भर्खरै :

सबै कम्युनिस्टहरू माक्र्सवादी हुँदैनन्

सबै माक्र्सवादीहरू कम्युनिस्ट हुन्छन् तर सबै कम्युनिस्टहरू माक्र्सवादी हुँदैनन्, भइरहेका छैनन् । नेपालमा रहेका अधिकांश कम्युनिस्टहरूको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद रहेको छ । माक्र्सवाद–लेनिनवाद मार्गदर्शक सिद्धान्त मानेको आधारमा नेपालमा सबैजसो कम्युनिस्ट पार्टीहरू माक्र्सवादी हुनुपर्ने हो । माक्र्सवाद पथ प्रदर्शक भए पनि ती दलहरू साँच्चै कम्युनिस्ट भएनन्, हुनसकेनन् । यस्ता देशका कम्युनिस्ट पार्टीहरूले देशमा आमूल परिवर्तन गर्दैनन्, गर्न चाहँदैनन् । विशेषगरी सरकारमा पुगेका, रहेका कम्युनिस्ट भनिने दलहरू संसदीय व्यवस्था या शान्तिपूर्ण तरिकाबाटै समाजवाद आउने विश्वास गर्छन् । यसैको आधारमा उनीहरू माओवादी केन्द्र, एकीकृत समाजवादीसँग कम्युनिस्ट एकता गर्नसक्ने विचार व्यक्त गर्छन् । लोकतान्त्रिक प्रक्रियाबाट समाजवादतर्फ अगाडि बढ्नु नै नेपाली क्रान्तिको बाटो हो भन्ने बुझाइ एमालेको हो ।
क्रान्ति भनेको आमूल परिवर्तन हो । आमूल परिवर्तन संसदीय माध्यमबाट या शान्तिपूर्ण प्रक्रियाबाट सम्भव छैन । कुनै दल या सरकारले गर्न खोजे पनि सामन्तवादी, पुँजीवादी, क्षेत्रीयवादी, सङ्कीर्णवादी र जातिवादी दल तथा समूहले गर्न नै दिँदैनन् । त्यही कारण कम्युनिस्ट पार्टीले पटक–पटक सरकारको नेतृत्व गरे पनि परिवर्तनको कुनै काम गर्न सकेनन् । केही गर्न खोजे पनि काममा बाधा हाल्छ या गर्न दिइँदैन
अहिलेको संसदमा कम्युनिस्ट पार्टीको मात्र होइन पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने नेका, राजावादी सामन्त र दलाल पुँजीपति वर्गको सेवा गर्ने दलहरू पनि छन् । नेकाको नेतृत्वमा बनेको सरकारको त आमूल परिवर्तन गर्ने उद्देश्य नै होइन । कहिलेकाहीँ समाजवाद र परिवर्तनको कुरा उठाउने एमाले, माओवादी केन्द्रजस्ता दलका नेताहरू पनि साँच्चै परिवर्तन गर्न होइन अलि अलि सुधार चाहन्छन् । पुँजीवादी यो बन्दोबस्तमा ती दलले चाहेर पनि परिवर्तन सक्दैनन् । यस्तो सरकारले बनाउने संविधान, नियम, नीति, कार्यक्रम सबै पुँजीपति वर्गकै पक्षमा हुन्छ । जनतालाई सङ्गठित र सचेत पारेर भएको क्रान्तिले पुँजीपति, सामन्तको हित हेर्दैन, गर्दैन । अतः हरेक कम्युनिस्ट पार्टीले आमूल परिवर्तनको निम्ति वर्गसङ्घर्ष गर्नुपर्छ । वर्गसङ्घर्षले मात्रै आमूल परिवर्तन गर्नसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *