भर्खरै :

सक्वको म राजदास–१११ / जिन्दगीका मेरा सुख दुःखका केही अनुभूतिहरू

विसं २००६ सालमा गथामुग च¥हेका दिन काठमाडौँबाट १८/१९ किलोमिटर उत्तरपूर्व पर्ने शंखरापुरमा जन्मिएको म संसारका २०–२५ वटा देशहरू घुमीफिरी फेरि आफ्नै जन्मस्थलमा आइबसेको छु । विगत १५/१६ वर्षदेखि विदेशिएका धेरैजसो मेरा साथीहरू प्रायः उतै बसेका छन् । मलाई विदेशमा गएर बस्ने मन लागेको थिएन । यद्यपि, मलाई सोभियत सङ्घदेखि स्वीजरल्यान्ड, जर्मनी, अफ्रिका, अमेरिका आदि देशहरूमा बस्ने अवसर आएको थियो । तर, चाहना भएन । हरेक पल्ट मैले आफूसामु आएका अवसर पन्छाइदिएँ, आफ्नो देशप्रतिको माया र विशेष गरेर आफ्नो जन्मस्थलो शंखरापुर, साँखु, सक्वको मायाको कारण ।
हो, आज म ७१/७२ वर्षको उमेरमा पनि आफ्नै गाउँमा रमाएर बस्न पाएको छु । यसलाई मैले आफ्नो जीवनको सबभन्दा ठूलो सुखको समय ठानेको छु । यद्यपि, म आज एक्लो जीवन बिताएर बस्नु परेको कारण केही अप्ठेराहरू भोगिरहेको छु । दुई–दुई चोटि बिहे भएर पनि आज म एक्लो जीवन बिताइरहेको छु । एकचोटि मलाई मेरी दोस्री श्रीमती निर्मला श्रेष्ठले भनेको कुरा झल्झली याद आउँछ– “यस्तै तिम्रो बानी भो भने एक दिन तिमी एक्लो हुनेछौ ।”

काठमाडौँ कोटेश्वरमा नेपालमा सर्वप्रथम अफ्रिकाबाट ल्याएको प्रविधि प्रयोग गरी उत्पादन गरिएका सिमेन्ट बालुवाका ईँटाहरु भुईँमा बिछ्याई प्लास्टिकले छोपी जम्न राखिएको


मेरो जीवनमा आर्थिक मामिलामा धेरै उतारचढाव आए । कहिलेकाहीँ मलाई पुराना विगतका कुरा सम्झँदा आज पनि डर लाग्छ । विशेष गरेर त्यो दिन जब म २० हजार रुपैयाँ बोकेर कुनै उद्देश्यबिना छिमेकी देश भारततर्फ घर छोडेर गएको थिएँ । कसैलाई केही नभनी आफ्नो एउटा ब्रीफकेश बोकी एउटा कमिज र पाइन्ट अनि एउटा खाकी रङ्गको पुरानो जाकेटमा बिनालक्ष्य देश फर्कँदिनँ भन्ने अठोट लिएर म घर छोडेर निस्केँ ।
सन् १९९८ तिर जब म आफ्नो व्यवसाय (सिमेन्ट पेन्ट उद्योग र चुन कारखाना) मा पूर्णतः असफल भएँ, मैले भएभरको आफ्नो सम्पत्ति गुमाइसकेको थिएँ । दुई–तीन करोडको आफ्नो सारा सम्पत्ति गुमाएको मात्र होइन थप डेढ दुई करोडको ऋणमा म डुबेको थिएँ । दिनको लाखौँलाखको व्यापार–व्यवसाय थियो । नेपालमा सर्वप्रथम रङ्गीन चुनको उत्पादन र सिमेन्ट ब्लक, सिमेन्ट इँटा, निर्माण गरेर स्थापना गरेको उद्योग १०/११ वर्षसम्म निकै राम्ररी फस्टाउँदै थियो । तर, हिसाबकिताब र आयव्ययको विवरण राम्ररी सम्हाल्न नसक्दा १० वर्षपछि उद्योग डुब्यो र भएभरको आफ्नो जग्गाजमिन घरसम्पत्ति बेच्दा पनि ऋण मुक्त भइन । उद्योग बन्द हुने कुरा थाहा पाएपछि आफूलाई पैसा सापट दिने केही साथीहरूले मेरा घरायसी सामानहरू उठाउन आए । कसैले सोफा सेट र दराजहरू उठाएर लगे त कसैले कम्प्युटर र टाइप राइटरहरू लगे । कसैले मोटरसाइकलहरू उठाएर लगे त कसैले गाडी नै तानेर लगे । यति हुँदाहुँदै पनि ३६ प्रतिशत ब्याजमा पैसा लगाउने साथीहरू दिनका दिन आएर आफ्नो पैसाको साँवाब्याजको लागि पिरोल्न आए । कोही धम्क्याउन आए । यस्तो अवस्थामा आफ्नो करोडौँ रूपैयाँ उठाउन सकिएन । सामान आपूर्ति गर्न नसकेपछि पसले साहुहरूले पैसा दिन हिच्किचाउन थाले र धेरै पैसा बजारमा त्यसै थन्कियो ।

सिमेन्ट बालुवाका ईँटाहरु २/३ दिन भुईँमा प्लास्टिकले छोपेर राखेपछि चाङ लगाएर पानी छर्किन्दै जमाउनुपर्छ । ३० दिन जमाएपछि (curring गरेपछि) सिमेन्टका ईँटा पूर्णरूपमा जमेर परिपक्व हुन्छ ।


यस्तै अवस्थामा मैले एक दिन कसैलाई केही नभनी बिनालक्ष्य र गन्तव्य घर छोडी हिँडे । लक्ष्यविहीन र दिशाविहीनको यात्रा कलङ्कीको एक सार्वजनिक बसबाट सुरु भयो । खल्तीमा जम्मा २० हजार रूपैयाँ थियो ।
काठमाडौँदेखि हरिद्वारसम्म
मैले काठमाडौँदेखि हरिद्वारसम्म साथमा २० हजार रूपैयाँ बोकेर यात्रा गरी फर्केँ । जबकि, म कुनै शनिबार श्रीमतीसँग एभरेस्ट होटेलमा डिनर खान जाँदा १५/२० हजार खर्च गर्थेँ । आफ्नो जन्मदिनमा एक डेढ लाख रुपैयाँ खर्च गर्थेँ ।
कलङ्कीबाट बिहान १० बजेतिर बस गुड्न थाल्यो । झ्यालनिर एउटा सीटमा बसेर सारा संसारलाई बिर्सेर मैले आनन्दको सास लिन थालेँ । बस बीचबीचमा रोकिन्थ्यो । तर, म कहीँ निस्किनँ । अन्तिम बस स्टप काँकडाभित्ता आइपुग्यो । बसबाट ओर्लेर मैले एउटा पसलमा गएर केही खाएँ । नजिकै कोही आएर सोध्यो– “कहाँ जानुहुन्छ ?”
“खोइ कहाँ जाने” मैले भनेँ । “तपाईँ कहाँ जान ?”, मैले सोधेँ ।
“गान्तोक, सिक्किम” ठीक छ जाऔँ । म काँकडभित्ताको गेट छिरेर उता गएँ र इन्डिया पुगेँ । एउटा जीप नजिक गएँ र चालकले सोध्यो, “जाने हो अङ्कल गान्तोक ?” हो, तर मसँग पर्मिट छैन के गर्ने ? । केही छैन डराउनु पर्दैन म लगिदिन्छु । मैले भनेअनुसार गर्नुस् बोर्डरमा आएपछि । म उनको जीपमा निर्धक्क भएर बसेँ । उनको जीपमा १०/१२ जना पेसेन्जर बोकेर सिक्किमतर्फ जीप दौड्न थाल्यो । टिष्टा नदीको तिरैतिरको पहाडी बाटो राम्रो थियो । बाटोमा जीप स्पिडमा दौड्दै थियो । वरिपरि हरिया पहाड, अग्ला बाक्लो जङ्गल, बीचमा गहिरो टिष्टा नदी । जीपमा हिन्दी पुरानो गीत बज्दै थियो । मलाई मनपर्ने गीतहरूमध्ये एउटा राम्रो गीत ‘तेरी दुनियाँ से होके मजबुर चला मेँ बहुत दूर, बहुत दूर चला…’ इस कदर दूर के फिर लौटके कभी आनसकूँ ऐसी मन्जिल के जहाँ, खुदको कभि मे पानसकूँ और मजबुरी हे क्या ? और मजबुरी है क्या, इतना भि बता नसकुँ ’ हो ।
गीत मेरो लागि सान्दर्भिक थियो । किशोरकुमारको स्वर मलाई मनपर्ने । मोहम्मद रफीकभन्दा बढी मलाई किशोरकुमारको स्वर मीठो लाग्थ्यो अनि महेन्द्र कपुरको ।
गीत सुन्दासुन्दै सिक्किमको बोर्डर आइपुग्न लाग्यो । बोर्डर आउनु नजिकै एउटा पुल थियो । पुल नजीक चेकपोस्ट । चेकपोस्ट पुग्दा सबै जना ओर्लनुपर्ने थियो । ओर्लेर आफ्नो परिचयपत्र अथवा नागरिकता छोडेर जानुपर्ने अनि फर्किँदा नागरिकता फिर्ता लिनुपथ्र्यो । बोर्डर पुग्नै लाग्दा ड्रात्रले भने, “अङ्कल तपाईँ यहाँ ओर्लनुस्, ब्याग यहीँ गाडीमा छोड्नुस् । यहाँबाट हिँडेर जानुस्, यताउति कतै नहेरी । पुलिस चौकीमा पनि नहेरी यहीको लोकल मानिसजस्तो गरी जानुस् । म गाडी उता लगेर पर्खिरहन्छु ।
ड्रात्रले भनेबमोजिम म गाडीबाट निस्केर आफ्नो ज्याकेट काँधमा बोकेर नजिकैको पहाडहरू हेर्दै पुल तरेर गएँ । पुलको बायाँ साइडमा पुलिस चौकी रहेछ । गाडीका पेसेन्जरहरू आ–आफ्ना परिचय पत्रहरू हातमा बोकेर लाइन बस्न थाले । म पुलिस चौकी नाघेर गएँ । मन हलुको भयो, कोही आएर सोधेनन् । बोर्डर पार गर्दै सिक्किम पुगेँ । ५ मिनेट जति हिँड्दै गर्दा मेरासामु गाडी आइपुग्यो र रोकेर “ल अङ्कल आउनुस्, बस्नुस्” भन्यो । १०/१२ जनासँग पेसेन्जर बोकेर हिँड्ने बुलेरो गाडी इन्डियामा खुब चल्थ्यो ।
गाडीमा बसेँ । पहाडै पहाडको बाटो राम्रो थियो । टिष्टा नदीको तिरैतिर दौड्न थाल्यो । आफ्नो देशमा नभए पनि त्यहाँको बाटोको अवस्था देख्दा धेरै खुसी लाग्यो । एउटा खाल्डाखुल्डी छैन । कति रमाइलो रमणीय दृश्यसहितको यात्रा । तर मनभित्र पिर थियो । कलङ्कीदेखि सुरु भएको मेरो गन्तव्यविहीन यात्रा । अर्को दिन मध्याह्न १२ बजेतिर सिक्किमको राजधानी सहर गान्तोक आएर टुङ्गियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *