भर्खरै :

सरकारले ‘मुक्त’ मात्र ग¥यो, जीवन बाँच्ने आधार दिएन

मार्तडी, १६ माघ । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिका–६ दैयाका हलिया समुदाय गिट्टी कुटेर जीविकोपार्जन गरिरहेका छन् । सरकारले मुक्त हलिया घोषणा गरे पनि हलियाको जीवनस्तर पछिल्लो समय झन् नाजुक बन्दै गएको छ ।
हलिया समुदायका मानिसले दैनिक जीविकोपार्जनका लागि गिट्टी कुटेर दिन बिताउने गर्दछन् । तर, गिट्टी बिक्री नभएपछि बिहान बेलुकी छाक टार्न उनीहरूलाई सकस भएको छ । गिट्टी बेचेर बिहान–बेलुकीको छाक टार्दै आएका उनीहरूले कुटेका गिट्टी पनि बिक्री हुन छाडेको बताइएको छ । सरकारले मुक्त हलिया घोषणा गरे पनि उनीहरूले उचित राहत र जग्गा नपाउँदा खोला किनारमा गिट्टी कुट्न बाध्य छन् । स्थानीय सरकारले काम गरेको पाँच वर्ष पुग्न लाग्दा पनि हलिया समुदायले स्थानीय तहबाट पाउने सेवा–सुविधा नपाएको गुनासो गरेका छन् ।
बुढीनन्दा नगरपालिका–६ दैयाका खड्के विककी आमा शारीरिक अपाङ्गता हुनुहुन्छ । आमाबुबालगायत १४ जना परिवार पाल्न उहाँलाई निकै समस्या छ । उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रममा समेत राजनीतीकरण गरेर आफ्नो परिवारलाई छनोट नगरेको दुःखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “थोरै जमिन थियो । त्यही जमिनसमेत बङ्गीगाड खोलाले बगायो । अहिले ढुङ्गा फुटाएर नै सकीनसकी १४ जनाको परिवार पाल्दै आएको छु ।”
स्थानीय तहबाट पाउने हरेक सेवासुविधाबाट वञ्चित हुँदै आएको उहाँको गुनासो छ । हलियाले पाउने भनेको राहतसमेत अहिलेसम्म पाउन नसकेको अर्का हलिया सगुने विकले बताउनुभएको छ । उहाँले भन्नुभयो, “परिवार पाल्नका लागि बङ्गीगाड खोलामा दिनभरि ढुङ्गा फुटाउँछु । पछिल्लो समय कुटेको गिट्टी बिक्री भएको छैन ।”
घर खर्च चलाउनका लागि गाउँमा रोजगारी नपाएपछि श्रीमान्लाई कोरोनाको जोखिममा समेत भारतमा काम गर्न पठाएको गौती विकले दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “कोरोना आएको छ, श्रीमान् भारतमा छन् । के–कस्तो छ फोनसमेत गर्न पाएको छैन । श्रीमान्ले अलिकति पैसा कमाएर ल्याएपछि उदारो ल्याएको दालचामलको पैसा तिर्नहुन्थ्यो ।”
आफूले पनि दिनमा गिट्टी कुटेर छोराछोरीको पेट पाल्ने गरेको उहाँले बताउनुभयो । “पेट पाल्नकै लागि दुःख गरेर खोलामा मरिमेटी ढुङ्गा फुटायौँ, तर ती फुटाएका ढुङ्गासमेत बिक्री नभएर खोलामै थन्किएका छन्”, अर्की पीडित जनकला विकले भन्नुभयो ।
उहाँहरूमात्रै होइन, दैयाका हलिया दिनभरि कामका लागि विभिन्न ठाउँमा भौतारिरहेका हुन्छन् । तर, काम नपाएपछि बेलुका निराश हुँदै घर फर्कने गरेको नरे विकले सुनाउनुभयो । आफूले लगाएको घरमा टिन हाल्ने पैसा नहुँदा अहिलेसम्म घर छाउन नसकेको उहाँको गुनासो छ । उहाँले भन्नुभयो “घर छाउन सहयोग पाएको छैन ।” रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *