नपाको नीति तथा कार्यक्रम कार्यान्वयन होस्
- असार ७, २०८३
अमेरिकी सीमा सुरक्षाकर्मीहरूले घोडामा बसेर टेक्ससको रियो ग्रान्डी नदीनजिकै आप्रवासीहरूलाई लखेटेर यातना दिइरहेका हालै सार्वजनिक भएका तस्बिर तथा भिडिओहरूले संरा अमेरिकामा मात्र होइन विश्वभर नै तरङ्ग सिर्जना गरेका छन् । अमेरिका–मेक्सिको सीमामा एउटा नयाँ आप्रवासी सङ्कटबीच त्यस्ता दृश्यहरू देखा परेका हुन् । जहाँ गत साता धेरैजसो हैटीका १२ हजार आप्रवासी अस्थायी शिविर बनाएर बसेका छन् । उनीहरू टेक्ससको सहर डेल रियोलाई सिउड्याड अक्युनिआसँग जोड्ने पुलमुनि बसेको बताइएको छ । आप्रवासीहरूले झेलेको दयनीय अवस्थाबारे आलोचना भएपछि गत साता अमेरिकी अधिकारीहरूले एउटा विज्ञप्ति जारी गरेका थिए ।
विज्ञप्तिमा भनिएको थियो, “तापक्रमसँग जोडिएका रोगहरू फैलन नपाऊन् भनेर डेल रियो अन्तर्राष्ट्रिय पुलमुनि उनीहरू (यूएस बोर्डर पेट्रोलले) हिरासतमा लिनुअगावै ओत लिएर अस्थायीरूपमा बसेका थिए ।” अमेरिकी सरकारले आइतबार तीमध्ये सयौँलाई उनीहरूको देश फिर्ता पठाउनुका साथै डेल रियो सीमा बन्द गरेको थियो । त्यसलाई हाइटीका अन्य सयौँ नागरिकलाई मेक्सिकोतिरै फर्कन प्रेरित गर्ने कदमका रूपमा हेरिएको छ । ह्वाइटहाउस स्वयम्ले कतैबाट पार नपाएपछि ती दृश्यहरूलाई पीडादायी बताएर पानीमाथिको ओभानो बन्ने निष्फल प्रयास गरेको छ ।
संरा अमेरिका आप्रवासी र गरिबहरूका लागि आदर्श त के सही देश होइन भन्ने कुरा त्यहाँ पुग्ने आप्रवासी, त्यहाँका आदिवासी र काला वर्णका गरिब जनतामाथि सधैँ भइरहेका तर यदाकदा सार्वजनिक भएर विश्वभर चर्चाको विषय बनेका अन्याय र अत्याचारका घटनाहरूले नै प्रस्ट पार्छन् । तर पनि अमेरिकी नुन खाएका सरकार, संस्था र व्यक्तिहरू तथा वैध र अवैध तवरले अमेरिकामा मानिसको तस्करी गरेर कमिसन र नाफा कुम्ल्याउने दलालहरू संरा अमेरिकालाई विश्वकै आदर्श मुलुकको रूपमा चित्रण गर्न भरमग्दुर कोसिस गरिरहन्छन् । तिनीहरूले देखाउने त्यहाँका अग्ला अग्ला गगनचुम्बी भवन, फराकिला र सफा सडक, सजाइएका बगैँचा, सुविधासम्पन्न होटलहरू देखाएर विश्वकै मानिसहरूलाई संरा अमेरिकातिर लोभ्याइरहन्छन् ।
संरा अमेरिका धनी र गरिबहरू प्रस्टतः छुटिएको र तथाकथित अमेरिकी सपना तीव्रगतिमा अमेरिकी भ्रममा परिणत भइरहेको मुलुक हो । घनघोर वर्षाले जमिनको धाँजा देखाएझैँ कोभिड–१९ को महामारीले अमेरिकी समाजको धनी र गरिबबीचको विभाजनको खाडललाई निकै स्पष्ट हुनेगरी उदाङ्गो पारिदिएको छ । कोभिड–१९ को महामारी फैलिरहेको अवधिमा त्यहाँ धनी र शक्तिशालीहरूले मात्र संरक्षण र उपचार पाएका थिए । गत अप्रिलमा एक अमेरिकी पत्रिका ‘द एटलान्टिक’ले गरेको अवलोकनमा निम्न आय भएका अमेरिकीहरू बिरामी पर्ने बेलामा निकै कम र ढिलो गरीमात्र अस्पताल पुग्ने गरेको देखिएको थियो त्यसको कारण तिनीहरू निको हुन नचाहेर भने थिएन बरू तिनीहरूसित उपचारका लागि पैसा नभएकोले थियो ।
संरा अमेरिकामा अवस्थित एक गैरनाफामूलक सङ्गठन ‘फिडिङ अमेरिका’ को तथ्याङ्कअनुसार अहिले ५ करोडभन्दा बढी अमेरिकीहरूले खाद्य असुरक्षाको अनुभव गरिरहेका छन् जब कि महामारीभन्दा अगाडि डेढ करोड मानिसमात्र त्यस्तो अवस्थामा थिए । अहिले खाद्य सहायता मागिरहेका अमेरिकीहरूको सङ्ख्या केही वर्ष अगाडिको तुलनामा निकै धेरै बढेको छ र बेरोजगारी राहतको निम्ति आवेदन दिनेको सङ्ख्या पनि महिना महिनाको हिसाबले निरन्तर बढिरहेको छ । संरा अमेरिकामा निम्न वर्गका मानिसले बाँच्नै नसकिने क्रूर सङ्कट सामना गरिरहेका छन् ।
संरा अमेरिकामा आर्थिक असमानता स्थिर र दीर्घकालीन प्रवृत्तिको रहेको छ भने धनी र गरिबबीचको खाडल कोभिड–१९ महामारीपछि दीर्घकालीन प्रवृत्तिको नयाँ चरणमा प्रवेश गरेको छ । मे २०१८ मा प्रकाशित अल्स्टोन प्रतिवेदनले औँल्याएको थियो – “यो रणनीति आर्थिक असमानता अत्यधिक बढाउने र करोडौँ कामदार अमेरिकीहरूलाई गरिबीमा धकेल्ने तथा काम गर्न नसक्नेहरूलाई भोकभोकै मर्न विवश पार्नेमा केन्द्रित देखिन्छ । चरम गरिबीको अवस्था सत्तामा बस्नेहरूको राजनीतिक छनोटको अनिवार्य परिणति हो ।”
धेरैभन्दा धेरै अमेरिकीहरूले धनी र गरिबबीचको विभाजन झन्झन् चौडा हुँदै गएको अनुभव गर्दै त्यसप्रति चिन्ता प्रकट गर्न थालेका छन् र त्यसको जड संरा अमेरिकाको गहिरो प्रशासनिक समस्या रहेको बुझ्न थालेका छन् । संरा अमेरिकाको नीतिनिर्माणमा धेरै समयअघिदेखि स्वार्थ समूहहरूले चलखेल गर्दै आएको र त्यसैकारण सरकारले कर, औद्योगिक र सामाजिक सुरक्षाका नीतिहरू सुधार गर्न र लागु गर्न तथा सामाजिक समानतालाई बढावा दिन नसकेको हो भनी भन्न थालेका छन् । विश्वलाई समता र न्यायको पाठ सिकाउने नाटक गर्ने संरा अमेरिकामा धनी र गरिबबीचको खाडल झन्झन् चौडा हुँदै गएको छ । अमेरिकी सरकारले देशको स्रोतसाधन र धनसम्पत्ति अल्पसङ्ख्यक मानिसलाई नियन्त्रण गर्न दिइरहेको छ । त्यतिमात्र होइन, त्यहाँ अन्य धनी देशहरूको तुलनामा सबैभन्दा कम दरको सामाजिक कल्याणको लागि बजेट परिचालन देखिएको छ । यस्तो देश कसरी विश्वका जनताको लागि आदर्श मुलुक हुन सक्छ र ?
Leave a Reply