशतले नवीकरणीय ऊर्जाको हिस्सा बढाउनुपर्छ । वातावरणीय रूपमा सफा यातायातको विकास गर्नुपर्छ”, उनले भने ।
महासभा बैठक चालु छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *